पाठ्यपुस्तकमा विशिष्ट दलितको जीवनी

tc wagleत्रिभुवनचन्द्र वाग्ले

नेपालको एकीकरणदेखि प्रजातान्त्रीकरण र गणतन्त्रस्थापना गर्ने अभियानमा दलित समुदायका विभिन्न व्यक्तिले योगदान दिनुभएको छ । प्रादेशिक संरचनामा स्थानीय तहले शिक्षाको पाठ्यक्रम, पाठ्यपुस्तक लगायतका नीतिगत पहल गर्न सक्ने वर्तमान अवस्थामा उहाँहरुले पु¥याउनु भएको योगदानको खोजी गरी विद्यालय हुँदै उच्च शिक्षाका पाठ्य सामग्री तयार गर्नुपर्ने आवश्यकता देखिएको छ । जीवनी लेखिन योग्य त्यस्ता केही व्यक्तिका बारेमा बहस चलाउने र आधाकारिक जानकारीका लागि गृहकार्य गर्नुपर्ने देखिएको छ ।
विसे नगर्ची
विसे नगर्चीले नेपालको एकीकरण अभियानमा योगदान दिनुभएको छ । बिसेले श्री ५ पृथ्वीनारायण शाहलाई त्यसरी सघाउनु भएको प्रमाणित भइसकेको छ । उहाँले आर्थिक पक्षमा बौद्धिक योगदान दिनुभएको देखिन्छ । राज्य विस्तार गर्ने बडामहाराजाधिराज पृथ्वीनारायण शाहको चाहनामा राज्यको तत्कालीन नाजुक आर्थिक स्थितिले समस्या उत्पन्न भएका बेला विसेले पृथ्वीनारायण शाहलाई एक रूपियाँ दिँदै गोरखाका समस्त नागरिकबाट यसैगरी रकम उठाई सैन्य विस्तार र हातहतियार किन्ने सल्लाह दिएका थिए । विसेको यस्तो सल्लाहलाई बडामहाराजाधिराजले अत्यन्त महìव दिनुभई राज्यबाट रकम जम्मा गरी सैन्य र शस्त्र बल वृद्धि गर्नुभएको थियो ।

हीरादेवी गन्धर्व (गइनेनी)
हीरादेवी गन्धर्व (गइनेनी) लाई पुराना नेपाली गीतकार तथा कर्खा गायकका रूपमा चिनिने गरिन्छ । पहिलो दलित महिला गायक पनि भन्न सकिन्छ । हीरादेवी गन्धर्व (गइनेनी) ले एउटा कर्खामा कर्खामा माथवरको विजयको प्रशंसा गरिएको छ ।
बखतवीर बुढाप्रिथी
पुरानो राष्ट्रगीत श्रीमान् गम्भीर नेपाली... मा बखतबीरले सङ्गीत भर्नुभएको थियो । सो राष्ट्रगीतका रचनाकार (लेखक) चक्रपाणि चालिसे (वि.सं.१९४०–२०१४) को नाम सामान्य ज्ञानका पुस्तकदेखि लिएर जतासुकै उल्लेख भएको पाइन्छ तर बखतबीरको इतिहास लेखिएको छैन ।
पुष्कल बुढाप्रिथी (जर्जी व्याङ्कस)
पिुष्कल बखतवीर बुढाप्रिथीका नाति हुनुहुन्छ । नेपालका बुढापीर्थी परिवारले नेपाली सङ्गीतको विकास तथा विस्तारमा ठूलो योगदान दिएको छ । पुष्कलका बाजे र बाबु नेपाली सैनिक व्याण्डमा संलग्न थिए । नरवीरले जागिरको सिलसिलामा पठान व्याण्ड माष्टरसँगको मतभेदको कारण जागिर छाड्नु भएको थियो ।
धनमानसिंह परियार
नेपाली काँग्रेसको सङ्गठन बलियो गराउने क्रममा धनमानसिंह परियारको विशेष सक्रियतामा काठमाडौँको क्षेत्रपाटीमा बालसखा दल स्थापना गरिएकोे थियो । त्यही दललाई पछि नेपाल बाल सङ्गठन बनाइएको हो । यही सङ्गठनबाट धनमानसिंह परियारको सम्पादकत्वमा २००८ मा बालसखा बालपत्रिका प्रकाशनमा आएको थियो ।
देवव्रत परियार
देवव्रत परियार नेपालमा राजनीतिक परिवर्तन गर्ने उद्देश्यले भारतमा स्थापना गरिएको अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक हुनुहुन्थ्यो । यही पार्टीपछि गएर नेपाली काँग्रेसमा परिणत भएकोले देवव्रत परियारको राजनीतिक इतिहास नेपाली काँग्रेससँग जोडिएको छ । देवव्रत परियारलाई पहिलो नेपाली चलचित्र सत्य हरिश्चन्द्रका निर्देशक पनि भनिएको छ यसबारेमा केही द्विविधा रहेको छ ।
डि. बी. परियार
नेपाली भाषाको पहिलो चलचित्र सत्य हरिश्चन्द्रका संवाद लेखक, गीतकार, पटकथा लेखक र निर्देशक डी.बी.परियार हुनुहुन्थ्यो । यस सन्दर्भमा देवव्रत र डिबी परियार बारे केही द्वविधा रहेको छ । यी डि.बी. परियार नै सत्य हरिश्चन्द्रका निर्देशक हुनुहुन्थ्यो वा फरक भन्ने बारेमा यकिन हुनसकेको छैन । यसका बारेमा थप अनुसन्धान हुनु आवश्यक छ ।
टी. आर. विश्वकर्मा
टी.आर.विश्वकर्मा साहित्यिक रचनामार्फत नेपाली साहित्यको श्रविृद्धिमा विशेष योगदान दिनुभएको छ । सोभियत रुसबाट पत्रकारितामा स्नातक गर्नुभएका उहाँ २००६ मा धरान पब्लिक हाइस्कुलबाट प्रकासित छात्रधारा(हस्तखिलित) पत्रिकाको उप व्यवस्थापक हुनुहुन्थ्यो । उहाँ समय, मातृभूमि, समीक्षाजस्ता तत्कालीन चर्चित पत्रिका र केही समय राष्ट्रिय समाचार समितिको सहायक सम्पादक र प्रेरणा साप्ताहिकको प्रधान सम्पादकको हैसियतले पत्रकारिता गर्दै नेपाल पत्रकार सङ्घको केन्द्रीय सदस्य (गोविन्द वियोगीको अध्यक्षताको समितिमा) समेत हुनुभयो ।

जवाहर रोका
जवाहर रोका दलित समुदायभित्र मात्र नभएर नेपाली साहित्यिक फाँटमा स्थापित नाम हो । कथा, कविता, निबन्ध उपन्यासजस्ता साहित्यका विविध विधालगायत दर्जनौँ समसामयिक लेखहरू प्रकाशित गर्नुभएका उहाँका वारण्ट (कथा सङ्ग्रह), फेसुवा (उपन्यास), छोइछिटो (निबन्ध सङ्ग्रह), सुवासको सिन्दुर (खण्डकाव्य) अम्वेडकर भर्सेज हिन्दुवाद (दर्शन) जस्ता साहित्यिक कृति नेपाली साहित्य भण्डारले पाएको छ ।
झलकमान गन्धर्व
वि.सं. १९९२ वैशाख १२ गते कास्की जिल्लाको बाटुलेचौरमा झलकमानको जन्म भएको थियो । पिता दुर्गाबहादुर मिझार (गन्धर्व) र आमा भगिरथी (मकैडाली?) गन्धर्वका जेठा पुत्ररत्न झलकमान नेपाली लोकगीत÷सङ्गीतमा स्थापित नाम हो । “हे बरै, आमाले सोध्लिन् नि खै छोरा भन्लिन्” जस्ता लोकप्रिय लोकगीत नसुन्ने र गीतका शब्दले स्तब्ध नहुने नेपाली कमै होलान् ।
मिठाइदेवी विश्वकर्मा

नेपालको दलित आन्दोलनलाई महिलाफाँटबाट सङ्गठित गर्ने प्रयासको सुरुवात मिठाइेवीले गर्नुभएको थियो । उहाँले वि.सं.२०१२ मा स्थापना गर्नुभएको परिगणित नारी सङ्घ नै हालसम्म प्राप्त पुरानो दलित महिला सङ्गठन हो, जसले समाजमा रहेको छुवाछूत प्रथा र सामाजिक भेदभावविरुद्ध सशक्त आवाज उठाएको थियो ।

रामशरण दर्नाल र रविमान लमजेल

रामशरण दर्नाल दलित समुदायबाट उहाँ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य हुने प्रथम व्यक्तित्व हुनुहुन्छ । वि.सं. २०५६ मा उहाँहरू एकैचोटि प्राज्ञ हुनुभन्दा अगाडि दलित समुदायका कुनै पनि व्यक्ति सो प्रतिष्ठानको प्राज्ञजस्तो सम्मानित पदमा पुग्नसकेको पाइएको छैन । रामशरण दर्नाल नेपाली सङ्गीत इतिहासका पुस्तकालय र रविमान पुस्तक मानिनु हुन्छ ।
गणेश परियार
गणेशबहादुर परियार नेपाली सेनाको सेवाबाट सेवानिवृत्त भएपछि उहाँले वि.सं. २०२० मा रेडियो नेपालमा प्रवेश गर्नुभयो । सुरुमा उहाँले नातिकाजीको सहयोगी भएर त्यहाँ काम गर्नु भएको थियो । वि.सं. २०२५ देखि उहाँले सङ्गीतकारको रूपमा काम गर्न थाल्नुभयो । उहाँले करिब २०० जति आधुनिक गीतमा सङ्गीत भर्नु भएको छ ।
विजयकुमार सुनाम
विजयकुमारले नेपाली शास्त्रीय सङ्गीतको परिचय पुस्तक प्रकाशन गर्नुभएको छ । त्यसैगरी, उहाँले वि.सं. २०५२ मा पौराणिक र लोकसङ्गीत नामक पुस्तक प्रकाशित गर्नुभएको थियो । यसैगरी, उहाँले नेपालको परम्परागत लोकसङ्गीत (२०५५), भ्वाइलिनमा स्वर्गीय नारायण गोपालका गीतका धुनहरू (२०५३), नेपालको ऐतिहासिक तथा विविध सङ्कलन सङ्ग्रह (२०५६) प्रकाशन गर्नुभएको छ ।
पदम सुन्दास
पदम सुन्दास (हाल बहराइनका राजदूत) को सक्रियतामा वि.सं. २०१४ तिर नारायणप्रसाद कोइरालाको अध्यक्षतामा बालशिक्षा विकास सङ्घ स्थापना गरी कविता, कथा, निबन्ध, लेखन÷प्रशिक्षण तथा वाचन र लोकसाहित्यक गोष्ठी, प्रवचन, गर्ने गरेको पाइएको छ । उहाँ सामाजिक, राजनीतिक र दलित आन्दोलनमा स्थापित नाम हो ।
शुभबहादुर सुनाम
फूलैफूलको मौसम तिमीलाई....., रेलीमाई रेलीमाई..., जस्ता एकजमानाका लोकप्रिय र चर्चित गीत सुनेका थुप्रै श्रोताले शुभबहादुर सुनामको नाम नसुनेका पनि हुनसक्छन् । ती गीतका सङ्गीतकार शुभबहादुर सुनाम हुनुहुन्छ । ‘तिमीले भनेका सारा देव छोएर..., फूलैफूलको मौसम तिमीलाई.....,नजरले मात्र..., हुँ यात्री..., निर्दोष मेरो पछ्यौरी.., आउआउ.., चाहिँदैन हीरामोती..., अमर माया..., चाहना यो दुईमुटुको..., जस्ता चर्चित तथा लोकप्रिय गीतमा सङ्गीत भर्नुभएका उहाँले रेडियो नेपाल र नेपाल टेलिभिजनमा आधुनिक, राष्ट्रिय गीत तथा भजन गरी करिब पाँच सय गीतमा सङ्गीतबद्ध गर्नुभएको छ ।
देवकुमार नेपाली
देवकुमार नेपाली नेपाली लोकगीतमा स्थापित नाम हो । धेरै भयो उहाँले अहिले रेडियो नेपालमार्फत गीत नगाएको तर उहाँले गाएका पुराना नेपाली लोकगीत आजपर्यन्त नेपाली युवा पुस्तामा लोकप्रिय छन् । आर्थिक अभावका कारण गीतसङ्गीतको निरन्तर साधना गर्ने अवसर नपाउनु भएका उहाँले प्रतिभाकै कारण “नेपालको धरहरा टोपी खस्यो हरर, बुट्टे चोली लाउन साहिँली हिँडन हेर्न शहर” जस्ता लोकप्रिय गीत गाउन र त्यसमा सङ्गीत भर्नु भएको थियो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना