किन बढ्दैछ उपत्यकामा ट्राफिक समस्या ?

jamकाठमाडौंँ, चैत ५ गते । सडकको क्षमताभन्दा बढी सवारी साधन भएपछि उपत्यकामा ट्राफिक समस्या बढ्दै गएको छ । यसैकारण उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि प्रत्येक हप्ता नयाँ कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुन सकेको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कच्ची तथा पक्की गरेर काठमाडौँ, ललितपुर र भक्तपुरमा ४७२ किलोमिटर सडक छ । यो सडकमा दैनिक ११ लाख सवारी साधन गुड्ने गरेका छन् । 

सवारी साधनको चाप बढेसँंगै सवारी जाम र दुर्घटना बढेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । महाशाखाका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीले तीन विषयको प्रभावकारी कार्यान्वयन नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या आएको बताउनुभयो ।
सडकको वैज्ञानिक बनावट, सडक रेखाङ्कन र ट्राफिक नियमको पूर्ण पालना नगराउँदासम्म समस्या उस्तै रहने दाबी उहाँको छ । आर्थिक वर्ष २०७२÷७३ को तथ्याङ्कअनुसार उपत्यकामा १० हजार बस, नौ हजार पाँच सय मिनीबस, ट्रक मिनी ट्रक, कन्टेनर र ट्याङकर गरी २० हजार आठ सय, क्रेन डोजर, स्काभेटर चार हजार आठ सय, एक लाख २५ हजार कार–जीप, १७ हजार पिकअप, २१ सय माइक्रो र २५ सय टेम्पो सञ्चालनमा छन् । त्यस्तै, ट्राफिक व्यवस्थापनमा निकै चुनौतीपूर्ण समस्याका रूपमा देखिएको मोटरसाइकलको सङ्ख्या मात्र राजधानीमा सात लाख २२ हजार ७२२ छ । ट्याक्टर तथा अन्य सवारी दुई हजार नौसय, कूटनीतिक नियोग तथा एम्बुलेन्स चार हजार पाँचसय रहेको महाशाखाले जनाएको छ ।
उपत्यकामा बागमतीबाहेक अन्य अञ्चल यातायात कार्यालयमा दर्ता भएका सवारी साधन पनि गुड्ने भएकाले कुल सवारी साधनको सङ्ख्या ११ लाख भएको अनुमान महाशाखाको छ । विशेष गरी बिहान र बेलुका जामको समस्या देखिने गरेको छ ।
तर नायव उपरीक्षक मरासिनीले त्यसलाई जाम भन्न नमिल्ने बताउनुभयो । सवारी साधन चौ–बाटोमा ‘क्यु’मा बस्दाको अवस्थालाई जाम भन्न मिल्दैन उहाँले थप्नुभयो– एउटा लेनमा सवारी सञ्चालन भइरहँदा अर्को लेनमा रोकिनुपर्छ । महाशाखाका अर्का प्रहरी नायव उपरीक्षक विश्वमणि पोखरेलले भन्नुहुन्छ–उपत्यकामा समस्या सवारी साधन र सडकको होइन अनुशासित चालक र सचेत नागरिकको हो ।
काठमाडौँ उपत्यकामा तीन सय स्थानमा जेब्राक्रसिङ, २२ स्थानमा आकासे पुल, एक सय २७ स्थानमा ट्याक्सी स्ट्यान्ड, दुई सय ९८ स्थानमा बस स्ट्यान्ड, पाँच स्थानमा बसपार्क, ११ वटा चौबाटो र १९ मध्ये चार स्थानमा ट्राफिक लाइट सञ्चालनमा छन् । सडक क्षमताभन्दा बढी सवारी साधनको सञ्चालनसँगै चालक र सर्वसाधारणले ट्राफिक नियमको पालना नगर्दा समस्या अझ बढ्दै गएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
नेपालमा अघि रहेको गाडीले प्राथमिकता पाउनुको सट्टा सय मिटर टाढाको सवारी साधन आएर ओभरटेक गर्न खोज्छ र त्यसले समस्या सिर्जना गर्छ, नायव उपरीक्षक मरासिनीले भन्नुभयो । त्यसमाथि चालक तथा सर्वसाधारणले ट्राफिक नियमको पालना गर्दैनन्, अटेर गर्नेलाई कानुनी कारबाही न्यून हुन्छ, उहाँले भन्नुभयो ।
उहाँले सडकको पुन निर्माणलाई दिगो तथा वैज्ञानिक बनाउनुका साथै सडक रेखाङ्कन स्पष्ट पार्न तथा २० वर्ष पुराना सरकारी तथा निजी सवारी साधनलाई हटाउन आवश्यक रहेको पनि बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds