फागुन २६ मा सभामुख चयन हुने

नारायण काफ्ले

काठमाडौँ, फागुन २३ गते । प्रतिनिधिसभा तथा राष्ट्रियसभाको मंगलबार बसेको बैठकले पदाधिकारी चयन गर्ने कार्यतालिका तय गरेको छ । सार्वजनिक कार्यतालिका अनुसार प्रतिनिधिसभाका सभामुखको निर्वाचन फागुन २६ गते हुने छ भने राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन फागुन ३० गते हुनेछ ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा ज्येष्ठ सदस्य (सभामुख) महन्थ ठाकुरले सभामुख चयन गर्ने कार्यतालिका सार्वजनिक गर्नुभएको हो । कार्यतालिकाअनुसार शुक्रबार सभामुख पदका लागि मनोनयन हुनेछ भने, शनिबार प्रतिनिधिसभामा उम्मेदवारका प्रस्तावलाई निर्णयार्थ पेश गरिनेछ ।
यस्तै, राष्ट्रियसभाका ज्येष्ठ सदस्य (अध्यक्ष) तारादेवी भट्टले पनि कार्यतालिका सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिनुभयो । निर्देशनअनुसार मंगलबार नै कार्यतालिका सार्वजनिक भएको छ । सार्वजनिक कार्यतालिका अनुसार फागुन २९ गते अध्यक्षका लागि मनोनयन हुनेछ भने फागुन ३० मा प्रस्तावलाई निर्णयार्थ पेश गरिनेछ ।
सभामुख निर्वाचित हुन सदनमा तत्काल कायम रहेको सदस्य संख्याको बहुमत आवश्यक पर्छ । प्रतिनिधिसभामा हाल २७२ सदस्य छन् । माओवादी केन्द्रका टोपबहादुर रायमाझी, धर्मशीला चापागाईँ र राजपा सांसद् रेशमलाल चौधरीको शपथ नभएका कारण उहाँहरुको मताधिकार रहने छैन । parlament of nepal
सभामुखमा निर्वाचित हुन तत्काल कायम रहेको संख्याको बहमुत अर्थात १३७ सदस्य आवश्यक पर्छ । सभामुखका लागि वाम गठबन्धनसँग सहज बहुमत छ । एमाले र माओवादी केन्द्रका गरी प्रतिनिधिसभामा १७४ सांसद् छन् । यस्तै, ५९ सदस्यीय राष्ट्रियसभामा ५५ सदस्यलाई मताधिकार छ । सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गरेका तीन सदस्यको शपथ अदालतले रोकेको छ । यस्तै सदस्य रमेश यादवको पनि शपथ भएको छैन ।
राष्ट्रियसभा अध्यक्षमा निर्वाचित हुन सदनको कायम रहेको संख्या अनुसार २८ सदस्य आवश्यक पर्छ । राष्ट्रियसभामा नेकपा एमालेका मात्र २७ सदस्य छन् । बहुमतभन्दा एमाले एक मतले मात्रै पछि छ । एमाले र नेकपा माओवादी (केन्द्र)सँग राष्ट्रिय सभामा पनि सहज बहुमत छ ।
वाम गठबन्धनबीच भएको सहमति अनुसार प्रतिनिधिसभा सभामुख माओवादी केन्द्रको भागमा परेको छ भने उपसभामुख एमालेले पाउने छ ।
यस्तै राष्ट्रियसभा अध्यक्ष एमालेको भागमा परेको छ । उपाध्यक्ष भने माओवादी केन्द्रको भागमा छ । दुई दलबीच पदाधिकारी बाँडफाँटको सहमति भए पनि उम्मेदवार टुंगो लागेको छैन । प्रतिनिधिसभा सभामुखमा माओवादी केन्द्रका कृष्णबहादुृर महरा मुख्य दाबेदार हुनुहुन्छ । देवप्रसाद गुरुङ, गिरिराजमणि पोखरेलको पनि सभामुखमा दावी छ ।
नियमावली मस्यौदा समिति गठन
प्रतिनिधिसभाको मंगलबारको बैठकले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली मस्यौदा समिति गठन गरेको छ । दलीय प्रतिनिधित्वमा १३ सदस्यीय समिति गठन गरिएको हो । समितिमा कृष्णभक्त पोखरेल, जुलीकुमारी महतो, दिलेन्द्र बडु, देवप्रसाद गुरुङ, प्रेम सुवाल, वृजेश गुप्ता, मीनबहादुर विश्वकर्मा, मीनेन्द्र रिजाल, रवीन्द्र अधिकारी, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, विन्दा पाण्डे र विमल श्रीवास्तव सदस्य हुनुहुन्छ ।
यस्तै राष्ट्रियसभा कार्यसञ्चालन नियमावली मस्यौदाका लागि पनि मस्यौदा समिति गठन भएको छ । नौ सदस्यीय समितिमा गणेश तिमिल्सिना, पर्शुराम मेघी गुरुङ, दिलकुकारी रावल, सुरेन्द्र पाण्डे, राधेश्याम अधिकारी, दीननाथ शर्मा, जीवन बुढा, वृषेशचन्द्र लाल र प्रमिला कुमारी सदस्य हुनुहुन्छ । दुबै समितिलाई एक महिनाको समय दिइएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना