पाँच नयाँ सिमेन्ट उद्योग खुल्दै


वसन्त गिरी

कपिलवस्तु, फागुन १३ गते । देशमा नयाँ सिमेन्ट उद्योग स्थापनाको क्रम बढ्दो छ । यसै क्रममा कपिलवस्तुमा पाँचवटा नयाँ सिमेन्ट उद्योग स्थापना भएका छन् । तीमध्ये तीनवटा निर्माणको अन्तिम चरणमा छन् भने दुईवटा सञ्चालनमा आइसकेका छन् । शिवराज नगरपालिका वडा नं. ६ वीरपुर क्षेत्रमा उद्योगहरू स्थापना हुने क्रम बढ्दो छ । औद्योगिक क्षेत्रका रूपमा विकास हँुदै आएको सो क्षेत्रमा बालाजी सिमेन्ट उद्योग, शुभ–लक्ष्मी सिमेन्ट उद्योग र अटल सिमेन्ट उद्योग निर्माणको चरणमा छन् । नयाँ प्रविधि र व्यवस्थापनका साथ भू–गर्भ सिमेन्ट र हालै निर्माण सम्पन्न महाशक्ति सिमेन्ट उद्योग सञ्चालनमा आइसकेका छन् ।
अटल सिमेन्टका सञ्चालक जमसेर अलीका अनुसार एक वर्षभित्रै सिमेन्ट उद्योगले उत्पादन सुरु गर्नेछ । निर्माण सम्पन्न हुँदासम्म करिब ६० करोड खर्च लाग्ने छ, उहाँले भन्नुभयो ।
उद्योगले बाहिरबाट क्लिङ्कर ल्याई ग्रयान्डिङ गरी सिमेन्ट उत्पादन गर्ने बताइएको छ । उद्योगले दैनिक १० हजार बोरा सिमेन्ट उत्पादन क्षमताको क्लोज सर्किट मेसिन लाउने भएको छ ।
यसैगरी एक अर्ब १० करोड रुपियाँभन्दा बढीको लागतमा सोही क्षेत्रमै बालाजी सिमेन्ट उद्योग सञ्चालनमा आउँदैछ । उद्योग निर्माणको ८० प्रतिशत कार्य सम्पन्न गरेको उद्योगले मेसिन जडान कार्यलाई तीव्रता दिएको छ । ग्रयान्डिङ गरी सिमेन्ट उत्पादन गर्ने यस उद्योगले दैनिक १० हजार बोरा सिमेन्ट उत्पादन क्षमताको मेसिन जडान गर्ने जनाएको छ । ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्ने उद्योग आठ महिनाभित्रै सञ्चालनमा आउने लगानीकर्ताहरू बताउँछन् । cement
नेपाली उद्योगी पीताम्बर गैरे तथा शालिकराम ढकाल समूहको लगानीमा वीरपुर क्षेत्रमा शुभ–लक्ष्मी सिमेन्ट उद्योग निर्माण भइरहेको छ । निर्माणको ६० प्रतिशत कार्य सम्पन्न भएको उद्योग एक वर्षभित्रै सञ्चालनमा आउने बताइएको छ ।
एक अर्ब रुपियाँको लागतमा निर्माण हुन गइरहेको उक्त उद्योगमा अत्याधुनिक मेसिन जडान गरिने बताइएको छ । उद्योगले दैनिक १० हजार बोरा ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्ने क्षमताको मेसिन ल्याउने सञ्चालकहरूले बताएका छन् ।
दुई वर्षअघि निर्माण थालिएको महालक्ष्मी सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । साउनदेखि नियमित उत्पादन सुरु गरेको उद्योगले दैनिक छ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगले सिर्नजी ओपीसी र जेके पीपीसी ब्रान्डका सिमेन्ट बजारमा ल्याएको छ ।
यसैबीच लामो समयदेखि बन्द रहेको देउराली सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ पुनः निर्माण तथा नयाँ मेसिनरी जडानका साथ उद्योग सञ्चालनमा आएको हो ।
भदौदेखि भू–गर्भ सिमेन्ट कम्पनीको नामबाट यसले उत्पादन सुरु गरेको छ । यसले आफै क्लिङ्कर र सिमेन्ट उत्पादन गर्दै आएको छ । दैनिक १० हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको यस उद्योगले अहिले छ देखि सात हजार बोरा निकाल्दै आएको छ । उद्योगले भू–गर्भ ओपीसी र देउराली, अपोलो पीपीसी ब्रान्डका सिमेन्ट बिक्री गर्दै आएको छ ।
पूर्व–पश्चिम राजमार्गसँग जोडिएको चन्द्रौटादेखि भारतीय सिमाना कृष्णनगर बीचको क्षेत्रमा ठूला उद्योग स्थापनाले तीव्रता पाएको छ । सस्तो जग्गा, पर्याप्त जनशक्ति, कच्चा पर्दाथ आयातका लागि नजिक सिमाना र बिक्रीका लागि राजमार्गसँग निकटतम भएकै कारण यहाँ उद्योग स्थापना गर्न लगानीकर्ताहरूले इच्छा देखाउन गरेका छन् ।
यसअघिनै सो क्षेत्रमा विजया सिमेन्ट, विश्वकर्मा सिमेन्ट, गणपति सिमेन्ट, बुद्ध सिमेन्ट उद्योगका साथै सातवटा प्लाइउड उद्योग स्थापित छन् । अन्य सानाठूला गरी ३० भन्दा बढी उद्योग सञ्चालनमा रहेको कपिलवस्तु व्यापार सङ्घका अध्यक्ष महादेव पोख्रेलले बताउनुभयो । विस्तारै औद्योगिक क्षेत्रका रूपमा विकसित यहाँ उद्योग स्थापना र सञ्चालनमा अन्य क्षेत्रको तुलनामा सहज रहेको उहाँको भनाइ छ । व्यवसायीको पहलमा उद्योगहरूलाई बेग्लै फिडरबाट विद्युत् आपूर्ति गरिएको हुँदा सञ्चालित उद्योगको उत्पादन क्षमतामा वृद्धि भइरहेको पोख्रेलको भनाइ छ ।
शिवराज क्षेत्रमा सञ्चालित उद्योगहरूमा मात्रै अहिले दुई हजारभन्दा बढी मजदुर कार्यरत रहेको र नयाँ बन्ने उद्योगमा पाँच सयले रोजगारी पाउने कपिलवस्तु व्यापार सङ्घको दाबी छ । यस क्षेत्रमा थप उद्योग स्थापनाका लागि नगरपालिकाले केन्द्र सरकारको पहलमा औद्योगिक सुरक्षा बल स्थापना गर्नुपर्ने, पाँच करोड रुपियाँभन्दा माथिको लगानीका उद्योगलाई तीन वर्षसम्म स्थानीय कर मिनाह गर्नुपर्ने र चन्द्रौटा–कृष्णनगर सडक विस्तार गरी चार लेनको बनाउनुपर्ने, बाइपास रोड निर्माण गनुपर्ने र कृष्णनगरमा सुख्खा बन्दरगाहका लागि आवश्यक कार्यको पहल गर्न व्यवसायीहरूले सुझाव दिएका छन् ।
शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले उद्योग स्थापनाको वातावरण बनाउन नगरपालिकाले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । मैले यहाँ सक्ने गर्छु, नसक्ने माथि केन्द्र र प्रदेश सरकारमा पहल गर्ने हो, उहाँले भन्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds