थामकोटमा भ्यूटावर निर्माण गरिने

म्याग्दी, फागुन २६ गते ।  पर्यटकीय क्षेत्र रुइसे–भेडीओढार क्षेत्रमा पर्यटक आकर्षणका लागि भ्यूटावर निर्माण गरिने भएको छ ।

रघुगंगा गाउँपालिकाको वडा नं १, २, ३ र ४ को सीमा क्षेत्रलाई समेटिएको रुइसे–भेडीओढार क्षेत्रमा पर्यटन आगमन बढाउनका लागि भ्यूटावर निर्माण गर्न लागिएको हो ।

धौलागिरि आइसफल पदमार्गले समेटिएको यो क्षेत्रलाई रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थलका रुपमा विकास गर्न रुइसेको थामकोटमा भ्यूटावर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

भ्यूटावर निर्माण गर्न गाउँपालिकाले रु १५ लाख र वडा नं २ ले रु एक लाख बजेट विनियोजन गरेका छन् ।

हालै गाउँपालिकाको पहलमा प्रदेश सांसद विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, गाउँपालिका अध्यक्ष भण्डारी, उपाध्यक्ष कमला तिलिजालगायतको टोलीले स्थलगत निरीक्षण गरी थामकोटमा भ्यूटावर निर्माणका लागि सिफारिश गरेको छ ।

समुन्द्री सतहदेखि दुई हजार २२० मिटर उचाइमा रहेको थामकोट डिलमा भ्यूटावर बन्ने भएपछि आवश्यक तयारी शुरु गरिएको वडा नं २ का अध्यक्ष रिम कटुवालले बताउनुभयो ।
थामकोटबा मनोरम हिमशृङ्खला, म्याग्दीका दर्जनौँ गाउँ बस्ती र प्राकृतिक सुन्दरतालाई एकैठाउँबाट अवलोकन गर्न सकिन्छ । (रासस)

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds