उमङ्गपूर्ण पर्व फागु

 

gita adhikariगीता अधिकारी

 

हाम्रा अन्य चाडपर्वजस्तै होलीको आफ्नै विशेषता छ । फागुन शुक्ल अष्टमीका दिन विभिन्न रङ्गीन कपडा मिलाएर बनाएको चीर गाडेपछि होली पर्व शुरु भएको मानिन्छ । यो वर्ष फागुन महिनाको ११ गते शुक्रवार शुरु भएको होली पर्व पूर्णिमाका दिन चीरलाई ढालेर जलाएपछि सम्पन्न हुन्छ । तराईमा भने भोलिपल्ट होली खेलिन्छ । हरेक वर्ष जस्तै यसवर्ष पनि रङ्गको पर्व अर्थात् होली पहाडमा १७ गते र तराईका क्षेत्रमा १८ गते मनाइँदैछ । रङ्गको पर्व होली शुक्रवार हनुमानढोकामा चीर
ठड्याइएसँगै औपचारिक रूपमा शुरु भएको हो । फाल्गुन शुक्ल अष्टमीका दिन काठमाडौँको हनुमानढोकामा ३२ हात अग्लो बाँसमा मयलको हाङ्गा साथै विभिन्न रगका रङ्गीविरङ्गी कपडा राखेर ठड्याइएसँगै देशभर होली पर्व शुरु भएको छ ।
गत शुक्रवार बिहान ११ बजेर ५७ मिनेटको शुभ साइतमा ३२ हात अग्लो बाँसको सप्तरङ्गी चीर ठड्याइएको छ हनुमानढोकामा । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म आठ दिन होली पर्व मनाउने गरिन्छ । होलीका दिन नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । वसन्त ऋतुको आगमनका रूपमा पनि यो पर्व मनाइने गरिन्छ । होलीको बारेमा जो. पं. भरतमणी मरासीनीका अनुसार हिरण्यकशिपु नामक राक्षसले भगवान् विष्णुभक्त आफ्नै छोरा प्रह्लादलाई मार्न छोरालाई अग्निकुण्डमा हालेर आफ्नी बहिनी होलिका (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्) लाई जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसीयाली मनाउन आपसमा रङ्ग र अबिर छरेर होली पर्व मनाउने परम्परा चलेको हो । होली हिन्दुको अत्यन्त प्राचीन पर्व हो । मरासीनीका अनुसार यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकमा पाइन्छ । नारद पुराण र भविष्य पुराणजस्तो प्राचीन हस्तलिपि र ग्रन्थमा पनि यस पर्वको उल्लेख छ । असत्यमाथि सत्यको विजय भएको कारण भनेर मानिँदै आएको यो पर्वमा हिजो आज थुप्रै विकृति देखिएका छन् । सामान्यतय रङ्ग दलेर आपसमा खुसी मनाउने गरे पनि शहरी इलाकामा बेलुनमा पानी भरेर हान्ने (लोला हान्ने) फोहर पानी बाटोमा हिँड्ने मान्छेलाई छ्याप्ने जस्ता विकृतिले यो चाडको महŒव नै हराउने त होइन भन्ने शङ्का उपशङ्का उठेका छन् । आफ्नो क्षणिक खुसीका लागि कसैको इच्छा विपरीत पानी र रङ्ग फ्याक्नु राम्रो हो र ! के हामीले खेल्ने रङ्गहरू हानिरहित छन् त ? बजारमा रहेका रङ्ग रसानयुक्त हुन्छन् । यस्ता रङ्गहरू शरीरमा दल्नाले विभिन्न खालका स्वास्थ्य समस्या हुने विज्ञहरू बताउँछन् ।
होलीका नाममा विकृति र विसङ्गती भित्रिएको छ, जसले यसको मौलिकता हराउँदै गएको हो कि भन्ने चिन्ता हुन थालेको छ । होलीमा विकृति फैल्याउने, पानी छयाप्ने लगायतका कार्यलाई प्रहरीले पक्राउ गर्ने सार्वजनिक मुद्दा लगाउने भने पनि यस्ता कार्यमा कमी आउनुको साटो बढ्दै गएको छ ।
होली मात्र होइन हाम्रा अन्य चाडपर्वमा पनि पछिल्लो समयमा आएर यस्तो देखिएको छ । चाहे हाम्रा भनिएका चाडपर्व हुन् या भित्रिएका संस्कृतिजस्तै भेलेन्टाइन, क्रिश्मस आदि । सबैतिर हामीले हाम्रा सीमा नाग्न थालेको हो कि भन्ने महसुस र आवाज उठे पनि यस्ता चाडपर्वमा विकृति घट्नुको साटो बढ्दै नै गएको पाइन्छ । भर्खरै मात्र हामीले शिवरात्रि मनायौँ । शिवको अराधना गर्ने पर्वमा गाँजा, भाङ्ग, धतुरा र मदिराजस्ता कुराले प्रश्रय पाए । पशुपति क्षेत्रमा त गाँजा, भाङ्गको राम्रो व्यापार नै थियो र युवापुस्तामा त्यसको विकृति स्पष्ट रूपमा देखिन पाइन्थ्यो । उनीहरूलाई रोक्ने कुनै पनि निकाय त्यहाँ थिएन । त्यस्तै महिलाको चार्डपर्वको रूपमा रहेको तीज पनि एक महिनाअघि देखिनै विभिन्न पार्टी प्यालेसमा पुग्न थालेको छ । दशैँ, तिहारलगायतका चार्डपर्वमा पनि मौलिकताभन्दा विकृतिले नै प्रश्य पाइरहेको तपाईं हामी सबैले देखेका नै छौँ । धार्मिक आस्था र विश्वासमा मनाइने पर्वमा समयको मागअनुसार सही रूपमा परिमार्जन हुनुपर्नेमा विकृति भित्र्याएका छौँ हामीले ।
वर्षौंदेखि होलीमा पनि यस्तै हुँदै आएको अनुभव सबैले बटुलेकै छौँ । फलतः रङ्ग र सद्भावको यो पर्व गुण्डा र आवाराहरूको दुष्टता प्रदर्शन गर्ने मञ्च बनेको छ । दुःखको कुरा पाँच÷छ वर्षको बच्चा पनि हातमा पानीको लोला लिएर आफ्नो शिकार खोज्दै हिँडेका दृश्य राजधानीमा यत्र–तत्र देखापरिरहेका छन् । वसन्त ऋतुको आगमनसँगै खुसीयाली बोकेर आउने रङ्गको पर्व होली पछिल्लो समय महिला अझ विशेषगरी युवतीका लागि त्रासको पर्वका रूपमा विकसित हुन थालेको छ ।
यो हाम्रो गिर्दो दुष्चरित्र, परपीडक मनस्थिति र सांस्कृतिक अवसानको पुष्टिबाहेक अरू के हुन सक्छ ? हरेक चाडपर्वमा हामीले सीमा नाघ्न थालेका त होइनौँ ! चाडपर्वको मौलिकताभन्दा विकृतिले प्रश्रय पाउँदै गएमा भोलिको पुस्ताले हामीबाट के सिक्ने सबैले यसबारेमा सोच्ने हो कि ? धर्म र संस्कृति जोगाउने नाममा विकृतिलाई प्रश्रय नदिनका लागि सबै सचेत हुनुपर्ने हो कि ।
वसन्त ऋतुसँगै आमन्त्रित पर्व हो होली । विभिन्न किसिमका रङ्ग खेलेर साथीभाई एवं आफन्तमा आत्मीयताको विकास गर्ने रङ्गीन चाड होली पर्वदेखि नै वितृष्ण जगाउने काम बन्द गरौँ । यसभित्र लुकेको संस्कार र जीवन मूल्यलाई प्राथमिकता दियौँ भने मात्र व्यक्ति, परिवार, समाज र राष्ट्र सबैको कल्याण हुन्छ, त्यही नै साँचो होली हुनेछ । वसन्त ऋतुको आगमनको सन्देश दिने, सामाजिक सद्भाव र मेलमिलाप तथा भाइचाराको सन्देश दिने रङ्गको उमङ्गपूर्ण पर्व होलीलाई आत्सात् गरौँ । यसमा देखिएका विकृतिलाई निरुत्साहित पारौँ । होलीको नाममा मादकपदार्थ सेवन गर्ने प्रवृत्ति पनि बढिरहेको छ, यसलाई सचेत नागरिकले रोक्ने पहल गरौँ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना