परिवर्तनको सार्थक सन्देश

nirmal k acharya_1निर्मलकुमार आचार्य

 

 

यतिखेर पढालेखा समाजमा महान् भौतिक वैज्ञानिक, पे्ररणाका स्रोत, अद्वितीय प्रतिभा स्टिफन हकिङलाई नसम्झने कमै होलान् । सारा प्रतिकूलताका माझ पनि जीवनज्योति चम्काएर दुनियालाई उज्यालो छर्न सफल हकिङको जीवनलीला ७६ वर्षको उमेरमा गत बुधवार बिहान अन्त्य भए तापनि उनको ज्ञानलीलाले कालान्तरसम्म अस्तित्व दर्शाइरहनेमा दुईमत रहोइन ।
हाम्रो बुद्धिमत्ताको सबैभन्दा ठूलो उपलब्धि हामीलाई बोल्नाले प्राप्त हुन्छ । कहिले पनि आफ्नो मानसिकतालाई असफलतातिर नलैजानू, किनभने हाम्रो सबैभन्दा ठूलो आशा नै भविष्य बन्छ भन्ने हकिङको एउटा प्रेरणादायी भनाइ स्मरणीय बनेको छ –मैले जीवनलाई के सम्झेर बाँचे भने ४९ वर्षपछि मेरो मृत्यु हुनेछ । मलाई मृत्युदेखि डर लाग्दैन तर मलाई मर्न कुनै हतारो पनि छैन, किनभने मर्नुअघि धेरै काम गर्न बाँकी छ ।
‘माथि तारातिर हेर, खुट्टातिर होइन’ भन्ने विश्वप्रसिद्ध वैज्ञानिक हकिङले बुद्धिमत्ता परिवर्तनलाई अँगाल्नुमै रहेको सन्देश दिएका छन् । परिवर्तन अर्थात् हेरफेर, फेरबदल, रूपान्तरण । कुनै घटना, वस्तु, विषय आदिको स्वरूप, अवस्था विशेषता फेर्ने काम । परिवर्तन अपरिवर्तनको उल्टो रूप । परिवर्तनले कुनै वस्तुमा रहेको खराबी हटाउने काम, सुधार, परिमार्जन, संशोधन आदि अर्थ पनि ओगटेको छ । एकनास नरहने र हेरफेर भइरहने भएकैले संसारलाई पनि परिवर्तनशील भनिएको छ ।
हेरफेर हुनुलाई मात्रै परिवर्तन भन्न नमिल्ने धारणासमेत विद्वान्जनको पाइन्छ । एलेन ग्लासगोका भनाइमा सबै परिवर्तन विकास होइन, जस्तै सबै चाल अगाडितिर हुँदैन । परिवर्तन साँच्चै मूल्यवान् हुन स्थायी र क्रमबद्ध हुनुपर्ने ठनाइ टोनी राविन्सको छ । एस्थर डाइसनको भनाइ टिप्ने हो भने ‘परिवर्तनको अर्थ नै जुन पहिले थियो, त्यो सही थिएन, मानिस चाहन्छन्, सबै कुरो ठीक होस्’ भन्ने छ । यदि कसैलाई श्रेष्ठता कायम राख्नु छ भने उसले हरेक दश वर्षमा आफ्नो रणनीति फेर्नुपर्ने सुझाव नेपोलियन बोनापार्टले दिएका छन् ।
परिवर्तनका सम्बन्धमा लियो टाल्स्टायको उद्धरण छ– प्रत्येक व्यक्ति दुनिया फेर्ने कुरो सोच्छ तर कोही आफैँलाई परिवर्तन गर्नेतर्फ कहिल्यै सोच्दैन । महात्मा गान्धीका अनुसार ‘स्वयं त्यो परिवर्तन बन्नुपर्छ, जुन तपाईं संसारमा देख्नु चाहनुहुन्छ । ’ निकै पहिले पदार्थविज्ञानी भूवैज्ञानिक चाल्र्स डार्विनले पनि जुनसुकै महान्भन्दा महान् कामको थालनी हामीबाटै हुनसक्छ, आवश्यकता त्यस प्रतिको पूर्ण समर्पणको हो भनेका छन् । परिवर्तनका लागि नथानियल बैंडेनले भनेका छन्–परिवर्तनतिर पहिलो पाइला जागरुकता हो भने दोस्रो स्वीकृति हो ।
परिवर्तनका सम्बन्धमा विश्वचर्चित स्टिब जब्सको भनाइ मननीय छ । ‘बितेका ३३ वर्षदेखि मैले प्रत्येक दिन बिहान उठेर ऐना हेर्र्दै आफैँसित प्रश्न गरेको छु । यदि यो मेरो जीवनको अन्तिम दिन भएको भए के म त्यो गर्ने थिएँ, जुन आज गर्न जाँदैछु ? जहिले पनि कैयन् दिन निरन्तर ‘अहँ’ जवाफ आउँथ्यो, अनि म बुझ्थेँ–केही परिवर्तन गर्नुपर्ने आवश्यकता छ । ’
यतिखेर हामी पनि परिवर्तनको संघारमा छौँ । परिवर्तन, हेरफेर, रूपान्तरण आफू अनुकूल जस, जसले जुन, जुन शब्द प्रयोग गरे पनि फरक परोइन । संविधानसभाबाट संविधान बनेपछि मुलुक परिवर्तनको दिशामा गतिशील रहेको व्याख्या धेरैतिर सुनिन्छ । खासगरी स्थानीय, प्रादेशिक तथा सङ्घीय निर्वाचन सम्पन्न भएसँगै परिवर्तनले स्थायित्व लिनथालेको सङ्केत पनि पाइन्छ । झन्डै वर्षदिनदेखि स्थानीय तह क्रियाशील छन् भने प्रादेशिक संरचनाले मूर्त रूप लिइसकेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको मूर्ततासँगै विगतभिन्न सङ्घीय संसद् सक्रिय बनेको छ । सङ्घीय संरचनामा तीनै तहका निर्वाचन सम्पन्न भई सरकारले पूर्णस्वरूप ग्रहण गर्ने तयारी छ । प्रतिनिधित्वका हिसाबले हेर्ने हो भने स्थानीय, प्रदेश तथा केन्द्रीय संसद्मा विभिन्न वर्ग, लिङ्ग, क्षेत्रको सहभागिता उल्लेख्य रूपमा बढेको छ । यत्ति हुँदाहुँदै पनि भइरहेको परिवर्तन आशंकामुक्त चाहिँ देखिँदैन । सारमै परिवर्तन भइरहेको हो कि स्वरूपमा मात्रै परिवर्तन भइरहेको हो ? अधिकांशका मनमस्तिष्कमा प्रश्नरिङाइ चलेकै छन् ।
राजनीतिक परिवर्तनलाई नै परिवर्तन मान्ने हो भने यस दिशामा हामीले जुन गतिमा फड्को मार्दै बढेका छौँ, त्यो निस्सन्देह कम्ताको छैन । विगत सय वर्षको अवधिमा अनेक खाले राजनीतिक परिवर्तन भएका छन् । राणाशासनको अन्त्यसँगै प्रजातन्त्र थालनी, संसदीय अभ्यास, निर्दलीय पञ्चायत प्रणाली हुँदै पुनस्र्थापित प्रजातन्त्र, बहुदलीय पद्धति, शाहीकाल, सङ्घीय गणतन्त्रात्मक लोकतन्त्र काल राजनीतिक परिवर्तनका उल्लेख्य घटनाक्रम हुन् । यसबीच सरकार परिवर्तनको त लेखाजोखै नगरे हुन्छ, पछिल्लो समयमा वर्ष दिनमै सरकार फेरिएका उदाहरण पनि छन् । व्यवस्थासमेत परिवर्तन हुँदै आएका छन् । यस अर्थमा हाम्रो परिवर्तनप्रेम जगजाहेर नहुने कुरै भएन ।
अझ विगत बाह्र वर्ष यता त ठूला, ठूला अभूतपूर्व ऐतिहासिक परिवर्तनसमेत भएका छन् । युगान्तकारी परिवर्तनसमेत भनिएको छ । शासन सत्ता सञ्चालनका विधि प्रक्रिया, राज्य रूपान्तरणलगायतका कतिपय पक्षले मुलुकलाई राजनीतिक परिवर्तनको उपल्लै स्थितिमा पु¥याएको व्याख्या विश्लेषण पनि भइरहेकै छ । योभन्दा उत्तम राजनीतिक परिवर्तन हुनै नसक्ने ठोकुवासमेत सुनिँदैछ । मुलुकमा सर्वोत्तम राजनीतिक प्रणाली हुनु आफैँमा सुन्दर एवं स्वागतको पक्ष हो तर यसलाई व्यावहारिक धरातलमै सार्थक अनुभूत गराउनुपर्ने चुनौती पनि छन् । कुनै पनि परिवर्तन किन ? यसरी प्रश्न गर्ने हो भने सार्थकताका पाटा पनि भेटिनेछन् ।
संविधान, शासकीय संरचना वा राज्य रूपान्तरण यी सबै पक्ष केवल साधन हुन्, साध्य भनेको मुलुक र मुलुकवासीको बहुआयामिक उत्थान हो । अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई गौरवमय स्थानमा पु¥याउने र नेपालीलाई सुख, शान्ति र समृद्धिको शिखरमा उक्ल्याउने लक्ष्य परिवर्तनको मूलमर्म हो । यो मर्मको धर्म निर्वाहमा नेतृत्व पङ्क्ति कति गम्भीर, इमानदार एवं क्रियाशील हुनुहुनेछ, यसैमा परिवर्तनको सार्थकता÷निरर्थकता प्रतिविम्बन हुनेछ ।
पञ्चायत भनिंदाखेरिका विसङ्गति, विकृति गाविस भनिंदा के कति रहे ? स्थानीय निकाय कहलाउँदाखेरिका विकृति अब तह भनिंदा मेटिने हुन् कि होइनन् ? मूलप्रश्न यहीँ छ । स्थानीय तह होस् वा प्रदेश अथवा सङ्घीय सन्दर्भका सवाल किन नहोऊन्, सबैतिर सुशासनले के कस्तो भूमिका ग्रहण गर्दै जाने हो, यसैमा सफलताको सूत्र लुकेको छ । स्थानीय तहको झन्डै एक वर्षदेखिको अभ्यास के कस्ता रहे, घूसखोरी, आर्थिक अनियमितता, तेरोमेरोको रोग के कत्ति
रह्यो ? जनसेवामा कत्तिको तल्लीनता देखाइयो ? जस्ता पक्षलाई समीक्षा गर्दै भूल सुधार्दै अघि बढ्न नसकिएमा निकाय र तह बीचको अन्तर केवल शब्दावलीमा रहनेछ ।
गएको चुनाव ज्यादै महँगो भएकामा बिरलै विमति होला । व्यक्तिविशेषले करोडौँ खर्च गरेका चर्चा चलेकै हुन् । यस परिप्रेक्ष्यमा चुनावमा गरिएका खर्चलाई लगानी ठानिएको हो भने न केवल तात्कालिक अपितु दूरगामी असर समेत राम्रो नहुने पक्का छ । तसर्थ खर्च उठ्तीपुठ्ती कार्यक्रमलाई प्रारम्भदेखि नै नत्थी लगाउन सक्नु अहिलेको आवश्यकता हो । राजनीतिलाई नाफा अथवा पदकमाउ (प्रकारान्तरमा आर्थिक लाभ) सम्झने प्रवृत्तिविरुद्ध कसले कहिले कदम चाल्ने यो पनि नयाँ परिवर्तनसँगै उठ्ने कुरो हो । परिवर्तन आफैँबाट कि अरूबाट ? गम्नुपर्ने विषय बनेको छ ।
संविधान परिवर्तन, व्यवस्था परिवर्तन र सरकार परिवर्तनलाई नै सबैथोक सम्झने भूल गरियो भने परिवर्तनकामी आम नेपालीको विश्वासमा कुठाराघात हुनजानेछ । तसर्थ परिवर्तनको वास्तविक अभीष्ट पूरा गर्न सङ्घ, प्रदेश र तह एकसाथ समृद्धिको अभियानमा कुद्नैपर्छ । मुलुकमा राजनेता नभएकाले विफलता बेहोर्नुपरेको जस्ता अभिव्यक्ति अबका दिनमा सुन्नु नपरोस्, किनभने राजनेता बन्न कुनै छेकबार अहिले छैन । अपूर्व त्यागका लागि ठूलो छाती बनाउन, सुशासनका लागि खुट्टा दह्रो तुल्याउन, विकासमा फड्कोका लागि पखेंटा फैलाउन जनाधारप्राप्त नेताले कुनै साइत कुर्नुपर्ने स्थिति छैन ।
मुलुकमा भ्रष्टाचार रहुन्जेल, भ्रष्टाचारीले टाउको उठाएर हिंडुन्जेल, अनुशासनहीनता नमेटिऊन्जेल, दण्डहीनता मौलाऊन्जेल र विधिको शासन कायम नहोऊन्जेल विगतभिन्न शासन प्रणालीको कल्पनासमेत गर्न सकिँदैन । समस्या, अप्ठेरा र चुनौती धेरै छन् । साथै अवसर पनि छ । मुलुकमा परिवर्तन मात्रै भएको छैन, परिवर्तनलाई सार्थक तुल्याउन दुई तिहाइभन्दा बढीको समर्थनप्राप्त सरकार पनि छ । सरकारमा बढीभन्दा बढी दललाई समेट्ने प्रयास पनि भइरहेको छ । विकास र समृद्धिको नारा, भाषणमा कोही पछाडि परेको देखिँदैन । सत्तापक्ष विपक्षमा रहेका दल एक भएर अघि बढ्ने हो भने परिवर्तनले सबैका मुहार चम्काउने निश्चित छ ।
परिवर्तनका लागि परिवर्तनका खेल धेरै भइसके अब परिवर्तनको सार्थकताका लागि मरिमेट्ने दिन आएका छन् । अहिलेको सुखद कुरो नेतामाथि नागरिकले आशा गरेका छन्, विश्वासको वातावरण कसरी कस्सिंदै जाने
हो ? ठोकुवासाथ भन्न गाह्रो छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना