राष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता

sheetal_niwasकाठमाडौं, फागुन २३ गते । राष्ट्रपति निर्वाचनका लागि बुधवार उम्मेदवारी दर्ता हुँदैछ । नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भवन परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । 

निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले राष्ट्रपति निर्वाचनका लागि सबै प्रकारको तयारी पूरा भएको र बुधबार उम्मेदवारी दर्ता हुने बताउनुभयो । उहाँले संघीय संसद् र प्रदेश सभा सदस्यले पनि राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्न पाउने तर निर्वाचित भए सदस्य पद स्वतः खारेज हुने जानकारी दिनुभयो ।
२०७२ असोज ३ गते जारी भएको ‘नेपालको संविधान’ अनुसार निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन गराउन लागेको यो पहिलो पटक हो । आयोगले निर्वाचन सम्पन्न गराउन उच्च अदालत पाटनका न्यायाधीश तीलप्रसाद श्रेष्ठलाई निर्वाचन अधिकृत तोकेको छ ।
सहायक निर्वाचन अधिकृत विनोदकुमार दाहालले मङ्गलबार मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको र बुधबार बिहान १० देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
राष्ट्रपतिको निर्वाचनका लागि प्रदेश सभाका तर्फबाट ५५० सदस्यमध्ये ५४९ र संघीय–संसद्का ३३४ सदस्यमध्ये ३३१ मतदातालाई मात्रै मताधिकार प्राप्त छ । प्रदेशसभा ५५० र संघीय संसद्मा ३४४ गरी ८८४ कुल मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र संघीय संसद्का सदस्यको मतभार ७९ छ ।
राष्ट्रिय सभाका लागि राष्ट्रपतिबाट मनोनीत तीन सदस्यलाई सर्वोच्च अदालतले शपथ गर्न रोक लगाएका कारण मतदाता नामावलीमा नाम छैन । राष्ट्रिय जनता पार्टीका कैलाली क्षेत्र नं. १ बाट निर्वाचित रेशम चौधरी थुनामा रहे पनि उहाँको नाम भने मतदाता नामावलीमा छ ।
तर मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित भई हाल थुनामा रहेका राजीव गुरुङ (दीपक मनाङे)को नाम भने मतदाता नामावलीमा समावेश छैन ।
निर्वाचन कार्यक्रम अनुसार, उम्मेदवारको अन्तिम नामावली फागुन २४ गते प्रकाशन हुने र फागुन २९ गते बिहान १० देखि ३ बजेसम्म मतदान हुँदैछ । मतदान सकिएलगत्तै मत गणना हुने जानकारी आयोगले दिएको छ ।
हरियो र रातो मतपत्र हुने
आयोगको निर्वाचन सञ्चालन शाखाका उपसचिव देशबन्धु अधिकारीका अनुसार संघीय संसद्का सदस्यले हरियो र प्रदेशसभाका सदस्यले रातो मतपत्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि मात्रै मतपत्र छपाइ सुरु हुने छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना