सरकार र विपक्षी दुवैलाई अवसर

shib kumar bhattaraiशिवकुमार भट्टराई

 

प्रधानमन्त्रीका रूपमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको दोस्रो कार्यकाल सुरु भएसँगै मुलुकले राजनीतिक सङ्क्रमण पनि छिचोलेको छ । अब विकास र समृद्धिको नारालाई सफलीभूत बनाउने अभियानमा यात्रा अघि बढ्ने आम विश्वास छ । यसका लागि विगतमा ओलीले गर्नुभएका सार्वजनिक वाचा र देखाउनुभएका सपना पूरा गर्ने दायित्व चुनौतीका साथ आएको छ । नेपालको इतिहासमै वामपन्थीको प्रचण्ड बहुमतका साथ उहाँले सरकार हाँक्ने जिम्मेवारी पाउनु भएको छ । साथै सङ्घीय जनअधिकार फोरमको समेत समर्थन जुटाउन समर्थ भएपछि ओली दुई तिहाइको बलियो सत्ताको बाग्डोर सम्हाल्न सफल भएको देखिन्छ । यो अवस्थामा मुलुकले समृद्धि र विकासको गति पहिल्याउन गाह्रो पर्ने छैन । हिजो शासनसत्ता सञ्चालन गर्ने व्यक्तिगत, गुटगत र बढीमा पार्टीगत स्वार्थमा लिप्त रहँदा देश र जनतासंँग सरोकार भएका मुद्दा ओझेलमा परेका थिए । लामो राजनीतिक अस्थिरताले नै नेताहरू यो सानो दायरामा सङ्कुचित भएका थिए । अहिले परिस्थिति फेरिएको छ, राजनीतिक स्थिरताको वातावरण तयार भएको छ । अब कम्तीमा दुई वर्षका लागि प्रधानमन्त्रीका रूपमा ओलीले देश हाक्ने अवस्था छ । यो अवधिलाई मुलुक र नागरिक हितका लागि सदुपयोग गर्ने अपूर्व अवसर उहाँलाई प्राप्त भएको छ । साँच्चै नै प्रधानमन्त्रीका रूपमा ओलीलाई यो कार्यकाल दुर्लभ अवसरका रूपमा आएको छ । ०४८ सालमा नेपाली काँग्रेसलाई यस्तो अवसर प्राप्त भएको थियो तर आन्तरिक कलह र अन्तरर्विरोधले गर्दा काँग्रेसले यसको सदुपयोग गर्न सकेन । जनताले पाँच वर्षका लागि एकल बहुमत दिए पनि आफ्नै कारण तीन वर्षमै सरकार धरासायी भयो । तर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा त्यस्तो चुनौती देखिँदैन । केन्द्रीय मात्र होइन, अधिकांश प्रान्तीय सरकार पनि आफ्नै पक्षमा रहेकाले प्रधानमन्त्रीलाई धेरै चुनौती आइपर्ने देखिँदैन । पार्टीभित्र पनि उहाँको बलियो पकड छ, विरोध गर्ने स्वर कडा छैनन् । हुन पनि उहाँकै एकल नेतृत्वमा वाम पक्षले यो अपूर्व जनमत प्राप्त गरेको छ । थोरै चुनौती भनेको माओवादी केन्द्रसँगको एकीकरण प्रक्रियामा प्रभावशाली नेताको व्यवस्थापन देखिन्छ । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालको सन्दर्भमा केही समस्या आउन सक्ला । त्यसलाई विभिन्न शासकीय पदमा मिलाएर अघि बढ्ने सम्भावना टरिसकेको छैन । पार्टीभित्र बलियो अवस्थामा रहेका ओली बाहिर पनि मिलेर काम गर्न सक्ने क्षमताका धनी देखिनु भएको छ । बहुमत हुँदाहुँदै पनि फोरमसँग सहकार्य गर्न रुचि देखाउनु भएकाले अरूको अस्तित्व स्वीकार्ने खुबी र गुण ओलीमा देखिएको छ । मधेश केन्द्रित दलले विगतमा उठाएका मुद्दा र सन्दर्भमा ओली उदार देखिनुले जिम्मेवारी बोधको छनक दिएको छ ।
बाह्य रूपमा पनि उत्तरी र दक्षिणी छिमेकीबाट बलियो समर्थनको सङ्केत प्राप्त भएको छ । यसका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओली प्रधानमन्त्री नियुक्ति हुनुअघि नै सकारात्मक सन्देश दिन अग्रसर भएको आभास मिल्यो । विदेशमन्त्री सुष्मा स्वराज स्वयं आएर ओलीलाई बधाई दिनु र सौहार्द वातावरणमा छलफल चलाएर विश्वासको वातावरण निर्माण गर्नुले दक्षिणको दृष्टिकोणमा परिवर्तन भएको देखिन्छ । प्रधानमन्त्री ओली पनि मुलुकलाई समृद्धितर्फ लैजान भारतीय सहयोग र समर्थन आवश्यक रहेकोमा स्पष्ट भएको प्रतीत हुन्छ । उत्तरी छिमेकी चीन त ओलीसँग सधैँ सहज र सकारात्मक रहेको विगतमै प्रष्ट भएको हो । भारतीय पक्षबाट विगतमा अघोषित नाकाबन्दी हुँदा चीनबाट प्राप्त सद्भाव र सहयोग ओलीकै पहिलो प्रधानमन्त्री कार्यकालमा भएको हो । त्यसैले आगामी दिनमा पनि ओली सरकारसंँग चीनको सहयोगी सम्बन्ध रहने अनुमान गर्न सकिन्छ ।
यतिबेला प्रधानमन्त्री ओली प्रमुख प्रतिपक्ष नेपाली काँग्रेससंँग सौहार्दपूर्ण सम्बन्ध बनाउन अग्रसर देखिनु भएको छैन । काँग्रेससँंग सुरुआती कालदेखि नै तिक्ततापूर्ण सम्बन्ध बढेको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी परिणामपछि पनि राज्य शक्तिको दुरूपयोग गरेको र सरकारलाई दीर्घकालीन असर पार्ने निर्णय गरेको बुझाइ उहाँको छ । त्यसैले संवैधानिक रूपमा प्राप्त कार्यकारी अधिकारबमोजिम देउवा मन्त्रिपरिषद्ले राष्ट्रियसभा सदस्यमा तीन जनालाई नियुक्त गर्न गरेको सिफारिस ओली सरकारले उल्टाइदिएकोे छ । यो विषय अहिले अदालतान छ । सर्वाेच्च अदालतले ओली सरकारले गरेको सिफारिसबमोजिम राष्ट्रपतिले मनोनयन गरेका सदस्यलाई सपथ नगर्नू नगराउनू भन्ने अन्तरिम आदेश जारी गरेको छ । यो विषयमा बढेको विवादले निकट भविष्यमा प्रधानमन्त्री ओलीको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससँग सहज सम्बन्ध बन्ने लक्षण देखिएको छैन । तैपनि नेपाली काँग्रेसले यो मुद्दालाई सडक आन्दोलनको मसला बनाएको छैन किनभने काँग्रेस यतिबेला पराजित मानसिकतामा छ । पार्टीभित्रको कलह र बेमेलले गर्दा यस्तो संवेदनशील विषयमा कडा प्रतिकार गर्न सकेन । हुन त काँग्रेस आफैँमा उदारवादी सोच भएको दल भएकाले होला उसले उग्र विरोध गर्दैन ।
यसरी हेर्दा ओली सरकारलाई चुनौतीसंँगै प्रशस्त अवसर उपलब्ध छ । पाइपलाइनबाट घर घरमा एलपी ग्यास आपूर्ति गर्ने विषय मात्र होइन, हावाबाट विजुली उत्पादन र समुद्रमा नेपाली जहाज चलाउने सपना पनि अब यथार्थमा रूपान्तरण गर्ने जिम्मेवारी प्रधानमन्त्री ओलीको काँधमा आइलागेको छ । विगतमा यी विषय प्रधानमन्त्रीका ड्रिम प्रोजेक्ट थिए । राम्रो काम गर्दा विपक्षीले पनि समर्थन गर्नुपर्ने हुन्छ नगर्दा जनताबाट थप टाढिने सम्भावना रहन्छ । त्यसैले असल काम गर्ने अवसर र वातावरण वर्तमान प्रधानमन्त्री ओलीका लागि उपलब्ध छ ।
थोरै प्रसङ्ग फेरि नेपाली काँग्रेसकै । लामो समय सत्ता सञ्चालन गरेको काँग्रेस यतिबेला सत्ता बाहिर पुगेको छ । जनसम्पर्कभन्दा गुटसम्पर्कलाई प्राथमिकतामा राखेर अघि बढेको यो पार्टीका नेतामा अझै चेत खुलेको छैन । स्थानीय, प्रदेश र केन्द्रमा नराम्रो पराजयको पीडामा रन्थनिएका कार्यकर्तालाई फेरि निराश पार्ने गतिविधि नेताबाट सुरु भएको छ । फेरि रडाको सुरु भएको छ – संसदीय दलको नेताको विषयमा । विगतमा देशकै सबैभन्दा पुरानो र ठूलो पार्टीको हैसियतमा रहेको दल अहिले खुम्चिदा पनि संसदीय दलको नेताका लागि मारामार छ । पार्टी महामन्त्री डा. शशाङ्क कोइरालाले बुधवार आफ्नो निवासमा आयोजना गर्नु भएको लञ्च बैठकमा सभापति देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंहले संसदीय दलको नेतामा दाबेदारी गर्नुभयो । हिजो पटकपटक अवसर पाएका तर माखो नमारेका नेताप्रति आमजनतामा आक्रोश छ । आगामी फागुन २१ गते संसदीय दलको नेताको चुनाव हँुदै गर्दा काँग्रेस समर्थक भने दलका नेतामा नयाँ अनुहार आएको हेर्न चाहन्छ । तर देउवा विरुद्ध रामचन्द्र पौडेलले खडा गर्न लागेका प्रकाशमान सिंह पनि विगतमा पटकपटक अवसर पाएका नेता हुन् । उनले पनि आफ्नो जिम्मेवारीप्रति न्याय गर्न सकेको धेरैले अनुभूति गरेका छैनन् । पार्टी महामन्त्रीसमेत रहेका वीपी पुत्र डा. शशाङ्कले पनि चाहना राखेको देखिन्छ । तर उनी सर्वसम्मत हुँदा मात्रै उक्त पदमा जाने पक्षमा छन् । उनको सोच गलत होइन । पार्टीलाई एकताबद्ध बनाएर लैजाने दायित्व पूरा गर्न अब काँग्रेसभित्र भावनात्मक एकता जरुरी छ । त्यसका लागि सर्वसम्मति नेतृत्व आवश्यक हुन्छ । तर प्रजातान्त्रिक संस्कार र मूल्यमान्यता स्वीकार्नु पर्ने अवस्था आउँदा निर्वाचनमा जानसमेत तयार हुनुपर्छ नेतृत्वले । अहिले काँग्रेसलाई सानोतिनो उपचारले पुग्दैन । ठूलै अप्रेसन गर्नुपर्ने अवस्था छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना