प्रदेशसभाले मागे संघीय संसद्का कर्मचारी

 

नारायण काफ्ले

काठमाडौँ, चैत ७ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रदेश संसद् सञ्चालनका लागि जनशक्ति खटाइदिन संघीय संसद् सचिवालयलाई आग्रह गरेको छ । कार्यालयले सोमबार सचिवालयलाई पत्राचार गर्दै प्रदेशसभा सञ्चालनका लागि विज्ञ कर्मचारी आवश्यक परेको भन्दै व्यवस्थापनका लागि आग्रह गरेको हो । मन्त्रिपरिषद् कार्यालयले प्रत्येक प्रदेशसभामा दुई जनाका दरले कर्मचारी खटाइदिन आग्रह गरेको हो ।
संघीय संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले मन्त्रिपरिषद कार्यालयको पत्र प्राप्त भएको जानकारी दिँदै सचिवालयले कर्मचारी खटाउनेबारे परामर्श सुरु गरेको बताउनुभयो । गौतमले भन्नुभयो ‘प्रदेशसभा सञ्चालनका लागि विज्ञ कर्मचारी आवश्यक भएको भन्दै मन्त्रिपरिषद कार्यालयले पत्राचार गरेको छ । पत्र पाइसके पनि यसबारेमा कुनै पनि निर्णय गरिसकेका छैनौँ । कर्मचारीले आफ्नो करिअर र सेवा सुविधामा पनि केही चासो राख्नुभएको छ, परामर्शपछि निर्णय हुन्छ ।’
सचिवालयले यसअघि सातैवटा प्रदेशमा सहसचिवको नेतृत्वमा सभा सञ्चालनका लागि कर्मचारी खटाएको थियो । कानुनले संघीय संसद्का कर्मचारी प्रदेशमा खटाउने व्यवस्था गरेको छैन । तर, सचिवालयले सभा सञ्चालनको सहजीकरणका लागि भन्दै सबै प्रदेशमा एक सहसचिवसहित चार जना कर्मचारी खटाएको थियो ।
करिव एक महिना सहजीकरण र प्रशिक्षणपछि संघीय संसद्का कर्मचारी फिर्ता आएका थिए । कर्मचारी फिर्ता आएपछि प्रदेशमा सभा सञ्चालनमै अप्ठ्यारो परेको भन्दै प्रदेश सभामुखहरुले विज्ञ कर्मचारी व्यवस्थापन गरिदिन संघीय सरकार तथा सभामुख समक्ष आग्रह समेत गर्नुभएको थियो ।
सोही आग्रह अनुसार मन्त्रिपरिषद कार्यालयको सोमबार संसद् सचिवालयलाई पत्र लेखेको हो । पत्राचार अनुसार सह–सचिवस्तरका कम्तीमा एकसहित दुई कर्मचारी व्यवस्थापनका लागि आग्रह गरिएको छ ।
संवैधानिक र कानुनी व्यवस्था अनुसार संघीय संसद्का कर्मचारी प्रदेशसभामा समायोजन गर्ने वा खटाउने व्यवस्था छैन । संघीय संसद् र प्रादेशिक संसदको संरचनालाई संविधानले नै फरक संरचनाको परिकल्पना गरेको छ । संघीय संसद्का कर्मचारी प्रदेशमा खटिए पनि अन्य प्रशासनतर्फका कर्मचारीको रहनुपर्ने अवस्था छ ।
मन्त्रिपरिषदको कार्यालयले कर्मचारी खटाइदिन आग्रह गरेपछि संघीय संसद् सचिवालयले परामर्श थालेको छ । परामर्शमा कर्मचारीहरुले कानुनी व्यवस्था तथा सेवा सुविधाबारे चासो देखाएका छन् ।
सचिवालयले यसअघि प्रदेशसभा सञ्चालनका लागि अन्तरिम कार्यविधि, विभिन्न प्रस्ताव तथा सूचनाका नमूनासहित कर्मचारी प्रदेशमा खटाएको थियो । सोही अनुसार सबै सभाले पहिलो बैठक सम्पन्न गरी नियमावली निर्माणका लागि समिति समेत बनाइसकेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना