बंगला विमान दुर्घटना

biman

काठमाडौँ, फागुन २८ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एक विमानमा आज दिउँसो १४ः२० बजे आगो लाग्दा ४९ जनाको मृत्यु भएको पुष्टि भएको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

धावन मार्गमा अवतरण हुनुभन्दा पहिल्यै जहाजमा आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

विमानमा के कति यात्रु थिए भन्ने जानकारी आउन बाँकी छ । उद्धार गरिएका यात्रुलाई नजिकको अस्पतालहरुमा पठाइएको बुझिएको छ ।

विमान दुर्घटनास्थलमा प्रधानमन्त्री

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनापछि भइरहेको उद्धारको अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुग्नुभएको छ ।

गृहमन्त्री रामबहादुर थापाका साथ विमानस्थल पुग्नुभएका प्रधानमन्त्री ओलीले त्यहाँस्थित नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित अधिकारीबाट घटनाको विवरण र उद्धारको अवस्थाबारे जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री ओलीले उद्धारका लागि आवश्यक सबै स्रोतसाधन जुटाउन निर्देशन दिँदै घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

साँझ ४ बजेका लागि तोकिएको मन्त्रिपरिषद्को बैठक स्थगन गरी प्रधानमन्त्री ओली विमानस्थल पुग्नुभएको हो ।


उद्धारमा लाग्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको विमानका यात्रुको उद्धारमा लाग्न निर्देशन दिनुभएको छ ।

गृहमन्त्री थापा दिउँसो ३ बजे दुर्घटनास्थल पुगेर घाइतेको शीघ्र उपचार गर्न निर्देशन दिनुभएको हो । उहाँले घटना दुःखद् भएको भन्दै सबैलाई धैर्यधारण गर्न आग्रह गर्नुभएको छ ।

दिउँसो १४ः२० बजे लागेको आगोलाई नेपाली सेना, नेपाल प्रहरी, काठमाडौँ तथा ललितपुर महानगरपालिका र विमानस्थलकै दमकलले निभाएका थिए । रासस/गोरखापत्र

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना