राष्ट्रिय महिला आयोग पदाधिकारीविहीन

सीता शर्मा

काठमाडौँ, फागुन २० गते । महिलाको हक, अधिकार र न्यायका लागि काम गर्दै आएको राष्ट्रिय महिला आयोग पदाधिकारीविहीन बनेको छ । नयाँ संविधान आएसँगै संवैधानिक अधिकारप्राप्त गरिसकेको आयोग गएको पाँच महिनादेखि पदाधिकारीविहीन बनेको हो ।
कानुनअनुसार महिला आयोगमा अध्यक्षसहित पाँच जना पदाधिकारी हुने व्यवस्था छ । गएको असोज २८ गतेसम्म भगवती घिमिरे आयोगको कार्यवाहक अध्यक्ष तथा एक्ली पदाधिकारी हुनुहुन्थ्यो । आयोगका सचिव तुलसीराम सेढार्इंले महिला आयोगको नयाँ ऐन जारी भएसँगै पुरानो ऐनअनुसार नियुक्ति हुने पदाधिकारीको पद स्वतः पदमुक्त हुने व्यवस्था भएको र नयाँ ऐनअनुसार पदाधिकारी नियुक्ति नभइसकेकाले आयोग अहिले पदाधिकारीविहीन हुन पुगेको जानकारी दिनुभयो । women commision
उहाँका अनुसार महिला आयोगका अध्यक्ष शेष चाँदताराको २०७२ कात्तिक २७ मा कार्यवाहक अध्यक्ष मनु हुमागाईं, सदस्य धनेश्वरी कुमारी चौधरी र उर्मिलादेवी विश्वकर्माको २०७२ चैत ५ मा पदावधि सकिएको थियो । अर्की सदस्य मोहना अन्सारीको २०७१ साल जेठ १८ मा नै पदावधि सकिएको थियो ।
आयोगका सचिव सेढाईंले महिलाका हक अधिकार स्थापित गर्ने र हिंसामा परेका महिलालाई न्याय दिलाउने जिम्मेवारी बोकेको महिला आयोगमा पदाधिकारी नियुक्ति हुन नसक्दा सम्पूर्ण जिम्मेवारी सम्हाल्नु परेको बताउनुभयो । उहाँले पदाधिकारी नहुँदा कामको बोझ बढे पनि सकेसम्म आयोगमा आएका मुद्दा सुनुवाइ गर्ने र पीडितका मुद्दालाई विशेष प्राथमिकतामा राखेर हेर्ने गरिएको छ भन्नुभयो ।
यता महिला आयोगका पूर्वकार्यवाहक अध्यक्ष मनु हुमागार्इंले महिलाको हक अधिकारको क्षेत्रमा काम गर्ने निकाय महिला आयोगमा लामो समयसँग पदाधिकारीविहीनको अवस्थामा छोड्नु राज्यकै बेवास्ता हो भन्नुभयो ।
महिला अधिकारकर्मी डा. रेणु अधिकारीले महिलाका विषयमा सरकार, राजनीतिक दल कति संवेदनशील छन् भन्ने कुरा आयोगमा अहिले पारिएको शून्यताले दर्शाउने बताउनुभयो ।
महिलाका समस्यामा काम गर्ने आयोगलाई पदाधिकारीविहीनको अवस्थामा छोड्न उचित नहुने भन्दै उहाँले महिला आयोगको संवैधानिक ऐन आइसकेपछि पनि पाँच महिनासम्म पदाधिकारी नियुक्ति हुन नसक्नु दुखद हो भन्नुभयो । राष्ट्रिय महिला आयोगका पूर्वसदस्य धनकुमारी सुनारले आयोगमा पदाधिकारी नहुँदा महिलाका धेरै मुद्दा ओझेलमा परेको बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना