पानीका लागि प्रकृति संरक्षण


ramchandra adhikari_1रामचन्द्र अधिकारी

 

प्रत्येक वर्ष मार्च २२ तारिखमा विश्वभर पानी दिवस मनाइन्छ । सन् १९९२ मा रियो दि जेनेरियोमा भएको संयुक्त राष्ट्र सङ्घको वातावरण र विकाससम्बन्धी सम्मेलनले पानी दिवस मनाउनका लागि सिफारिस गरेको थियो । पछिल्लो साल अर्थात् १९९३ मा भएको संयुक्त राष्ट्रसङ्घको महासभाले पानी दिवस सोही सालदेखि मनाउने निर्णय गरेको हो । हाल विश्वभर पानी मनाइन्छ र यसपालि यो दिवसको रजत अङ्क पनि हो ।
पहिल्यैदेखि भनिएको थियो कि २१ औँ शताब्दीमा पानी पाउनका लागि सङ्घर्ष गर्नुपर्ने हुन्छ । अधिकांश ठाउँमा पिउने पानीको अभाव हुने, उपलब्ध भएका ठाउँमा पनि शुद्ध नहुने, पानीका कारण लाग्ने रोगको सङ्ख्या र प्रकोपमा वृद्धि हुनेजस्ता प्रसस्त समस्या आउने भविष्यवाणी विगतमै गरिएका थिए । सोहीअनुसारका परिणाम त देखिनै रहेका छन् । पानीका मुहान सुक्ने हराउने गर्नाले वास्तवमा पानी संरक्षण ठूलो चुनौती बनेको छ । पानीका सन्दर्भको चुनौतीलाई सामना गर्न हामीले प्रकृतिलाई कसरी प्रयोग गर्न सक्छाँै भन्ने आशयको नारा यस वर्षको विश्व पानी दिवसले लिएको छ । त्यसैले पानीका लागि प्रकृति भनेर नारा तय गरिएको छ ।
तीव्र जनसङ्ख्या वृद्धि भएसँगै पानीमा चुनौती थपियो । आजको अवस्थामा विश्वका दुई अर्ब १० करोड मानिस सुरक्षित पिउने पानीबाट वञ्चित छन् । दिगो विकासको लक्ष्य– ६ ले भन्छ– सन् २०३० पछि यस्तो समस्या रहँदैन । सबै मानिस पिउने पानीको सेवा क्षेत्रभित्र पर्छन् तर लक्ष्यमा पुग्न सजिलो भने देखिएको छैन । उद्योगधन्दा, घरबस्ती, खेतीपाती आदिबाट निस्कने ८० प्रतिशत पानी सोझै प्रकृतिमा फालिने गरेको छ, जसले गर्दा प्रकृतिको गर्भमा रहेको पानी दूषित बनिरहन्छ । संसारका एक अर्ब ८० करोड मानिस फोहोर पानी त्यसमा पनि दिसाको अंश मिश्रित पानी पिउन बाध्य छन् । असुरक्षित पानी र फितलो सरसफाइका कारण हरेक वर्ष करिब आठ लाख ४२ हजार जना मान्छे मर्ने गरेका विश्व स्वास्थ्य सङ्गठनको सन् २०१४ को तथ्याङ्क छ ।
संयुक्त राष्ट्रसङ्घका विभिन्न बैठक, जनसङ्ख्या र विकाससम्बन्धीका विभिन्न संस्थाका सभाले हिसाब निकालेका छन् कि सन् २०५० सम्ममा विश्व जनसङ्ख्या दुई अर्ब बढ्नेछ तर पानीको माग हालभन्दा ३० प्रतिशतले बढ्नेछ । अहिलेकै अवस्थामा करिब एक अर्ब ८० करोड मानिस मरुभूमिकरणको जोखिममा छन् । तिनीहरूलाई निकट भविष्यमा पानी सङ्कट आइलाग्न सक्छ ।
पृथ्वीको ७५ प्रतिशत भाग पानीले ओगटेको भए पनि किन पानी अभाव हुने एउटा तर्क रहन्छ । जवाफ जटिल छैन जति पानी छ त्यसको करिब ३ प्रतिशत मात्र खास प्रयोगमा आउन सक्छ । तीन प्रतिशत चाहिँ लवण कम भएको फ्रेस पानी हो जसलाई पिउन र अरू घरायसी, औद्योगिक र कृषि कर्ममा प्रयोग गर्न सकिन्छ । ९७ प्रतिशत पानी समुद्रमा छ त्यसलाई पिउनको लागि उपयोगी बनाउन धेरै खर्च लाग्छ । सिंचाइमा पनि उपयोगी मानिदैन । अनि जति फ्रेस पानी छ त्यसको पनि ३० प्रतिशत त भूमिगत नै छ । भूमिगत पानीलाई उपयोग गर्न ऊर्जाको आवश्यकता पर्छ । आज संसारको पानी प्रयोगको स्थिति हेर्ने हो भने सिंचाइमा ६९ प्रतिशत, उद्योगमा २० प्रतिशत, घरायसी प्रयोगमा १० र पिउनका लागि एक प्रतिशत भएको पाइन्छ । यति कम मात्रामा चाहिने भए पनि आज मानिस काकाकुल भन्ने अवस्थामा आइपुगेको छ ।
वातावरणमा पु¥याइएको क्षति, जलवायु परिवर्तन, विकास निर्माण, वन विनास, औद्योगीकरण, अव्यवस्थित बसोबासजस्ता कुराले प्रकृतिलाई चुनौती दिइरहेका छन् । जब प्रकृतिमा दोहन गरिन्छ तब पानीका स्रोत हराउने हुन् अनि पानी चक्रमा समेत उथलपुथल आइदिन्छ । विकासोन्मुख देशमा तीव्र गतिमा विकासका काम भइरहेका छन् । विकास छिटो र छरितो अनि कम बजेटमा गर्ने उद्देश्य लिएर काम गर्दा वातावरण विनास भएको मानिसले थाहा पाएका छैनन् । एकैचोटि नकारात्मक परिणाम देखिएपछि चेत खुल्छ, खुल्दैछ । सडक निर्माणको कामले संसारमै धेरै वन विनास भएको छ र पानीका मूल सुकेका छन् । घर घरमा पानी पु¥याउने कार्यले एकातिर विकासको प्रत्याभूति त दिएको छ नेपालकै सन्दर्भमा पनि, तर एउटा मूलको पानी थुनेर घरतिर सोझ्याउँदा त्यसको तल्लो क्षेत्रमा पर्ने कतिवटा मूल सुक्छन् भन्ने कुराको हेक्का कमैलाई होला । प्राकृतिक रूपमा रहेको सो मुहानबाट उत्सर्जित पानीले कति जग्गालाई सिंचित गरेर, सिमसार बनाएर वातावरण शुद्धीकरणमा भूमिका निर्वाह गरेको हुन्थ्यो । त्यसले कति मात्रामा भूमिगत पानीको आयतनमा वृद्धि गराइदिन्थ्यो । त्यो मूलको पानीबाट प्राकृतिक रूपमा पानी छानिएर अरू धेरै मूल तल्लो भागमा उम्रिएका हुन्थे । ती पनि सुकेको अवस्था छ । यस्तो समस्या नेपालजस्तो देशमा धेरै देखिएको छ । संसारमा जति सिमसार क्षेत्र थिए त्यसको करिब ७० प्रतिशत सन् १९०० देखि यता नै मासिएका हुन् । जति मासिए अधिकांश चाहिँ मानवीय गतिविधिकै कारण भन्ने निष्कर्ष छ । यसर्थ विकासले जलस्रोतलाई विनास गरिरहेको स्थिति हो ।
वायु प्रदूषणका कारण अम्लीय वर्षाले स्थान पाएको छ । अम्लीय वर्षाले गर्दा जलभण्डार समेत अम्लीय बन्न पुगेको छ, जसले पानीलाई पिउन नहुने वा हानिकारक बनाएको छ । भूउष्णीकरण वा पृथ्वीका तापमानमा वृद्धिले गर्दा जलभण्डारको रूपमा रहेको हिमालको हिउँ पग्लिने क्रम तीव्र्र छ । पहाडका टुप्पामा रहेको ठोस पानी विस्तारै रसिएर मधेशका मैदानमा बस्ने मानिसलाई समेत पिउने पानीको स्रोत बन्न सकेको थियो । तर हिउँ पर्ने क्रम घट्दै आएको र भएको हिउँ पनि छिटै पग्लिनाले समस्या आएको छ । जलवायु परिवर्तनका कारण आजकाल जलचक्र नराम्ररी प्रभावित बनेको छ । समयमा पानी नपर्ने, लामो खडेरी लाग्ने, एकै दिन धेरै पानी पर्ने, मनसुनमा गडबडी आउनेजस्ता समस्या देखिएका छन् । भूमिगत पानीको प्रमुख स्रोत आकाशको पानी नै । अधिकांश मानिसको पिउने पानीको स्रोत भूमिगत पानी नै हो । तसर्थ वर्षा नियमित भइदिएन भने भूमिगत पानी बन्न सक्दैन । अनि त आजकाल नेपालकै तराई क्षेत्रमा हिउँदमा ट्यूववेलमा पानी सुकेका खबर आइरहेका छन् । जब एकैदिन धेरै पानी पर्छ भने सो पानी सोसिँदैन, बगेर अनि उडेर जान्छ । हिमालमा हिउँ जम्न नपाएपछि पूरै जलाधार क्षेत्रमा बाह्रमासे मूल सुक्छन्, साना नदी सुख्खा बनिदिन्छन्, भूमिगत पानी पनि प्रसस्त बन्न सक्दैन अनि त पिउने पानीको हाहाकार हुन्छ । यसको सुरुआत भइसकेको स्थिति हो ।
तराईमा विद्युतीकरणसँगै सिँचाइका लागि भूमिगत पानी मोटर लगाएर तान्ने प्रवृत्ति औधी बढेको छ । यसबाट कृषिमा र किसानको आर्थिक स्थितिमा केही सुधार भएको अवस्था हो तर भूमिगत पानीको नाश पनि हो । यो क्रमलाई रोक्न सरकारले पिउने पानीबाहेक अरू प्रयोजनमा बोरिङ गर्नु परे सरकारसँग अनुमति लिनुपर्ने नियम बनाएको छ । तथापि यो निष्प्रभावीजस्तो भएको छ । प्रकृतिमाथिको दोहनको कारणले गर्दा पानीमा असर परेको छ भन्ने विश्वका वैज्ञानिकको ठहर हो । प्रकृतिको संरक्षण गर्न सकेको खण्डमा मात्र पानीको संरक्षण हुनसक्छ । यसबारे सबै निकाय र विश्वभरिका मानिसले सचेत भई योगदान गर्नुपर्ने देखिएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना