प्रधानमन्त्री ओली भारत भ्रमणको तयारीमा

KP-Oliकाठमाडौंँ, चैत ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाटै आफ्नो विदेश भ्रमण सुरु गर्नुहुने भएको छ । दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि पहिलो विदेश भ्रमण भारत वा चीन कहाँबाट आरम्भ हुन्छ भन्ने जिज्ञासाबीच प्रधानमन्त्री ओलीको भ्रमण भारतबाट हुन लागेको हो । 

प्रधानमन्त्री सचिवालयका सूचना प्रेषक रामशरण बजगाईंले प्रधानमन्त्री ओली भारत जाने निश्चित भए पनि मिति भने तय नभएको बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्री कार्यालयले भ्रमणको तयारी सुरु गरिसकेको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको आमन्त्रणमा प्रधानमन्त्री ओलीले भारत भ्रमणको तयारी गर्नुभएको हो । प्रधानमन्त्रीले चैत मसान्तभित्र भारत भ्रमण गर्नुहुन्छ, प्रधानमन्त्री सचिवालयका एक सदस्यले जानकारी दिनुभयो ।
प्रधानमन्त्री हुनुअघि नै भावी प्रधानमन्त्रीका रूपमा मोदीले ओलीलाई टेलिफोन गरी बधाई दिनुभएको थियो । भारतीय विदेशमन्त्री सुष्मा स्वराजसमेत मोदीको विशेष दूतका रूपमा काठमाडौँ आएर वाम गठबन्धन दललाई बधाई दिनुभएको थियो । त्यसैगरी उहाँले प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गर्न ओलीलाई निम्तोसमेत दिनुभएको थियो । स्वराज माघ १८ गते नेपालमा आएर उच्च स्तरीय भेटघाटपछि १९ गते स्वदेश फर्कनुभएको थियो ।
प्रधानमन्त्रीको जिम्मेवारीमा आएका बेला प्रधानमन्त्री ओली २०७२ फागुन ७ देखि ११ गतेसम्म भारत भ्रमण गर्नुभएको थियो । फागुन ३ गते प्रधानमन्त्रीको दोस्रो पटक शपथ लिनुभएका एमाले अध्यक्ष ओलीले पहिलो भ्रमण भारतबाट गर्ने वा छिमेकी मुलुक चीनबाट सुरु गर्ने भन्ने विषय चर्चामा रहँदै आएको थियो । प्रधानमन्त्री हुनुअघि नै अध्यक्ष ओली रसुवास्थित चीनको केरुङ नाकाको अवलोकनमा जानुभएपछि चर्चा झन् चुलिएको थियो ।
परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेपछि एमाले नेता प्रदीप ज्ञवालीले छिमेकी मुलुकका प्रमुखको महìवपूर्ण भ्रमण चैत मसान्तभित्र हुने बताउनुभएको थियो । यसअघि प्रधानमन्त्रीमा ओली नियुक्त हुनुभएपछि पहिलो पटक पाकिस्तानका प्रधानमन्त्री साहिद खान अब्बासी बधाई दिन नेपाल आउनुभएको थियो । फागुन २० गते आएर २१ गते स्वदेश फर्कनुभएका अब्बासीले दुई देश बीचको सम्बन्ध सुधारका विषयमा उच्च स्तरीय भेटघाट गर्नुभएको थियो ।
यता परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता भरतराज पौडेलले प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक जानकारी मन्त्रालयमा आइनसकेको बताउनुभयो । एमाले स्थायी कमिटीका एक सदस्यले समेत प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने तयारीमा रहनुभएको बताउनुभयो । प्रधानमन्त्री कार्यालयले भारत भ्रमणको तयारी सुरु गरेको जानकारी पार्टीलाई पनि आएको छ, तर प्रधानमन्त्री आफैँले औपचारिक जानकारी दिनुभएको छैन –ती सदस्यले भन्नुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना