राष्ट्रपति चुनावमा तीन सांसदले मतदान गर्न नपाउने

काठमाडौँ, फागुन २७ गते । राष्ट्रियसभा सदस्य पदमा बिहीबार मात्रै शपथ लिनुभएका तीन जनाले राष्ट्रपतिको चुनावमा मतदान गर्न नपाउने निर्वाचन आयोगले जानकारी दिएको छ । मतदाता नामावलीमा नाम समावेश नभएका निर्वाचक मण्डलका सदस्यहरूले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न नपाउने आयोगले जानकारी दिएको हो । सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपतिले मनोनयन गर्नुभएका तीन जना डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौड्यालले अदालती विवादका कारण बिहीबार मात्रै शपथ लिनुभएको थियो । 

मतदाता नामावलीसम्बन्धी ऐनमा, अन्तिम मतदाता नामावलीमा अब कुनै प्रकारबाट हेरफेर, थपघट गर्न वा सच्याउन सकिने छैन भनी स्पष्ट पारेको आयोगले जानकारी दिएको छ । फागुन २२ गते निर्वाचक मण्डलका सदस्यहरूको अन्तिम नामावली प्रकाशन भइसकेकाले अब मतदाता थप्न नसकिने आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । यसैगरी, आयोगले राष्ट्रपति निर्वाचनको सञ्चालन र व्यवस्थापन गर्न शनिबार आयोगमा मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा मतगणनामा संलग्न हुने कर्मचारीलाई मतदान तथा मत गणनासम्बन्धी तालिम दिएको छ ।
रातिबाट मौन अवधि सुरु
फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि शनिबार राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु भएको छ । मौन अवधि सुरु भएपछि निर्वाचनको प्रचार बन्द हुने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार, मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, नागरिक समाज, आम मतदाता कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन पाइने छैन ।
साथै आमसञ्चार माध्यमले समेत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशन÷प्रसारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण गर्न नपाइने जानकारी प्रवक्ता नवराज ढकालले दिनुभयो ।
निर्वाचन आचारसंहिता (पाचौँ संशोधन) २०७२ मा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने उल्लेख छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना