राजनीतिक संस्कृति र पात्र

rajendra kiratiराजेन्द्र किराती

 


पछिल्लो समय नेपाली राष्ट्रिय राजनैतिक परिदृश्यमा गलत संस्कृति र प्रवृत्ति मौलाइरहेको छ । सिद्धान्त र आदर्श एकातिर व्यवहार अर्कोतिर अनि बोली र प्रतिबद्धता एकातिर काम अर्कोतिर भइरहेको छ । नीति र आश्वासन एकातिर कार्यान्वयन अर्कोतिर देखिन्छ । अर्थात् सिद्धान्त र आचरण मिली राखेको छैन । भनाइ र गराइ वा प्रतिबद्धता र प्रक्रियामा सङ्गति छैन । त्यसैले यस्ता विकृत क्रियाकलापको सर्वत्र आलोचना र विरोध भइरहेको छ । तथापि गलत प्रवृित्तहरू भने झनै संस्थागत हुँदैछ किन ? यसको जिम्मेवार कारक पक्षहरू पहिल्याउनु आजको आवश्यकता बनेको छ ।
सार्वभौमतः समाजमा घटने सबै घटना प्रक्रिया राजनीतिद्वारा प्रभावित हुने गर्छ । कुनै पनि सामाजिक सत्ताको स्वरूप र चरित्रको निर्धारक शक्ति नै राजनीति हो । यसकारण राजनीति प्रधान हुनुको साथै समग्र पक्ष पनि हो । राजनैतिक समग्रताको गुरुत्व केन्द्र वा शक्ति वरिपरि नै आम मानवीय क्रियाकलापको पद्धति र प्रवृत्तिको सीमाङ्कन हुने गर्छ । अर्को शब्दमा राजनीतिले नै संस्कार र संस्कृतिको सीमारेखा निर्धारण गर्छ । यही संस्कृतिले नै आम प्रवृत्ति र थिति कायम राख्छ । अन्त्यमा यस्ता प्रवृत्ति अंशको रूपमा व्यक्ति व्यक्तिमा अभिव्यक्त हुन्छ । अर्थात् व्यक्तिको सोच्ने तरिका, मनोविज्ञान, चिन्तन र चेतलाई गतिशील राख्ने चालक शक्ति नै प्रवृत्ति हो । यस्तै व्यक्तिगत चिन्तन प्रवृत्तिको सग्लो रूप नै समुदाय, समाज र राष्ट्रको मूल प्रवृत्तिमा सश्लेषित हुन्छ ।
अर्को भाषामा प्रवृत्तिको मार्गचित्र राजनीतिले नै कोर्ने काम गर्दछ । संस्थागत प्रवृत्तिले व्यक्तिगत चिन्तन र मनोविज्ञान निर्माण गर्छ । यही मनोविज्ञानकोे सेरोफेरोमा समग्र समाजको दैनिकी चल्छ । राजनीतिक, आर्थिक तथा सांस्कृतिक चिन्तनशैली र जीवनशैली निर्माण हुन्छ । अर्थात् अग्रगामी, यथास्थितिवादी र पश्चगामी राजनीतिक दृष्टिकोण अनुरूप नै चिन्तन, आचरण, संस्कार र संस्कृति निर्माण हुन्छ । यसकारण हरेक वस्तु वा सत्तामा प्रत्यक्ष वा परोक्ष राजनीतिको निर्णायक भूमिका हुन्छ । राष्ट्रिय राजनैतिक सिद्धान्तको वर्ग चरित्र, मूल्य–मान्यता, पद्धति, विधि र प्रक्रिया अनुरूप नै आर्थिक, सामाजिक तथा सांस्कृतिक सत्ताको चरित्र निर्धारण हुने गर्छ । यो वर्गअन्तर विरोधपूर्ण सामाजिक सत्ताको सार्वभौम नियम हो ।
मूलतः राजनीति पनि वर्गीय हुन्छ । यो उत्पीडित तथा उत्पीडक वर्गीय हितमा केन्द्रित हुन्छ । बहुसङ्ख्यक श्रमजीवि र मुठ्ठीभर सभ्रान्त वर्ग पक्षधरतामा आधारित हुन्छ । अन्यायपूर्ण र न्यायपूर्ण हुन्छ । अग्रगामी, यथास्थितिवादी र पश्चगामी हुन्छ । राष्ट्रिय स्वाधीनता र नवऔपनिवेशिक दलालीमा आधारित हुन्छ । दलाल एकाधिकार पुँजीवाद र न्यायपूर्ण पुँजीवादमा सारभूत रूपमै भिन्नता रहेको छ । यही साम्राज्यवादी एकाधिकार पुँजीवादलाई नै उनीहरूले लोकतान्त्रिक शासन पद्धति भनेर परिभाषित गरिरहेका छन् । यता कम्युनिष्टले न्यायपूर्ण पुँजीवादलाई नै जनवाद भन्ने गर्छ । आज न्यायपूर्ण जनवाद असाध्यै रक्षात्मक अवस्थामा छ भने अमूक लोकतन्त्रवादी हावी देखिन्छ । यसकारण हरेक सामाजिक, आर्थिक तथा सांस्कृतिक आयाममा एकाधिकार दलाल पुँजीवादी राजनीतिको वर्चश्व देखिन्छ ।
वास्तवमा साम्राज्यवादी दलाल एकाधिकार पुँजीवादले आज घुमाउरो रणनीतिद्वारा विश्वमा प्रभुत्व कायम गरिरहेको छ । यो नीतिअन्तर्गत सम्बन्धित मुलुककै विश्वासिलो र कथित लोकप्रीय दलाल पात्रलाई कभरमा राखिन्छ । यसलाई नवऔपनिवेशिक रणनीति भनिन्छ । यो साम्राज्यवादको परिमार्जित नयाँ संस्करण हो । अर्थात् राजनीतिक रूपमा यसको चरित्र नवऔपनिवेशिक रहेको छ । विश्वव्यापीकरण, निजीकरण र उदारीकरणमार्फत दलाल एकाधिकारवादी वित्तीय पुँजी निर्माण यसको आर्थिक चरित्र रहेको छ । यही राजनीतिक तथा आर्थिक पृष्ठभूमिलाई बचाउ गर्न सांस्कृतिक कभरको रूपमा उपभोक्तावाद हावी गराइएको छ । यो विश्व अर्थ–राजनीतिको मूल सांस्कृतिक विशेषता हो ।
यही रणनीतिमार्फत आज चौतर्फी उपभोक्तावाद हावी छ । यसले सिङ्गो राजनीतिलाई विकृत, विटुलो र प्रदूषित पारिरहेको छ । उपभोक्तावाद भनेको चरम आत्मकेन्द्रित व्यक्तिवादी संस्कृति हो । यो अति आडम्बरी, खर्चालु र औपचारिक हुने गर्छ । यसमा मान्छेको चिन्तनगत प्रवृत्ति अति भाते, स्वादे, ऐशआराम र भोगविलाशको चौघेरामा सीमित गरिन्छ । त्यति मात्र होइन, यो आत्मकेन्द्रित हुनुको अतिरिक्त आफन्त केन्द्रित, गुट केन्द्रित, सानासाना समुदाय केन्द्रित, भावना केन्द्रित, परिवार केन्द्रित र विज्ञापन वा प्रचार केन्द्रित संस्कृति हो । अर्को भाषामा यो असाध्यै स्वार्थ केन्द्रित अनि शौखिन प्रवृत्ति हो । यही चरम स्वार्थको कारण सिद्धान्तगत, आदर्शगत, मूल्य मान्यतागत, नीतिगत, पद्धतिगत, विधिगत तथा प्रक्रियागत पक्षहरू कमजोर हुनपुग्छ । यसले सिद्धान्त र भनाइलाई एउटा किनार र व्यवहार र गराइलाई अर्को किनारतर्फ हुत्याइ दिन्छ । परिणामस्वरूप जनताको चाहना एकातिर मुलुकको राजनीति अर्कोतिर हुन जान्छ, जुन तितो विडम्बना आज हामीले भोगीरहेका छौँ ।
यस्तो राजनीतिक, आर्थिक तथा सांस्कृतिक आयाम हावी भएको समाजमा भ्रष्टाचार, तस्करी र कमिशनतन्त्र कानुनी रूपमै संस्थागत हुन पुग्छ । चरम स्वार्थको कारण कानुनी, प्राविधिक र व्यावहारिक छेकवार कमजोर हुन्छ । सिद्धान्त, आदर्श र मूल्य मान्यता फितलो हुन्छ । समग्रमा स्वार्थी, भाते, स्वादे र भोगविलाशी चिन्तन हावी हुँदा सिद्धान्त र आदर्शका पर्खाल कामकाजी हुन सक्दैन । सिद्धान्त र आचरण विपरीत ध्रुवमा ध्रुवीकृत हुन्छ । कडा ऐन कानुन निर्माण गरिए पनि अवैध वाटो र चोर दुलोबाट गैरकानुनी हर्कत भई नै रहन्छ । एउटै पात्र पर्दाभित्र र बाहिर फरक रङ्रोगनमा प्रस्तुत हुने गर्छ । वास्तविक भन्दा कस्मेटीकपनको हालीमुहाली हुन्छ । राजनीति र प्रवृत्तिको सुनामी सामु पात्र सहायक हुन्छ । किनकी मुहानमै पहिरो खसेपछि दुई चार ट्याङ्की सफा पानीले खोला सङ्लिन्छ भन्नु भ्रम मात्र हो ।
अर्थात् राजनीति मूल, समग्र र पहिलो पक्ष हो । प्रवृत्ति दोस्रो महìवपूर्ण पक्ष हो । पात्र तेस्रो, आंशिक र सहायक पक्ष हो । राजनीति समग्र हो । प्रवृत्ति मुख्य पक्ष हो अनि पात्र अंश वा गौण पक्ष हो । राजनीति मुहान हो । प्रवृत्ति खोलाको बहाव हो । उता पात्र पानी हो । यसो भएपछि समाधन समग्र र मुहानमा खोज्नु वैज्ञानिक र वस्तुवादी हुन्छ । प्रवृत्तिमा खोज्नु सही हुन्छ तर पात्रमा होइन । त्यसैले राजनीतिरूपी मुहानमा खसेको पहिरो पन्छाउने सङ्गठित पहल खोजौँ । प्रवृत्तिरूपी खोला किनार सफा राखौँ । तब मात्र पात्ररूपी पानी स्वत सफा राख्न सकिन्छ । यो वस्तुगत सच्चाइलाई नजरअन्दाज गर्दै पानी धमिलो भयो भनेर चिच्याउनुको कुनै औचित्य हुँदैन ।
अवश्य नै पछिल्लो समय नेपाली राष्ट्रिय राजनीतिमा अकल्पनीय रूपमा विकृति, बेथिति र विसङ्गति फैलिएको छ । यस्तो विकृत संस्कृतिबाट यो पङ्क्तिकार आजित मात्र भएको छैन गम्भीर असहमतिसँगै पीडा बोध गरिरहेको छ । किनकी हामीले राजनीति यति धेरै आत्मकेन्द्रित र स्वार्थी हुन्छ भनेर सोचेका थिएनौँ । तर आज साम, दाम, दण्ड र भेदमा आधारित संसदीय चुनाव असाध्यै विकृत, दूषित र खर्चालु हुँदैछ । शिष्टता, औपचारिकता, आडम्बरीपन मौलाइरहेको छ । चाकरी र चाप्लुसी झाँगिएको छ । राजनीतिक कार्यदिशा, कार्यक्रम र रणनीतिक उद्देश्यमा होइन गुटगत बहस पैरवीमा क्षमता र सफलताको मापन गरिदैछ । इतिहास, निष्ठा, त्याग र बलिदानको चरम अवमूल्यन गरिदैछ । सबैभन्दा पहिले आफू, त्यसपछि श्रीमती, छोराछोरी, नातागोता, छिमेकी, साथीभाइ, गुट, पार्टी र समुदाय प्राथमिकतामा परिरहेको छ । यो खास पात्रको नभएर राजनीतिक प्रवृत्तिले सिर्जना गरेको समस्या हो ।
वास्तवमा यस्ता क्रियाकलाप रूपमा व्यक्तिगत समस्याजस्तो देखिए पनि सारमा यो खास समाजको समग्र समकालीन अर्थराजनीतिको अंशगत अभिव्यक्ति हो । त्यसैले राजनीति र प्रवृत्तिलाई रूपान्तरण गर्ने प्रक्रिया मुख्य सवाल हो । यिनीहरूको शुद्धीकरण प्राथमिक पक्ष हो । राजनीति र प्रवृत्तिजस्ता मुख्य पक्षमा मौन बसेर अंश र सहायक पक्षमा तरङ्गित हुनु भनेको राजनीतिक वैचारिक दरिद्रता मात्र हो । यो केवल गुटगत ईश्र्या, मनोविज्ञान र प्रतिशोध साँध्ने बहाना मात्र बन्छ । किनकी अंशमा पञ्चायतकालमा केही पात्रहरू असल थिए होलान । राणाकालमा देवशम्शेर असल प्रधानमन्त्री पात्र थिए । तर समग्रमा तत्कालीन राज्य व्यवस्थाको चरित्र र प्रवृत्ति निरङ्कुश थियो । तसर्थ समग्रलाई पन्छाएर अंशमा समाधन खोज्नु भनेको मुहानमा लेदो हालेर दुई चार बाल्टी सफा पानीको भरमा खोला सफा गर्नु बराबर हो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना