अमेरिका र उत्तर कोरियाबीचको सम्बन्ध

Ram prashad Acharyaरामप्रसाद आचार्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गर्न सहमत हुनुभएको छ । उत्तर कोरियाली नेता किमसँग भेटेपछि अमेरिका गएको दक्षिण कोरियाली प्रतिनिधिमण्डलले गरेको प्रस्तावअनुसार अमेरिकी राष्ट्रपति ट्रम्प भेटवार्ता गर्न तयार हुनुभएको हो । अत्यन्तै कटुतापूर्ण सम्बन्ध रहेका दुई मुलुकबीच हुने यो पहिलो ऐतिहासिक भेटवार्तालाई अत्यन्तै महŒवका साथ हेरिएको छ । उत्तर कोरिया र अमेरिकाबीच सम्बन्ध सुधार हुनु विश्वशान्ति र स्थायित्वका लागि महŒवपूर्ण कदम हो । भेटवार्ता कसरी हुन्छ र के सहमति हुन्छ ? व्यग्र प्रतीक्षाको विषय बनेको छ ।
सानो मुलुक उत्तर कोरिया र विशाल मुलुक अमेरिकाबीच सम्बन्ध सुधार गरी कोरियाली प्रायद्वीपलाई आणविक अस्त्रमुक्त बनाउन सक्ने हो भने हाल देखिएको अन्तर्राष्ट्रिय तनाव धेरै हदसम्म समाधान हुन्छ । यसका लागि विनासर्त वार्ता गरी समस्याको उचित निकास निकाल्नुपर्छ । युद्ध समस्याको समाधान होइन भन्ने कुरा बुझेर नै वार्ताका लागि ट्रम्प र उन तयार हुनुभएको हो भन्ने आमबुझाइ छ । छैटौँपटकसम्म आणविक परीक्षण गरी आफ्नो शक्ति परीक्षण गरेको उत्तर कोरियाको आणविक कार्यक्रमले चिन्तित र त्रसित छिमेकी दक्षिण कोरिया साथै जापान र अमेरिकाले उत्तर कोरियालाई मनाउने उपाय नै वार्ताद्वारा समस्याको राजनीतिक निकास खोज्नु हो । युद्ध गरे विनाशमात्र निम्तिने भएकाले युद्धको बाटो बन्द गर्न उत्तर कोरियाको इच्छाअनुसार नै वार्ता गरी सबै पक्षलाई मान्य हुने उपाय निकाल्नु नै बुद्धिमानी हुनेछ ।
जापानी उपनिवेशबाट मुक्त भई स्वतन्त्र बनेको कोरिया प्रायद्वीप बाह्य कारणले गर्दा विभाजित भई उत्तर कोरिया र दक्षिण कोरिया बनेका हुन् । विभाजनपछि सन् १९५०–५३ सम्म युद्ध गरेका दुई मुलुकबीच अहिलेसम्म शान्ति सम्झौता भएको छैन । प्राविधिक रूपले दुवै मुुलुक अहिले पनि युद्धको अवस्थामा छन् । यही अवस्थामा दुवै मुलुकले आ–आफ्नो ढङ्गले आर्थिक तथा प्रविधि विकास गरेका छन् । आर्थिक हिसाबले दक्षिण कोरिया बलियो छ भने सैन्य हिसाबले उत्तर कोरिया बलियो छ । आणविक परीक्षणका क्रममा अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षणसमेत गरिसकेको उत्तर कोरियाले अब आणविक परीक्षण नगर्ने वचन दक्षिण कोरियालाई दिएको छ, जसले गर्दा पछिल्ला दिनमा दुई देशबीच उच्चस्तरीय भेटवार्तामात्र भएन एउटै झण्डामुनि गोलबन्द भएर दुवै मुलुक शीतकालीन ओलम्पिक खेल खेले । जसले गर्दा अत्यन्तै तनाव र त्रासका बीच शान्ति कायम हुने आशा पलाएको छ ।
उत्तर कोरियाली मूलका नेता मुन जाय इन दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँले वार्ताद्वारा कोरियाली समस्याको दिगो समाधान गर्ने, सैनिक समाधान नखोज्ने प्रतिबद्धता जाहेर गर्नुभएकै कारण उत्तर कोरियासित सम्बन्ध सुधार गर्ने पछिल्लो वातावरण बनेको हो । उहाँले उदारतापूर्वक वार्ता गरी समस्याको दिगो समाधान गरी कोरिया प्रायद्वीपमा स्थायी शान्ति र मेलमिलाप कायम गर्ने कुरालाई नै आफ्नो पहिलो प्राथमिकतामा राख्नुभएकाले पछिल्ला दिनमा तनावमा कमी आएको हो ।
राष्ट्रपति मुनको उत्तर कोरियाप्रतिको उदारवादी एवम् सुधारवादी दृष्टिकोणका कारण कम हुँदै गएको तनाव अब बढ्न दिनुहुँदैन । कोरिया स्थायी शान्ति र मेलमिलापका लागि आणविक हतियारमुक्त बनाउनुपर्छ । यसका लागि दुवै कोरियाले उदारतापूर्वक लचकता देखाउनुपर्छ । कोरिया मिल्दा विश्वमै शान्ति हुन्छ र नमिल्दा विश्वमै अशान्ति र अस्थिरता हुने अवस्था छ । त्यसैले अब युद्धको बाटो दुवैले त्यागी शान्ति र मेलमिलापको नीति लिनुपर्छ । यसका लागि दक्षिण कोरियाको सहयोग अमेरिका र उत्तर कोरियाको सहयोगी चीन र रूसले निर्णायक भूमिका खेल्नुपर्छ । उत्तर कोरिया र अमेरिकाबीच वार्ता गराउन रचनात्मक भूमिका खेलिरहेका चीनले वार्तालाई परिणाममुखी बनाउन थप प्रयास गर्नुपर्ने देखिएको छ । अमेरिका र उत्तर कोरियाबीच बिग्रेको सम्बन्ध सुधार भयो र दुई कोरियाबीच एकीकरण हुने वातावरण बन्यो भने यो सबैभन्दा ठूलो ऐतिहासिक उपलब्धि हुनेछ । विश्व शान्तिका लागि सहअस्तित्व, एक देश दुई व्यवस्थाकै आधारमा दुई कोरिया मिले भने यसले विश्वमै नयाँ सन्देश दिनेछ ।
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच हुने भनिएको ऐतिहासिक भेटवार्ता औपचारिकतामा सीमित हुनुहुँदैन । यसबाट समस्या समाधानको ठोस उपलब्धि हासिल हुनुपर्छ । आपसमा रहेको अविश्वास हटाई विश्वासको आधार बनाउन सक्नुपर्छ । वार्ताको वातावरण बन्दै रहेका बेला अब एक–अर्काविरुद्ध आक्रामक कुनै पनि गतिविधि गर्नुहुँदैन । वार्ताअघि नै उत्तर कोरियाविरुद्धको अमेरिकी साथै अन्तर्राष्ट्रिय नाकाबन्दी खुकुलो गराउने दिशामा पनि उचित कदम चाल्ने हो भने परिस्थिति अरू सहज हुनेछ ।
दक्षिण कोरियामा अमेरिकाले ठूलो लगानी गरेको छ । दक्षिण कोरियाको सुरक्षाका लागि करिब ४० हजार अमेरिकी सैनिक तैनाथ गरिएको छ । उत्तर कोरियालाई छिमेकी चीन र रूसले सहयोग गरिरहेका छन् । उत्तर कोरियाविरुद्ध अमेरिका र संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय नाकाबन्दी लगाएका छन् । तैपनि नाकाबन्दीलाई बेवास्ता गर्दै उत्तर कोरियाले पटक–पटक आणविक क्षेप्यास्त्र परीक्षण गरेर आणविक शक्ति राष्ट्रका रूपमा आफूलाई उभ्याएको छ । पछिल्लोपटक छैटौँ आणविक परीक्षण गरेर विश्वमै तहल्का मच्चाएको उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्र बनाएर आफ्ना मुलुक आणविक अस्त्रबाट सुरक्षित भएको दाबी गरेको छ ।
जतिसुकै ठूलो अन्तर्राष्ट्रिय नाकाबन्दी लगाए पनि त्यसलाई बेवास्ता गर्दै उत्तर कोरियाले जादुमय रूपमा गरेको आणविक अस्त्रको प्रगतिले विश्वमै हलचल पैदा भएको छ । अमेरिकाको जुनसुकै भागमा पनि अन्तरमहादेशीय क्षेप्यास्त्र प्रहार गर्ने हैसियत बनाएको उत्तर कोरियासँग अमेरिकाले सार्थक वार्ता गरी आणविक विवादको उचित निकास निकाल्नु बुद्धिमानी हुनेछ । उत्तर कोरियाको इच्छाविरुद्ध आणविक हतियाररहित बनाउन सम्भव छैन । आणविक हतियारले सम्पन्न भइसकेको यो मुलुकसँग सार्थक र उपयोगी वार्ता गरी समस्याको दीर्घकालीन समाधान खोज्नु नै आजको आवश्यकता हो ।
पछिल्ला वर्षमा उत्तर कोरियालाई आणविक राष्ट्र बन्न नदिन अमेरिका र संयुक्त राष्ट्रसङ्घले गरेको प्रयास सफल हुन सकेन । अन्तर्राष्ट्रिय नाकाबन्दीको समाना गर्दै आणविक शक्ति बनेको उत्तर कोरियालाई अब थप आणविक परीक्षण गर्न आवश्वक छैन । उसले अब राष्ट्रको सम्पूर्ण शक्ति आर्थिक तथा सामाजिक विकासमा लगाउनुपर्छ । छिमेकी दक्षिण कोरिया, जापान र अमेरिकासितको बिग्रेको सम्बन्ध सुधार गर्नुपर्छ । युद्ध समस्याको समाधान होइन भन्ने कुरालाई सबै पक्षले आत्मसात् गरी वार्ताद्वारा नै कोरियाली समस्याको दीर्घकालीन समाधान खोज्नुपर्छ । कोरियामा अब केही गरी युद्ध भयो भने यो कोरियामा मात्र सीमित हुने छैन । यसको असर विश्वव्यापी रूपमा पर्नेछ । त्यसैले कोरियामा तनाव बढाउने उत्तेजना फैलाउने गतिविधि सबै पक्षबाट रोक्न जरुरी छ ।
ट्रम्प र किमबीच हुने भनिएको प्रस्तावित भेटवार्तालाई सार्थक र उपलब्धिमूलक बनाई विश्वलाई आणविक अस्त्रको त्रासबाट मुक्त गर्नु आजको प्रमुख आवश्यकता हो । यसका लागि दुवै पक्ष हदैसम्म लचिलो बन्नुपर्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना