मानव सभ्यता, दिगो विकास र पानी

Gopinath-mainali-npcगोपीनाथ मैनाली


मानव विकास र सभ्यताको आधार पानी हो । पारिस्थितिक प्रणालीको सञ्चालनमा पानीको महìवपूर्ण योगदान रहेको हुन्छ । समस्त प्राणी र वनस्पति विकास पानीमा अडेको छ । मानिसले जे जति सुख सुविधा उपभोग गरिरहेको छ, त्यो प्राणी तथा वनस्पतिको उत्पादन हो भने त्यसको आधार पानी हो । मानिस नै सृष्टिको एकमात्र प्राकृतिक साधनको दोहनकर्ता हो, जसले प्रकृतिका अनेकन उत्पादनलाई एकलौटी उपभोग गरिरहेको छ । उपलब्ध साधनको उपभोगले मानवीय आवश्यकता र समृद्धिलाई युगौँ धानी राख्न के गर्नुपर्ला भन्ने उससँग विवेक पनि छ । साथै अविवेक र स्वार्थ पनि छ, उपलब्ध स्रोतको एकपक्षीय उपभोग गरौँ भन्ने । विवेक र स्वार्थ बीचको सन्तुलनले नै मानव समृद्धि र पृथ्वीको संरक्षण हुन्छ । मानवीय समृद्धिका लागि पृथ्वीको संरक्षण दिगो विकासको आधार हो ।
पृथ्वीको धेरै अंश पानीले भरिएको भए पनि पानीको उपलब्धता मानवीय आवश्यकता अनुसार छैन । सबै पानी न उपयोगमा ल्याउन सकिन्छ न पिउनयोग्य नै छ । ‘उपलब्ध पानीमध्ये ९७.५ प्रतिशत समुद्रमा छ । बाँकी २.५ प्रतिशत मात्र उपयोगयोग्य देखिन्छ, जसको ६७ प्रतिशत भण्डार हिउँको रूपमा अन्टार्कटिका र ग्रीनल्याण्डमा जमेर रहेको छ । यसर्थ २.५ प्रतिशत पानीको करिब ३३ प्रतिशत मात्र पिउनयोग्य हो । विश्व पानी लेखा अनुसार यो पानीमध्ये ८५ प्रतिशत सिंचाइ, पार्क तथा खेलकुदमा, छ प्रतिशत घरायसी सरसफाइमा र चार प्रतिशत औद्योगिक कार्यमा खर्च हुन गई पिउनका लागि बाँकी पाँच प्रतिशत पानी मात्र उपलब्ध छ । त्यसैले २० प्रतिशत मानिस पानीको अभावमा जीवन बिताइरहेका छन् । विश्वको कुल जनसंख्या करिब साढे सात अर्बमध्ये तीन अर्ब साठी करोड मानिस एक महिना भन्दा बढी पानीको अभावमा छन् भने ७८ करोड ३० लाख खानेपानी पहँुचमा छैनन्, तीन अर्ब सुरक्षित पानीको पहुँचदेखि टाढा छन्, चार अर्ब मानिसका घरमा पानीको कनेक्सन छैन । त्यस्तै दुई अर्ब ५० करोड मानिस आधारभूत सरसफाइको पहँुचमा छैनन् भने चार अर्ब १० करोड सरसफाइको आधुनिक पहँुचबाट टाढा छन् । एउटा मानिसको स्वस्थ जीवन यापनका लागि दैनिक करिब ४६ लिटर जति स्वच्छ पानीको आवश्यकता पर्दछ । सुख्खाग्रस्त इथियोपियाको धर्ममुसा लगायतका क्षेत्रमा गाउँले मुखियाको निगरानीमा प्रति परिवार दैनिक पन्ध्र लिटर मात्र पानी वितरण गरिन्छ । नाइल नदी र भिक्टोरिया तालको प्रभाव क्षेत्र बाहेकका अन्य अफ्रिकी मुलुकको हाल पनि यही हो । यसर्थ पानीको दिगो व्यवस्थापन र सहज उपलब्धता समकालीन विश्वका लागि सबैभन्दा चुनौतीपूर्ण विषय हो । ’
प्रकृतिले पानीको भण्डारण, पुनःभण्डारण, प्रशोधन, वास्पीकरण र वर्षा लगायतका प्राकृतिक क्रियाकलापबाट पानी चक्र कायम गरेको हुन्छ । पारिस्थितिक तथा जैविक प्रणाली (इकोसिस्टम) विनाशले पानीका प्राकृतिक स्रोतहरू विनाश भैरहेका छन् । पानीको सन्तुलन र शुद्धीकरणमा ल्याउने काम प्रकृतिले स्वचालित रूपमा गर्दै आएकोमा त्यो सामथ्र्य क्षय भैरहेको छ । वन विनाश, खैरो आर्थिक वृद्धि, अव्यवस्थित बसोबास, अनियन्त्रित तथा अविवेकी मानव क्रियाकलाप, जलवायु परिवर्तनले पानीको प्राकृतिक स्रोत रित्तिँदै गएको छ, पानी चक्र असन्तुलित छ । यसले जनस्वास्थ्यमा मात्र प्रभाव पारेको छैन, जीवन सहयोग प्रणालीलाई सिधै चुनौती दिइरहेको छ । किनकि मानवीय आवश्यकता जैविक विविधता सेवा (इकोसिस्टम सर्भिसेस) मा छ । वनस्पति, माटो, सिमसार जस्ता प्राकृतिक अवयवको संरक्षणविना पानीको प्राकृतिक चक्रलाई व्यवस्थापन गर्न सकिँदैन । त्यसैले सवैजसो मुलुक उत्पादन प्रणालीलाई खैरोबाट हरितमा रूपान्तरण गर्दैछन् । पानीको पुनःभण्डारणका नयाँ प्रविधि उपयोगमा ल्याइरहेका छन् । वन, वातावरण र पारिस्थितिक प्रणाली संरक्षणमा रणनीतिक रूपमा नै लागिपरेका छन् । किनकि एक्काइसौं शताब्दीको सबैभन्दा ओजनदार सवाल पानी हो, पानी भनेको जीवन हो ।
हिन्दुकुश क्षेत्रको स्वच्छ पानीको भण्डार (वाटर टावर) का रूपमा कहलिएको नेपाल पिउनेपानीको मात्र हाहाकारमा छैन, खेतीपाती, सरसफाइ सेवा सामथ्र्य पनि गुमाउँदै छ । प्राकृतिक जलाधार सुक्दै छन् । परम्परागत ढुङ्गेधारा, कुवा र इनार कि सुके, कि त अतिक्रमित भैसके । गाउँघरका पोखरी पनि अस्तित्वमा छैनन् । सिमसारहरू सुक्दै छन्, परिणामतः पानी मात्र सुकेको होइन, विभिन्न जैविक प्रजाति संकटापन्न छन् । एक गाग्री पानी संकलन गर्न गाउँ घरमा घण्टाभन्दा बढी समय लगाउँछन् भने शहर बजार ट्यांकर आपूर्तिको महँगो मारमा छ । केहीअघि राष्ट्रिय योजना आयोगले गरेको लघु अध्ययन अनुसार पाँचथर, रामेछाप, गुल्मी, काभ्रेपलाञ्चोक, महोत्तरी लगायतका जिल्ला पानीको अभावका कारण बसोबास कसरी गर्ने भन्ने समस्यामा छन् । केही जिल्लामा सुख्खाग्रस्त खानेपानी योजना सञ्चालन गरिएको छ भने वर्षातको पानी संकलन, पानी पुनर्भरण, मुहान संरक्षण जस्ता कार्यक्रम पनि अघि सारिएको छ । तर अझै पनि एकीकृत रूपमा पानी रणनीति बनाउने, नदी बेसिनका आधारमा जलप्रणाली व्यवस्थित गर्ने र आर्थिक, सामाजिक एवं वातावरणीय फाइदा लिने काममा हामी चुकेका छौँ । कतै बाढीपैरो गएको छ त कतै पानीको हाहाकार छ । जलस्रोत व्यवस्थापन भनेको जीवन प्रणालीको व्यवस्थापन हो भन्न सकेका छैनौंं । त्यो गम्भीरता नभए सुख्खा, बाढी, पहिरो, रोगव्याधी, प्रदूषण र खाद्य एवं पोषण असुरक्षाले अरु च्याप्नेछ ।
रियो सम्मेलनदेखि नीतिगत तहमा पानीको मुद्दाले कार्यसूची पाएको छ । सन् २०१२ को ‘रियो+२०’ ले निर्धारण गरेको ‘हामीले चाहेजस्तो विश्व’ प्रतिवेदनको केन्द्रविन्दुमा पानी थियो । त्यसैको जगमा उभिएर दिगो विकासको लक्ष्यमा पानीलाई समावेश गरिएको छ । जसले सन् २०३० सम्मका लागि केही सूचकसहित लक्ष्य स्थापना गरेको छ । (क) सबैको लागि सुरक्षित र स्वस्थ खानेपानीको पहुँच विस्तार, (ख) सबैका लागि समन्यायिक रूपमा स्वास्थ्य र सरसफाइको पहुँच विस्तार, (ग) पानीको गुणस्तर सुधार, (घ) पानीको अभावमा हुने रोगव्याधी नियन्त्रण, (ङ) पानीको एकीकृत व्यवस्थापन र (च) जलाधार संरक्षणका विषय समेटेर नेपालले लक्ष्य नं ६ मा प्रतिबद्धता जनाएको छ । यी लक्ष्यलाई समयवद्ध रूपमा कार्ययोजनामा ढालिएका छन् । तर स्रोत, सामथ्र्य र कार्य जिम्मेवारीको अस्पष्टतालाई समयमै टुुंग्याएर मात्र यी लक्ष्य हासिल गर्न सकिन्छ । पानी सम्बन्धी लक्ष्य (एसडिजी– ६) अन्तरसम्बन्धित छ । अरु लक्ष्य पूरा गर्न पनि यो लक्ष्य पूरा जरुरी छ । जस्तो कि लक्ष्य नं १ (गरिबी निवारण), लक्ष्य नं २ (कृषि उत्पादन तथा पोषण), लक्ष्य नं ३ (स्वास्थ्य), लक्ष्य नं ५ (महिला विकास), लक्ष्य नं ७ (ऊर्जा), लक्ष्य नं ९ (वातावरणमैत्री पूर्वाधार), लक्ष्य नं ११ (सुरक्षित आवास तथा शहरी व्यवस्थापन), लक्ष्य नं १२ (दिगो उत्पादन तथा उपभोग), लक्ष्य नं १३ (जलवायु परिवर्तन), लक्ष्य नं १४ (समुद्री स्रोत), लक्ष्य नं १५ जैविक विविधता र इकोसिस्टम) पूरा गर्न लक्ष्य नं ६ लाई केन्द्रविन्दुमा राख्नैपर्छ ।
लक्ष्यहरू समुदाय र राज्यका आकांक्षा हुन् । लक्ष्यहरू त्यत्तिकै पूरा हँुदैनन् । त्यसका लागि साधन, लगातारको समर्पण र सामूहिक भावना चाहिन्छ । प्राकृतिक स्रोतको भण्डारका हिसाबमा नेपाल धनी हो । पानीको कुरा गर्दा करिब छ हजार खोलानाला, तीन ठूला नदी प्रणाली र वार्षिक २२४ अर्ब घनमिटर सतह पानी बग्ने क्षमता हाम्रा लागि अवसर हुन् । ४४ प्रतिशत जति वन, २३ प्रतिशत संरक्षित क्षेत्र, सयौं सिमसार र हिमशृंखला पानी प्रशोधन, भण्डारण, व्यवस्थापन र सन्तुलनका प्राकृतिक अवयव हुन् । तर यथार्थ वार्षिक रूपमा करिब तीन फिट पानीको भौगर्भिक सतह झरेको छ । केही जिल्ला सुख्खा भए, नदी तथा जलाधार प्रणाली संरक्षण गर्न सकिएको छैन, शहर बजारको क्रङ्क्रिटीकरणले भौगर्भिक पानी भण्डारण क्षमता गुम्दो छ । जलवायु परिवर्तनको मौनसंकटले समस्त जल प्रणालीमाथि चुनौती थपेको छ । हिमाल कालो हँुदै गएमा समस्त हिन्दुकुश क्षेत्रकै ताजा पानी सुक्नेछ । परम्परागत पोखरी संरक्षण नहुँदा गाउँहरू सुख्खा बन्दैछन् । प्राकृतिक स्रोतको अन्धाधुन्द दोहन र खैरो आर्थिक वृद्धिले जलाधारमाथि चुनौती थपेको छ । कार्य जिम्मेवारी सङ्घीय सरकारमा मात्र होइन, प्रदेश र स्थानीय सरकारमा पुगेको छ । पानी व्यवस्थापनमा समुदाय सबैभन्दा शक्तिशाली पात्र हो । उसमा चेतना, जाँगर र संवेदनशीलता नभएमा पानीको सुशासन प्राप्त हुने छैन । समुदायलाई प्रकृतिमा आधारित पानी समाधान (नेचर बेस्ड सोलुशन) को शिक्षा र सीप दिनु पर्छ । शहर बजारमा भने चीनको जस्तो वर्षातको पानी व्यवस्थापन र सिंगापुरको जस्तो नयाँ पानी (घरायसी उपयोगको पानी शुद्धीकरण गरी उपयोग गर्ने प्रविधि) व्यवस्थापन आवश्यक छ । यी कुरामा संवेदनशील हुनु नै पानी दिवसको सार्थकता हो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना