उत्पादनमा आधारित कृषि बीमा सुरू

राममणि दाहाल

हेटौँडा, चैत ५ गते । सरकारले सुरु गरेको कृषि बीमाप्रति मकवानपुरका कृषकको आकर्षण बढ्ने क्रमसँगै उत्पादनमा आधारित बाली बीमा सुरु भएको छ । मकवानपुर गढी गाउँपालिकाका कृषकले लगाएको तरकारी खेतीमा उत्पादनमा आधारित तरकारी बाली बीमा सुरु गरिएको हो । यसअघि जिल्लाका कृषकले लागतमा आधारित बाली बीमा गर्दै आएका थिए ।
लागतमा आधारित बाली बीमाअन्तर्गत रापेदेखि उत्पादन टिप्दासम्म भएको लगानीको मात्र बीमा हुने गर्दछ । उत्पादनमा आधारित बाली बीमाका लागि सरकारले क्षेत्रफल अनुसार बाली उत्पादन हुने परिणामको सीमा निर्धारण गरेको छ ।
उत्पादनमा आधारित बाली बीमामा क्षेत्रफल, बाली अनुसार उत्पादन हुने परिणाम, मूल्य तोकिएको हुन्छ र उत्पादन हुने रकमको बाली बीमा गरिन्छ । बाली अनुसार उत्पादन हुने परिणामसमेत फरक हुने भन्दै अहिले तरकारी बाली, अदुवा, बेसार, बीउ उत्पादन र चैते धान खेतीमा मात्र हुने मकवानपुर गढी गाउँपालिकाका कृषि संयोजक चन्द्रकान्त झाले जानकारी दिनुभयो ।
लागतमा आधारितभन्दा उत्पादनमा आधारित बाली बीमामा बढी जोखिम हुने भएकोले बीमा कम्पनीहरू इच्छुक नदेखिए पनि कृषकहरू आकर्षित भएको बताउँदै कृषि संयोजक झाले राष्ट्रिय बीमा समितिले जारी गरेको कार्यविधि अनुसार उत्पादनमा आधारित बाली बीमा गरिएको बताउनुभयो ।
लागतमा आधारित बाली बीमा गराउँदा बीमाङ्क रकमको पाँच प्रतिशत प्रिमियममध्येमा ७५ प्रतिशत सरकारले अनुदान दिने र उत्पादनमा आधारित बाली बीमा गर्दा बीमाङ्क रकमको सात प्रतिशत प्रिमियम रकममध्येमा ७५ प्रतिशत सरकारले अनुदान दिने व्यवस्था रहेको छ ।
उत्पादनमा आधारित बाली बीमा गराउँदा पूर्ण क्षति भएकालाई क्षतिको पूरा रकम र आंशिक क्षतिको मूल्याङ्कन गरी बीमा रकम उपलब्ध गराइने प्रावधान छ । गढी गाउँपालिकाको वडा नम्बर ३, २ र ६ का पाँचजना कृषकहरूले उत्पादनमा आधारित बाली बीमाको लागि फर्म भरेकोमा हाल दुईजनाको मात्र बीमा भएर आएको छ । काँक्रो, लौका, फर्सी, भेडेखुर्सानी र गोलभेंडाको बाली बीमाका लागि पठाइएको जानकारी दिंँदै अभिकर्ताको कार्यसमेत गर्दै आउनुभएका संयोजक झाले भन्नुभयो, स्थानीय बद्रीप्रसाद तिमिल्सिना र रमेश दाहालले छ–छ कट्ठा क्षेत्रफलमा लगाएको काँक्रो खेतीको एक लाख २० हजार रुपियाँको उत्पादनमा आधारित बाली बीमा भएको छ ।
मकवानपुरमा गत वर्ष तोरी बालीको लागतमा आधारित बीमाबाट बाली बीमा सुरु भएकोमा तरकारी र धान बालीमा समेत कृषकले बीमा गराएका थिए । गत वर्ष मकवानपुरमा एक करोड ४० लाख रुपियाँभन्दा बढीको लागतमा आधारित कृषि बीमा भएको जिल्ला कृषि विकास कार्यालय मकवानपुरले जनाएको छ । प्राकृतिक विपत्ति र रोगका कारण कृषिमा क्षति भई किसानले व्यहोर्नु नपरोस् भनेर र किसानलाई कृषि क्षेत्रमा निरन्तरता दिनका लागि बाली बीमा कार्यक्रम ल्याइएको हो ।
इन्द्रसरोवर गाउँपालिकाका नायब प्राविधिक सहायक कुमार पौडेलले यस वर्ष जिल्लाका विभिन्न स्थानमा गरी चार जना कृषकको आफूमार्फत ४० लाख रुपियाँ बराबरको लागतमा आधारित बाली बीमा गराएको बताउनुभयो । उहाँले उत्पादनमा आधारित बाली बीमा तरकारी खेतीमा भएको भन्दै फाखेल गोलभेंडामा र पदमपोखरी, हेटौँडालगायतका स्थानमा च्याउ खेतीको बीमा गरिएको जानकारी दिनुभयो । हेटौँडा उपमहानगरपालिका–१३ स्थित पदमपोखरीमा व्यावसायिक रूपमा गरिएको च्याउ खेतीमा च्याउ कृषकले दस लाख रुपियाँ बराबरको लागतमा आधारित बाली बीमा गराएका छन् । यस वर्ष मकवानपुरमा तरकारी र धान बालीमा लागतमा आधारित बाली बीमा गरिएको थियो ।
बाली बीमा गर्ने कृषकले तोकिएको मापदण्डभित्र रहेर बाली लगाउने र सबै अभ्यास पूरा गरेपछि १५ दिनभित्रमा अभिकर्तामार्फत बाली बीमा गर्नुपर्ने प्रावधान रहेको छ । गत वर्ष तोरी, चैते धानसँगै आलु, प्लास्टिक टनेलभित्रको गरिएको गोलभेंडा, काउलीलगायतका खेतीमा थाहा नगरपालिका, फाखेल, हटियालगायतका स्थानका कृषकहरूले लागतमा बाली बीमा गराएका थिए ।
बीमा गरिसकेपछि विभिन्न प्राकृतिक प्रकोप तथा रोगका कारण बलाी नष्ट भएमा लागतको ९० प्रतिशत रकम किसानले पाउँछन् । साना लगानी कृषकहरूले अझै नबुझेको र प्रक्रिया लामो भएको भन्दै बाली बीमा गराउन नआउने गरेको पाइएको छ । मकवानपुरमा कृषि प्राविधिक नै बीमा अभिकर्ता भएकोले बाली बीमा गराउन सहज भएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds