सङ्कटमा सालक


hemchandra mahatoहेमचन्द्र महतो

 


अङ्ग्रेजीमा पैंगोलिन भनिने सालक स्तनधारी प्राणीमध्ये एक हो । शरीरभरि खपटैखपटाले ढाकिएको यो जीवको अस्तित्व संरक्षणको अभावमा सङ्कटमा परेको छ । प्रत्येक वर्ष फेव्रुअरी महिनाको तेस्रो शनिवार विश्व सालक संरक्षण दिवस नेपाललगायत विश्वभरि नै मनाइँदैछ । सालकलाई किसानको साथी पनि भन्ने चलन छ किनभने यसले खेतबारीमा रहेका कमिला, धमिरालाई खाने गर्छ । यसले गर्दा खेतबारीका बालीनाली धमिराबाट सुरक्षित भई कृषि उत्पादन वृद्धिमा यसले भूमिका खेल्छ । नेपालमा दुई प्रजातिका सालक पाइन्छन् । इन्डियन सालक र चाइनिज सालक । हरियो वन कार्यक्रमको सहयोगमा गरिएको एक अध्ययन अनुसार सालक नेपालको ४३ जिल्लामा पाइन्छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार २७ किसिमका लोपोन्मुख प्रजातिमध्ये सालक पनि एक हो । यसको चोरी शिकारी, मार्ने वा पक्रने व्यक्तिलाई एक लाखदेखि पाँच लाख रुपियाँसम्म दण्ड जरिवानाको व्यवस्थासमेत गरेको छ । वन्यजन्तुको अवैध व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (साइटिस) ले सालकलाई अनुसूची २ मा राखेको र यसको अवैध व्यापारलाई अपराधजन्य एवं दण्डनीय कार्य भनेर परिभाषित गरेको भए पनि सालकको संरक्षण कार्यमा अपेक्षा अनुरुपको प्रगति हुनसकेको छैन ।
सालकको मासु ज्यादै मिठो हुने, यसको जीउको माथि छोपिएको खपटा बुलेट प्रुफ ज्याकेट बनाउन, महँगो टाँक बनाउन, यसको छालाबाट महँगो सौन्दर्यको सामान बनाउन प्रयोग हुने भएकोले यस प्रजातिको अत्यधिक चोरी शिकारी हुने गरेको विज्ञहरुको कथन रहेको पाइन्छ । साथै वन जङ्गलको विनाश, वन डढेलो, सालकको वासस्थानको विनाश, सालक संरक्षणका लागि अपर्याप्त वैज्ञानिक संरक्षण योजना, सालक संरक्षणमुखी प्रचार प्रसारमा कमी, सरकारी गै्रह्रसरकारी संस्थाको संरक्षण प्राथमिकतामा नपर्नु आदि कारणले यस प्रजातिको सङ्ख्या दिनानुदिन घट्दै गइरहेको देखिन्छ । विश्व प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) भन्ने संस्थाले सन् २०१२ देखि नै विश्व सालक संरक्षण दिवस मनाउँदै आए पनि यसको संरक्षणप्रति अझै ठोस नीति निमार्ण, कार्यक्रम कार्यान्वयन नभएको भान हुन्छ ।
सालकको धार्मिक, वातावरणीय, आर्थिक महìव रहेको छ । कुनै कुनै हिन्दु सम्प्रदायले सालकलाई भगवान् शिवको प्रतीक भनी मान्ने विश्वास छ । कीरा फट्याङ्ग्रा, धमिरालाई यसले आफ्नो आहारा बनाई नाश गरिदिने कारणले खेतबारीको उत्पादकत्व मात्र नबढाई पारस्थितिक प्रणालीमा समेत सन्तुलन ल्याउन मद्दत गर्छ । यति मात्र हाइन, यसले किसानको आर्थिक स्थितिमा सुधार ल्याउने र आयआर्जन वृद्धिमा समेत टेवा प्रदान गर्छ ।
हुन त नेपालका केही जिल्ला जस्तै काभ्रे, मकवानपुर आदिका केही सामुदायिक वनमा सालक संरक्षणका लागि उपभोक्ता सक्रिय नभएका होइनन् । मकवानपुरमा त सालक संरक्षण पार्कको पनि स्थापना भएको छ तर, नेपालका अन्य बाँकी जिल्लामा यसको संरक्षण, चोरी सिकारी नियन्त्रणमा उल्लेखनीय तवरले जनताको सक्रिय सहभागिता नभएकै हो । संरक्षण योजनाको निर्माण तथा कार्यान्वयन नभएकै हो । कानुनलाई अझ बढी सशक्त ढङ्गले कार्यान्वयन, जनताको चेतना स्तरमा वृद्धि गरी सालक बासस्थानको व्यवस्थापनमा सक्रिय सहभागिता, सरोकारवारको अन्तरआत्मादेखि नै प्रतिबद्धता तथा समन्वय, यसको अवैध व्यापारमा नियन्त्रण गर्नका लागि अन्तरदेशीय सिमामा स्पेशल टास्कफोर्स, युवाको जनचेतना बढाई प्रचार प्रसार, नियन्त्रण कार्यमा सक्रिय सहभागिता गराई अपराधमा संलग्न व्यक्तिको पहिचान गरी कानुनबमोजिम कारबाही, दण्ड जरिवानामा शून्य सहनशीलताको सिधान्त लागू गर्न सके मात्र सालक प्रजातिको सही रूपमा संरक्षण हुन सक्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना