साहित्यमा अध्यात्मको स्थान

kamal rijalकमल रिजाल

 

गत हप्ता राजधानीमा साहित्य र अध्यात्मको अन्तर सम्बन्धबारे गहन छलफल भयो । गुञ्जन नामक साहित्यिक संस्थाको आयोजनामा भएकोे छलफल कार्यक्रमको मुख्य अतिथिमा महामण्डलेश्वर स्वामी हेमानन्द गिरिजी हुनुहुन्थ्यो । जुना अखडाका महामण्डलेश्वर हेमानन्दजी ज्योतिस्पीठ शङ्कराचार्य पदको अन्तिम चार प्रतिस्पर्धीमध्ये एकमा पर्नुहुन्छ । यसको अन्तिम निर्णय केही दिनपछि नै हुने कुरो उहाँबाट नै थाहा भएको छ । उहाँले भन्नुभयो– ‘साहित्य र अध्यात्म एक अर्काका पूरक हुन् ।’ अध्यात्मविनाको साहित्य अन्धो र साहित्यविनाको अध्यात्म लङ्गडो हुन्छ भन्ने उहाँको आशय थियो । कार्यक्रमका अन्य वक्ताका भनाइ पनि करिब यस्तै यस्तै नै पाइएको थियो ।
भागवतमा व्यासजीले भनेका छन्, ‘जुन साहित्यले अध्यात्मको कुरा गरेको छ वा जुन साहित्य अध्यात्मपरक रहेको छ त्यही साहित्य नै रुचिकर र नित्य नवीनतम हुन्छ । यस्तो साहित्य कहिल्यै पुरानो हुँदैन ।’ यसबारे उनी पछिका काव्यशास्त्रका आचार्यले पनि यस्तै अवधारणा प्रस्तुत गरेका छन् । छैटौँ शताब्दीका भामहका काव्यालङुकारदेखि जयदेवको चन्द्रालोक, विश्वनाथको साहित्यदर्पण, मम्मटको काव्यप्रकाश हुँदै जगन्नाथको रसगङ्गाधरसम्मका सबैले साहित्यलाई धर्म, अर्थ, काम र मोक्ष चतुर्वर्ग फलप्राप्तिको आधार मान्दै उसको विराट कालजयी स्वरूप प्रस्तुत गरेका छन् । उनीहरूले साहित्यलाई अध्यात्मको आँखाले हेरेका मात्र छैनन् असल साहित्य हो, जसले यश, कीर्ति, अर्थ, स्नेह, सद्भाव आदि सदुगुण वृद्धि गरी व्यावहारिक ज्ञानसमेत दिन्छ भनेका छन् । यसैको कारण नै साहित्य कहिल्यै पुरानो हुँदैन भन्ने हुँदैन भन्ने उनीहरूको मान्यता छ ।
व्यावहारिक स्थितिकै कुरा गर्ने हो भने पनि आध्यात्मिक साहित्य अर्थात् अध्यात्मपरक जति पनि साहित्य छन्, ती कहिल्यै पुराना भएका छैनन्, लागेका छैनन् । रामायण र महाभारत अहिलेसम्म कतिपटक पढियो र सुनियो होला सबैलाई थाहा भएकै कुरा हो । गीता त यसै पनि दुनियाँका सर्वाधिक भाषामा अनुवाद हुने ग्रन्थमा पर्छ । तैपनि अहिलेसम्म उत्तिकै रुचिका यिनीहरूको आवृत्ति भइरहेको छ । न श्रद्धा घटेको छ न रुचि नै । हिजोआज त यिनीहरू अर्थोपर्जनको समेत साधन बन्न थालेका छन् । यिनलाई यज्ञको नाममा विकास निर्माणका कार्यमा समेत प्रयोग गर्न थालिएको छ । यो छुट्टै कुरा हो कि जुन उद्देश्यले यज्ञ गरिएको छ सोअनुसारको काम भएका छन् कि छैनन्, भएका भए के कति भएका छन् र बोलकबोल भएका रकम नै पनि के कति उठेका छन् । तथापि, यथार्थ यही हो कि विकास निर्माणको नाममा यिनका प्रयोग पनि भएकै पनि छन् र लाखौँ, करोडौँ, कतै अर्बौंसम्मकै पनि रकम उठेको समाचार पनि आएकै छन् ।
त्यति मात्र होइन हिजोआज यिनलाई व्यापारको माध्यमसमेत बनाउन थालिएको छ । कतिपय टेलिभिजन च्यानलमा बरोबर यससम्बन्धी सिरियल प्रस्तुत भइरहेका छन् । रामायणबाट शुरु भएको यो क्रम महाभारत हुँदै विभिन्न पौराणिक कथासम्म आइपुगेका छन्, तैपनि रोकिएका छैनन् । बढ्दै गएका छन् । कहिले शिवका नाममा बनेका छन् । कहिले गणेशका नाममा बनेका छन् । त्यस्तै कहिले गणेशका नाममा बनेका छन्, कहिले मारुतिका नाममा बनेका । जबकि अन्य सिरियलभन्दा यस्ता सिरियल खर्चिला हुन्छन् । यिनका स्टेज तयार गर्ने कार्यमा नै धेरै खर्च हुन्छन् । तैपनि बरोबर बनेका छन्, प्रदर्शन भइरहेका छन् । यस्तो किन भइरहेको छ ? के च्यानलवाला सेवा वा धर्म गर्न बसेको होला पक्कै होइन । ऊ त व्यापार गर्न बसेको हो । भलै उसको विचार धार्मिक होला तर उद्देश्य धार्मिक होइन व्यापार हो । तैपनि किन त्यस्तो भएको छ त ? किनकि यसका दर्शक छन्, श्रोता छन्, पाठक छन् । प्रश्न उठ्न सक्छ व्यास र बाल्मीकिले के जादु वा टुनामुना गरेका थिए र यस्तो भएको होला ? तर, जादु वा टुनामुना केही होइन । उनीहरू जादुगर होइनन् र यस्ता टुनामुना जानेका पनि छैनन् । उनीहरूले मात्र आफ्नो कृतिलाई पूर्णत आध्यात्मपरक बनाएका छन्, जसले गर्दा उनीहरूका कृति रसिलो, स्वादिलो र कालजयी बन्न पुगेका छन् । उनीहरू कहिल्यै पुराना भएका छैनन् । जति हेरे पनि पनि हेरौँ–हेरौँ लाग्ने र जति सुने वा पढे पनि थप पढौँ–पढौँ र सुनौँ–सुनौँ लाग्ने खालका हुन पुगेका छन् । यसकारण पाठक बढेका छन्, श्रोता तानिएका छन् । थाहा छैन यिनीहरू कति हजार वर्ष पूर्वका हुन् तर हिजो जस्ता थिए आज पनि त्यस्तै छन् ।
साहित्य त आज पनि लेखिँदै छन्, धेरै लेखिएका छन् । ती कति पढिन्छन् वा तिनका कति पाठक छन् यो छुट्टै कुरा हो । भलै फेसबुकको पानामा लाइक गर्नेको सङ्ख्या बढी होस् । तिनीमध्ये कति त पढ्दै नपढी लाइक गर्ने हुन सक्छन् । तिनका उद्देश्य भनेकै मेरो पनि अरूले लाइक गरिदिऊन् भन्ने हो । सम्भवतः लाइक गर्नेलाई कुन चाहिँ प्रसङ्ग मन प¥यो भनेर सोध्ने हो भने अकमक्क पर्नेछन् । तथापि, वास्तविकता यही हो हिजोभन्दा आज साहित्य बढी नै लेखिएका छन् । तिनमा कति र पुरस्कृत पनि भएका छन् । केहीले सर्वाधिक बढी राशिको नोबेल पुरस्कार पाएका छन् । तथापि, सबैको चासो र कालजयीको त कुरै छाडौँ तिनले समाजमा शान्ति र सद्भाव कायम गर्न सकेका छैनन् । जुन साहित्य अध्यात्मपरक छन्, जसले अरूको हितभित्र आफ्नो हित खोज्न र अरूलाई बचाएर आफू बच्न सिकाएका तिनीहरू सदैव सबैको रुचिको विषय बनेका पनि छन् र कालजयी पनि हुन पुगेका छन् तर जुन साहित्यले आफू नबाँची संसार बच्दैन र बचे पनि त्यसको काम छैन भन्ने किसिमको सन्देश दिएका छन् ती साहित्यले भने अरूको त कुरै छाडौँ आफ्नैसमेत उद्धार गर्न सकिरहेका छैनन् । यसैकारण समाजमा अनुशासनको बन्धन खुकुलो हुँदै गएको छ । हत्या र हिंसाले प्रश्रय पाएको छ । आतङ्कवादले मानव सभ्यतालाई नै चुनौती दिँदै आएको छ । कम्बोडिया र भियतनामतिरबाट सल्केको अशान्तिको आगो क्रमशः इराक, इजिप्ट, लिविया हुँदै सिरियातिर पुगेको छ । यसको लप्का फैलिएर भोलि कता पुग्ने हो यसै भन्न सकिने अवस्था छैन । जीवन यात्राको शुरुवात पनि अध्यात्मबाटै भएको हो भने यसको अन्त्य पनि अध्यात्ममै पुगेर हुने गर्छ । त्यसैले हरेकको हरेक गतिविधि अध्यात्मपरक हुनुपर्छ । त्यसमा पनि साहित्यलाई त झन् अध्यात्मपरक बनाउनै पर्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना