भैँसी पालेर कर्मचारीलाई सञ्चयकोष

रेखीराम राना

पाल्पा, फागुन १४ गते । जिल्लाको पूर्वी भेगस्थित रामपुर विजयपुरका एक किसानले दैनिक ९० लिटर भैँसीको दूध बिक्री गरेर मासिक डेढ लाख रुपियाँ आम्दानी गर्नुभएको छ । रामपुर–६, विजयपुरका किसान कृष्ण अर्यालले भैँसीको दूध बिक्री गरेर मासिक एक लाख ६० हजार रुपियाँसम्म आम्दानी गर्न सफल हुनुभएको हो । विगत दस वर्षदेखि व्यावसायिक पशुपालनमा लाग्नुभएका अर्यालको गोठमा अहिले २२ वटा भैँसी र तीनवटा गाई छन् । गोठमा रहेका भैँसीबाट दैनिक ९० लिटर दूध प्रतिलिटर ६५ रुपियाँमा रामपुर बजारमा बिक्री गर्दै आएको उहाँले बताउनुभयो । दैनिक ९० लिटर दूध स्थानीय रामपुरबजारमै बिक्री भएको छ, उहाँले भन्नुभयो, दूध बिक्रीबाट आम्दानी राम्रो भएकाले भैँसी थप्ने योजना बनाएको छु । पछिल्लो समयमा भैँसी पाल्ने प्रचलन हराउँदै गएको र दूध अभाव हटाउन भैँसीपालन गरेर दूध उत्पादनमा जोड दिनुभएका अर्यालले मुर्रा जातको भैँसीबाट राम्रो फाइदा लिएको बताउनुभयो । घाँस र पानीको समस्या नभएपछि रामपुरमा भैँसीपालनबाट आफूले मासिक डेढ लाख रुपियाँभन्दा बढी आम्दानी गर्न सकेको उहाँले बताउनुभयो । भैँसी र गाईका लागि आवश्यक जैँ र बर्सिम घाँस व्यवस्थापनका लागि ५० रोपनी जग्गा भाडामा लिएर घाँस खेती गरेको उहाँले बताउनुभयो । भैँसीपालनमा आफूलाई श्रीमती र भाइले सघाउँदै आएको बताउँदै कृषक अर्यालले परिवारको सहयोग र मिहिनेतले आफू पशुपालन व्यवसायमा सफल भएको बताउनुभयो ।

घरको परिवारले साथ दिएपछि सजिलो भएको छु । उहाँले भन्नुभयो, पैसा कमाउन भनेर युरोप र खाडीमा धाउन परेन । भैँसीपालनका लागि सीताकुण्ड दुग्ध सहकारी संस्था रामपुरले सहुलियत दरमा ऋण, भैँसी तथा गाईको बीमा, घाँस तथा बीउमा सहयोग गर्दै आएको छ । दुग्ध सहकारी संस्थाको ऋण तथा अन्य कार्यमा भएको सहयोगले पनि आफू उत्साहित भएर भैँसीपालनमा लागेको उहाँले बताउनुभयो । कर्मचारीलाई सञ्चयकोष कृषक अर्यालले आफ्नो पशु फर्ममा एक जना कर्मचारीलाई पेन्सन सुविधा दिने उद्देश्यका साथ सञ्चयकोष स्थापना गर्नुभएको छ । आफ्नो घरमा भैँसीको स्याहारसुसार गर्ने तथा अन्य काममा सहयोग गर्ने कर्मचारी वीरबहादुर रामजालीको नाममा सञ्चयकोष स्थापना गर्नुभएको हो । खाना र बस्नको व्यवस्था गरेर मासिक दस हजार रुपियाँ तलब बुझ्नुभएका रामजालीको नाममा मासिक थप दुई हजार सञ्चयकोषमा रकम जम्मा गरिदिएको कृषक अर्यालले बताउनुभयो । आफूले भैँसी फर्ममा काम गर्न थालेको पाँच वर्ष बितिसकेको भन्दै फर्मका कर्मचारी रामजालीले दुई महिनाअघिदेखि आफ्नो नाममा मासिक दुई हजार रुपियाँ सञ्चयकोषमा जम्मा हुँदा खुसी लागेको बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना