पाकिस्तानका प्रम अब्बासी सोमबार नेपाल आउनुहुने

abbasi-759काठमाडौँ, फागुन १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना दिन पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी सोमबार अपराह्न नेपाल आउन लाग्नुभएको छ ।  परराष्ट्र मामिलाका विज्ञ एवम् एमाले नेता डा. राजन भट्टराईले प्रधानमन्त्री अब्बासी नेपाल आउन लाग्नुभएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीलाई शुभकामना बधाई दिनमात्र उहाँ केही घण्टाका लागि नेपाल आउन लाग्नुभएको हो, अरु कुनै राजनीतिक भेटघाट नरहेको उहाँले बताउनुभयो । 

पाकिस्तानी प्रधानमन्त्री अब्बासी सोमबार अपरान्ह नेपाल आएर मङ्गलबार बिहानै पाकिस्तान फर्कने डा. भट्टराईले जानकारी दिनुभयो । नेपालको प्रधानमन्त्रीमा ओली निर्वाचित हुनुभएपछि यसरी विदेशका प्रधानमन्त्री आएरै औपचारिक रूपमा बधाई दिने काम सम्भवतः पहिलो हुने उहाँले बताउनुभयो । प्रधानमन्त्रीमा नियुक्त भएपछि टेलीफोन र इमेलमार्फत बधाई दिने प्रचलन यसअघि भए पनि पाकिस्तानी प्रधानमन्त्री आफै आएर बधाई तथा शुभकामना दिन लाग्नुभएको नौलो अभ्यास हुने भट्टराईले बताउनुभयो ।
त्यस्तै, परराष्ट्र मन्त्रालयका सहसचिव तथा दक्षिणी एसियाली महाशाखा प्रमुख भृगु ढुङ्गानाले पनि पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल आउन लागेको बताउनुभयो । तर, कार्यक्रमबारे आइतबार मात्र विस्तृत थाहा हुने जानकारी दिनुभयो ।
एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएकै दिन छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी टेलीफोनमार्फत बधाई दिनुभएको थियो । त्यस्तै, अमेरिका, चीन, बङ्गलादेश लगायतका प्रधानमन्त्रीले पनि विभिन्न सञ्चारमाध्यममार्फत बधाई दिइसक्नुभएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना