सभामुखका लागि आज मनोनयन

parlament of nepalकाठमाडौँ, फागुन २५ गते । प्रतिनिधि सभाको सभामुख पदका लागि शुक्रबार उम्मेदवारको मनोनयन हुँदैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सभामुख चयनको कार्यतालिका अनुसार शुक्रबार बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ता गर्नु पर्नेछ ।

कार्यतालिका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संघीय संसद्का महासचिव समक्ष सम्वन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी दिनुपर्नेछ । मनोनयनमा परेका उम्मेदवारको अन्तिम नामावली सचिवालयले शुक्रबार दिउँसो १ः३० बजे सार्वजनिक गर्नेछ ।
प्रतिनिधि सभा कार्यसञ्चालनको अन्तरिम कार्यविधि अनुसार एक मात्र मनोनयन परे पनि प्रस्ताव निर्णयार्थ पेश हुनेछ । एकभन्दा बढी प्रस्ताव परेमा प्रतिनिधि सभामा मत विभाजन हुनेछ । शनिबार दिउँसो १ बजे सभामुख चयनका लागि मतदान हुने कार्यतालिका छ ।
प्रतिनिधि सभाको हालको अंकगणित अनुसार सभामुखमा निर्वाचित हुन सभाको बहुमत अर्थात् कम्तीमा १३८ मत आवश्यक पर्नेछ । प्रतिनिधिसभामा २७५ सदस्य हुनुहुन्छ । माओवादी केन्द्रका दुई र राष्ट्रिय जनता पार्टीका एक सदस्यको भने शपथ भएको छैन । शपथ नभएसम्म मताधिकार भने रहने छैन ।
वाम गठबन्धनबीच प्रतिनिधि सभाको सभामुख माओवादी केन्द्रलाई र राष्ट्रियसभाको अध्यक्ष एमालेबाट हुने सहमति भएको थियो । सोही सहमति अनुसार माओवादी केन्द्रले सभामुखमा उम्मेदवारी दिनेछ । गठबन्धनबीच रहेको अंकगणित अनुसार सभामुखमा गठबन्धनको उम्मेदवारको जित निश्चितप्रायः छ ।
तर, माओवादी केन्द्रले बिहीबार साँझसम्म उम्मेदवारी टुङ्गो लगाएको छैन । माओवादी केन्द्रकी प्रवक्त पम्फा भुसालले शुक्रबार बिहानसम्म उम्मेदवार टुङ्गो लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘कुनै औपचारिक निर्णय भइसकेको छैन । शुक्रबार बिहानसम्म उम्मेदवार टुङ्गो लाग्छ ।’
औपचारिक निर्णय नगरे पनि नेता कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने अनौपचारिक सहमति माओवादी केन्द्रभित्र छ । सभामुखका तीन दाबेदारमध्ये महराको मनोनयन हुने अनौपचारिक सहमति नेताहरुबीच रहेको छ । सभामुखमा देवप्रसाद गुरुङ तथा गिरिराजमणि पोखरेलको पनि दावी छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना