अपूरणीय क्षति (सम्पादकीय)

 

 

सोमबार यूएस बङ्गलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भयो । बङ्गलादेशको राजधानी ढाकाबाट ६७ यात्रु र चार चालक दलका सदस्यसहित आएको विमान अवतरणका क्रममा दुर्घटना हुँदा चालक दलका सबै सदस्यसहित ४९ जनाको अपूरणीय क्षति भएको छ । २२ यात्रुको उद्धार गरिएको छ । ३३ जना नेपाली रहेकामा १३ जनाको निधन भएको छ । सरकारले छानविन आयोग गठन गरिसकेको छ । प्रारम्भिक तथ्यले पाइलटको गल्ती र मौसमी खराबीका कारण विमान दुर्घटना भएको हुनसक्ने अनुमान गरिँदैछ ।
नेपालको छ दशकभन्दा बढीकोे हवाई इतिहासमा ८५ वटा विमान दुर्घटना भएका छन्, तिनमा नौ सयभन्दा बढीको ज्यान गएको छ । हालसम्मका दुर्घटनामध्ये आठवटा अन्तर्राष्ट्रिय विमान दुर्घटना भएका छन् । २०४९ सालमा थाई एयरको विमान दुर्घटना हुँदा ११३ जनाको ज्यान गएको थियो । त्यही वर्ष पाकिस्तानी इन्टरनेसनल एयरलाइन्सको विमान दुर्घटना हुँदा १६७ जनाको ज्यान गयो । दुई वर्षअघि विमानस्थलमै टर्किस एयरलाइन्सको विमान दुर्घटना भए पनि मानवीय क्षति चाहिँ भएन । सोमबार भएको यूएस बङ्गलाको विमान दुर्घटना टर्किस एयरलाइन्सपछिको अन्तर्राष्ट्रिय विमानको दुर्घटना हो । यो दुर्घटनापछि विभिन्न अनुमान गर्न थालिएको छ । विमान कम्पनीका अधिकारीले एयर ट्राफिक कन्ट्रोलर (एटीसी)ले स्पष्ट निर्देशन दिन नसकेको आरोप लगाएको छ भने एटीसीका अधिकारीले भने विमान चालकले एटीसीको निर्देशन अवज्ञा गरेको प्रारम्भिक तथ्य सार्वजनिक गरिसकेको छ । प्रारम्भिक अनुमानमा चालक कुन धावनमार्ग प्रयोग गरेर अवतरण गर्ने भन्नेमा स्पष्ट हुन नसकेको देखिएको छ । एटीसीको निर्देशन अवज्ञा गर्दै विपरीत दिशाबाट अवतरण प्रयास गर्नुलगायतका घटनाले चालकको लापरबाही वा विमानमा प्राविधिक समस्या आएको हुनसक्ने अनुमान पनि गरिँदैछ । काठमाडौँको आकाशमा पुगेपछि विमानले अनौठो गतिविधि देखाएको दुर्घटनामा बाँचेका यात्रुले बताएको र अर्काे विमानका चालकले समेत यूएस बङ्गलाको अस्वाभाविक उडानबारे एटीसीलाई जानकारी गराएको बताइएको छ । उडानमा रहेको जहाजको गतिविधि असामान्य देखेर एटीसीले समेत विमानको अवस्था सोध्दासमेत चालक दलले सबै ठीक रहेको बताएको दाबी गरिएको छ ।
दक्षिणतिर (कोटेश्वर) बाट अवतरण गर्न सहज हुने र अघिकांश अन्तर्राष्ट्रिय उडानका विमान यही दिशाबाट अवतरण गर्नेमा यो विमान उत्तरतिर (बौद्ध) बाट किन अवतरण गर्न खोज्यो भन्ने विषय नै अहिले चासोको विषय बनेको छ । उत्तरतिरबाट अवतरण गर्न निकै अनुभवी चालकले मात्र गर्नसक्ने बताइन्छ । दुर्घटनाग्रस्त विमानका चालक उत्तरतिरबाट अवतरण गराउन अभ्यस्त नरहेको अनुमान गरिएको छ । एटीसीले सार्वजनिक गरेको एटीसी र चालकबीचको वार्ता सही हो भने निर्देशनविपरीत जहाजलाई उत्तरतर्फबाट अवतरण गराउन खोज्नु चालकको ठूलो गल्ती हो । एटीसीको निर्देशन पालना नगर्नु अक्षम्य र दण्डनीय मानिन्छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विमानको प्राविधिक कमजोरीबारे पनि चर्चा गरेका छन् । प्राकृतिक, प्राविधिक वा मानवीय कमजोरी जे कारणले भए पनि यो दुर्घटना नेपालका लागि गम्भीर घटना हो । यसले नेपाली नागरिक उड्डयन क्षेत्रलाई थप कलङ्कित बनाएको छ । यसले पर्यटनलगायत अर्थतन्त्रमै प्रभाव पार्नसक्छ । जे भए पनि सत्यतथ्य यथाशीघ्र पत्ता लगाई कमजोरी सुधार्नु आवश्यक छ । दुर्घटना रोक्न नसक्नु दुःखद पक्ष त छँदैछ, दुर्घटनापश्चात् २२ यात्रुको उद्धार गर्न सफल हुनु र थप क्षति हुनबाट जोगाउन सक्नु प्रशंसनीय पक्ष हो । यो दुर्घटनाको छानबिन आयोग गठन हुनु अर्काे सकारात्मक कुरा हो । हवाई सुरक्षाजस्तो संवेदनशील विषयमा हुने यस्ता छानबिन परम्परा धान्ने र औपचारिकताका लागि मात्रै हुनुहुँदैन । आयोगले औँल्याएका त्रुटिलाई आगामी दिनमा सुधार गर्नैपर्छ । हवाई सुरक्षालाई भरपर्दाे बनाउनेतर्फ सबै दत्तचित्त हुनुपर्छ । नेपाली आकाश जोखिमपूर्ण रहेको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले व्यक्त गरेका चासोसमेतलाई गम्भीरतापूर्वक लिन आवश्यक छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds