तनहुँ जलविद्युत् आयोजना ठेक्का तयारी अन्तिम चरणमा


लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, चैत ३ गते । तनहुँ जलविद्युत् आयोजनाले बाँध, जलविद्युत् गृह, सुरुङलगायतका निर्माण कार्यका लागि ठेक्का सम्झौता गर्ने अन्तिम तयारी गरिरहेको छ । आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको १४० मेगावाट उत्पादन क्षमताको आयोजना नेपालका सबैभन्दा अग्लो बाँध भएको जलाशययुक्त आयोजना हो ।
तनहुँ जिल्लामा निर्माण हुने आयोजनाको पहिलो प्याकेजको बाँध निर्माणको कार्यको प्राविधिक प्रस्तावको मूल्याङ्कन सम्पन्न भएर आयोजनाका ऋण सहयोग गर्ने एसियाली विकास बैङ्क (एडीबी) र युरोपियन इन्भेस्टमेन्ट बैङ्क (ईआईबी) मा सहमतिका लागि पठाइएको आयोजना प्रमुख प्रदीप थिकेले बताउनुभयो । उहाँका अनुसार आर्थिक प्रस्ताव मूल्याङ्कनको चरणमा रहेको छ । आर्थिक तथा प्राविधिक प्रस्तावको मूल्याङ्कनपछि यही मे महिनाभित्रै मूल्याङ्कनमा छनोट भएको निर्माण ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरिनेभएको छ । tanahu
त्यसैगरी दोस्रो प्याकेजमा निर्माण गरिने विद्युत् गृह, सुरुङ निर्माण तथा हाइड्रो मेकानिकल र इलेक्ट्रोनिकल कार्यका लागि प्राविधिक तथा आर्थिक दुवै प्रस्तावको मूल्याङ्कन भएर जापानी सहयोग नियोग (जाइका) मा सहमतिका लागि पठाइसकिएको छ । दोस्रो प्याकेजका कार्यका लागि जाइकाले आयोजनालाई ऋण सहयोग प्रदान गरेको छ । यो कार्यका लागि पनि यही मेको पहिलो हप्ताभित्रै निर्माण कम्पनीसँग ठेक्का सम्झौता गर्ने तयारी भइरहेको आयोजनाका प्रमुख थिकेले जानकारी दिनुभयो ।
त्यसैगरी आयोजनाबाट उत्पादित बिजुलीलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न तनहुँको दमौलीदेखि भरतपुरसम्मको ३५ किलोमिटरसम्मको प्रसारण लाइन तेस्रो प्याकेजमा निर्माण हुँदैछ । डबल सर्किटको सो प्रसारण लाइन निर्माण गर्न बोलपत्र आह्वानको तयारी भइरहेको र केही दिनभित्रै सूचना प्रकाशित गरिनेभएको छ । प्रमुख थिकेका अनुसार प्रसारण लाइन, विद्युत् गृह, सुरुङ, हाइड्रो मेकानिकल र इलेक्ट्रोनिकल कार्यका लागि जाइकाले र बाँध निर्माणका लागि एडीबी र ईआईबीले ऋण लगानी गर्ने भएका छन् । कुल लागत ५० अर्ब ५० करोड रुपियाँको अनुमानित लागत रहेको आयोजनाको जलाशयले डुबानमा पर्ने जग्गालाई अधिग्रहण गरिसकिएको छ ।
जलाशयको डुबानमा पर्ने एक हजार दुई रोपनी र प्रवेश मार्ग, क्याम्प तथा कच्चा पदार्थको भण्डारका लागि चाहिने १५० रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ । त्यसैगरी थप ५० रोपनी जग्गा अधिग्रहणको आवश्यक प्रक्रिया सुरु भइसकेको आयोजना प्रमुख थिकेले जानकारी दिनुभयो ।
आयोजनाले हालसम्म पाँच किलो मिटरभन्दा बढी पहुँच मार्ग निर्माण सम्पन्न गरिसकेको छ भने सेती नदीमा एउटा पक्की पुल निर्माण गरिएको छ । आयोजना निर्माणका लागि चाहिने विद्युत् प्रवाह गर्न दमौलीमा ३३÷११ केभीको सव–स्टेसन निर्माण भइसकेको छ ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रो लिमिटेड स्थापना गरी निर्माण भइरहेको आयोजनाले प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गर्ने अन्तिम तयारी गरिरहेको छ । जलाशययुक्त आयोजनासँग प्राधिकरणले पहिलोपटक खरिद सम्झौता गर्न लागेकाले सरोकारवाला सबैसँग गहन छलफल चलिरहेको प्राधिकरणले जनाएको छ ।
जलाशययुक्त आयोजनाका लागि सुख्खा याममा १२ रुपियाँ ४० पैसा र वर्षामा छ रुपियाँ १२ पैसा प्रतियुनिटका दरले विद्युत् खरिद सम्झौता गर्ने प्राधिकरणले तयारी गरेको छ । १४० मिटर उचाइ बाँध हुने यो आयोजनाको बाँधको सबैभन्दा माथिल्लो भागेको लम्बाइ (क्रेस्ट लेन्थ) २१५ मिटर हुने डिजाइन गरिएको छ । हालसम्मकै यही उँचो बाँध भएको आयोजना यो नै पहिलो हो । विद्युत्को अधिक माग भएका बेला छ घण्टा पूर्ण क्षमतामा १४० मेगावाट उत्पादन गर्न सकिने गरी आयोजनाको डिजाइन गरिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना