एक दिनमै एक क्विन्टलसम्म च्याउ उत्पादन

mussroomनेपालगञ्ज, चैत ५ गते । बाँकेको खजुरा गाउँपालिका–२, सी गाउँका महिलाले एकदिनमै ७० केजीदेखि साढे एक क्विन्टलसम्म च्याउ उत्पादन गरिरहेका छन् । १० जनाको समूह बनाएका महिलाले सुरु गरेको च्याउ खेतीको उत्पादन दिनदिनै बढ्दै गएको छ ।  च्याउ उत्पादनमा लागेका सी गाउँका महिलालाई आजभोलि आफूले उत्पादन गरेको च्याउ टिप्न भ्याई नभ्याई छ । उनीहरूले सामूहिक रूपमा सञ्चालन गरेको फर्ममा दैनिक ७० केजीदेखि साढे एक क्विन्टलसम्म च्याउ उत्पादन भइरहेको छ । उनीहरूले दैनिक ज्याला पाँच सय रुपियाँसहित च्याउ फर्मबाट आएको नाफा वार्षिक रूपमा बाँडफाँड गर्छन् । दैनिक ज्यालाबाहेक सिजनमा प्रतिव्यक्ति डेढ लाखभन्दा बढी रुपियाँ कमाउँदै आएको उनीहरू बताउँछन् । 

११ टहरामा खेती गरेका महिलाहरूले खर्च कटाएर एक सिजनमा डेढ लाखसम्म आम्दानी गरिरहेका छन् । राम्रो आम्दानी हुँदै गएकाले महिलाको जीवनस्तरसमेत बदलिएको छ ।
यसअघि महिलाहरूले व्यक्तिगत रूपमा च्याउ खेती गर्दै आए पनि तीन वर्षदेखि व्यावसायिक र समूहमा उत्पादन गर्न थालेका हुन् । महिलाहरूले घरको काम सकेर बचेको समयलाई च्याउ खेतीमा लगाउँछन् ।
समूहकी अध्यक्ष कृष्णा चौधरीले उत्पादित च्याउ नेपालगञ्ज, खजुरा, कोहलपुरका साथै सुर्खेतसम्म पुग्ने गरेको बताउनुभयो । उहाँले मङ्सिरको पहिलो साता च्याउका पोका राखेर वैशाखसम्म उत्पादन हुने जनाउँदै दैनिक ७० केजीदेखि साढे एक क्विन्टलसम्म उत्पादन हुनेगरेको बताउनुभयो ।
उत्पादन धेरै हँुदा कहिलेकाहीँ बजारको समस्या हुने अध्यक्ष चौधरीले बताउनुभयो । सरकारी निकायबाट बजारीकरणमा सहयोग भए अझै खेती विस्तार गर्न सकिने उहाँले बताउनुभयो । एक व्यापारीसँग दैनिक ७० केजी च्याउ खरिद बिक्रीको सम्झौता गरेको उनीहरूलाई बढी च्याउ उत्पादन भए बिक्रीको समस्या छ ।
च्याउ सुर्खेत पठाउने गरी अर्का एक व्यापारीसँग सम्झौता गरे पनि उनी नियमित नआउ“दा समस्या रहेको अध्यक्ष चौधरीको भनाइ छ । टहरा बनाउँदा श्रमदानदेखि पोका बनाउने, पराल पकाउने, च्याउ टिप्ने काममा पालो लगाई सबै महिलाले समान रूपले गरेको समूहकी सदस्य डम्मरकुमारी सुनारले बताउनुभयो ।
सुनारका अनुसार सामूहिक रूपमा खेती गर्दा समानता र सामूहिक भावनाको विकास भएको छ । सबैजसो जातजातिका महिला छौँ । सामूहिक काम गर्दा आर्थिक रूपले आत्मनिर्भर बन्न थालेका छौँ । सामूहिक भावनाको विकास भएको छ, उहाँले भन्नुभयो, घरको काम सकेर बचेको समयमा फर्ममा काम गर्ने गरेका छाँै । उत्पादन र आम्दानी बढ्दै जाँदा सजिलो भएको छ ।
च्याउ उत्पादन हुँदाको रकम समूहको नाममा जम्मा गर्ने गरिएको छ । फर्ममा निर्माण गरिएका टहराबाट कम्तीमा पाँच वर्षसम्म च्याउ उत्पादन हुनेछ, अध्यक्ष चौधरीले भन्नुभयो । ढुवानीका लागि आवश्यक सवारी साधनलगायत अन्य सबै पूर्वाधार पनि समूहसँगै भएकाले यसलाई थप विस्तार गर्न सक्षम छौँ । कृषक समूहले समेत १८ लाख रकम र श्रमदान लगानी गरेको छ । फर्मका लागि आवश्यक सबै पूर्वाधार समूहसँगै भएको उहाँले बताउनुभयो ।
अध्यक्ष चौधरीले सहज बजारीकरण, कम श्रममा राम्रो आम्दानी र भाउ उपयुक्त भएकाले च्याउ खेतीमा पर्याप्त सम्भावना रहेको जनाउनुभयो । उहाँका अनुसार वर्षमा दुई पटकसम्म च्याउ उत्पादन गर्ने समूहको
योजना छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना