पुराना सवारीसाधन हटाउन कडाइ (सम्पादकीय)

आजदेखि देशभर २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लागेको छ । यस्ता सवारी साधनले वायु प्रदूषण बढाएको, खर्चिलो र असुरक्षित भएको भन्दै सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ लाई संशोधन गरी दुई वर्षअघि नै निर्णय गरेर २०७४ चैत १ गतेदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाएको हो । यातायात व्यवस्था विभागसँग २० वर्ष चलिसकेका सवारी साधनको तथ्याङ्क छैन तर पनि मुलुकभर यस्ता सवारी साधनको सङ्ख्या पाँच हजारदेखि आठ हजारसम्म हुनसक्ने अनुमान छ । यातायात व्यवसायीले सरकारको यो निर्णयको विरोध गरे पनि सरकार भने यस्ता सवारी साधन सडकमा भेटिए जफत गरिने बताउँदै आएको छ । 

मन्त्रिपरिषद्को २०७१ साल भदौ २६ गतेको बैठकले दुई वर्षभित्र २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाएको थियो तर त्यो निर्णयलाई यातायात व्यवसायीले विरोध गरेका कारण उक्त निर्णय राजपत्रमा प्रकाशन गरी लागू गर्न ढिलाइ भयो । यो निर्णय २०७१ फागुन १८ गते राजपत्रमा प्रकाशन भएको हो । यसै सिलसिलामा सरकारले गतवर्ष फागुनदेखि उपत्यकाबाट २० वर्षे सवारी साधन हटाएको थियो तर यो प्रभावकारी भएन । केही सवारी साधन विद्यालय लगायतले सञ्चालनमा ल्याए भने केही उपत्यकाबाट उपत्यकाबाहिर सञ्चालन भए । यातायात व्यवसायी भने विभिन्न बहानामा सरकारको निर्णय कार्यान्वयनमा अवरोध गर्दै आएका छन् । गत वर्ष पनि व्यवसायीको विरोध हुँदाहुँदै निर्णय कार्यान्वयन भयो । यसपटक पनि यातायात व्यवसायीले आफूसँग छलफल नगरी एकतर्फी रुपमा लागू गर्न खोजेकाले अवज्ञा गर्ने बताउँदै आएका छन् तर सरकार कुनै पनि अवस्थामा निर्णय कार्यान्वयन गर्नेमा दृढ देखिएको छ । सरकारको यो कदम सकारात्मक छ । यातायात व्यवसायीले यो निर्णय कार्यान्वयनमा विरोध जनाउनुपर्ने मनासिव कारण छैन । सवारी साधनको आयु २० वर्ष नै मानिन्छ र विभागले सञ्चालन अनुमति दिँदा पनि २० वर्षकै लागि दिने गरेको छ । यसैका आधारमा भाडादर निर्धारण गरी सामान्यतया सार्वजनिक यातायात वा व्यापारिक रुपमा प्रयोग हुने सवारी साधनले १२ वर्षको अवधिमा लगानी उठाइसक्ने भएकाले लगानीकर्ताले थप आठ वर्ष सञ्चालन गर्दा उचित नाफासमेत कमाइसकेको हुन्छ । त्यसैले २० वर्ष सञ्चालन भइसकेका सवारी साधनलाई हटाउने निर्णयले व्यवसायीलाई पनि मर्का पर्दैन ।
२० वर्ष सञ्चालन भइसकेका सवारी साधन विस्थापन गर्नु उचित निर्णय हो । पुराना सवारी साधन प्रदूषण गर्ने, सञ्चालन लागत बढी हुने र असुरक्षित हुन्छन् । काठमाडौँ उपत्यका लगायत सहरी क्षेत्रको वायु प्रदूषणको स्तर उच्च हुनुमा यी सवारी साधनको भूमिका छ । यहाँको वायु प्रदूषणमा सवारी साधनको योगदान ३८ प्रतिशत रहेको विभिन्न अध्ययनले देखाएका छन् । अधिकांश सवारी साधन पेट्रोल र डिजेलबाट चल्ने, आवश्यकता अनुसार मर्मत नहुने, मिसावटयुक्त पेट्रोलियम पदार्थको प्रयोग हुने र सडकको खराब अवस्थाका कारण सवारी साधनबाट हुने प्रदूषण उच्च छ । यति मात्रै होइन, पुराना सवारी साधन नै बढी दुर्घटना हुने र ट्राफिक जाम गराउनेमा परेका छन् । त्यसैले वातावरण र सुरक्षाका दृष्टिले पुराना सवारी साधनलाई विस्थापन गर्नु आवश्यक छ । यसले सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन सहयोग पु¥याउँछ । यसमा यातायात व्यवसायीको अर्घेल्याइँ उचित छैन । यति मात्रै होइन, प्रदूषण नियन्त्रण र सार्वजनिक यातायातलाई भरपर्दाे र व्यवस्थित बनाउन सहरी क्षेत्रमा ‘मास ट्रान्सपोर्टेसन’लाई प्राथमिकता दिँदै जानुपर्छ । अन्य मुलुक पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीय सवारी साधनबाट विस्थापित गराउने योजनाबद्ध रणनीतिमा लागेका छन् । हामीले पनि यही बाटो अवलम्बन गर्न ढिलाइ गर्नुहुँदैन । सवारी साधनको प्रदूषण मापन गर्ने, नियमित रुपमा सवारी साधनलाई मर्मतसम्भार गरी सञ्चालन गर्ने, सार्वजनिक यातायातमा सानाभन्दा ठूला सवारी साधनलाई प्राथमिकता दिने लगायतका रणनीतिबाट प्रदूषण नियन्त्रण हुनुका साथै सार्वजनिक यातायात सुरक्षित र भरपर्दाे बनाउन सकिन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना