दलितका पेशा र मौलिक संस्कृति

tc wagleत्रिभुवनचन्द्र वाग्ले

 

समाजका सदस्यका नाताले मानिसले सिकेका वा आर्जन गरेका जीवन निर्वाहका यावत भौतिक तथा अभौतिक तौरतरिका नै संस्कृति हो । मूल्यमा आधारित संस्कृतिलाई अभौतिक संस्कृति भनिन्छ जो मूल्यमान्यता, विश्वास, परम्परा कला, रीतिरिवाज हुन् । जसलाई छुन सकिदैन अर्थात् अस्पृश्य हुन्छन् । भौतिक रूपमा छुन सकिने वस्तु वा वास्तुकला, भौतिक संस्कृति हुन् । मन्दिर, देवता, कसौडी, घर वा अन्य स्थल वस्तु भौतिक संस्कृति हुन् । नेपालको मात्र नभएर हिन्दु सङ्गठनमा प्रचलित भौतिक तथा अभौतिक संस्कृतिको निर्माण, प्रवद्र्धन र प्रसारमा दलित समुदायको ठूलो योगदान रहेको छ । त्यसैले दलित समुदायलाई संस्कृतिकर्मी भन्नु सबैभन्दा उपयुक्त हुन्छ ।
विश्वकर्मा ऋषि, गन्धर्व, किन्नरीहरू दलितका पूर्खा थिए । यी सन्दर्भ हाम्रा धार्मिक ग्रन्थमा वर्णित छन् । यिनीहरूले तत्कालीन समाजमा हिन्दु संस्कृति निर्माण र प्रसारका लागि विशेष योगदान दिएका थिए । विश्वकर्मा ऋषिले भौतिक संस्कृतिमा योगदान दिए भने गन्धर्व, किन्नरीले अभौतिक संस्कृतिमा । यस्ता योगदानलाई पेसाको दृष्टिले मात्र परिभाषित गर्नुहुँदैन । यहाँ पेसाको मात्र कुरा छैन । पेसासँग मौलिक संस्कृति जोडिएको छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनले अन्तर्राष्ट्रियस्तरको पेसाको वर्गीकरण गर्ने गर्छ । नेपालमा पेसा वर्गीकरणको पहल गरिएको पाइन्छ । नेपालस्तरीय पेसा वर्गीकरण–२०५६ ले यसबारेमा केही निष्कर्ष दिएको छ तर यी काम पेशाको बजार र अर्थशास्त्रसँग मात्र सीमित छन् । अहिलेका आवश्यकता पेशाको मानवशास्त्र र समाजशास्त्र बुझ्नु पनि हो । आम्दानीका हिसाबले हेर्दा दलित समुदायका श्रमिक अनौपचारिक र असङ्गठित क्षेत्रमा अनिर्धारित ज्यालामा काम गर्ने गरी विगतमा पूर्णतः मुकरर थिए । केही मात्रामा अहिले पनि छन् तर अहिले धेरै परिवर्तन भएका छन् । नयाँ पुराना कपडा सिलाउने, भाँडाकुँडा अर्चाप्ने र मर्मत गर्ने, शिरदेखी पाउसम्मका पहिरन तयार गर्नेजस्ता कामका लागि नगन्य रूपमा पारिश्रमिक खास गरी अनाज पाउने गर्थे उनीहरूले । यसलाई बाली घरे श्रम व्यवस्था भनिन्छ । यसमा श्रमिकले आफ्नो श्रमको मूल्य निर्धारण गर्न सक्दैन । त्यसैगरी, दर्जी समुदायलेले बस्तीमा सूचना दिने मनसायले कटवाली कराउने (घोक हाल्ने) परम्परालाई कटवाली गरेबापत पाउने पारिश्रमिकलाई कटवाली नेग भनिन्छ । यसमा पनि श्रमिकले आफ्नो श्रमको मूल्य निर्धारण गर्न सक्दैन । बाजेदेखि गरिआएको मूल्य र अनाजको परिणाममा काम गर्नुपर्छ । दशैँजस्ता चाडबाडमा केही नेग (उपहार) दिइन्छ । हलिया खलिया श्रम प्रथाबाट दलित धेरै प्रभावित थिए । आम्दानीका हिसाबले यसरी काममा लगाउनु दलितमाथिको दलन थियो तर यस्तो कठिन अवस्थामा पनि दलित समुदायका मानिसले जीविकोपार्जनका लागि मात्र श्रम गरेनन् त्यो श्रममार्फत नेपाली संस्कृतिको संरक्षण गर्दै आए । यस्ता पुख्र्यौली पेशामार्फत उहाँहरूले नेपाली संस्कृति निर्माणमा प्रत्यक्ष, अप्रत्यक्ष योगदान दिएका थिए छन् ।
दलित समुदायअन्तर्गत विभिन्न जाति वा थरधारीका पेशा पनि फरकफरक रहेकाले उनीहरूले फरकफरक संस्कृति निर्माणमा योगदान दिएको देखिन्छ । दलित समुदायका जातिले मूलतः धातुसम्बन्धी घरेलु हतियार, बन्दुक, खुकुरी, हँसिया र कृषि उपकरण
(ज्यावल) बनाउने गरेका पाइन्छ । यस्ता कामबाट नेपालको मौलिक भौतिक संस्कृतिको विकास र प्रसार भएको देखिन्छ । नेपाली मादल, खुकुरी वा करुवा विश्वमा प्रख्यात छन् । यसबाट नेपाली भौतिक संस्कृति विदेशमा पुगेको र नेपाली संस्कृतिको संवद्र्धन भएको छ । त्यसैले यस्ता पेसामा सम्बद्ध दलित समुदायका व्यक्ति नेपाली संस्कृतिका उन्नायक हुन् भन्ने प्रमाणित भइसकेको छ । यसैगरी दलित समुदायभित्रकै केही जातिले सुनचाँदीलगायतका गरगहना, लुगा सिलाउने, घर बनाउने, काठका ठेकी, मदानी, दुधेरोजस्ता भाँडा बनाएर नेपाली भौतिक संस्कतिलाई समृद्ध बनाएका छन् । डालो, नाङ्लोजस्ता बाँसका तथा छालाका सामान बनाएर पनि भौतिक संस्कृतिको विस्तार गरिएको छ । यसलाई जातीय सांस्कृतिक सम्पदा भन्न सकिन्छ ।
यसैगरी दलित समुदायभित्रका केही जातिले भौतिकभन्दा अभौतिक नेपाली संस्कृतिको विकास, विस्तार र प्रसारमा योगदान दिएका छन् । त्यस्ता जातिले विवाहलगायतका शुभकार्यमा बाजा बजाउने, नाँचगान गर्ने, नियमित र विशेष अवसरमा मन्दिर र दरबारमा नगरा बजाउने, ढोल बजाएर सरकारको उर्दी समुदायमा सुनाउने नाचगान गरी मनोरञ्जन दिनेजस्ता कार्यमार्फत अभौतिक संस्कृतिको संरक्षण गर्दै आएका थिए ।
प्रविधिको प्रयोगले पेसा गर्ने वर्गमा परिवर्तन गरिदिएको छ । अब कुनै पनि पेशामा कुनै पनि जातिले प्रवेश पाएको छ । यस्तो अवस्थामा सांस्कृतिक परिवर्तन तीव्र र व्यापक रूपमा हुने गर्छ । समाज सरलबाट जटिल हुँदै गर्दा समाजका सदस्यको हैसियत र भूमिकामा परिवर्तन आउने गर्छन् । यसैगरी सांस्कृतिक मूल्य मान्यता र भौतिक वस्तुमा पनि परिवर्तन आउने गर्छन् । नेपालीले बनाएका हँसिया (आसी) लाई आयातित चक्कुले विस्थापित गर्दैछन् । खुला बजारको कारण यस्तो हुनु स्वाभाविक हो तर अस्वाभाविक के हो भने हामीले तिनै हँसियालार्ई आधुनिकिीकरण गर्न सकेको भए हाम्रो बजारलाई सुरक्षित गर्दै मौलिक संस्कृतिको संरक्षण गर्न सकिने थियो । यसबाट सोझो अर्थमा व्यापार र रोजगारीको बजारमा प्रभाव पारेको छ भन्न सकिन्छ र यसलाई अर्थशास्त्रको अध्ययन क्षेत्रमा राख्न सकिन्छ तर समाज र संस्कृतिको दृष्टिले हेर्ने हो भने ती हाँसियाहरू हराउँदा हाम्रो मौलिक पहिचान पनि हराउने गरेका छन् भन्न सकिन्छ ।
दलित सुमदायलाई पुरानै पेशामा बाँधिराख्नु पर्छ भन्ने होइन तर त्यो पेशालाई आधुनिकीकरण गर्ने सन्दर्भमा पनि उहाँहरूको अनुभवको उपयोग गर्न सकिन्छ । दक्ष सीपयुक्त मानव संशाधन र प्रविधिको प्रयोग गरी नेपाली दलित समुदायमा रहेको परम्परागत पेसाको आधुनिकीकरण गर्न सकिन्छ । जसबाट संस्कृतिको पनि जगेर्ना होस् र आम्दानी पनि होस् । नेपाली संस्कृतिको मौलिकता संरक्षण गरी हाम्रा भौतिक, अभौतिक संस्कृति संरक्षण गर्न सक्दा नै नेपालीत्व सुरक्षित हुन्छ । यसका लागि परम्परागत पेसाको आधुनिकीकरण गरी रोजगारी तथा स्वरोजगारीमार्फत दलित समुदायमा विद्यमान गरिबी निवारण गर्दै नेपाली संस्कृतिको संरक्षण सकिन्छ । दलित समुदायमा प्रचलित सबै प्रकारका सीपका लागि आवश्यक प्रविधि, कच्चा पदार्थ, उपयोगका तरिकामा आनुनिकीकरण गरी नेपाली मौलिक संस्कृतिको संरक्षण गर्नेतिर ध्यान दिनुपर्ने देखिएको छ । यसका लागि विभिन्न सङ्घ संस्थाबाट सञ्चालन हुने सीपसम्बन्धी तालिममा दलितका परम्परागत पेसाका ज्ञान तथा सीप अभिवृद्धि गरी नेपाली भौतिक अभौतिक संस्कृतिको संरक्षणणमा ध्यान दिनुपर्ने देखिएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना