‘मागेर देश समृद्ध हुँदैन, भागेर समस्या समाधान हुँदैन’

lalbabuलालबाबु पण्डितले मन्त्री पदमा शपथ खानुभएलगत्तै आमजनमा एउटा खुसियाली छायो । सामान्य प्रशासनमन्त्री भएको बेला उहाँले डिभी तथा पीआरधारीलाई जसरी व्यवस्थापन गर्नुभयो र गर्न खोज्नुभयो, त्यसले उहाँ निकै प्रशंसाको पात्र बन्नुभएको छ । इमानदार र राम्रो छवि बनाउन सफल मन्त्री पण्डित काँग्रेसको पकड भएको क्षेत्र मोरङ–६ बाट प्रतिनिधिसभामा विजयी भएपछि उहाँको उचाइ झन् चुलियो । जनसङ्ख्या तथा वातावरण मन्त्रालय सम्हाल्नेबित्तिकै उहाँले जुन सन्देश दिनुभएको छ, यसको चर्चा पनि कम छैन । यहाँ प्रस्तुत छ, मन्त्री लालबाबु पण्डितसँग गोरखापत्रका लागि सहसम्पादक सुरेशकुमार यादवले समसामयिक विभिन्न विषयमा गरेका कुराकानीको सारसंक्षेप :

 

 शपथ खानेबित्तिकै राजधानीलाई मास्कमुक्त बनाउने घोषणा गर्नुभएको थियो, के–कस्ता काम भइरहेका छन् ?
– हो, राजधानीलगायत वरपरका शहरको अवस्था हेर्दा मैले अभियानकै रूपमा मास्कमुक्त शहर बनाउने घोषणा गरेको हुँ । पहिला काठमाडौँमा मास्क लगाउँथे अब त काठमाडौँबाहिर पनि मास्क लगाउन थालेका छन् । वायुमण्डल सफा भएन भने विभिन्न किसिमका रोग लाग्छन् । मान्छे अस्वस्थ हुन्छ । वरिपरि रहेका कार्बनको मात्रा हटाइएन भने वा सभ्यतायुक्त तथा स्वास्थ्ययुक्त समाज बनाएनौ भने तन, मन स्वस्थ रहन सक्दैन । अस्वस्थ शरीरबाट समृद्धिको कल्पना गर्न सकिँदैन ।

 घोषणा गरेरमात्र त नहोला, त्यसका लागि अरू के–के गर्नुभयो ?
– स्वच्छ शहर अथवा मास्कमुक्त शहर बनाउन एक्लैले सम्भव छैन । सबैको साथ पाए भने एक वर्षभित्र यो सम्भव छ । त्यो कसरी सम्भव हुन्छ भने देशमा जुन विकास भइरहेको छ, त्यसको तारतम्य मिलाइदिइयो भने, त्यसको सिक्वेन्स मिलाइदियो अथवा तोकिएको समयमा विकास कार्य सम्पन्न गरिदियो भने धेरै मात्रामा फोहरको मात्रा घट्छ, खासगरी धूलोको मात्रा धेरै कम हुन्छ । र, मैले त्यसका लागि प्रयास गरिरहेको छु । अहिले मन्त्रिमण्डलले पनि पूर्णता पाएको छैन । त्यो पूर्णता पाएलगत्तै म यसमा लाग्छु । अर्को कुरा हो धूवाँ । राजधानीमा ८९.५ प्रतिशत वायु प्रदूषण डिजेलबाट चल्ने गाडीबाट भइरहेको छ । यसको मात्रा मान्छेले थेग्नेभन्दा साढे आठ गुणा बढी छ । यसको कुरा अस्पतालमा बिरामीको भीडले पुष्टि हुन्छ । त्यति नै मात्रामा कार्बनअक्साइडको मात्रा छ । त्यो कार्बन ९० प्रतिशत डिजेलबाट चल्ने गाडीबाट निस्किन्छ । अरू बाँकी चिमनीबाट आएको होला । केही भान्साकोठाबाट आएको होला ।

भन्नाले राजधानीमा त डिजेल गाडीबाटै सबैभन्दा वायु प्रदूषण भएको देखियो होइन त ?
– हो, ९० प्रतिशत वायु प्रदूषण डिजेलबाट चल्ने गाडीबाट भएको छ । जसलाई नियन्त्रण गर्नु मेरो पहिलो कदम हुनेछ । एउटा सूचना प्रकाशित भएको छ २०७५ वैशाख १ गतेदेखि हरियो स्टिकर लागेका गाडीहरू मात्र महानगरपालिका र उपमहानगरपालिकामा प्रवेश पाउनेछन् । अहिले हरियो स्टिकर लागेकामध्ये ४७ प्रतिशत गाडी फेल भएको देखियो । त्यो काम दबाब, प्रभाव र लोभमा परेर हरियो स्टिकर प्राप्त गरेको हुनुपर्छ । अब वैशाख १ गतेदेखि जुन हरियो स्टिकर लागू हुन्छ, त्यसमा कर्मचारीको पनि सङ्केत हुन्छ । कुन कर्मचारीले त्यो स्टिकर दिएको हो, त्यसको पनि त्यहाँ सङ्केत हुन्छ । स्टिकर भएको गाडीको ठाउँ–ठाउँमा चेकजाँच हुन्छ । यदि कुनै गाडीले मापदण्डविपरीत हरियो स्टिकर लिएको छ भने गाडीधनीलाई त कारबाही हुन्छ नै, साथमा त्यो कर्मचारीलाई पनि कारबाही हुन्छ, जसले त्यो स्टिकर बाँडेका थिए । २० वर्ष पुरानो गाडी चलाउन रोक लगाइएको छ । अर्को कुरा इँटाभट्टाको छ । हामीले तोकेको मापदण्डअनुसार धूवाँ नियन्त्रण गरिएन भने इँटाभट्टालाई पनि कारबाही हुन्छ । भट्टा नै बन्द गर्नुपर्ने अवस्था आउन सक्छ । अर्को कुरा, प्लास्टिकजन्य वस्तुबाट पनि निकै फोहर भइरहेको छ । जहाँतहीँ फालिएको हुन्छ । त्यो उडेर घरसम्म पुग्छ । भान्सासम्म पुग्छ । त्यसले नाला जाम गरेको हुन्छ । यसतर्फ पनि नियन्त्रणका काम भइरहेका छन् । त्यस्ता वस्तुको आयात र उत्पादनमै रोक लगाउने प्रक्रिया हामीले सुरु गर्न लागेका छौँ ।

 प्लास्टिक कारखाना नै बन्द गराउनुहुन्छ त ?
– प्लास्टिक भनेको पातलो प्लास्टिकको झोलामात्र होइन । बाल्टिन पनि हुन्छ, कुर्सी पनि हुन्छ, ट्याङ्की पनि हुन्छ । अनेक सामग्री छन् । त्यसको उत्पादन बन्द गराउने होइन । अहिले पातलो प्लास्टिकजन्य उत्पादनलाई मात्र बन्द गराउनुपर्छ । त्यसप्रकारको झोला आयात रोक्नुपर्छ भन्ने तयारी हो ।

 यसअघि पनि प्लास्टिकमुक्त राजधानी बनाउने घोषणा भएको थियो । विभिन्न अभियान चलाइए तर त्यसको खासै प्रभाव देखिएन ?
– हो, तपार्इंले ठीक भन्नुभयो । सरकारले यसअघि पनि पातलो प्लास्टिकको झोलामाथि बन्देज लगाएको थियो । त्यसका लागि विभिन्न अभियान पनि चलाइयो तर भूकम्पको बहानामा अभियानलाई सफल हुन दिइएन । तर, मेरो विचारमा त्यो पातलो प्लास्टिक झोला र भूकम्पबीच कुनै तारतम्य थिएन । काम नगर्नेका लागि कुनै न कुनै बहाना चाहिन्छ । भूकम्पलाई त्यस्तै बहाना बनाइयो । अब कुनै बहाना चल्दैन । खैनी, गुट्खाका लागि प्रयोग हुने प्लास्टिकजन्य वस्तुमा पनि रोक लगाइनेछ । मान्छेले खैनी, गुट्खा खाने र त्यसको खोल बाटोमा फ्याल्ने गरेका छन् । त्यसलाई पनि नियन्त्रण गर्ने काम गर्छौं । पहिला–पहिला कागजमा बेरिएर पाउरोटी आउँथ्यो तर अहिले प्लाष्टिकको खोलमा आउन थालेको छ । त्यसलाई पनि नियन्त्रण गर्ने काम गर्छौं । कुकुर शानका लागि पाल्ने । पचासौँ हजार लगानी गर्ने, दसौँ हजारको डोरी लगाउने तर त्यसलाई बाटोमा दिसापिसाब गराउने यो कस्तो सभ्यता हो ? यसलाई पनि नियन्त्रण गर्नुपर्छ । फोहर गर्नेले नै फोहर सफा गर्नुपर्छ । फोहर गर्ने तर त्यो फोहर महानगरपालिकाले सफा गरिदेओस् भन्ने मनसाय अब हटाउनुपर्छ ।

 एकातिर उद्योग सञ्चालनका लागि अनुमति दिने अर्कोतिर त्यसलाई बन्द गर्न निर्देशन पनि दिने त्यो सम्भव हुन्छ ?
– मलाई थाहा छ, दाङको सतबरियामा खोल्नुपर्ने सिमेन्टको उद्योग तनहुँमा खोलिएको छ, अर्थात् अनुमति लिने कहीँको र खोल्ने अन्तै । यो काम धेरै भएको छ । यसको खोजतलास हुनुपर्छ । एउटाको नाममा अनुमति लिने र अर्को चीज उत्पादन गर्ने काम पनि भइरहेको छ । जुन कुराको आवश्यकता छैन, त्यही कुरा गर्छु भनेर हुँदैन । कुनै चीज राष्ट्रलाई आवश्यक परेन भने त्यस उद्योगलाई बन्द गराउनुपर्छ । यी सब कुरा नियन्त्रण हुनुपर्छ । तर, यी सब नियन्त्रण गर्न एकजनाले मात्र गरेर हुँदैन । यसका लागि सम्बन्धित निकाय संवेदनशील हुनुपर्छ ।

 तपाईंं सामान्य प्रशासनमन्त्री हुँदा जसरी डीभी, पीआरधारीलाई तह लगाउनुभयो, त्यसमा सरकारी संयन्त्रबाटै तपार्इंलाई असहयोग भएको थियो, अब वातावरणमा हात हाल्नुभएको छ, असहयोग हुन सक्छ कि ?
– म कुनै पनि अवरोधको सामना गर्न तयार छु । पहिला पनि मैले यस्ता अवरोधको सामना गरेकै हो । कतिपय अवस्थामा मलाई सरकारी संयन्त्रबाट असहयोग भएकै हो तर ती सबैलाई छल्दै मैले काम गरेको हुँ । मलाई थाहा छ, अहिले पनि त्यस्तो असहयोग हुन सक्छ । तर, म त्यसलाई सामना गर्न तयार भएर बसेको छु । यद्यपि, मलाई विश्वास छ– यस सरकारबाट त्यस प्रकारको गतिविधि हुने छैन । विगतका सरकार अस्थिर सरकार हुन्थ्यो । विभिन्न राजनीतिक चलखेल हुन्थ्यो । अहिले त्यो अवस्था छैन । वातावरण स्वच्छ बनाउने काम वातावरण मन्त्रालयको मात्र होइन । यसमा सबै मन्त्रालयको त्यत्तिकै दायित्व छ । त्यसलै अब असहयोग होलाजस्तो लाग्दैन ।

 यो शक्तिशाली सरकार हो । पाँच वर्षका लागि गठन भएको सरकार हो, यस अवधिमा के–के गर्न चाहेको छ सरकारले ?
– राजनीतिक अस्थिरता समाप्त भएको छ । राजनीतिक स्थायित्व सुरु भएको छ । समृद्धि र विकासको युग सुरु भएको छ । नयाँ नेपाल बनाउने काम अब सुरु भएको छ । नयाँ स्तरमा नेपाललाई पु¥याउने काम यो सरकारले गर्नेछ । अहिले आयात धेरै गर्ने, निर्यात कम गर्ने मुलुक भएको छ । मुलुक गरिबीको चपेटामा परेको छ । युवा विदेश पठाउने र केही समस्या प¥यो भने अनुदान र ऋण माग्ने काम भएको छ । अब त्यस्ता कार्य घटाउने काम गर्नुपर्छ । सरकारले पहिलो काम त रोजगारीको सृजना गर्नुपर्छ । रोजगारीको सृजना भयो भने देश समृद्ध हुन बेर लाग्दैन । र, नेपालमा त्यो सम्भव पनि छ । कृषि, पर्यटन, जडीबुटी, उद्योग, कलकारखानामा रोजगारी सृजना गर्न सकिन्छ । बन्द रहेका कारखाना सञ्चालनमा आयो भने त्यसमै लाखौँ युवाले रोजगारी पाउँछन् । कृषिलाई व्यवसायीकरण गर्दै उद्योगको रूपमा सञ्चालन ग¥यो भने त्यहाँ पनि लाखाँै युवाले रोजगारी पाउँछन् । नेपालमा सबैभन्दा बढी सम्भावना पर्यटनको छ, त्यसलाई पनि वैज्ञानिक ढङ्गबाट सञ्चालन गरियो भने लाखौँ युवाले रोजगारी पाउँछन् । यस्ता धेरै सम्भावना छन् । जसलाई हामीले इमानदारीपूर्वक सञ्चालनमा ल्याउनुपर्छ ।

 प्रणाली परिवर्तन भए पनि संयन्त्र त्यस्तै छ । पुरानै शैली र ढर्राका छन् । के यसैबाट परिवर्तन सम्भव छ ?
– पहिलाजस्तो स्वस्तिश्री गाइरहनुपर्दैन । अब काम गरेर देखाउनुपर्छ । अब बिग्रेको गाडीको जस्तो सरकार सञ्चालन हुँदैन । काम नगर्ने व्यक्तिलाई तत्काल कारबाही हुन्छ । काम गर्ने व्यक्तिलाई प्रोत्साहन गरिनेछ । देशले गति लिन थालेको छ । त्यो गतिमा हिँड्न नसक्ने पछाडि पर्छ । जो अगाडि बढ्छ, उसैले काम गर्छ । उसैले सम्मान पाउँछन् । चाहे त्यो मन्त्री होस् या कर्मचारी । मन्त्रीले पनि काम गर्न सक्दैन भने उसलाई पनि हटाइन्छ । मैले भन्न खोजेको जो काम गर्न सक्दैन त्यसलाई राख्नुहुँदैन । टिमवर्कमा काम गर्नुपर्छ । मैले जुन गतिमा काम गरिरहेको छु, त्यसमा मलाई प्रधानमन्त्रीले साथ दिइरहनुभएको छ । म प्रधानमन्त्रीलाई साथ दिइरहेको छु । यही गतिमा अरूले पनि काम गर्नुपर्छ । झोक्राएर बस्ने दिन अब गए ।

 देश सङ्घीयतामा गइसक्यो । प्रदेश क्रियाशील भइसके । सबै संयन्त्र तयार भइरहेका छन् । खर्च बढेको छ तर आयस्रोत देखिएको छैन । कसरी धान्न धानिएला ?
–आय स्रोत अभाव हामीसँग छैन । हामीले नउठाएको मात्रै हो । एक वर्षमा सरकारलाई तिर्नुपर्ने कर तिर्दैनन्, बरु त्यसलाई रक्सी खान खर्च गरिन्छ । सकभर कर तिर्न नपरोस् भन्ने व्यक्ति धेरै छन् । सरकार मेरो हो, मेरानिम्ति सरकारले केही गर्छ भन्ने भावना हुनुपर्छ । राज्यलाई तिर्नुपर्ने करमा कडाइ गरिनेछ । र, राज्यले दिनुपर्ने सेवा सुविधामा पनि कडाइ गरिन्छ । चुहावट रोक्न सकियो भने त्यसले अर्थतन्त्रमा धेरै बल पु¥याउनेछ ।

रेमिट्यान्स, ऋण सहयोग र अनुदानबाट चल्ने हाम्रो देशमा एकाएक परिवर्तन गरिँदा समस्या हुँदैन ?
– एक समय थियो, हामीले पनि अरूलाई अनुदान दिन्थ्यौँ । हामी त्यसबेला समृद्ध थियौँ । तर, हामी आफ्नै कारणले कमजोर भएका छौँ । अब हामी आफैँ समृद्ध हुनुपर्छ र त्यो बेला आएको छ । युवा विदेश पठाएर विदेशको समृद्धि हुन्छ, नेपालको समृद्धि हुँदैन । प्रकृतिले हामीलाई धेरै कुरा दिएको छ तर त्यसलाई हामीले बिगारेका छौँ । २० वर्षमा नेपाल दाता मुलुकका रूपमा गनिनुपर्छ । दान दिने ठाउँमा हुनुपर्छ, लिने ठाउँमा होइन । मागेर समृद्धि हुँदैन, भागेर समस्या समाधान हुँदैन । त्यसका लागि त्याग र समर्पण हुनुपर्छ ।

 अहिलेजस्तो शक्तिशाली सरकार छ, त्यस्तै शक्तिशाली प्रतिपक्ष पनि छ । यो सरकारले प्रतिपक्ष दलसित के–कस्तो सम्बन्ध कस्तो राख्छ ?
– मलाई सोध्नुहुन्छ भने अब प्रतिपक्ष नै चाहिँदैन । सबैले मिलेर देश बनाउने बेलामा किन चाहियो प्रतिपक्ष । मैले त उहाँहरूलाई आह्वान पनि गरेको छु कि आउनुस् । सरकारमा बस्नुस् । मिलेर काम गरौँ । मिलेर देश बनाऔँ । तर, उहाँहरूले प्रतिपक्षमै बस्छु भन्नुभएको छ । हाम्रो चाहना भनेको सहयोगी प्रतिपक्षका रूपमा रहिदिनुस् भन्ने हो । विरोधका नाममा विरोधमात्र गर्नुहुँदैन । जेमा पनि विरोध गर्ने परम्परा तोड्नुपर्छ । सँगै बसेर पनि सचेत गराउन सकिन्छ नि । प्रतिपक्ष रहनुहुँदैन भने होइन तर विरोधका लागि प्रतिपक्षमा बस्नुहुँदैन । प्रतिपक्षमा भए पनि परम्पराबाट माथि उठ्नुपर्छ ।

 मन्त्रिमण्डलको पूर्णतामा किन ढिलाइ भइरहेको छ ?
– कुनै गाडीस्टार्ट हुनासाथ स्पिड लिँदैन, बिस्तारै अघि बढ्छ । अगाडि बढेको छ । एक/दुई दिनमा मन्त्रिपरिषद् विस्तार हुन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना