गुणस्तर चिह्न वितरणमा ढिलाइ


लक्ष्मण दर्नाल

काठमाडौँ, फागुन ३० गते । नेपाल गुणस्तर तथा नापतौल विभागले ग्यास उद्योगहरूलाई तत्काल नेपाल गुणस्तर (एनएस) चिह्न लिन निर्देशन दिए पनि वितरणमा भने ढिलाइ भइरहेको छ ।
करिब तीन महिना अघि उद्योगहरूलाई विभागले अनुगमन गरेर तल्काल एनएस लिन निर्देशन गरेको थियो तर अहिलेसम्म जम्मा तीनवटा उद्योगले मात्र गुणस्तर चिह्न पाएका छन् । अनुगमन नहुँदै एनएस लिएका उद्योगको सङ्ख्या ४ थियो भने अहिले जम्मा ७ पुगेको छ ।
अनुगमनका बेला एनएस चिह्न लिन हतार गरिए पनि हाल भने अभियान सुस्ताएको छ । गुणस्तर प्रमाण चिह्न लिनका लागि सबै उद्योगहरूले निवेदन दिए पनि प्रक्रियामा रहेको भन्दै ढिलाइ भइरहेको हो । उद्योगहरूले थप संरचनाहरू निर्माण गर्नुका साथै थप सुरक्षाको व्यवस्था गर्नुपर्ने भएकाले ढिलाइ भइरहेको विभागले जनाएको छ ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भन्नुभयो ‘‘उद्योगहरूले कम्प्याक्ट भल्म टेस्टिङ मेसिन, सेफ्टी क्याप र हाइडो स्टाटिक टेस्ट मेसिनको राख्नुपर्छ, अधिकांशले राखेका छैनन् यी कुरा राखेपछि विभागले अनुगमन गरेर गुणस्तर चिह्न दिने हो । ’’
ग्यास उद्योगीहरूले भने गुणस्तर प्रमाण चिह्नका लािग निदेवन दिएको र अरू प्रक्रियामै रहेको बताएका छन् । थप संरचना निर्माणका साथै सुरक्षाका सामानहरूको जोहो गरिरहेको नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले बताउनुभयो । ‘व्यवसायीहरूले काम गरिरहेका छन्, सामान इन्डियाबाट मगाउनुपर्छ सेफ्टी क्यापलगायतका सामानहरू जडान गर्न मेसिन मगाउनुपर्छ, अनलोडिङ सिस्टम पनि चेन्ज गर्नैपर्ने अवस्था छ कुनै ठाउँ, हामी प्रक्रियामै छौँ । एकैचोटी हुने कुरा पनि होइन, तर हामी सबैले गुणस्तर चिह्न लिनेमा दुईमत छैन’ उहाँको भनाइ छ । विभागका अनुसार निवेदन दिएका मध्ये करिब २० वटा उद्योगलाई गुणस्तर चिह्न प्रदानका लागि अन्तिम चरणमा पुगेको छ । थप जनशक्तिको पनि अभाव र भारतबाट सामान ल्याउनुपर्ने भएकाले ढिलाइ भइरहेको महानिर्देशक पुडासैनीले बताउनुभयो ।
नेपालमा हाल ५४ वटा ग्यास उद्योग भएकामा नेपाल ग्यास, मनोज ग्यास, श्रीकृष्ण ग्यास, साइबाबा ग्यास उद्योगलगायत ७ वटाले गुणस्तर प्रमाण चिह्न लिइसकेका छन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds