कालीगण्डकी करिडोरको ‘ट्र्याक’ खुल्यो

भउचप्रसाद यादव

काठमाडौंँ, फागुन १८ गते । भारतको सुनौलीलाई कालीगण्डकी हुँदै कोरला नाकामार्फत चीनसम्म जोड्ने सडकको ट्र्याक खोल्ने काम पूरा भएको छ । कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ र गुल्मीमा नेपाली सेनाले ट्र्याक छिचोलेपछि सुनौली अब कोरला नाकासित जोडिएको हो ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बागलुङ र गुल्मी जिल्लामा पर्ने करिडोरको ७६ किलोमिटर खण्डमा ट्र्याक खोल्ने काम नेपाली सेनाले सम्पन्न गरिसकेको जानकारी दिनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले नेपालसहित एसियाकै दुई आर्थिक शक्ति भारत र चीनलाई जोड्ने चीनको कोरलादेखि भारतको सुनौली जोड्ने कालीगण्डकी करिडोरको ट्र्याक खोल्ने काम सम्पन्न भइसकेको बताउनुभयो । उहाँले खोलिएको ट्र्याक फराकिलो पारेर सडक कालोपत्रे गर्नका लागि ठाउँठाउँमा निर्माण भइरहेको समेत जानकारी दिनुभयो ।
करिडोरअन्तर्गत बागलुङ र गुल्मी जिल्लामा पर्ने खण्डमा नेपाली सेनाले ट्र्याक खोल्ने काम गरेको थियो भने बाँकी खण्डमा सडक विभागले विभिन्न निर्माण कम्पनीमार्फत ट्र्याक खोल्ने काम गरेको थियो । बागलुङ र गुल्मीमा यो करिडोर ७६ किलोमिटर पर्छ । kaligandaki karidor
दुई वर्षअघि चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चीनसँग पारवहन तथा यातायात सम्झौता गरेपछि यस करिडोरको निर्माणले गति लिएको हो । कोरलादेखि सुनौलीसम्म ४३५ किमि लामो यस करिडोरमा दुई लेन (नौ मिटर चौडाइ) को सडक निर्माण गर्न लागिएको हो । यो करिडोर निर्माणले प्रदेश ४ र ५ लाई मात्र नभई सिङ्गै मुलुकको नै आर्थिक समृद्धिको ढोका खोल्ने विश्वास गरिएको छ ।
कोरला नाकादेखि मुस्ताङको कागबेनीसम्म ९५ किलोमिटर, कागबेनीदेखि बागलुङसम्म ९५ किलोमिटर, बागलुङदेखि गुल्मीको रिडीसम्म ७० किलोमिटर, रिडीदेखि बुटवलसम्म ६८ किलोमिटर र बुटवलदेखि सुनौलीसम्मको २५ किलोमिटर यस करिडोरअन्तर्गत पर्छ । कोरलादेखि १७ किलोमिटर उत्तरमा चीनको पक्की सडकसँग यो मार्ग जोडिन्छ ।
बागलुङ र गुल्मी खण्डमा सेनाद्वारा निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिँंदै सैनिक प्रवक्ता भण्डारीले तीन ठाउँमा बेलिब्रिज राख्ने काम पूरा भएको र अरू ठाउँको पहिचान भइरहेको बताउनुभयो । उहाँले चालू आर्थिक वर्षमा यो खण्डको निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
सडक विभागका प्रवक्ता मुक्ति गौतमले करिडोरको निर्माण दु्रत गतिमा भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो करिडोरको निर्माण तीव्र गतिमा भइरहेको छ । यसका लागि विनियोजित रकम प्रथम चौमासिक (असोज)मा सकिइसकेको छ । ”
चालू आर्थिक वर्षमा विनियोजित रकम र थप १० करोड रुपियाँ सकिएको तथा थप रकम अर्थ मन्त्रालयसँग माग गरिएको जानकारी प्रवक्ता गौतमले दिनुभयो । अबको दुई वर्षभित्र यस करिडोरको सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको नेपाली सेनाका प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।
चालू आर्थिक वर्षमा कालीगण्डकी करिडोरअन्तर्गत पर्ने राम्दी–मालढुङ्गा सडकखण्डका लागि ४५ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ भने बेनी–जोमसोम सडकखण्डका लागि थप ४५ करोड रुपियाँ छुट्ट्याइएको छ । गत वर्ष गैँडाकोट–राम्दी–मालढुङ्गा सडकखण्डका लागि २८ करोड ८२ लाख रुपियाँ विनियोजन गरिएको थियो ।
भौगोलिक विकटताका कारण यस करिडोरमा सोचेजस्तो काम गर्न नसकेको सडक विभागको भनाइ छ । प्रवक्ता गौतमले भन्नुभयो, “कतिपय ठाउँमा हेलिकोप्टरबाट सामान ओसारेर र डोजर लगेर यस करिडोरमा काम गर्नुपर्ने अवस्था छ । ”
करिडोर निर्माणसँगै नेपाललाई दुवै छिमेकी देश भारत, चीन तथा तेस्रो देशसँग व्यापार विस्तारमा सहयोग पु¥याउने विश्वास गरिएको छ । कोरलादेखि सुनौलीसम्मको कालीगण्डकी करिडोरलाई चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्ग मानिएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना