६ सय मिलियन चिनियाँ पर्यटक कहाँ जालान् ?

ninamनिनाम लोवात्ती कुलुङ

 

नेपालमा सन् २००३ देखि मात्रै चीन सरकारले आफ्नो देशका सर्वसाधारण नागरिकलाई पर्यटकको रूपमा भ्रमण गर्ने अनुमति दिएको हो । यसरी सन् २००३ देखि चीन सरकारले आफ्नो देशका नागरिकलाई नेपालमा पर्यटक भएर आउने अनुमति अर्थात् ‘एपु्रभ्ड डेस्टिनेसन्स् स्टाटस’ दिए यता अपवादबाहेक नेपाल आउने चिनियाँ पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको देखिन्छ । तथ्याङ्क हेर्दा के देखिन्छ भने सन् २००३ मा पर्यटकको रूपमा नेपाल भ्रमण गर्ने अनुमति पाएपछि ७ हजार ५६२ जना सर्वसाधारण चिनियाँ नागरिक पर्यटकका रूपमा नेपाल घुम्न आएका थिए ।
त्यसयता नेपाल आउने चिनियाँ पर्यटकको सङ्ख्या सङ्ख्यात्मक रूपमा लगातार बढेको बढ्यै देखिन्छ । चिनियाँ पर्यटक सङ्ख्यात्मक रूपमा लगातार बढ्ने क्रममा सन् २०१३ मा १ लाख १३ हजार १७३ जना र सन् २०१४ मा १ लाख २३ हजार ८०५ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए तर सन् २०१५ मा ७४ हजार ७७७ जना, सन् २०१६ मा ८० हजार ५५३ जना र २०१७ मा ८३ हजार ३४२ जना चिनियाँ पर्यटकले नेपालको भ्रमण गरेका छन् । यसरी हेर्दा केही दशकदेखि भारतीय पर्यटकपछि चीनका पर्यटकले नेपालको पर्यटन उद्योगमा योगदान दिएका छन् भन्न सकिन्छ । तर, अबको केही वर्षभित्रै छिमेकी देश भारतबाट आउने पर्यटकभन्दा छिमेकी देश चीनबाट आउने पर्यटकको सङ्ख्या बढी हुने सम्भावना छ ।
यसरी हेर्दा विश्व भ्रमण गर्ने चिनियाँ पर्यटकहो सङ्ख्याको सन्दर्भमा भन्नुपर्दा केही महिनाअघि ‘ट्राभल बिज न्युज’ अनलाइनले ‘चाइना नेसनल टुरिज्म एड्मिनिस्ट्रेसन (सिएनटिए)’ लाई उद्धत गर्दे छापेको एक समाचारअनुसार आगामी ५ वर्षमा ६ सय मिलियन चिनियाँ नागरिक पर्यटकको रूपमा विदेश भमणमा निक्लने छन् । हुन पनि सन् २०१५ मा एक सय २० मिलियन चिनियाँ पर्यटक विश्का विभिन्न देशमा घुम्न निक्लेका थिए । तथ्याङ्कअनुसार यो भनेको सन् २०१४ मा विदेश घुम्न निक्लेका चिनियाँ पर्यटकको तुलनामा १९ दशमलव पाँच प्रतिशतले बढी हो । त्यस्तै सन् २०१४ मा एक सय ९ मिलियन मिलियन चिनियाँ पर्यटक विश्का विभिन्न देशमा पर्यटक भई घुम्न निक्लेका थिए । समाचारअनुसार यो भनेको सन् १९८९ को भन्दा १३ पटकले बढी हो ।
हुन त सन् २०१६ मा नेपाल घुम्न आउने चिनियाँ पर्यटकको सङ्ख्या बढाउनकै लागि भनेर नेपाल सरकारले नेपाल आउन चाहने चिनियाँ पर्यटकलाई (१ जनवरी, २०१६ देखि) निःशुल्क प्रवेशाज्ञा (भिषा) दिने नीति लिएको थियो । हाल सरकारले १५ दिन, ३० दिन र ९० दिन गरी तीन तहमा नेपाल आउन चाहने चिनियाँ पर्यटकलाई निःशुल्क प्रवेशाज्ञाको व्यवस्था लागू गरेको छ भने यसरी पर्यटक भएर नेपाल आउन चाहने चिनियाँ नागरिकले हाललाई चीनको राजधानी बेइजिङमा रहेको नेपाली राजदूतावास, चीनको स्वशासित क्षेत्र ल्हासा, साङघाई र हङकङस्थित नेपाली महावाणिज्य दूतावासबाट यस्तो प्रवेशाज्ञा उपलब्ध गराउने व्यवस्था मिलाएको छ तर नेपाल घुम्न आउन चाहने चिनियाँ पर्यटकका लागि अझ सहजताका लागि नेपालले १५ दिन, ३० दिन, ४५ दिन र ९० दिन गरी चार तहको प्रवेशाज्ञाको व्यवस्था गर्दा अझ राम्रो हुने देखिन्छ । नेपाल आउन चाहने चिनियाँ पर्यटकका लागि मकाउलगायत चीनको अन्य ठूला र पायक पर्ने विभिन्न शहरबाट पनि सहजरूपमा नेपाल आउने प्रवेशाज्ञा उपलब्ध गराउन सके नेपालमा चिनियाँ पर्यटक बढाउने अभियानमा सुनमा सुगन्ध हुने थियो । यसका लागि नेपाली पक्षले तुरुन्तै पहल गर्नुपर्ने देखिन्छ ।
साथै नेपाल–चीन सीमामा रहेका स्थलमार्ग जस्तै ताप्लेजङुको ओलाङचुङगोला, तोप्केगोला, सङ्खुवासभाको टिपताला, सिन्धुपाल्चोकको कोदारी, रसुवा टिमुरे, मुस्ताङको कोरला, मुगुको मु गाउँ, हुम्लाको लिमी, दार्चुलाको टिङ्कर÷ब्यासलगायतका नेपालको उत्तरी क्षेत्रमा रहेकान विभिन्न नाकालाई सदाबहार रूपमा चालू गर्न, खोल्न सके चीनको स्वशासित क्षेत्र तिब्बत हुँदै नेपाल आउन चाहने धेरैभन्दा धेरै चिनियाँ पर्यटक र तिब्बत भ्रमणमा जाने तेस्रो मुलुकका विदेशी पर्यटकलाई स्थलमार्ग भएर नेपाल भित्र्याउन सकिन्थ्यो ।
चिनियाँ पर्यटकको सन्दर्भमा भन्नु पर्दा हालसम्म नेपाल आउने चिनियाँ पर्यटक भनेका छोटो यात्रामा निक्लने खालका धेरै छन् । जस्तै चार÷पाँच दिनदेखि सात÷नौ दिनसम्म नेपाल बिताउने बढी देखिन्छ । तर, चिनियाँ पर्यटकको बसाइँ छोटो हुने भए पनि उनीहरु ट्रेकिङ, ¥याफ्टिङ, जङ्गल सफारी, बञ्जी जम्पिङ, प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोइङ आदि पनि गर्ने भएकोले चिनियाँ पर्यटकबाट टुर अपरेटरलाई भने फाइदै फाइदा छ । तापनि हामीले डिलक्स, लक्जरियस र सक्दो खर्च गर्न सक्ने र कम्तीमा आठ÷दश दिनदेखि १४÷१५ दिनसम्म नेपालमा बिताउने खालका चिनियाँ पर्यटक धेरैभन्दा धेरै सङ्ख्यामा भित्र्याउने प्रयासमा लाग्नुपर्ने देखिन्छ ।
त्यसो त नेपाल आउने विदेशी पर्यटक खर्चालु भएनन् भन्ने बहस र छलफल हुने गरेको छ ।
विगत केही वर्षदेखि उनीहरु विश्वकै धेरै खर्च गर्ने पर्यटकमा गनिने गरेकोले पनि देखाउँछ । त्यतिमात्रै होइन, चिनियाँ सङ्ख्याकै आधारमा पनि धेरै सङ्ख्यामा विश्व भ्रमणमा निक्लने पर्यटकका रूपमा दरिएका छन् । यसरी हेर्दा चिनियाँ पर्यटन भित्र्याउनका लागि मात्रै होइन, कुनै पनि देशका पर्यटक भित्र्याउनका लागि नभई नहुने आधारभूत आवश्यकता जस्तै हवाई मैदान, मोटर बाटो, होटल, लज, गेस्ट हाउस, रिसोर्ट, मोटेल हामीसँग पर्याप्त छैन । अर्को नेपालको पर्यटन प्रवद्र्धनमा सबैभन्दा ठूलो समस्या भनेको हवाईजहाजको समस्या हो भने नेपालमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार एकैपटक अन्र्राष्ट्रिय उडानका ठूला हवाईजहाज ओहोरदोहोर गर्न सक्ने विमानस्थल नहुनु अर्को दुःखद पक्ष हो । फलतः हालै बङ्गलादेशको निजी वायुसेवा कम्पनी युएस बांगाला एयरलाइन्स्को जहाज दुर्घटना हुँदा घण्टौसम्म विमानस्थल नै बन्द गर्नुपरेको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थलको कुरो गर्दा बल्लतल्ल बारा जिल्लाको निजगढमा जग्गा अधिग्रहण गर्ने र जग्गा धनीलाई मुआब्जा दिने कुरो चल्दैछ भने प्रारम्भिक चरणको काम नेपाली सेना सुरु गरेको छ । उता पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य पनि धीमा गतिमा चलिरहेको छ । त्यस्तै सन् २०१८ को जुलाईमा सक्ने भनिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको निर्माण कार्यमा पनि कहिले विदेशी (चिनियाँ) ठेकेरदार पक्षबाट, कहिले नेपाली ठेकेदार पक्षबाट, कहिले विश्व बैङ्कबाट, कहिले एसियाली विकास बैङ्कबाट, कहिले कताबाट अवरोध आउने गरेको छ । यसले गर्दा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको निर्माण कार्य सन् २०२० मा मात्रै सम्पन्न हुने सम्भावना देखिन्छ । जे होस्, ६ सय मिलियन चिनियाँ पर्यटकको १ प्रतिशत सङ्ख्यालाई नेपाल भ्रमणमा ल्याउने प्रयास गरौँ । हाम्रा लागि त्यही ठूलो उपलब्धि हुनेछ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना