फूल नफुल्दै आँपको व्यापार सुरू

धीरेन्द्रप्रसाद साह

राजविराज, फागुन २४ गते । बगैंचामा आँपको फूल लाग्दा लाग्दै आँपको व्यापार सुरु भइसकेको छ । यतिखेर आँपका लागि नभई फूल (मुजुरा) किन्न व्यापारी आँपको बगैँचा धाउने गरेको छ । अहिले सप्तरी सहित तराईका जिल्लामा आँपको मञ्जर खरिद बिक्री व्यापक रूपमा भइरहेको छ ।
फलफूलको राजा मानिने आँपको बोटमा लागेको मञ्जरअनुसार व्यापारीले दाम (मूल्य) लगाउने गरेका छन् । व्यापारीले दुई÷चारवटा आँपको रुख भन्दा धेरै रुख भएको बगैँचामा मञ्जर किन्ने गरेका छन् । आँपको राजधानीका रूपमा परिचित सप्तरीमा बगैँचा भएको आँपको बोट र त्यसमा लागेको मञ्जरलाई आँकलन गरेर भविष्यमा दिन सक्ने फलका आधारमा मोलतोल गरेर मौखिक रूपमा मञ्जर किन्ने गरेका छन् । यस जिल्ला सहित तराईका सिरहा, धनुषा, सुनसरी, सर्लाही, बारा, पर्सा, रौतहट लगायतका जिल्लामा मञ्जर खरिद बिक्री भइरहेको छ ।
गत वर्षको तुलनामा यस वर्ष आँपमा अत्यधिक मात्रामा मञ्जर लागेको भन्दै सप्तरी जिल्लाको मलेठका व्यापारी मो. तसलिमले अहिलेसम्मम २३ वटा आँपको बोट भएको बगैँचाको मञ्जर ८० हजार रुपियाँमा खरिद गर्नुभएको छ । यस वर्ष मञ्जर अत्यधिक लागेकोले अलिकति सस्तोमा किनेको भन्दै उहाँले मञ्जरमै कीटनाशक औषधि र पानी हालेर स्याहार गरेमा मात्र राम्रो फल दिन्छ । त्यसैले मैले अहिले नै मञ्जर खरिद गरिसकेको छु । aap
आँपमा टिकुला लागेपछि मञ्जरको भन्दा बढी मूल्य तिर्नुपर्ने र अहिले मञ्जर सस्तोमा किन्न पाइने गरेको बताउँदै व्यापारीले मञ्जर किनिसकेपछि फल सपार्ने जिम्मेवारी पनि किसानको नभएर आफ्नै रहेको बताउँछन् ।
बगैँचाधनीले समयमा राम्ररी हेरचाह तथा स्याहार गर्न नसक्दा मञ्जरमा कीरा लाग्ने, झर्ने गरेका कारण आँप न्यून मात्रामा फल्ने गर्दछ । सोचेअनुसारको आम्दानी नहुने हुँदा अरुलाई बेच्ने गरेको बताइएको छ । मञ्जर खरिद गरिसकेपछि मञ्जर अनुसार आँपको फल सप्रियो भने मनग्य आम्दानी हुने विश्वास रहेको उहाँले बताउनुभयो ।
मञ्जर लागेको ठूल्ठूला बगैँचाको रेखदेख हेरचाह आफैले गर्न नसकिने र मजदुर पनि नपाइने गरेकोले फल भगवान भरोसामा सप्रिने गरेको हुँदा मञ्जर नै बेच्ने गरेको कृषक रेशम चौधरीले बताउनुभयो । तराईका कृषकलाई आँप सपार्न नसकिने यो साझा समस्या र अवस्था रहेको छ । आँप व्यापारीले यसरी मञ्जर खरिद गरिसकेपछि दिनरात बगँैचामा समय बिताएर फल कसरी सपार्नेमा चिन्तन गरिरहनुपर्ने हुन्छ । आँप नटिपुञ्जेल सम्म आप खरिदकर्ताको भोजन र आवास बगैँचामा नै हुनेगर्छ ।
जिल्ला कृषि विकास कार्यालय, सप्तरीको तथ्याङ्क अनुसार सप्तरीमा कुल आँप बोटको ६० प्रतिशत मालदह रहेको छ भने कलकतिया २० प्रतिशत, बम्बई १५ प्रतिशत र अन्य जातका पाँच प्रतिशत बोट रहेका छन् । यस जिल्लाको प्रत्येक वडामा आँपको बोट अत्यधिक मात्रामा रहे पनि सङ्ख्यात्मक र गुणात्मक रूपले उत्तरी भावर क्षेत्रको धरमपुर, रूपनगर, घोघनपुर, जगतपुर, कञ्चनपुर, तेरहौता, प्रसबनी, बकधुवा, कुशहा, कल्याणपुर, कडरबोना, कठौना आँप खेतीका लागि प्रख्यात छन् । ती स्थानमा रहेको आँपका बगैँचाको मञ्जर समेत बिक्री भइसकेको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना