समृद्धिका आधार

rajendra kiratiराजेन्द्र किराती

राजनीतिक आन्दोलनले नै परिवर्तनका सबै ढोकाहरू खुल्ने गर्छ । विश्व मानव समाजको ऐतिहासिक अध्ययनबाट यसको पुष्टि पनि भइरहेको छ । नेपालमा पनि विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलनकै हामी यो उचाइमा आइपुगेका छौँ । मूलतः समाजमा विद्यमान सबैखाले समस्याको समाधन राजनीतिले गर्छ । हरेक खराबी हटाउने महŒवपूर्णअस्त्र नै राजनीति हो, अर्थात् यसले सबै परिवर्तनकारी सामाजिक–आर्थिक आयामको निर्धारण गर्छ । यही धरातलीय सच्चाइका कारण कुनै पनि समाजमा अग्रगामी राजनीतिक व्यवस्थापनविना अन्य मुद्दाको समाधान सम्भव हुँदैन ।
कुनै पनि समाजमा सङ्घर्षको राप र चापमा गरिएको अग्रगामी राजनीतिक व्यवस्थापनले असम्भवलाई पनि सम्भव बनाइदिन्छ । परम्परागत मनोविज्ञान, सोच, चिन्तन र संस्कृतिलाई विस्थापन गरिदिन्छ । औसत सोच्ने तरिका र मनोविज्ञानमा जागरण र आमूल रूपान्तरण ल्याइदिन्छ । यही जागरण नै अजय शक्ति र अतुलनीय ऐतिहासिक सम्पत्ति बन्छ । आज यही जागरणको राप र तापमा हामी समृद्धिको सपना देख्न सक्ने भएका छौँ । वास्तवमा आज समृद्धि साझा मुद्दा भइसकेको छ । यति गुलियो र लोकप्रीय समृद्धि विगतमै देखेको भए कति जाती हुन्थ्यो ? आज सबैले गुमेको र छुटेको महसुस गरिरहेको हुनुपर्छ । तर, राजनीतिक विज्ञानको आँखाबाट हेर्दा हिजो दूरदर्शी दल वा नेता नभएर समृद्धि दुर्लभ भएको होइन । आज एकाएक फिल्मी शैलीमा समृृिद्ध सोच्ने नेता जन्मिएको पनि होइन । औसत यिनै नेता र दलहरू विगतमा पनि निर्णायक तहमै थिए । हिजो र आजको राजनीतिक चरित्र र चेत नितान्त भिन्नछ । ऐतिहासिक प्रक्रियाअन्तर्गत आज राजनीति एक कदम अघि बढेको छ । एक हदसम्म राजनीतिक समस्या समाधन भएको छ र बाँकी समाधन हुँदै जाने सम्भावनाको प्रक्रिया आरम्भ भएको छ । विकसित राजनीतिक परिवेशले विकास, समृद्धि र समाजवाद जस्ता तपशीलका मुद्दालाई आम रूपमा स्थापित हुनुको साथै साझा नारा बनाइदिएको छ ।
यसैको बलमा आज समृद्धि साझा यथार्थ र स्थापित नारा हुनुको साथै कार्यान्वयनको सिलसिलामा गइसकेको छ । सायद तीस वर्षअघि यो काल्पनिक र अव्यावहारिक हुन्थ्यो । पछिल्लो समय सबैले सोलोडोलो समृद्धिको नारामार्फत जनतामा भावनात्मक ब्ल्याकमेलिङ गरिरहेका छन् । समृद्धिको वर्गचरित्रबारे बहस भएको छैन । तर, यसको राजनीतिक अन्तरवस्तु र पद्धति फरक छ । समृद्धि पनि वर्गीय हुन्छ । न्यायपूर्ण र अन्यायपूर्ण हुन्छ । अन्तरविरोध वा असमानताको दूरी बढाउने र घटाउने हुन्छ । परम्पारागत र प्रगतिशील हुन्छ । यसका प्रक्रिया भिन्न छन् । भौतिक संरचना निर्माण नै समृद्धिको सार होइन । मानव विकास सूचकाङ्कको समानुपातिक र न्यायिक अभ्यास, पहुँच र समान अवसरको सग्लो रूप नै समृद्धि हो । समृद्धिका केही आधारलाई यसरी पनि बुझ्न सकिन्छ ।
श्रम संस्कृति ः श्रम गर्ने आम संस्कृति समृद्धिको आधारभूत पक्ष हो । उपभोक्तावादी संस्कृति हाबी भएको समाजमा काम गर्ने संस्कृति हुँदैन, जुन समृद्धिका लागि अनिवार्य हुन्छ । श्रमलाई पनि श्रेष्ठता र निचताको कोणबाट हेर्ने गरिन्छ । सबैखाले कामप्रति समान र सम्मानपूूर्ण व्यवहारको कमी देखिन्छ । आम रूपमा श्रम गर्ने भन्दा चिया गफ लगाएर कमिसनको पछि दौडने प्रवृत्ति हाबी हुन्छ । हालीमुहाली उनीहरूकै हुन्छ । श्रमप्रति आदर र सम्मानको संस्कृति हुँदैन । श्रमलाई हेलाहोचो गरिन्छ । श्रम संस्कृति संस्थागत नभएको समाजमा सिङ्गो श्रमजगत् उपेक्षित हुन्छ । श्रम र श्रमिकहरू प्रथिष्ठाको विषय बन्दैन । नेपालमा श्रम गर्दा लाज मान्नुपर्ने र हीन मनोविज्ञानको प्रवृत्ति बढ्दो छ । यस्तो मनोविज्ञानले श्रमलाई अपमान गर्छ । श्रमलाई अपमान गर्नु भनेको समृद्धि असम्भव हुनु हो । त्यसैले साँचो समृद्धिको लागि सबैभन्दा पहिला राजकीय रूपमा श्रम संस्कृति विकास गर्दै श्रम र श्रमिकलाई सम्मान गर्ने परिपाटी बसाल्नुपर्छ ।
कृषि आधुनिकीकरण र वैज्ञानिकीकरण ः पछिल्लो तथ्याङ्क नियाल्दा नेपाल अझै कृषिप्रधान मुलुक हो । यसकारण समृद्धिका लागि यसको आधुनिकीकरण अनिवार्य छ । आज पनि पैसठ्ठी प्रतिशत जनता यस क्षेत्रमा निर्भर छ । यसको ग्राहस्थ उत्पादनमा एकतिहाइ बढी योगदान छ । कुल श्रम शक्तिको तीनचौथाइ कृषि पेसामा निर्भर छ । यद्यपि, उनीहरू नितान्त परम्परागत निर्वाहमुखी खेती प्रणालीमा आश्रित छन् । सत्ताइस लाख हेक्टर खेतीयोग्य जमिनमा करिब पैतालीस प्रतिशतमा मात्र सिँचाइ सुविधा छ । पूर्णकालीन कृषि श्रमको ग्यारेन्टी छैन, अझैसम्म मौसमी श्रम कायम छ । त्यसैले वास्तविक समृद्धिका लागि कृषि क्षेत्रको आधुनिकीकरण, वैज्ञानिकीकरण र व्यावसायिकीकरण जरुरी छ । यसका लागि जग्घा व्यवस्थापन, छनोट र चाक्लाबन्दी गरी व्यावसायिक खेती प्रणाली लागू गर्नुपर्छ । सिँचाइ सुविधामार्फत आममा कृषि श्रमलाई व्यावसायिक र पूर्णकालीन बनाउनुपर्छ । तब मात्र साँचो समृद्धि सम्भव छ ।
औद्योगिकीकरण ः मुलुकको समग्र औद्योगिक विकास नै समृद्धिको कोसेढुङ्गा हो । राष्ट्रिय औद्योगिक पुँजीको पूर्ण आकारमा विकास समृद्धिको मूल कडी हो । यद्यपि, अर्थतन्त्रमा आज वित्तीय पुँजी हाबी छ । उद्योग क्षेत्रले ग्राहस्थ उत्पादनमा करिब पन्ध्र प्रतिशत योगदान र तीन प्रतिशत मात्र श्रमशक्ति खपत गरिरहेको छ । समृद्धिका लागि यो असाध्यै न्यून योगदान हो । आयत–निर्यात आँकडा हेर्दा पनि डरलाग्दो असमानता देखिन्छ । कुल निर्यात एक खर्ब दश अर्ब रुपियाँ हाराहारी छ भने आयत झण्डै आठ खर्ब देखिन्छ । सानो र पछौटे उत्पादनको कारण व्यापार असन्तुलन बिग्रिएको हुन्छ । पेट्रोलियम पदार्थ आयतमा मात्र वार्षिक तीस अर्ब बढी खर्च भइरहेको छ । साँचो समृद्धिका लागि आयात–निर्यातको यो तथ्याङ्क उल्ट्याउन सक्नुपर्छ । त्यसका लागि आम आधुनिकीकरण र वैज्ञानिकीकरणसहितको औद्योगिकीकरण अनिवार्य हुन्छ । उत्पादन र निर्यात क्षेत्र बढाउनुपर्छ । ग्राहस्थ उत्पादनमा कम्तीमा दुईतिहाइ हिस्सा योगदान पु¥याउनुपर्छ । त्यसैले नयाँ औद्योगिक नीतिअनुरूपको तीव्र राष्ट्रिय औद्योगिकीकरण आजको आवश्यकता हो । यसले मात्र बृहत् समृद्धिलाई मूर्तीकरण गर्छ ।
रोजगारी ः नेपालमा डेढ करोडभन्दा बढी श्रमशक्ति रहेको छ । यसमध्ये झण्डै चालीस प्रतिशत बेरोजगार देखिन्छ । रोजगारीमा रहेको जनशक्तिमा पनि झण्डै पचास लाख वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारीबाट ग्राहस्थ उत्पादनमा लगभग एकतिहाइ योगदान रहेको छ । पचास प्रतिशत परिवार यसैमा निर्भर छ । तर, विप्रेषणमा आधारित अर्थतन्त्र दिगो र भरपर्दो हुँदैन । कृषिमा विशाल श्रमशक्ति रुम्मलिएको छ । यो निर्वाहमुखी आंशिक कालीन रोजगारीमा आधारित छ । यसलाई जोड्दा सारतः दुईतिहाइ भन्दा बढी श्रमशक्ति बेरोजगार देखिन्छ । आन्तरिक रूपमा यो जनशक्तिको पूर्णकालीन उपयोग गर्ने अल्पकालिक र दीर्घकालीक लक्ष्य र योजनामार्फत अघि बढ्न सके मात्र समृद्धिको वस्तुवादी कार्यान्वयन सम्भव देखिन्छ । यसका लागि कृषि आधुनिकीकरण, औद्योगिकीकरण र पर्यटन पूर्वाधार विकासमा जोड दिनुपर्छ । आम रोजगारी सिर्जना नै समृद्धिको महŒवपूर्ण आधार हो ।
शिक्षा, स्वास्थ्य र आवास ः अझै पनि लगभग एकतिहाइ जनसङ्ख्या गरिबीको रेखामुनी रहेको छ । यो प्रगतिशील समृद्धिका लागि ठूलो तगारो हो । एकतिहाइ नागरिक अझै निरक्षर छन् । करिब पचास प्रतिशत उच्चशिक्षाबाट वञ्चित छन् । स्वास्थ्य क्षेत्रमा पनि क्षेत्रीय र वर्गीय असन्तुलन डरलाग्दो छ । यसमा दश प्रतिशत धनीले तीस प्रतिशत र दशै प्रतिशत गरिबहरूले केवल दुई प्रतिशत भौतिक स्रोत साधनमा पहुँच राख्छ । अस्पताल र डाक्टर गाउँमा भेटिँदैन । गाउँ र शहरमा स्वास्थ्य सेवाको असन्तुलन अकल्पनीय छ । यता नेपालमा पच्चीस प्रतिशत परिवार भूमिहीन छन् । मुलुकभरि चालीस लाख झुप्रा नदी किनार र वन आसपासमा छरिएको छ । उनीहरूको उचित व्यवस्थापन समृद्धिको प्रमुख आधार हो । त्यसैले मानव विकास सूचकाङ्कमा अन्तरनिहीत असन्तुलनको अन्त्यविना समृद्धि सम्भव हुँदैन । यो असाध्यै गम्भीर विषय हो ।

श्रम संस्कृति निर्माण, कृषि आधुनिकीकरण, राष्ट्रिय औद्योगिकीकरण, रोजगारीको अवसर र लगानीमैत्री वातावरण निर्माण समृद्धिको मूलभूत आधार स्तम्भ हुन् । त्यसैगरी शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र सरसफाइको शतप्रतिशत समानुपातिक र समान उपलब्धता नै समृद्धिको मानक हो । समृद्धिमा मानव विकास सूचकाङ्क न्यायिक र समानुपातिक हुन्छ । समृद्धि भनेको ठूला–ठूला भौतिक संरचना निर्माण मात्र होइन । उच्च मानव विकास सूचकाङ्कको समान र समानुपातिक उपलब्धता र सहज पहुँच विस्तार नै वास्तविक समृद्धि हो । अबको समृद्धिमा उपर्युक्त राजनीतिक, आर्थिक तथा सांस्कृतिक मार्गचित्र स्पष्ट रूपमा देखिनु अनिवार्य हुन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना