कर्णाली प्रदेशको आर्थिक विकास

Junar_babuजुनारबाबु बस्नेत

फागुन १२, २०७४ नेपालको सङ्घीय लोकतान्त्रिक इतिहासमा स्मरणीय रहने भएको छ । प्रदेश नं. ६ ले फागुन १२ गते ऐतिहासिक निर्णय गरेको छ । प्रदेश संसदीय अभ्यायमा नयाँ संस्कृतिको रचना गरेको छ । सर्वसम्मत (४० सदस्यमध्ये ३७ पक्षमा र बाँकी अनुपस्थित) संस्कृति र शान्तिपूर्ण अभ्यास । प्रदेश ६ भनेर सङ्घीय प्रणालीमा गएको प्रदेशले दुई वटा ऐतिहासिक निर्णय एकैपटक र लगभग सर्वसम्मत गरेर राजनीतिक स्थायित्वको जग बसाएको छ । आर्थिक विकासको आधार सिर्जना गरेको छ । प्रदेशको राजधानी साबिक अस्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई स्थायी बनाएको छ । प्रदेशको नाम नं. ६ को नाउँमा कर्णाली जुराएको छ । नाम र राजधानी आफैँ राख्न संविधान र विधिले दिएको अधिकारको पूर्ण सदुपयोग भएको छ । अब अन्य ६ वटा प्रदेशलाई नाम र राजधानीको तय गर्दा आफ्नै देशभित्रको प्रदेशसभाको अभ्यास हेर्न सजिलो भएको छ । कर्णालीले प्राचीन र ऐतिहासिक नाम हो तर यताको शताब्दी कर्णालीका लागि सकस भयो । सभ्यता र संस्कृतिको विनाश भयो । प्राकृतिक साधन र स्रोतको दोहन गरियो । गरिबी, भोकमरी र पिछडिएको क्षेत्रको रूपमा अहिले कर्णालीले सकस व्यहोरिरहेको छ । नेपालको जग नै हो कर्णाली र इतिहासविद्हरू त कर्णालीलाई योभन्दा बढी विस्तृत रूपमा बुझ्छन् । ऐतिहासिक मान्यताअनुसार कैशाल पर्वतसित कर्णालीको नाता जोडिएको छ । हुम्लापारि पर्ने कैलाश पर्वत सेरोफेरो भएर नै यो क्षेत्रका मूल नदीहरूको उत्पत्ति भएको छ । ती नदीहरूमा ब्रह्मपुत्र, सिन्धु, सतलज र कर्णाली हुन् । कर्णाली जलाधार क्षेत्रले सिञ्चन गरेको भूभाग कर्णाली हो । वि.सं. २०१८ सालमा नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्दा एउटा अञ्चल कर्णाली बन्यो । हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालीकोट, यी पाँच जिल्लालाई कर्णाली नामकरण गरिँदा कर्णालीको सीमा सङ्कुचित भएको थियो । संविधान निर्माणका क्रममा ६ वटा प्रदेशका खाका आरम्भमा आएको थियो । थोरै पुरानो कुरा भए पनि २०७२ साल साउन २३ गते छ वटा प्रदेशमात्र सार्वजनिक हुँदा अहिलेका कर्णाली प्रदेशका जिल्ला विभाजित भए । कर्णालीपारिका सेती, महाकालीमा केही अनि बाँकी अर्को प्रदेशमा परेपछि आन्दोलन भयो । आन्दोलनमा सुर्खेत र जुम्लामा राप र ताप बढ्यो । सुर्खेतमा चार जनाको र जुम्लामा एक जनाको ज्यान गयो । त्यहाँको आन्दोलनलाई काठमाडौँले सुन्यो । प्रदेशको सिमाङ्कन फेरबदल गर्दै नयाँ प्रदेश थपियो । छ वटा प्रदेशबाट सङ्ख्या सात भयो । नयाँ प्रदेशमा कर्णालीका पाँच जिल्लासँगै भेरी र राप्ती अञ्चलका केही जिल्ला समेटिए । भेरी अञ्चलका दैलेख, सुर्खेत र जाजरकोट अनि राप्ति अञ्चलका सल्यान र रुकुम पश्चिम (रुकुमलाई पूर्व र पश्चिम गरी विभाजन गरियो) समेटियो । त्यही आन्दोलनको मूल्य र मर्मलाई प्रदेशका अधिकांश सांसदले समीक्षा गरे । राजनीतिक पार्टीहरूले आत्मसात् गरे ।

अस्थायी तोकिएको राजधानी स्थायी र नाम कर्णाली तोकिनुमा त्यतिखेर आन्दोलन गर्दा भएको अनौपचारिक सहमतिको संस्थागत स्वरूप पनि थियो, फागुुन १२ गतेको प्रदेशसभाको निर्णय । त्यसमा जुम्लालाई गर्मीयामको राजधानी बनाउनुपर्छ भन्ने आवाज पनि आएको छ । त्यो प्रस्तावमा केही दम छ । त्यसले कर्णाली क्षेत्रको पूर्वाधार विकासमा सहयोग पनि गर्छ र अन्तर्राष्ट्रिय अभ्यास पनि छ । धेरै टाढा नजाउँ, भारतको राजधानी कलकत्ताबाट सन् २०११ मा दिल्ली सारियो । त्यतिबेला ग्रीष्मकालीन राजधानी सिम्ला बनाइएको थियो । हिमाञ्चलको राजधानी सिम्लाको उचाइमा विशाल दरबार बनेको छ । तत्कालीन अङ्ग्रेजको उपनिवेशमा रहेको भारतको गर्मीका चार महिना सिम्लामा राजधानी हुन्थ्यो । अङ्ग्रेजको समस्या नै गर्मी खप्न नसक्ने थियो । तत्कालीन बर्मा अर्थात् हालको म्याम्मार पनि अङ्ग्रेजहरूकै उपनिवेशमा थियो । बर्माका टिक (काठको जात) ल्याएर दरबारको भित्री सजावट पूरै काठैकाठको छ । त्यति उचाइमा पनि दरबारभित्र बस्दा पूरै न्यानो छ । सन् १९०९ मै अङ्ग्रेजले चण्डीगढ हुँदै सिम्लामा सिङ्गल गेजको रेलसेवा पु¥याएर राजधानी बनाउन शुरु गरेका थिए । अहिले पनि त्यस ग्रीष्मकालीन राजधानीलाई भारतले व्यवस्थित गरेको छ । वर्षको एक साता दिल्लीको गर्मी छल्न राष्ट्रपति सिम्ला पुग्ने गर्छन् । दरबारलाई भने आधा–आधा गरिएको छ । तत्कालीन राष्ट्रपति सर्वपल्ली राधाकृष्णन्ले सन् १९६० ताका दरबारको आधा भागमा सामाजिक अध्ययन केन्द्र स्थापना गरे । त्यस केन्द्रमा विद्यावारिधिभन्दा माथिको (पोष्ट पिएचडी) अध्ययन गर्नेहरू जमघट थलो बनेको छ । आवासीय सुविधा लिएर प्राज्ञ तथा विद्वान्हरू त्यहाँ आउँछन् । रोचक कुरा के छ भने त्यस दरबारबाट पश्चिमतर्फ आकाश खुलेको बेला हेर्दा दोस्रो डाँडोमा काँगडा देखिन्छ । कुनै बेला नेपालको सीमा विस्तार त्यही काँगडासम्म थियो । त्यतिभने पछि सिम्लाको त्यो भूभाग त्यस बखत कहाँ थियो ? भनिरहनु नपर्ला । नयाँ नामकरण गरिएको प्रदेश कर्णाली, जुम्ला र ग्रीष्मकालीन राजधानीको प्रसङ्ग यहाँ आर्थिक विकासको मूल कडीका रूपमा जोड्न खोजएको हो । भारतको हिमाञ्चल प्रदेशको भूगोल कर्णालीका जिल्लाभन्दा विकट छ । मैदानी भूगाग चण्डीगढबाट सिम्ला पुग्न पहाडी बाटोको रेलमा झण्डै दिनभर लाग्छ । असाध्य भिरालो भूखण्ड छ । कर्णालीका केही जिल्लामा पुगेको अनुभवले भन्छ, कर्णालीभन्दा सिम्ला धेरै विकट हो । यति विकट, त्यहाँ घर बनाएपछि पनि पार्किङको समस्या छ । धेरैजसो घरमा छत वा जमिनमुनिको घरको भागलाई नै गाडी पार्किङ बनाइएको छ ।

कर्णाली विकट भए पनि त्यति कठिन भूखण्ड होइन । भिरालो भूमि भए पनि हिमाञ्चलको विकास भारतका अन्य राज्यका तुलनामा असाध्य माथि छ । कर्णालीसित पनि त्यो तागत छ । कर्णाली प्रदेशको आर्थिक विकासमा त्यो अनुभव आधार बन्न सक्छ । पर्यटन, कृषि, जडीबुटी, पशुपालन सिम्लाका विशेषता हुन् । धेरैजसो घरपरिवार पर्यटनमा छन् । बाँकी पनि कृषिमा र त्यो पनि व्यावसायिक । पर्यटनमा लाग्नेहरूको दिल्लीलगायत भारतका दक्षिणी ठूला शहरमा व्यवसाय विस्तार छ । त्यतै घरबास पनि छ । सिम्लाका पर्यटन व्यवसायीसित व्यवसाय साझेदार गर्न भारतका मुख्य शहरका व्यवसायी मन पराउँछन् । हिउँदका तीव्र चिसोको केही समयबाहेक सिम्लामा पर्यटकले भरिभराउ हुुन्छ । पर्यटकलाई घोडा चढाएर पनि पैसा, आलुबारी देखाए पनि पैसा र पैसाका अनन्य स्रोत छन् सिम्लामा । भारतको समद्ध प्रदेश सिम्लासरह बन्न सक्छ कर्णाली प्रदेश । मुगुको राता ताल कर्णालीसित मात्रै छ र जलस्रोतको विकास गर्न सक्ने ठूलो ताकत पनि कर्णालीसितै छ । जडीबुटीको खानी नै हो कर्णाली तर कच्चा जडीबुटी निर्यात गरेर मात्र कुनै पनि मुलुक धनी हुँदैन । यार्चागुम्बाको खानी हो कर्णाली तर जोखिम व्यहोरेर अनि पर्यावरणा विनाश गरेर यार्चा खोजरे बेचेर कर्णाली प्रदेश सम्पन्न हुन सक्दैन । जडीबुडीको व्यावसायीकरण र प्रशोधन उद्योगका लागि कर्णालीले कति लगानी भित्र्याउन सक्छ ? पर्यटन विकासमा असाध्य पछाडि परेको प्रदेश हो कणाली । पर्यटनको अब्बल सम्भवना तर न्यून यत्नले आज कर्णाली त्यस अवस्थामा पुगेकोे हो । तीन वर्षअघि कात्तिक÷मङ्सिरमा मुुगु पुग्दा गमगढीमा दोहोरी रेष्टुराँ र डान्सबारको चकचकी थियो । यार्चाको कारोबार सयममा त्यस्तै चकचकी हुन्छ रे । राराको विकाससँगै पर्यावरणीय अतिक्रमण बढेको छ । यातायात रारासम्मै पु¥याउँदा र तालसँगै होटल खोल्न दिँदा स्थिति बिजोग भएको छ । रारालाई व्यवस्थित गर्न सक्दा हजारौँ होइन, लाखौँ पर्यटक त्यहाँ पुग्न सक्छन् । राराजस्तो धर्तीकी अनुपम अप्सरा कर्णालीसँगमात्र छ तर समस्या पनि छन् । खाद्यान्न सङ्कट मूल हो । ताल्चा विमानस्थल नजिक एउटा होटल नजिक बारीमा फलेका ठुल्ठूला फर्सी लडिरहेका थिए । होटलकी दिदी भने नेपालगञ्जबाट लगिएको पुरानो काउली केलाउँदै थिइन । सट्टामा फर्सीको तरकारी पकाउन आग्रह गर्दा एक जना ग्राहकले दिदीको खप्की खाए, ‘क्या भन्दा हुन् यिनी भैंसाले खाने फर्सी पनि पाहुनालाई तिहुन हुन्या हुन् ?’ मधेशको चामल र तरकारीमात्रै उचित भन्ने बानी परेको छ । त्यहाँको कोदो, फापर, आलु, सिमी र मकै आदिले दोस्रो दर्जाको खाद्यान्नको रूपमा हेयले हेरिन्छ । यो कर्णालीको मात्र दोष होइन, काठमाडौँको विकास मोडल असफलता पनि भएको हो । अब कर्णाली प्रदेशले विगतको असफलताबाट पर्याप्त पाठ सिक्दै आत्मनिर्भर अर्थतन्त्रको बाटो लिनुपर्छ । इतिहासमा कर्णाली प्रदेश बलियो थियो । समृद्ध थियो । फागुन १२ को ऐतिहासिक र लगभग सर्वसम्मत निर्णयले कर्णालीको आर्थिक विकासमा अगाडि बढ्ने आधार सिर्जना भएको छ । शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासको आधार विस्तारसँगै पर्यटन, कृषि, जडीबुटी र औद्योगिकीकरण अगाडि बढ्नु वान्छनीय छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना