एमाले–माओवादी एकीकरण कार्यदलका सदस्य मन्त्री बनेपछि पार्टी एकता प्रभावित

kp-Oli-prachandaकाठमाडौं, चैत ७ गते । नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र)को एकीकरणका लागि बनेका विभिन्न कार्यदलका अधिकांश सदस्य मन्त्री भएपछि एकताको गृहकार्य प्रभावित भएको छ । निर्धारित समयमा कार्यदलले प्रतिवेदन नबुझाएका कारण एकीकरणको घोषणा समेत चैतबाट वैशाख ९ गतेका लागि सारिएको छ । पार्टी एकता संयोजन समितिले कार्यदललाई फागुन २५ को समयसीमा दिएको थियो । सो अवधिमा दुवै कार्यदलले प्रतिवेदन तयार गर्न नसकेपछि थप १० दिनको समय (चैत ५ गतेसम्म) दिएको थियो । 

निर्धारित समयावधि सकिए पनि कार्यदलले प्रतिवेदन तयार गरिसकेको छैन । कार्यदलका सदस्यहरु मन्त्री बनेपछि व्यस्त भएका कारण कार्यदलको बैठक समेत प्रभावित भएको छ ।
सांगठनिक संरचना मस्यौदा निर्माण कार्यदलका संयोजक एवं माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ नै गृहमन्त्री बन्नुभएको छ । एघार सदस्यीय कार्यदलमा सातजना मन्त्री बन्नुभएको छ । वर्षमान पुन ऊर्जा, इश्वर पोखरेल रक्षा, मातृका यादव उद्योग, रघुवीर महासेठ भौतिक पूर्वाधार, गिरिराजमणी पोखरेल शिक्षा, गोकर्ण विष्ट श्रममन्त्री बन्नुभएको छ ।
उहाँहरू मन्त्री भएपछि कार्यदलको बैठक एकपटक मात्र बसेको छ । यद्यपि यी कार्यदलले गठन गरेको उपसमितिले भने आफ्नो प्रतिवेदन बुझाई सकेका छन् । प्रतिवेदनलाई कार्यदलले अन्तिम रुप दिइनेछ ।
त्यस्तै, एमालेका नेता माधवकुमार नेपाल संयोजकत्वको राजनीतिक प्रतिवेदन निर्माण गर्ने कार्यदल पनि मन्त्रीकै कारण प्रभावित भएको छ । कार्यदलका दश जनामध्ये दुईजना मन्त्री बन्नुभएको छ । प्रदीप ज्ञवाली परराष्ट्र र शक्ति बस्नेत वन मन्त्री बन्नुभएको छ । यो कार्यदलमा नारायणकाजी श्रेष्ठको नेतृत्वमा गठन भएको उपसमितिले समेत प्रतिवेदन बुझाएको छैन ।
कार्यदलले काम गरिरहे पनि अझै गृहकार्य पुगेको छैन्, कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङले भन्नुभयो, ‘पार्टी एकता घोषणा गर्ने समय वैशाखमा सरेपछि कार्यदलले गृहकार्य गर्ने थप समय पाएको छ, त्यहीअनुसार काम भइरहेको छ ।
‘कार्यदलका सदस्यहरुको परामर्श र सुझाव ऐतिहासिक दिन पारेर पार्टीको एकीकरण घोषणा गर्नुपर्छ भन्ने रह्यो, त्यहीअनुसार कम्युनिष्ट पार्टी जन्मेकै दिन नयाँ पार्टी घोषणा गर्ने निस्कर्ष साथ एकता प्रक्रिया केही लम्बिएको हो, कार्यदलका अर्का सदस्य देव गुरुङले बताउनुभयो । वैशाख ९ लाई लक्षितगरी कार्यदलले प्रतिवेदनको मस्यौदाको काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँकाअनुसार २००६ वैशाख १० गते कम्युनिष्ट पार्टी जन्मेको भए पनि आगामी अप्रिल २२ वैशाख ९ गते पर्ने भएकाले नेपाली तिथीअनुसार एकदिन अगाडि नै नयाँ पार्टी घोषणा गर्ने तयारी गरिएको छ । दुवै कार्यदलको बैठक नियमितरुपमा बसिरहेकाले चाँडै मस्यौदाको काम सम्पन्न हुने नेता गुरुङले जानकारी दिनुभयो ।
पार्टी एकता प्रक्रिया केही लम्बिएको देखिए पनि एकतामा कुनै समस्या नरहेको बताउँदै कार्यदलका सदस्य गुरुङ्ले सम्भवतः एक साताभित्र कार्यदलले मस्यौदाको काम सक्ने बताउनुभयो । कार्यदलले तयार गर्ने प्रतिवेदन एकता संयोजन समितिमा प्रस्तुत हुन्छ, त्यहाँ थप छलफल गरेर अन्तिम रुप दिइनेछ गुरुङले भन्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना