गाई मारी गिद्ध पोषण !

kamal rijalकमल रिजाल

 

अस्ति बिहीबार एकाबिहानै जगद्गुरु पीठ नेपाल सञ्चार केन्द्रबाट फोन आयो । फोनमा अपरिचित कुनै एक सज्जन बोल्दै थिए– ‘लौन घोर अनर्थ हुन लाग्यो । गाई मारेर गिद्ध पोस्न थालियो । प्रतिवाद गर्न खोज्दा जगद्गुरु (बालसन्त मोहनशरण देवाचार्य) माथि नै हातपात गर्न खोजियो, दुव्र्यवहार गरियो । ’ अहिले उहाँ कहाँ हुनुहुन्छ त ? भन्ने पङ्क्तिकारको प्रश्नमा उत्तर आयो– ‘महाकाली किनारमा नेपाल आमाको मूर्ति स्थापित गर्ने अभियानमा लाग्नु भएकाले कञ्चनपुरतिरै हुनुहुन्छ तर उहाँमाथि उद्दण्ड मानिसहरूको समूहबाट कुनै पनि बेला केही हुन सक्छ । ’ त्यसपछि तत्कालै जगद्गुरुसित सम्पर्क गरी वास्तविकता बुझ्न खोज्दा उहाँबाट पनि यस्तै जवाफ आयो । आर्तस्वरमा उहाँले थप के पनि भन्नुभयो भने– ‘कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका क्षेत्रमा गाईमाथि जुन किसिमको निर्ममतापूर्वक क्रुर व्यवहार भइरहेको छ, त्यसले मानव सभ्यतालाई नै कलङ्कित बनाइरहेको छ । नाम त पशु संरक्षण दिइएको छ तर व्यवहारले भने गाईलाई मार्ने काम भइरहेको छ । हाल त्यहाँ एकातर्फ घाँस, पानी नपाएर गाईहरू मर्न बाध्य भइरहेका छन् भने अर्कोतिर तिनको मासुले चिलगिद्धको पोषण गरिएको छ । अझ विडम्बना त के भने थला परेका गाईलाई चिलगिद्धले ठुङ्न थाल्दा समेत कसैको ध्यान पुगेको छैन । ’ हाल सामाजिक सञ्जाल तथा म्यासेन्जरमा टिभी टुडे च्यानलका यससम्बन्धी जुन समाचारले स्थान पाएका छन् ती त झनै बीभत्स छन् ।
महाकाली शारदापीठ जगद्गुरु आश्रम भम्किनीधामका अध्यक्ष हरिसिंह रावलका अनुसार सरकारले शुक्लाफाटा वन्यजन्तु आरक्षण क्षेत्रभित्र पर्ने चम्पापुरको हातीथला भन्ने स्थानमा गिद्ध संरक्षण केन्द्र खोलेको छ । त्यसैको नजिक पशु संरक्षण केन्द्र पनि खोलिएकाले वेदकोट नगरपालिका, भीमदत्त नगरपालिका तथा कृष्णपुर नगरपालिका लगायत यस क्षेत्रका तमाम छाडा तथा अनाथ गाई एवं बाच्छाबाच्छीहरूलाई त्यहाँ लगेर राख्ने गरिएको छ, जहाँ ती गाईहरू उचित स्याहार सुसार तथा घाँस, पानी नपाएर बीभत्स तरिकाले धमाधम मरिरहेका छन् भने त्यहीँ तिनीहरूको मासु खुवाएर गिद्ध संरक्षणको प्रयास भइरहेको छ । त्यसको विरोध गर्न जाँदा जो कोहीले पनि संरक्षणका नाममा खटिएका कर्मचारीहरू (पालेपहराहरू) को कोपभागी बन्नुपर्ने अवस्था छ । हाल जगद्गुरु मोहनशरण देवाचार्यमाथि भएको दुव्र्यवहारलाई पनि यसैको एउटा कडीका रूपमा लिन सकिन्छ । निश्चित रूपमा गिद्ध संरक्षण हुनुपर्छ । ऊ पनि प्रकृतिको एउटा अङ्ग हो । वातावरणीय शुद्धीकरणको दृष्टिले पनि उसको विशेष महŒव छ तर गाई मारेर गिद्ध संरक्षण गर्न भने हुँदैन, पाइँदैन । यो भनेको जघन्य अपराध मात्र होइन, सिङ्गो वैदिक संस्कृति र डेढ अर्बभन्दा बढी हिन्दुहरूको आस्थामाथिकै प्रहार हो । यस्तो काम कसैबाट पनि हुनुहुँदैन । त्यसमाथि सरकारी निकायबाट त्यसमा बलपुग्ने काम भइरहेको छ भने त्योभन्दा ठूलो विडम्बना अर्को हुनै सक्दैन ।
ऋग्वेदमा गाईलाई अघ्न्या भनिएको छ । अघ्न्याको अर्थ अवध्य प्राणी भन्ने हुन्छ । वैदिक संस्कृतिमा गाई आमासरह सम्मानित छिन्, गाईलाई गाई मात्र भनिँदैन । गोमाता भनेर पुकार्ने गरिन्छ । गाईको दूध आमको दूध जत्तिकै पौष्टिक मानिन्छ । आमाको दूध नपाएका वा नपुगेका नानीलाई गाईको दूध खुवाएर बचाउने गरिएको प्रशस्तै उदाहरण छन् । मानव जीवनमा गाईको महŒव यति नै भन्ने नै हुँदैन । उसले दूध दिएर मानव समुदायको हित र उन्नति त यसै पनि गरेकै छ साथसाथै कृषिसित सम्बन्धित बहर तथा मलमूत्र दिएर हामीलाई बचाउने कामसमेत हुँदै आएको छ । हिजोआज गोबर र गहुँतलाई ऊर्जाको स्रोतसमेत मान्न थालिएको छ । त्यति मात्र होइन गाईको गोबर र गहँुत धार्मिक दृष्टिले समेत अत्यन्त पवित्र मानिएको छ । स्थान शुद्धका लागि गाईको गोबरले लिप्नुपर्छ र शरीर शुद्धीका लागि गाईको गहुँत सेवन गर्नुपर्छ भन्ने धार्मिक मान्यता अहिले पनि उत्तिकै अकाट्य छ । हिजो धार्मिक दुष्टिले जुन कुरा भनिएको थियो, आज ती कुरा वैज्ञानिकहरूले समेत प्रस्ट हुँदै गएका छन् । गाईको गोबरले लिपेको स्थानमा हानिकारक किटाणु रहन नसक्ने र गाईको गहुँतमा अनेक किसिमका रोगसित लड्ने शक्ति रहेको कुरा वैज्ञानिक अनुसन्धानले नै पुष्टि गरिसकेको छ ।
गाईको शरीर पनि उत्तिकै पवित्र मानिएको छ । कुनै पनि शुभकर्म गर्दा गोदान गरी प्रायश्चित्त गर्ने चलन अहिले पनि कायमै छ । मर्ने बेलामा गरिएको गाईदानको पुण्यले वैतरणी नदी सजिलै तर्न सकिने कुरा धार्मिक ग्रन्थहरूमा उल्लेख छ । गाईको शरीरलाई संसारभरिकै देवीदेवताको निवासस्थान मानिएको छ । जसरी मातापिता शिवपार्वतीको सेवा गर्दा गणेशको मनोकामना पूरा भएको थियो, गोमाता सेवा गर्नेहरूको पनि त्यसैगरी सबै किसिमको कामना पूरा हुन्छ भन्ने कुरा इतिहास पुराणहरूमा उल्लेख भएका छन् । चाहे सूर्यवंशी तथा चन्द्रवंशी ठुल्ठूला राजा महाराजाहरू हुन् चाहे वशिष्ठ, विश्वामित्र आदि ऋषिमहर्षिहरू नै किन नहुन्, सबैले गाईकै कारण मनोकामना पूरा गरेका छन् । गाईको प्रशंसा वेदमा भएको छ । उपनिषद्मा भएको छ । इतिहास र पुराणमा भएको छ । अथर्ववेदमा त गाईसम्बन्धी छुट्टै एउटा सूक्त नै भेटिएको छ । अथर्ववेदको चौथो काण्डको २१ औँ सूक्तलाई गोसूक्त भनिन्छ । स्वयं ब्रह्माजीद्वारा गाइएको यस सूक्तमा कुल छ वटा मन्त्र छन्, जुन मन्त्रहरूले गोमाताको राम्रैसित अभ्यर्थना गरेका छन् । यसबाहेक उनको नाममा गवोपनिषद् नामक छुट्टै उपनिषद्समेत भेटिएको छ । समग्रमा भन्नुपर्दा संसारमा सर्वतोभावेन उपयोगी प्राणी कोही छ भने गाई नै छिन् भन्न कत्ति हिच्किच्याउनु पर्दैन तैपनि आज तिनै गोमाताका जीवन असुरक्षित हुँदै गएको पाइनु भनेको साह्रै दुःख लाग्दो कुरा हो ।
यसो त हाम्रो संविधानले पनि गाईलाई अघ्न्य अर्थात् अवध्य नै मानेको छ । गाईलाई राष्ट्रिय जनावर स्वीकार्नुको तात्पर्र्य यही नै बुझिन्छ तर व्यवहार भने तदनुकूल हुन सकिरहेको छैन । यसै पनि मुलुक धर्मनिरपेक्ष राष्ट्र हुनासाथ गाईमाथि असुक्षाको बादल घनीभूत हुन थालेको थियो । त्यतिबेलादेखि नै कतिपय सङ््घ–संस्थाले यसतर्फ गिद्धेदृष्टि लगाउन थालेका थिए । हाल आएर सरकारी निकायसमेत त्यसैमा बल पुग्ने काम भइरहेको छ भने यसलाई के भन्ने ? यद्यपि, सरकारको उद्देश्य नराम्रो छैन होला । उसले गाईको हितकै खातिर संरक्षण केन्द्र खोलेको पनि होला तैपनि मातहत निकायबाट तदनुरूप व्यवहार हुन सकेको छैन भने त्यसलाई के भन्ने प्रश्न विचारणीय छ । उसले मातहत कर्मचारीबाट भएको कामकारबाहीको जिम्मेवारी लिन पर्छ कि पर्दैन ? पर्दैन भने त छुट्टै कुरो होइन भने जानी–जानी घाँस, पानी बन्द गरी गाई मारेर गिद्ध पोस्ने कर्मचारीको विरुद्ध कडा कदम उठाउनै पर्ने देखिन्छ ।
यदि सुरक्षा नै सरकारी चासो हो भने यसका उपाय अरू पनि छन् । हाल भारत उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथले राज्यभरिका छाडा तथा अनाथ गाई एवं बाच्छाबाच्छी सङ्कलन गरी त्यसको रेखदेखको जिम्मा सोही राज्यका कारागारमा रहेका कैदीहरूलाई दिने नीति लिएका समाचार आएको छ, यो राम्रो अभ्यास हो । यदि चाहने हो भने यहाँ पनि त्यस्तै मार्ग अवलम्बन गर्न सकिन्छ । यसमा मुलुकमा रहेका पशु अधिकारवादी सङ्घ–संस्थाहरू र धार्मिक सङ्घ–संस्थाले पनि उत्तिकै चासो दिनुपर्ने हुन्छ । गोरक्षाको जिम्मा केवल जगद्गुरु र जगद्गुरु पीठको मात्र होइन, हामी सबैको हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना