भूमिगत पानी जथाभावी निकाल्दा जोखिम

काठमाडौँ, चैत ७ गते । काठमाडौं उपत्यकाको पानीको संकट कम गर्न भूमिगत पानीलाई पुनर्भरण गर्ने पद्धति विकास गर्नु जरुरी ठानिएको छ । काठमाडौँ उपत्यकामा पानीको लागि बहुप्रतिक्षित मेलम्ची आयोजना निर्माणको अन्तिम चरणमा रहे पनि उक्त आयोजनाले पनि सबै क्षेत्रको बढ्दो मागलाई धान्न नसक्ने हुँदा भूमिगत पानीको प्रयोग नै भरपर्दो विकल्प हुने विज्ञहरूको भनाइ छ । भूमिगत पानी कहाँबाट कति मात्रामा निकाल्न मिल्छ वा सकिन्छ भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् ।

नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह मनाउने क्रममा मङ्गलवार काठमाडौंँमा आयोजना गरिएको गोष्ठीमा इन्ष्टिच्यूट अफ इन्जिनियरिङका प्राध्यापक नरेन्द्रमान शाक्यले स्थानीय सरकारले आफ्नो क्षेत्रमा के कति मात्रामा भूमिगत पानी रहेको छ र कुन कुन स्थानबाट के कति मात्रामा पानी निकालेर प्रयोग गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनु जरुरी भएको बताउनुभयो ।
उहाँले पानीको संकट कम गर्न भूमिगत पानीको प्रयोग राम्रो विकल्प भए पनि जहासुकैबाट जतिसुकै मात्रामा पानी निकाल्न नमिल्ने बताउँदै त्यसरी पानी निकालिएमा भविष्यमा ठूलो संकट आउन सक्ने चेतावनी दिनुभयो । उहाँले लाजिम्पाट, लैनचौर जस्ता क्षेत्रमा भूमिगत पानी अधिकमात्रामा निकाल्दा जमिन भासिएर जोखिम बढेको बताउनुभयो ।
भूमिगत पानीलाई पुनर्भरण गर्ने पद्धतिको विकास गरेर मात्र पानी निकाल्न सकिने विज्ञको भनाइ छ । उत्तरी क्षेत्रमा भूमिगत पानीको अवस्था राम्रो भएको तर बल्खु, कीर्तिपुर क्षेत्रमा पानी भण्डारणको अवस्था त्यति राम्रो नदेखिएको पाइएको छ । जलस्रोत र पानीको मुहानमा स्थानीय तहको स्वामित्व रहने अहिलेको संवैधानिक ब्यवस्थाअनुसार सरकारले आफ्नो क्षेत्रभित्र भूमिगत पानीको अवस्था के कस्तो छ भनी नक्साङ्कन गर्नुपर्नेमा जोड दिइएको छ ।
पानी तथा ऊर्जा आयोगका सचिवालयका सचिब डा रमेश प्रसाद सिंहले सरकारले स्मार्ट सिटी, मेघा सिटीको नारा लगाइरहँदा भूमिगत पानीको अवस्थाका बारेमा अध्ययन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
यूनएन हुयाविट्याटका प्रमुख बीएस जोशीले लिच्छविकालमा विकास भएका उपत्यकाका शहरमा अत्यन्तै वैज्ञानिकरुपमा पानी मुहानको संरक्षण र विभिन्न प्रकृतिका पोखरी निर्माण गरेर पानीको पुनर्भरण गरिएको चर्चा गर्नुभयो । उहाँले तत्कालिन समयमा वस्तीको उपल्लो भाग, मध्य भाग र पुछारको भागमा बनाइएका साना ठूला पोखरीले वस्तीको सुरक्षा, पानीको आपूर्ति र खेतबारी सिंचाइ गर्ने गरिएको बताउनुभयो । बस्ती विकाससँगै पोखरी मासिदा ढुङ्गेधारा र इनार सुक्न पुगेको उहाँले बताउनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds