नवीनता र विकृति

ramesh bhattaraiरमेश भट्टराई ‘सहृदयी’


परिवारमा पारिवारिक प्रेम देखाऊ भनेर कसैलाई प्रेरित गर्नुपर्ने कुरा होइन । आवश्यकता र जिम्मेवारीलाई चटक्क बिर्सेर वृद्ध बाबाआमालाई वृद्धाश्रममा थन्क्याएर बोझबाट पन्छिन चाहने अनि घरमै रहँदा पनि अपहेलना गर्ने अमानवीयता हाम्रो संस्कृति विपरीत कुव्यवहार हो । बालबच्चाले बाबाआमाको काखमा रमाएर बाँच्न नपाएका मनोविज्ञान, श्रीमतीले श्रीमान् विदेशिएको अवस्थामा परिवार र आफ्नो चाहनालाई पूर्ति गर्दै गर्दा घरबार चकनाचुर हुनुसँग भौतिक समृद्धि पूर्ण होइन । समयले परिवर्तनलाई ल्याइरहँदा कतिपय नवीन पद्धतिले जनमानसमा हर्षोल्लास प्रदान गरिरहन्छ । सामाजिक सांस्कृतिक व्यवस्थापनका लागि संविधानले भाषाका माध्यमबाट, संस्कृतिका माध्यमबाट बाटो सहज तुल्याइदिएको छ तर अत्याधुनिकताको विकासलाई आड लिएर समाजका सकारात्मक संस्कृतिलाई अँगाल्न नजान्दा हामीले नेपाली मौलिक परम्परा र रीतिरिवाज पनि विकृति घुसाउन थाल्यौँ । अन्धानुकरण गर्दै जाँदा चाडपर्व, विवाह, व्रतबन्ध, पूजाकार्य कति महँगा र देखावटी बाध्य परम्परा बन्दै छन् । वर्षौं लगाएर कमाएको सम्पत्ति या त ऋण गरेर वर्षौंसम्म तिर्नै नसक्ने अवस्थालाई हामीले नै सिर्जना गरिरहेका छौँ । चाडबाडका आफ्ना मौलिकता, भेषभुषा पहिचान र पहिरन पनि देखावटी प्रतिस्पर्धाको होडमा चलिरहेका छन् । जन्मदिन मनाउने चलन कति बाध्यकारी बन्दैछ । साथीले हजारौँ खर्च गरेर मनाएपछि आफ्नो पालामा पनि त बोलाउनुप¥यो । सायद यसमा सचेतनाको बिगुल घन्कियोस् ।
नेपाली समाजको मौलिक तथा पारम्पारिक सुखलाई तिलाञ्जली दिने परम्परा बढ्नाले दिनानुदिन मनोवैज्ञानिक बेचैनी र असन्तुष्टि बढेको छ । विज्ञान प्रविधिको दूरूपयोगले मानिस मानसिक अस्वस्थताको सिकार बन्दै गएको छ । प्रायःजसो परिवारका सदस्य विदेशमा पलायन भएकै भेटिन्छन् । अझ बूढा र बालबच्चा मात्र घरमा रहँदा त्यहाँ न त शान्ति छ न समृद्धि नै । न मानिस परदेशमै सुखी रहन्छ । के मानिसले खोजेको सुख यतिमै सीमित छ ? आजको समाज जति आवश्यकताले सङ्क्रमित छ त्यति नै विश्वव्यापीकृत सोचसँग निकट छ । यसर्थ विकासको लगाम पक्रन चाहँदा समृद्धि र शान्तिको बाटो अब अनिवार्य आवश्यकताको सूचीमा पर्दै गएको भान हुन्छ । देश समृद्धिमा लम्किने आशा बढिरहँदा समाजसँग नदेखिएको समस्या लुकिरहेकोभैmँ लाग्छ । यहाँ विकासका आवाज गुञ्जिए तर व्यवस्थित विकासको, संयमित न्याय र समाजको सुदुर यात्राको अनि सांस्कृतिक समृद्धिले स्थान ओगट्नु आवश्यक छ । समाज जति तीव्र गतिमा विकसित बन्दैछ त्यति हाम्रो देशको भौतिक संरचना र मनोवैज्ञानिक संयोजन भएको लाग्दैन । कुरा हो, आधुनिकीकरणको सोच र संस्कृतिको अप्रत्यासित घुलनको । पुस्ताका बीचको सोचमा आएको खाडल र समझदारी नहुँदा उत्पन्न सामाजिक जटिलताको । आज छोराको सोचसँग आमा बाबा अनि अर्को हजुरबा हजुरआमाको पुस्ताका बीचमा अत्यन्तै ठूलो खाडल उत्पन्न हँुदै जाँदा पारिवारिक अन्तरसमझदारितामा ह्रास आउन थालेको छ । छोराले गिटार, ¥याप, मोडन जेनेरेसनको चर्चा गर्छ । विश्व परिवेश जान्न चाह्यो तर आफ्नै भाषा, भेष र संस्कृतिप्रति चासो राख्न चाहेन । बाबाआमासँगै कैयौँ संस्कृति, परम्परा, भाषा, भेषहरू मर्दै गइरहेका छन् । आज सडकमा आन्दोलन जे जति भए पनि विश्वव्यापीकृत आकर्षण भेषभुषा र भाषिक संरक्षणका कुरा इतिहासका पानामा सीमित रहने भय बढ्दो छ । जीवनशैली र बाँच्ने तौरतरिकामा अन्तर रहँदा पारिवारिक विखण्डन हुन थालेको प्रस्ट देखिन्छ । जसले गर्दा छोराछोरीले विदेशको मोहलाई अवलम्बन गर्नुपर्ने बाध्यता, रहर, देखासिकी र प्रतिस्पर्धा बढ्न थालेको मनोविज्ञानलाई राम्ररी केलाउन सकिन्छ । यहाँ त बाबाआमाले छोराछोरीको प्रेम नपाउने अनि छोरोछोरीले बाबाआमाको सद्भावबाट वञ्चित हुनु परेको छ । छोरोछोरीलाई बच्चैदेखि होस्टेलमा राख्नुप¥या छ । बाबाआमा तिनका लागि पसिना बगाउन विवश छन् ।
मिश्रित समाजमा रहेर बाँच्न पाउनु नेपालीको भाग्य हो, अवसर हो । सबैसँग निकट रहेर, बुझेर रमाउने अवसर पाउनु हो । आखिर सबै संस्कृतिलाई रक्षा गर्नु सबैको दायित्व हो । यसर्थ धार्मिक, सांस्कृतिक सहिष्णुतालाई हरेक नेपालीले बोध गरेर अघि बढ्नुपर्नेमा दुई मत नरहला । नेपाल सांस्कृतिक, धार्मिक, सामाजिक, भाषिक बहुलतामा धनी हुनु गौरवको विषय हो । यहाँका संस्कृतिले सिकाएका भाइचारा वास्तवमा नेपाली मौलिक परम्परा नै हुन् । एकतामा हात बढाउने अनि जिउँदाको जन्ती मर्दाको मलामी बन्ने हाम्रो परम्परामा ह्रास आउन दिनु हुँदैन यसमा सबै नेपाली जिम्मेवारी त्यत्तिकै छ । अत्याधुनिकताले व्यस्त समाजले यस्ता सामाजिक सुसङ्गठन र सहचार्यलाई बिर्संदै गएका दुःखद् अवस्था तीतो सत्यका रूपामा नेपाली समाजमा मौलाउँदो छ । मान्छेमा सामाजिक सहचार्य भएमा नैराशयता अर्थात् डिप्रेसन हुने सम्भाव्यता कम हुन्छ । हामीलाई त विदेशीले भनिदिए मात्र विश्वास लाग्छ र अपनाउँछौँ तर यहाँको सामाजिक, पारिवारिक एकतागत प्रणाली अत्यन्तै वैज्ञानिक रहेको छ । तर, आजभोलि परिवारमा रहेर रमाउने पद्धति विदेशी परम्पराबाट प्रभावित भइरहँदा हामीले संयुक्त परिवारमा रहन अनि आफन्तलाई नै चिन्न छाडिसकेका छौँ ।
विदेश जानु, उतै रमाउनुलाई आजभोलि फेसनजस्तै मान्न थालिएको छ । समाज र सामाजिक संस्कृतिलाई बुझेर तिनका कला, शिल्प, परम्परित राम्रा सीप, भाइचारा, सहकार्यलाई बुझ्नु, विश्लेषण गर्नु पनि उत्तिकै आवश्यक छ । नेपालमा १२५ जाति, १२३ भाषाभाषीको अस्तित्व, १० वटा धर्मको अस्तित्व रहनु खुशीको कुरा हो । यहाँ कतिपय रुढीवादी संस्कार होलान् जसलाई सुधार्ने बाटोमा भएका प्रयास अवश्य सह्राहनीय छन् । नियाल्ने नै हो भने यहाँका संस्कृतिले वृक्ष वनस्पतिलाई संरक्षण गर्न सिकाएका छन् । कतिपय सुधारका पक्ष हुँदाहुँदै पनि प्रकृति र प्राणीको सम्मानको संस्कार छ । जडीबुटीजन्य ज्ञानलाई पुस्तान्तरण गर्दै जानु पर्नेमा नवपुस्ताले ख्याल गर्न सकेको पाइन्न । यी वैज्ञानिक सोचलाई हामीले संस्कार मान्यौँ तर अध्ययन गर्ने, नियाल्ने र मनन गरेर आफ्ना संस्कारलाई अपनाएर, दुनियाँलाई देखाएर यस्ता धरोहरलाई विश्वसामु पु¥याउन जाँगर देखाउनै सकेका छैनौँ ।
अब देशले हरेक बालक, वृद्धवृद्धाको पारिवारिक अवस्थालाई पनि ध्यान पु¥याउनु पर्ने देखिन्छ । आफ्नै छोराछोरीले दबाएर राख्ने, अपमान गर्ने अनि सम्पत्तिका लागि बाबाआमालाई स्वार्थी बनेर हेरचाह गर्ने कुसंस्कारले परिवार दुःखित छ । छोराछोरीले वृद्ध र रोगी बाबाआमालाई बोझ ठान्छन् भने त्यहाँको मनोविज्ञानसँग सचेतता अवश्य चाहिन्छ । अबको सङ्घीय शिक्षामा यस्ता पारिवारिक सहकार्यका विषय, आत्मनिर्भरताको जागरणका विषय, ज्ञानवद्र्धक नैतिक कथा र मनोविज्ञानलाई समेटिएमा यस्ता पक्षलाई सम्बोधन गर्न सघाउ पु¥याउँछ । यसर्थ यस्ता पक्षलाई त हरेक नेपाली नेतृत्वले मनोवैज्ञानिक कोणबाट सोच्दै, समाज र संस्कृति अनुकूल व्यवस्थालाई सामाजिक र व्यवस्थित बनाउँदै अघि बढ्नुपर्ने देखिन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना