प्रजातन्त्रका दीपशिखा

Tilak prakashतिलक प्रकाश


प्रजातन्त्रप्रति आस्था र निष्ठा भएकाहरूले जति बीपी कोइराला र गणेशमान सिंहलाई चिनेका छन् । त्यति नै सुवर्ण शमशेरलाई पनि चिनेका छन् । राणा प्रधानमन्त्री भीम शमशेरका नाति, हिरण्य शमशेरका छोराका रूपमा मात्र सुवर्ण शमशेरको परिचय सीमित छैन नेपालको प्रजातान्त्रिक इतिहासमा उहाँको विशिष्ट योगदान छ । उहाँले २००७ सालको महान् क्रान्ति देखि २०३४ सालसम्म नेपालको प्रजातान्त्रिक आन्दोलनमा अनवरत योगदान गर्नु भएको हो । सुवर्ण शमशेरले नेपालमा प्रजातन्त्र ल्याउन, प्रजातन्त्रको परिपाटी बसाल्न र प्रजातन्त्र पुनर्वहाली गराउन आफ्नो तन, मन, धन, अर्पण गर्नुभयो ।
सुवर्ण शमशेर, शालीन, शान्त एवं भद्र पुरुष हुनुहुन्थ्यो । उहाँ कसैको अहित नचाहने । राजा महेन्द्रले २०१७ पुस १ गतेको घटना अघि “यदि मैले शासनको बागडोर लिएँ भने तिमीले मलाई सहयोग गर्छौ ?” भनेर सोधनी हुँदा उहाँले बडो भद्रतापूर्वक जवाफ दिनु भएको थियो “सरकार, गलत कुरो हुन्छ । केही मतभेदहरू छन् भने प्रधानमन्त्रीसँग सरकारले सल्लाह गरेर समाधान गर्न सकिन्छ । आम चुनावबाट चुनेर आएका जनप्रतिनिधि सरकारलाई विस्थापित गरिबक्सेमा मौसुफका पुज्य पिताज्यू र मौसुफकै पनि प्रजातान्त्रिक छवि नराम्रो हुन सक्छ । देश र जनता सबैका लागि प्रत्युत्पादक हुन सक्छ” ।
राजा महेन्द्रले अलि कड्केर फेरि सोधनी भयो “तिमी मलाई मद्दत गर्छौ कि गर्दैनौ मैले सरकार लिएँ भने ?” सुवर्ण शमशेर फेरि त्यही कुरा भन्नु भो “सरकार, त्यो त राम्रो हुँदैन” ।
राजा महेन्द्रले आफ्नो दृढ अठोटलाई अघि सारेर सुवर्ण शमशेरले हप्ता दिन अगाडि नै आफ्नो स्वास्थ्य परीक्षण गर्न जानका लागि राजा कहाँ निवेदन दिई राख्नु भएको थियो । राजाले बीपी र सुवर्णमा फाटो ल्याउन र नेपाली काङ्ग्रेसलाई ध्वस्त पार्ने उद्देश्यले कु गर्नुभन्दा दुई दिन अघि सुवर्ण शमशेरलाई कोलकाता जाने अनुमति दिनु भयो । पर्सि २०१७ पौष १ गते सेना प्रयोग गरेर तरुण दलको अधिवेशन स्थलबाट प्रधानमन्त्री बीपी कोइरालालाई गिरफ्तार गरेर लगि हाले । त्यहाँ उपस्थित गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई त्यस्तै अरु पनि थुप्रै नेता कार्यकर्ताहरू गिरफ्तार गरेर लगे । बचेखुचेका नेता कार्यकर्ता लुक्न थाले । देशव्यापी धड्पकड शुरु भए । केही नेता कार्यकर्ता भूमिगत ठाउँ ठाउँबाट एक मात्र शीर्ष नेता सुवर्ण शमशेरकहाँ आफ्नो अन्योल मनस्थितिलाई शान्त पार्न र निर्देशन लिन कोलकाता पुगे । राजाको क्रूर शाही कदमले मर्माहत सुवर्ण शमशेरले मिति २०१७ माघ १२, १३ र १४ गते विहारको पटनामा विशेष अधिवेशन बोलाएर त्यहाँ सर्वसम्मतिले शुवर्णजी नै क्रान्ति नायक चुनिए । उहाँले त्यो समेलनमा एउटा लामो वतmव्य नै निकाल्नु भएको थियो । सो वतmव्यमा उहाँले “अहिले नेपालमा जुन अन्योल छाएको छ, अथवा राजाको शब्दमा शान्ति छाएको छ, त्यो आँधी आउनु भन्दा पहिलेको शान्ति हो । आदरणीय देशबासीहरू हो, तपाईंहरू शान्त भएर बस्नुस्, हामी चुप लागेर बस्दैनौं, बसेका छैनौं । प्रजातन्त्रलाई कसैले मास्न सक्दैन । निकट भविष्यमै हामी प्रजातन्त्र पुनवर्हालीका लागि आन्दोलन गर्ने छौं । देश, जनता र प्रजातन्त्र माथि यति ठूलो सांघातिक अन्याय हुँदा के म निष्क्रिय भएर बस्न सकुँला र ?” यस वतmव्यबाट केही सकारात्मक प्रभाव प¥यो ।
२०१८ र २०१९ सालमा सशस्त्र क्रान्ति अधिकांश ठाउँमा भए । अधिकांश ठाउँमा क्रान्तिले आशातीत सफलता प्राप्त गरे । दुर्भाग्यवश चीन र भारतको सम्बन्ध चिसिएको अवस्था परेको थियो र चीनका मन्त्री चेनयीले “नेपालमा यदि कहिँ कतै दक्षिणबाट हमला भए त्यो चीनमाथिको हमला सम्झेर चीनले सामना गर्नेछ” भनेर हाँक दिए । अनि बाध्य भएर आन्दोलन स्थगन गर्नैप¥यो ।
नेपालको इतिहासमा अझ विश्वकै इतिहासमा राष्ट्रियता, प्रजातन्त्र र आफ्नो पार्टी “नेपाली काङ्ग्रेसको” खातिर आफ्नो खरबौँको सम्पत्ति अर्पण गर्न सक्ने त्यस्ता दानी नेता विरलै होलान्, वास्तवमा उहाँ दानवीर नै हो । वि.सं. २०१२ सालमा नेपाली काङ्ग्रेसको विरगन्जमा भएको महाधिवेशनमा उहाँ सभापति चुनिनु भयो र त्यसै मन्चबाट नेपाली काङ्ग्रेसको उद्देश्य एवं लक्ष्य समाजवादी हुनेछ भनेर उद्घोष गर्नु भएको थियो । लगतै उहाँले पर्सा र बारामा रहेका हजार विगाह जमिन गरिब सुकुम्बासी जनतालाई बाँड्नु भयो । त्यस्तै २०१६ र २०१७ सालको आफू अर्थमन्त्री हुँदा बजेट भाषणमा धेरै जनमुखी योजनाहरूको उद्घोष गर्नुभएको थियो । बजेट भाषणमा विर्ता उन्मूलन, जमिनदारी उन्मूलन, जंगल राष्ट्रियकरण, जमिन माथिको स्वामित्वमा हदबन्दी र शाही नेपाल वायुसेवा निगमलाई नेपाल वायुसेवा निगम बनाउनुपर्ने र त्यसलाई पनि राष्ट्रियकरण गर्नु जस्ता क्रान्तिकारी योजनाहरू प्रस्तुत गर्नु भएको थियो । नारायणहिटी दरवार तिल्मिलाउनुको कारण मध्ये यो पनि थियो । बजेट घोषणाको केही दिन पछि नै उहाँले नेपाल अधिराज्यमा रहेका आफ्नो १२ हजार विगाहा जमिन राष्ट्रियकरण गराउनु भयो । आदर्श भाषण होइन, व्यवहार हो, जुन सुवर्ण शमशेरले देखाउनु भयो । आफ्नो कुरा अटेर गरे भनेर रिसाउनु भएका राजा महेन्द्रले सुवर्ण शमशेरका काठमाडौँ बालुवाटारस्थित ललिता निवास एरियालाई राजनीतिक तथा न्यायिक मर्यादा कुल्चेर एकतर्फी रूपमा राष्ट्रियकरण गराउनु भएको थियो । यही ललिता निवासमा आज राष्ट्र बैंक छ, प्रधानमन्त्री क्वाटर छ, प्रधान न्यायाधीश क्वाटर छ, संसद् सभामुखको क्वाटर अवस्थित छन् । । त्यो एरिया करिब हजार रोपनीको थियो ।
विश्वका प्रजातान्त्रिक, लोकतान्त्रिक, गणतान्त्रिक जनउत्तरदायी सरकारले हिजोका तानाशाही व्यवस्थाले सर्वसाधारण जनताका हुन् वा नेताका हड्पेका सम्पत्ति फिर्ता अथवा मुआब्जा दिएका छन् । नेपालमा पनि जनउत्तरदायी तथा लोकतान्त्रिक सरकार आइसकेको हुनाले सरकारद्वारा गैरकानुनी तवरले हड्पिएका सम्पत्ति फिर्ता दिनु पर्दछ, दिलाउनु पर्दछ । त्यसको लागि आधिकारिक व्यक्ति अथवा संस्था लाग्नु पर्दछ ।
सुवर्ण शमशेर प्रति अरु नेताहरूको धारणा ः—
सन् १९४७ मा भारतका प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले नयाँदिल्लीमा प्रथम एशिया सम्मेलन डाक्नु भएको थियो । नेपालबाट प्रतिनिधि भएर शुवर्ण शमशेरले भाग लिनु भएको थियो । सो सम्मेलनमा फुर्सदको समयमा प्रधानमन्त्री नेहरुजी र सुवर्णजी भेट हुँदा उहाँको विद्वताबाट प्रभावित भएर पण्डित जवाहरलाल नेहरुले भन्नु भएको थियो “तपाई त भारत सरकारको अर्थ मन्त्री बनाउन लायकको हुनुहुँदो रहेछ”
२०१५ सालमा भएको निर्वाचनपश्चात् धेरे दिनपछि राजा महेन्द्रले बीपी कोइरालालाई दरवारमा बोलाउनु भयो र भन्नुभयो “कोइरालाजी तपाई अब प्रधान मन्त्री बन्नुपर्छ । ” कोइरालाजीले भन्नु भयो “सरकार, हुन त नेपालको इतिहासमा निर्वाचित पहिलो प्रधानमन्त्री हुने कसलाई आकांक्षा
नहोला ?, मेरो पनि आकांक्षा छ, तर मलाई दरवारको तौर तरिका थाहा छैन, अर्को कुरा यदि भारतले मलाई रुचाएन भने सरकार चलाउन अप्ठेरो पर्नेछ, यी नै दुई कारणले गर्दा सरकारबाट बडो कृपापूर्वक प्रधान मन्त्री बन्ने अवसर प्रदान गरिबक्सेको भएता पनि मैले बन्न उपयुक्त नहोला सरकार । दरवारका सबै रीतिरिवाज बुझ्ने र भारतलाई पनि अमान्य नहुने सुवर्णजीलाई प्रधानमन्त्री बनाई बक्सनुपर्छ सरकार । ”
त्यस्तै अर्को एक ठाउँमा सुवर्ण शमशेरबारे बीपी कोइरालाले भन्नु भएको थियो “अरुले पार्टी छोडेको म कल्पना गर्न सक्छु, तर सुवर्णजीसँंग मतभेद भएकोसम्म पनि म कल्पना गर्न सक्दिन । ”
सुवर्ण शमशेर जस्ता त्यागी नेता संसारमा विरलै होलान् । राष्ट्रियता, प्रजातन्त्र र आफ्नो मातृसंस्था खातिर सम्पत्ति त खरबौँ अर्पण गर्नुभयो । पदको पनि उहाँले लोभ गर्नु भएन । विगत २००८ सालमा राणा र नेपाली काङ्ग्रेसको संयुक्त मन्त्री परिषद्को विघटन पछि राजा त्रिभुवनले उहाँलाई प्रधानमन्त्री बन्न आग्रह गर्नुभएको थियो तर उहाँले २००७ सालको क्रान्ति कमाण्डर मातृका प्रसाद कोइरालालाई सिफारिस गर्नुभएको थियो । त्यस्तै २०१५ सालको आम निर्वाचनपछि राजा महेन्द्रले प्रधानमन्त्री बन्न भन्नु हुँदा उहाँले बीपी कोइरालाको नाम प्रस्तावित गर्नु भएको थियो । त्यसैले पनि दान र त्यागको अर्को नाम सुवर्ण शमशेर हो ।
सुवर्ण शमशेरको बारेमा अन्वेषण र अनुसन्धान गर्नुपर्ने र मनन चिन्तन गर्नुपर्ने धेरै नै छन् । सुवर्ण स्मृित ग्रन्थ निकाल्दैमा उहाँप्रतिको सम्मान पर्याप्त हुँदैन । समग्र रूपमा भन्नुपर्दा नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता सुवर्ण शमशेरको ऋण सम्पूर्ण प्रजातन्त्रवादीहरूको काँधमा छ ।
२०७४ फाल्गुण १७ गते उहाँको १०७ औं जन्म जयन्तीका अवसरमा नेपालमा प्रजातान्त्रिक व्यवस्थालाई अझ सबल तथा सुदृढ पार्ने कार्य सबै नेता तथा राजनीतिक दलहरूले गरेर त्यसलाई व्यवहारमा उतार्न सके यो नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । साथै नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँको योगदानको निकै कम मात्र अध्ययन अनुसन्धान भएको सन्दर्भमा यसतर्फ पनि सरोकारवालाहरूको ध्यान जानु उपयुक्त हुन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना