अर्थतन्त्रको मेरुदण्ड

nabin jhaनवीनकुमार झा

 

 


एक्काइसौँ शताब्दीको विकाससँगै लघु, घरेलु तथा साना उद्योगको विकासले गति लिँदै गएको छ । साना तथा कुटीर उद्योग विगतका वर्षमा परम्परागत रूपमा अगाडि बढेका थिए । यतिबेला सञ्चार र प्रविधिको विकाससँगै घरेलु तथा कुटीर उद्योगले निकै फड्को मारेका छन् । सदरमुकाममा खुलेका उद्योग हुन् वा दूरदराजमा खुलेका उद्योग दुवै समान रूपमा अगाडि बढेका छन् । साना उद्योगको विकाससँगै ठूला उद्योगको दिगो रूपमा विकास मात्र हँुदैन, स्थानीय तथा प्रादेशिक सरकारसमेत बलियो हुने निश्चित छ । स्थानीय स्तरमा पाइने कच्चा पदार्थलाई अधिकतम रूपमा उपयोग गर्दा त्यस क्षेत्रका उद्योगले गति लिनुका साथै आम जनसमुदायको आयस्तरमा वृद्धि भई अर्थतन्त्र बलियो हुन पुग्छ ।
नेपाल विविधताले भरिपूर्ण छ । विद्यमान प्रचुर जलसम्पदा, सुन्दर हिमाल तथा अनगिन्ती पर्यटकीय स्थलले देशलाई प्राकृतिक स्रोतसाधन सम्पन्न मुलुकको रूपमा चिनाएको छ । यहाँ विभिन्न प्रकारका उद्योग सञ्चालनमा छन् । उद्योगबाट उत्पादित सामानले स्थानीय स्तरमा मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत राम्रो बजार लिएको छ ।
मुलुकको समग्र आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तार आजको अपरिहार्य आवश्यकता हो । मुलुक सङ्घीय संरचनामा प्रवेश गरिसकेको छ । स्थानीय सरकार आफ्नो क्षेत्रमा के कस्ता उद्योग सञ्चालन गर्दा प्रभावकारी तथा दिगो आर्थिक विकास हुन्छ भनेर अध्ययन अनुसन्धान गर्न थालेका छन् । घरेलु तथा साना उद्योग विकास समिति र घरेलु विभागद्वारा देशका विभिन्न सदरमुकाम तथा दूरदराजमा उद्यमी सिर्जना गर्ने उद्देश्यका साथ दिइएका सीप विकास तालिम निकै लोकप्रिय भएका छन् । साथै तालिमपश्चात् उद्यमी बन्नेको सङ्ख्यामा उल्लेख वृद्धि भएको छ । सीप नहुनेका लागि सीप दिने र सीपपश्चात् उद्योग व्यवसाय सञ्चालनका लागि आवश्यक उपयुक्त प्रविधि उपलब्ध गराएकाले आमउद्यमी तथा नागरिक समुदायबीचमा घरेलु समितिद्वारा दिइएका सीप विकास तालिम आयआर्जनको गतिलो स्रोत बनेको छ । सङ्घीय सरचनामा अगाडि बढिरहेको अवस्थामा साना उद्यमी उत्पादन गर्न र उद्योग सञ्चालन गरिरहेका उद्यमीको स्तर उन्नतिका लागि सीप विकास तालिम सञ्चालन गर्न वा क्षमता वृद्धिका लागि घरेलु समितिद्वारा हाल सम्पादित कार्यलाई निरन्तरता दिनुबाहेक अर्को विकल्प देखिँदैन ।
स्थानीय सरकारले तत्कालका लागि सीप विकास तालिम सञ्चालन गर्न सक्ने देखिँदैन । स्थानीय सरकार र प्रदेशलाई बलियो बनाउन कुटीर, लघु र साना उद्योगको दिगो विकासबाहेक अर्को विकल्प देखिँदैन । साना उद्योगले गति लिएमा मात्र ठूला उद्योगको विकास हुने गर्छ । स्थानीय सरकार, घरेलु समिति, घरेलु तथा साना उद्योग प्रशिक्षक केन्द्रमा कार्यरत सीपयुक्त प्राविधिक जनशक्तिलाई सीप विकास तालिममा प्रयोग गर्दा स्थानीय सरकारको माग र आवश्यकताअनुसार उद्यमी सिर्जना हुने गर्छन् ।
स्थानीय स्रोतसाधनको परिचालन तथा रोजगार सिर्जनाका अतिरिक्त दिगो आर्थिक विकासको क्षेत्रमा लघु, घरेलु तथा साना उद्योगले महŒवपूर्ण भूमिका खेल्दै आएका छन् । स्वदेशी कला, परम्पराको संरक्षण र प्रवद्र्धनलगायत निर्यातमा वृद्धि तथा आयात प्रतिस्थापनमा यसको महŒवपूर्ण योगदान छ । उद्यमशीलताको माध्यमद्वारा उद्यमी सिर्जना गरी राष्ट्रिय संस्कृतिलाई विकास गरी यसलाई राष्ट्र सबलीकरण गर्ने माध्यम बनाउनु आवश्यक देखिन्छ । त्यस्तै परम्परागत सीप र प्रविधिमा आधारित श्रममूलक, स्थानीय कच्चापदार्थ एवं स्थानीय प्रविधि तथा संस्कृतिमा आधारित उद्योगलाई जगेर्ना गर्दै मौलिक रूपमा परिवर्तन हुने गरी समाजअनुकूल परिमाजन गरेर भावी पुस्तालाई हस्तान्तरण गर्नु आवश्यक छ ।
आर्थिक विकासका लागि धेरै कार्यक्रम हुने गर्छन् तर दिगो आर्थिक विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन र अनुसन्धान हुन जरुरी छ । पछिल्लो उदारणका रूपमा हेर्दा घरेलुले २०७२ सालमा गएको विनाशकारी भूकम्पपश्चात् नवनिर्माण र पुनःनिर्माणका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्दै आएको पाइन्छ । सीप विकास कार्यका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्न सक्ने घरेलु समितिले नवनिर्माण तथा पुनःनिर्माणको अभियानमा आवश्यक पर्ने डकर्मी, सिकर्मी, हाउसवायरिङ, प्लम्बीङलगायतका जनशक्ति भूकम्प प्रभावित जिल्लामा उत्पादन गर्दै आएको छ । उत्पादित जनशक्तिले सीपमात्र सिकेका छैनन्, गतिलो रूपमा आयआर्जनसमेत गरेका छन् । पछिल्लो समयमा त समितिद्वारा दिइएका सीप विकास तालिमपश्चात् वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा केही प्रतिशत घटेको पाइन्छ । यसले स्वदेशमा नै रोजगारीको सिर्जना भएको देखिन्छ ।
लक्षित समुदायका व्यक्तिसम्म कार्यक्रम पु¥याउन यतिबेलाको आवश्यकता हो । समुदायको आवश्यकता, माग, रुचि, चाहनाका आधारमा सीप विकास गर्दा त्यसको प्रभाव दीर्घकालीन हुन्छ । उद्यमी विकास, उद्योग प्रवद्र्धन, बजार समन्वय, वस्तुविकास, उपयुक्त प्रविधि हस्तान्तरण, औद्योगिक जनशक्ति विकासजस्ता कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्दा स्थानीय सरकार र प्रदेश सरकारसमेत बलियो हुने निश्चित छ । उद्यमशीलताको माध्यमबाट उद्योग व्यवसाय छनोट गरेर उद्यमी सिर्जना गर्दा त्यसको प्रभावकारिता बढ्ने छ । स्वदेशमै खेर जाने स्रोत र साधनलाई अधिकतम रूपमा प्रयोग गर्दा सजिलैसँग आर्थिक विकास गर्न सकिन्छ भन्ने चेतनाको विकास आमनागरिकमा भएको छ । लघु, घरेलु तथा साना कुटिर उद्योग सञ्चालन गर्न लगानी आवश्यक पर्दैन । केवल हातमा सिपर इच्छा शक्ति हुँदा प्रर्याप्त हुन्छ । यस्तो सिप कसले प्रदान गर्दै आएको छ, कसरी पाइन्छ भन्ने चेतनाको विकास सदरमुकाममा मात्र होइन दूरदराजका नागरिकले सहज रूपमा जानकारी पाइसकेका छन् । उद्यमी बन्न चाहनेका लागि घरेलु तथा साना उद्योग विकास समिति र विभागले निःशुल्क रूपमा सीप दिने गर्छ । सीपमात्र होइन, अहिले त उद्यमीलाई प्रविधिसमेत दिएर उद्योग गर्ने र उद्यमी बनाउने कार्यलाई जोड दिने गरेको पाइन्छ । यतिबेला राम्रो उद्योग गर्नेले एक लाख रुपियाँसम्मको प्रविधि निःशुल्क रूपमा पाउँदै आएका छन् । उद्योग मन्त्रालयले मात्र उद्यमी निर्माणका लागि सहयोग गरेको छैन, गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमले पनि उद्यमी निर्माण गर्ने र त्यस्ता उद्यमीको आवश्यकता पहिचान गर्दै उपयुक्त प्रविधि वितरण गर्दै आएको छ ।
सानो लगानीबाट उद्योग सञ्चालन गरी लाखौँ आम्दानी गर्ने उद्यमीको सङ्ख्या मुलुकभर हजारौँ छन् । स्थानीय स्तरमा रहेका स्रोतसाधनलाई प्रयोग गर्दा उद्योग सञ्चालन गर्न सकिन्छ । लघु, घरेलु तथा साना उद्योग सञ्चालन गर्ने इच्छा भएमा एक हजार रुपियाँ लगानी गर्दा पनि प्रयाप्त हुन्छ । साना र कुटीर उद्योग सञ्चालनका लागि केवल सीप र इच्छाशक्ति आवश्यक पर्छ । सीपविना सञ्चालन भएका उद्योग दीर्घकालीन रूपमा टिक्न सक्दैनन् । उद्योग सञ्चालन गर्न अगावै आफूले कुन उद्योग सञ्चालन गर्ने भन्ने योजनाका साथ सीप सिक्न आवश्यक हुन्छ । यसका लागि उद्यमशीलता विकास तालिम निकै प्रभावकारी बनेको छ । सरकारी तालिमबाट सीप सिकेर उद्योग चलाउँदा १६ वर्षमा झण्डै डेढ करोडसम्म आम्दानी गर्न सफल भएका उदाहरण धेरै छन् । निरन्तर रूपमा मिहिनेत गर्नेका लागि हातको सीप नेपालमै सुन फलाउने र दर्जनौँ व्यक्तिलाई रोजगारी दिने अवसरको रूपमा परिणत भएको पाइन्छ ।
स्थानीय स्तरमा खेर जाने सामानलाई सङ्कलन गरेर स्वदेशी उत्पादनबाटै उत्पादन भएका सामानको बजारीकरणमा कुनै समस्या देखिएको छैन । सानो लगानीबाट धेरै आम्दानी गर्न सकिन्छ भन्ने विषयमा दुर्गम, ग्रामीण क्षेत्रका जनतामा यतिबेला चेतनाको विकास भएको छ ।
स्थानीय स्रोतसाधनलाई प्रयोग गर्दा नेपालमै सुन फलाउन सकिने सम्भावना धेरै छन् ।  देशका दुर्गम, हिमाली, पहाडी र तराईका जिल्लामा लघु, घरेलु तथा साना उद्योगको विकास हुने र नेपाली उद्यमीले उत्पादन गरेका सामानलाई बजारीकरण गर्दा स्वदेशी वस्तुले बजार राम्रो पाउँदै आएका छन् । लघु, घरेलु तथा साना उद्योगको विकास भएमा मुलुकमा ठूला उद्योगको विकास हुने क्रम निरन्तर रूपमा अगाडि बढ्छ । ठूला उद्योगका लागि आवश्यक पर्ने कच्चापदार्थ साना उद्यमीले उत्पादन गर्छन् । सीपमूलक तालिमले बेराजगारीलाई गाउँमै रोजगारी दिएको, सीप नभएका युवालाई सीप सिकाएकोे, विदेश जाने युवालाई स्वदेशमा काम गरौँ–गरौँ भन्ने अवस्था सिर्जना गराएका छन् । उद्योग गरी उद्यमी बन्दै परनिर्भर होइन आत्मनिर्भर बन्ने कार्यमा जुट्दै मुलुकको आर्थिक विकासमा लाग्नु अहिलेको आवश्यक हो । मुलुक सङ्घीय संरचनामा प्रवेश गरेको अवस्थामा उद्यमीलाई कसरी दिगो उद्यमतर्फ लगाउँदै स्थानीय सरकारलाई बलियो बनाउने भन्नेतर्फ कार्यक्रम निर्माण गर्न आवश्यक देखिन्छ ।
(लेखक घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक हुनुहुन्छ ।)

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना