भ्रष्टाचारसँग जोडिएका विषय

gorkarnaगोकर्ण अर्याल

 


यतिबेला मुलुकमा बढ्दो भ्रष्टाचार र अनियमितताको विषयले धेरै चर्चा पाउने गरेको छ । राजनीतिक तहमा रहेका व्यक्तिदेखि समाजका विभिन्न तह र निकायमा रहेकाबाट मुलुक अनियमितता र भ्रष्टाचारको दलदलमा फसेकोमा चिन्ता व्यक्त गर्ने गरेको पाइन्छ । हुन पनि यतिखेर भ्रष्टाचार र अनियमितता नभएका निकाय कमै होलान् । समाजको नियत र प्रवृत्तिसँग जोडिएको भ्रष्टाचारको विषयले समग्र समाजलाई नै दूषित तुल्याएको छ । राजनीतिक दलका नेताहरूले भ्रष्टाचार नियन्त्रण गर्ने विषयलाई प्राथमिकतामा राखेको भनेर भाषण गरिरहेका पनि छन् । देशका उच्च प्रशासकहरू पनि देशमा सुशासन कायम गर्न प्रतिबद्ध रहेको सुनाइरहेका छन् तर देशमा भ्रष्टाचार नियन्त्रणको विषयमा कुनै सुधार आउन सकेको छैन । अहिले पनि भ्रष्ट आचरण र नैतिकहीन व्यक्तिहरूको समाजमा बोलवाला कायमै छ । राजनीतिक तहदेखि समाजका हरेक निकायमा यस्तै चरित्रले प्रभूत्व जमाइरहेको पाइन्छ । यस्तो प्रवृत्तिले किन प्रश्रय पाइरहेको छ ? किन कि देशका अगुवा अर्थात् नेतृत्व लिने वर्ग नै इमान्दार र नैतिकवान हुन सकेका छैनन् भने अन्यत्रबाट सुधारको अपेक्षा कसरी राख्न सकिन्छ ? मुलुककमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने हो भने सबैभन्दा पहिले यस विषयमा सुधार हुनुपर्छ । मुहानलाई धमिलो बनाएर खोलामा बगेको पानी सङ्लो भएन भनेर चिन्ता गर्नु व्यर्थ हुनेछ ।
सबैभन्दा पहिले त पानीको मुहान किन र कसका कारणले धमिलिएको हो भन्ने खोजी गरी सफा गर्नेतिर लाग्नु उचित हुनेछ । यो त अनुशासनमा नबस्ने व्यक्तिले अरुलाई अनुशासनको पाठ सिकाएजस्तो हुन्छ । अनैतिक र भ्रष्ट व्यक्तिले भ्रष्टाचार नियन्त्रणको विषयमा दिएको भाषण र प्रवचन पनि त्यस्तै हुन्छ, जसलाई आम नागरिकले रुचाउने कुरा हुनै सक्दैन । नेतृत्वमा रहने व्यक्तिको चरित्र शुद्ध छ भने समाज पनि त्यही पथमा अगाडि बढेको हुन्छ । त्यस्तो नेतृत्व रहेको ठाउँ र निकायले गलत कार्य गर्ने आँट पनि गर्दैन । समाजको हरेक तह र नेतृत्वमा रहने व्यक्ति स्वच्छ, इमान्दार र चरित्रवान नभएसम्म भ्रष्टाचार नियन्त्रणमा सुधार पनि आउन सक्दैन । यो प्रवृत्तिमा सुधार नआउने हो भने दुध पोखरी बनाउने योजना पानी पोखरीमा रूपान्तरण भएको कथाजस्तै हुनेछ ।
हालै ट्रान्परेन्सी इन्टरनेशनलले सन् २०१७ को भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनकि गरेको छ । उक्त प्रतिवेदनले समेत नेपालले भ्रष्टाचार नियन्त्रणको दिशामा उत्साहजनक प्रगति हासिल गरेको देखाएको छैन । गत वर्षको तुलनामा केही प्रगति देखिए पनि यसलाई सन्तोषको रूपमा लिन सकिँदैन । प्रतिवेदनअनुसार, नेपालले सयमा ३१ अङ्क पाएर १२२ औँ स्थान प्राप्त गरेको छ । अघिल्लो वर्ष नेपाल २९ अङ्कसहित १३१ औँ स्थानमा थियो । पछिल्लो सर्वेक्षणमा नेपाल भ्रष्टाचार हुने मुलुकको सूचीमा दुई अङ्कले कमी आए पनि देशमा भ्रष्टाचार नियन्त्रण सुशासनको विषयमा खासै सुधार आएको देखिँदैन । ४० अङ्कभन्दा कम अङ्क प्राप्त गर्ने मुलुक अति भ्रष्ट मुलुकको सूचीमा पर्दछन् । यस हिसाबले नेपााल पनि भ्रष्ट मुलुकमा गनिन्छ । यसो हुनुमा विशेष गरेर राजनीतिक अस्थिरता र राजनीतिक तहमा हुने भ्रष्टाचारलाई प्रमुख कारकका रूपमा लिन सकिन्छ । यतिबेला यसको चर्को आलोचना राजनीतिक वृत्तले खेपिरहेको पनि छ । प्रतिवेदनले पनि व्यापार व्यवसायमा हुने घुस लेनदेनको बढ्दो अवस्था, सार्वजनिक पद र जिम्मेवारीमा रहने व्यक्तिबाट हुने गरेका अधिकारको दुरूपयोग, यसका साथै यस्ता विषयमा अनुगमन र कारबाही गर्ने प्रवत्तिमा कमी, आम नागरिकको सूचनामा कम पहुँच र राजनीतिक तहमा हुने भ्रष्टाचार र जस्ता विषयलाई प्रमुख समस्याको रूपमा औँल्याएको छ । नेपालमा भ्रष्टाचार बढ्नुका कारणमा यी विषयहरू देखिए पनि राजनीति गर्नेहरूमा इमानदारिता र प्रशासनिक स्वच्छता कायम रहने हो भने भ्रष्टाचार नियन्त्रणमा सुधार आउन सक्छ ।
वास्तवमा समाजलाई भ्रष्टाचारमुक्त बनाउने अभियान कम चुनौतीपूर्ण छैन । कुनै एक निकायको सक्रियताले मात्र पनि यसमा सुधार आउनेवाला पनि छैन । यसका लागि समाजका सबै जिम्मेवार निकायले आफूलाई मर्यादित र इमानदार रूपमा प्रस्तुत गर्न सक्नुपर्छ । नीति नियमभन्दा बाहिर गएर गरिने क्रियाकलापलाई रोकेर स्वच्छ र पारदर्शी ढङ्गबाट काम गर्ने हो भने मुलुक स्वतः विधि र प्रक्रियाबाट अगाडि बढ्छ । विशेष गरेर भ्रष्टाचार विरुद्धको अभियानमा लागेका अभियान्ताहरू, नागरिक समाज र आमसञ्चार जगत्को पहरेदारी भूमिका जरुरी छ । सार्वजनिक ठाउँ र सार्वजनिक सञ्चार माध्यममा बोलेर मात्र भ्रष्टाचार नियन्त्रण हुने विषय चाहिँ होइन । यसका लागि जुनसुकै तहको नेतृत्वमा रहनेहरूले इमानदारिता र नैतिकता प्रस्तुत गर्न सक्नु पर्छ तर यस्ता निकायमा रहनेहरूको मानसिकतामा अझै परिवर्तन आएको देखिँदैन । लोभानी पापानीले सबैलाई सताइरहेको छ । राजनीतिक गर्ने व्यक्ति शक्तिमान किन पुग्न खोज्छ ? कर्मचारी मन्त्रीको चाकरी गरेर अमुक मन्त्रालय वा विभागमा जान किन मरिहत्ते गर्छ ? जुन जिम्मेवारी र ठाउँमा रहेर पनि म देश र जनताको पक्षमा राम्रो काम गर्न सक्छु भन्ने भावनाको विकास किन हुन सकिरहेको छैन ? कुन ठाउँ र निकायमा पुगियो भने राम्रो कमाइ गर्न सकिन्छ भन्ने सोच र चिन्तन बोकाहरूबाट भ्रष्टाचार नियन्त्रण सम्भव होला ? यस्ता क्रियाकलाप र गतिविधिबाट समाजले सुशासनको अनुभूति गर्न पनि सक्दैन । वास्तवमा यस किसिमको चरित्र र प्रवृत्तिले लोकतान्त्रिक परिपाटीको खिल्ली उडाएको छ ।
यतिखेर हाम्रो राजनीतिक चरित्र र प्रवृत्ति पनि भ्रष्टाचारजन्य गतिविधिको सेरोफेरोमा रुमलिएको आभाष भइरहेको छ । धनको धाक रवाफ लगाउने व्यक्तिहरू नै ठूला ठालूमा गनिन थालेका छन् । यसै कारण राजनीतिक दलहरू भ्रष्टाचारलाई संस्थागत गराउने संस्थाका रूपमा विकसित भइरहेका छन् । समाजको मनोवल उच्च बनाउने राजनीतिक निकायका व्यक्तिहरू नै भ्रष्ट कार्यमा संलग्नहरूलाई साथ दिने अवस्था बन्नुले भ्रष्टाचार नियन्त्रणको विषय शब्दमा मात्र सीमित हुने हो कि भन्ने अशङ्का बढाएको छ । यतिबेला मुलुकमा राजनीतिक नेतृत्व र त्यसको आडमा अनियमितता र भ्रष्टाचार गर्नेहरूका लागि मौका बनिरहेको छ । मुलुकमा भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्न भनेर लामो राजनीतिक सङ्घर्ष र त्याग गरेका राजनीतिक दल र तिनका नेताहरू नै भ्रष्टाचारी र अनैतिक कर्मका मतियार बनेका घटना सार्वजनिक हुनु स्वयंमा सरमको विषय हो । यस्तो कार्यले रक्षक नै भक्षक भने जस्तो भएको छ । यस स्थितिमा सुधारको सबैभन्दा पहिले राजनीतिक दलले आफूलाई लाग्ने गरेका यस किसिमका आरोपबाट मुक्त हुने अवस्था निर्माण गर्नुपर्छ । यो भएमा मात्र दलहरूप्रतिको जन विश्वास बढेर जान्छ र मुलुकले गरेका अपेक्षा पूरा गराउनमा सहयोग पुग्दछ ।
मुलुकमा लोकतन्त्र आएको लामो समयसम्म पनि जन अपेक्षा अनुरूप काम हुन नसक्नु र देश विकासको कार्यले गति लिन नसक्नुको कारणमा भ्रष्टाचारलाई नै लिन सकिन्छ । २०४७ पछि भ्रष्टाचारले संस्थागत रूप लिएको राजनीतिक तह र प्रशासनिक तहमा रहेका व्यक्तिहरू भ्रष्टाचारमा मुछिएबाट प्रस्ट हुन्छ । यसै कारण पनि भ्रष्टाचारको मूल जरोको रूपमा राजनीतिलाई लिन थालिएको हुनसक्छ । राजनीतिक नेतृत्वले यो दोषलाई मेटाउन सकिरहेको पनि छैन । यतिबेला राजनीतिक नेतृत्व जनताका नजरमा रक्षक नै भक्षक साबित भएका छन् । योसँगै राजनीतिलाई भ्रष्टीकृत गराउनमा कर्मचारीतन्त्रको भूमिकालाई भने नकार्न सकिन्न । यस अर्थमा राजनीतिक नेतृत्वलाई भ्रष्ट बनाउन सिकाउने वर्ग पनि उत्तिकै दोषीका रूपमा लिनुपर्छ । समाजमा दिन प्रतिदिन फिजिँदै गएको भ्रष्टाचारको जालोलाई रोक्न समाजका सबै तह र निकायको जिम्मेवारी आवश्यक छ । देशमा लागू भएको सङ्घीय संरचनालाई आर्थिक अनुशासन र पारदर्शी ढङ्गबाट सञ्चालन गर्न सकियो भने मात्र आम नागरिकको अपेक्षाले सार्थकता पाउन सक्दछ । हैन भने केन्द्रमा चलेको भ्रष्टाचार र अनियमितता समाजको तल्लो निकायसम्म पुग्न सक्दछ । यसका लागि नेतृत्व तह इमानदार र नैतिकवान हुन जरुरी छ । नेतृत्व वर्ग इमानदार भइदियो भने नेपाल अतिभ्रष्टाचार हुने मुलुकको सूचीबाट हट्ने दिन आउन समय लाग्ने पनि छैन । भ्रष्टाचारसँग जोडिएका विषय पनि यिनै हुन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना