शीर्षकमा ‘निर्मित प्रत्यक्ष कथन’ को भाँडभैलो

कृष्ण श्रेष्ठ

 

सन् १६९० मा अमेरिकाको पहिलो अखबार ‘पब्लिक अकुरेन्सेस, बोथ् फरेन एन्ड डोमिस्टिक’ प्रकाशित हुँदा त्यसका कुनै पनि पृष्ठमा शीर्षक थिएनन् । मास्टहेड नै शीर्षकजस्तो देखिन्थ्यो । त्यसअघि अखबारहरू प्रकाशन भएको बेलायतमा पनि शुरुआती दिनको स्थिति त्यस्तै थियो । अमेरिकामा पहिलो अखबार प्रकाशनको १७५ वर्षपछि सन् १८६५ मा तत्कालीन अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको हत्याको समाचार दिँदा ‘दि न्यु योर्क हेराल्ड’ले २४ डेकको शीर्षक दिएको थियो । ती सबै ‘सिङ्गल कालम’मा थिए । सन् १९०१ (वि.सं. १९५८) मा नेपालको पहिलो अखबार ‘गोर्खापत्र’ (हालको गोरखापत्र) प्रकाशित भयो । त्यसको पहिलो अङ्कमा पनि समाचार तथा सूचनाका शीर्षक एक कालममा नै थिए । मुद्रण प्रविधिमा भएको विकाससँगै शीर्षक दिने तौरतरिका बदलियो । ‘शोल्डर’ र ‘स्ट्र्यापलाइन’ ले समेत ‘ब्यानर’को रूप लिन थालेपछि तीन चार डेकका शीर्षकसमेत ‘ब्यानर’मा देखापर्न थाले । ‘कोल्ड मेटल’ प्रविधिको विकासपछि भने शीर्षकका लागि विभिन्न आकारप्रकारका अक्षरको चयन सहज भएको छ । जटिलता भने अझ थपिएका छन् । तसर्थ, शीर्षक लेखन हिजोजस्तै चुनौतीपूर्ण आज पनि छ ।
समाचार–शीर्षकको बहुपक्षीय महìव हुन्छ । ‘हतारको साहित्य’ सिर्जना र प्रस्तुति क्रममा अखबारका सम्पादक शीर्षक लेखनमा बेलाबेलामा अलमलिने गरेको आशङ्का प्रकाशित शीर्षक हेरेर गर्न सकिन्छ । पत्रकारिता निरन्तर सिकिने पेशा हो । स्वस्थ बहसले यसलाई अग्रगतितर्फ डो¥याउँछ । यही विश्वाससाथ र पत्रकारिता पेशामा सक्रिय रहँदा देखिएका गल्ती र सिकेका केही ज्ञानका आधारमा यहाँ ब्रोडसिट दैनिकमा २०७४ फागुनमा प्रकाशित शीर्षकको सर्सर्ती अध्ययन गरी देखिएका केही कमी कमजोरीलाई औँल्याइएको छ ।
निर्मित प्रत्यक्ष कथन
ब्रोडसिट दैनिकमा सिङ्गो शीर्षकलाई एकसरो उद्धरण चिह्न दिने सहज चलन पाइन्छ । फागुन ३० मा एउटा ब्रोडसिट दैनिकले एउटामा आंशिकसहित छ वटा समाचार–शीर्षकमा उद्धरण चिह्नको प्रयोग ग¥यो । फागुन २० मा एउटा अखबारको पृष्ठ ३ मा छापिएका कुल नौमध्ये तीन वटा समाचारमा उद्धरण चिह्न थियो ।
कुनै कथनलाई हुबहु उतार्न एकसरो (‘’) वा दोहोरो (“”) उद्धरण चिह्न प्रयोग गरिन्छ । यस्ता कथन ‘प्रत्यक्ष कथन’ हुन् । यसर्थ यस्ता समाचार–शीर्षकहरू ‘प्रत्यक्ष कथन’ हुन् । यथार्थमा भाषण, सम्बोधन वा कुराकानीका क्रममा टिपिएका बुँदाकाआधारमा समाचार बनाउँदा व्याकरणात्मक, भाषिक आदि परिवर्तन भएर त्यो अप्रत्यक्ष कथनमा रूपान्तरित भइसकेको हुन्छ तर संवाददाताले त्यसमा ख्याल नगरी उद्धरण चिह्न थपेर ‘प्रत्यक्ष कथन’ बनाउने गरेका उदाहरणहरू थुप्रै पाइन्छन् । समाचारको मर्म नमरे पनि ‘निर्मित प्रत्यक्ष कथन’ बनाउने अभ्यास सही होइन । यो प्रवृत्ति विस्तारित भएर सम्पादन कक्षसम्म पुगेको छ । सम्पादकले समाचारको पेटबोलीबाट शब्द टिपेर प्रत्यक्ष कथन बनाउने यो अभ्यासले विश्वसनीयतामा घात गर्छ ।
फागुन २५ मा एउटा अखबारको पृ. १ मा छापिएको समाचार–शीर्षक हो ः मुख्यमन्त्री पौडेलले भने– ‘प्रधानन्यायाधीशप्रति वितृष्णा बढ्यो’ । समाचारको पेटबोलीमा ‘प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीप्रति सर्वसाधारणमा वितृष्णा पैदा भएको बताएका छन् । पराजुलीले न्यायसम्पादनका क्रममा गलत गरिरहेको भन्दै पौडेलले त्यसले उनीप्रति जनमानसमा वितृष्णा बढेको बताए’ उल्लेख छ । अर्को दैनिकले फागुन २३ मा पृ. ४ मा छापेको ‘भ्रष्टाचारको जालो तोडिन्छ’ शीर्षक समाचारको पेटबोलीमा ‘रौतहट टाइम्स साप्ताहिकको २० औँ वार्षिकोत्सवमा काठमाडौँमा भएको कार्यक्रममा उनले (माधवकुमार नेपालले) सरकार भ्रष्टाचारीको जालो तोड्न सफल हुने दाबी गरे’ छापिएको छ । दुवै समाचारका पेटबोलीमा रहेका अप्रत्यक्ष कथनका अंशहरू शीर्षकमा पुग्दा शब्द परिवर्तनसहित प्रत्यक्ष कथन बनाइएका छन् ।
शीर्षक लेखकले घटना वर्णनलाई पनि प्रत्यक्ष कथनमा परिणत गर्दा भने समस्या झन् जटिल बन्छ । फागुन ३० मा एउटा अखबारको पृ. ६ मा प्रकाशित समाचारको दोस्रो डेकमा ‘स्थानीय सरकारको जिम्मेवारीमा स्वास्थ्य संस्था’ छापिएको छ । समाचारको आमुख वा लिडमा ‘जिल्लामा रहेका झण्डै चार दर्जन सरकारी कार्यालयमध्ये पहिलो पटक जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्यसंस्था स्थानीय सरकारलाई हस्तान्तरण गरेको’ उल्लेख छ । यहाँ घटनालाई उद्धरण चिह्नले बन्द गर्नुपर्नाको कारण बुझिनसक्नु छ ।
प्रत्यक्ष कथन र शीर्षकमा अन्तर
समाचारको पेटबोलीमा रहेको प्रत्यक्ष कथन र शीर्षकमा हुने अन्तर अर्को समस्या हो । फागुन १७ मा एउटा अखबारको पृ. १ मा प्रकाशित राष्ट्रिय सेवा दलको दीक्षान्त कवाज कार्यक्रमसम्बन्धी समाचारको पेटबोलीमा उद्धरण चिह्नभित्र प्रधानमन्त्रीको भनाइ छापिएको छ ः ‘युवा हारेर होइन, जितेर मात्र देशको विकास सम्भव छ’ । चार कालममा विस्तारित सो समाचारको शीर्षक भने ‘देश विकास युवाबाटै सम्भव’ रहेको छ । अर्को अखबारले फागुन २२ मा पृ. २ मा उद्धरण चिह्नभित्रै ‘वाम फुटाउने सपना मात्रै’ शीर्षकमा समाचार छापेको छ, जसको पेटबोलीमा लेखिएको छ ः ‘कम्युनिष्टलाई फुटाएर आफ्नो शासन चलाउन सकिन्छ भन्ने कसैले सोचेको छ भने त्यो अब सपनाको चकलेटजस्तै हुन्छ’ उनले (प्रधानमन्त्री केपी ओलीले) भने । दुवै समाचारका पेटबोलीमा रहेका प्रत्यक्ष कथनहरूलाई सम्पादन गरेर अर्को प्रत्यक्ष कथन बनाउने यो अभ्यास गलत हो ।
शीर्षक र समाचारको पेटबोलीमा अन्तर
अक्षरमा गरिने कन्जुस्याइँका कारण पनि कहिलेकाहीँ शीर्षकले दिने अर्थ भिन्नै हुनपुग्छ । जस्तो, फागुन १८ गते एउटा अखबारले पृष्ठ क मा उद्धरण चिह्नसहित दिएको शीर्षक हो ः ‘पहिलो चौमासिकमै दुई÷ अङ्कको आर्थिक वृद्धि’ । दोस्रो चौमासिक पनि सकिसकेको सन्दर्भमा यो समाचारको शीर्षकले सीधा बुझाउने कुरो हो, चालू आर्थिक वर्षको पहिलो चौमासिकमा मुलुकले दुई अङ्कको आर्थिक वृद्धि हासिल गरेको रहेछ । समाचारको पेटबोलीबाट भने निजी ‘क्षेत्रसँग सहकार्य गरी आगामी आर्थिक वर्षको पहिलो चौमासिकमै दुई अङ्कको आर्थिक वृद्धि पु¥याउने योजना सरकारले बनाएको’ खुल्छ । सोही अखबारको फागुन २२ को अङ्कमा पृष्ठ क मा प्रकाशित समाचार–शीर्षक हो ः ‘श्रमस्वीकृतिको निर्णय कार्यान्वयन÷ नहुँदा सयौँ कामदार जोर्डन जान पाएनन्’ । यहाँ समाचारको पेटबोलीले नेपाल र जोर्डनबीच चार महिनाअघि भएको श्रमसम्झौता कार्यान्वयन गर्न सम्बद्ध मन्त्रालयले निर्णय लिन नसक्दा सम्झौता कार्यान्वयन नभएको जनाउँछ । सम्झौता कार्यान्वयन नभएको तथा सम्झौता कार्यान्वयन गर्ने निर्णय नभएको बीच सम्पादक अलमलिएको देखिन्छ ।
प्रत्यक्ष कथन र स्रोत
वक्ता कुनै प्रसिद्ध व्यक्ति प¥यो र समाचारभित्रै निजको ठूलो तस्वीर पनि रहेछ भने प्रत्यक्ष कथनरूपी शीर्षकमा वक्ताको नाम नखुलाए पनि हुन्छ भन्नेहरू पनि छन् । यद्यपि उद्धरण चिह्नले बन्द गर्नुभन्दा कथन दिएर वक्ता वा स्रोत उल्लेख गर्नुलाई नै बढी उपयुक्त मानिन्छ । ब्रोडसिटहरूले शीर्षकमा व्यक्ति वा स्रोत जनाउने नगरेका होइनन् तर केही सम्पादकले सिङ्गो शीर्षकमा उद्धरण चिह्न प्रयोग गर्ने लोभ त्याग्न सकेको देखिँदैन ।
वक्ता वा स्रोत खुलाउँदा पनि सचेत भइएन भने शीर्षकको सन्देश अस्पष्ट हुन सक्छ । फागुन ३० मा प्रकाशित एउटा अखबारमा यस्तै भएको छ । नेकपा
(एमाले) केन्द्रीय अनुशासन आयोगको बैठकसँग सम्बन्धित समाचारमा एउटा अखबारले पृष्ठ ६ मा आयोगका अध्यक्ष अमृतकुमार बोहराको अध्यक्षतामा बसेको बैठकमा ‘पार्टीभित्र घात–अन्तर्घात, दण्डहीनता बढेको प्रति पार्टीले दुःख व्यक्त गरेको’ उल्लेख गर्दै ‘पार्टीमा दण्डहीनता बढ्यो’ शीर्षक दिएको छ । अर्को अखबारको पृ. ३ को शीर्षक हो ः ‘पार्टीमा दण्डहीनता मौलायो’ । यी शीर्षकमा प्रत्यक्ष खट्किने दुई कुरा छन् । पहिलो हो, दण्डहीनता बढेको÷मौलाएको भनिएको पार्टी कुन हो ? दोस्रो, यो कथन कसको हो ? अर्को अखबारले पृ. ४मा उद्धरण चिह्न नदिई ‘अनुशासनहीनता÷ बढ्यो ः एमाले’ शीर्षक दिएको छ । स्रोत दिइएको हुनाले यो शीर्षक अघिल्लोभन्दा उपयुक्त छ तर समाचारको पेटबोलीले यो पार्टीको नभई एमालेको अनुशासन आयोगको धारणा÷ठहर रहेको देखाउँछ ।
शब्द, चिह्न प्रयोगमा असावधानी
शीर्षक लेखनमा पनि पत्रकार विषयाश्रित हुनुपर्छ । अन्यथा शीर्षकले दिने अर्थ पृथक हुनसक्छ । साउन २८ मा एउटा अखबारले पृ. १मा छापेको एउटा शीर्षक हो ः ‘कुल २७५ सांसद, २६८ जना उपस्थित, पक्षमा २०८, विपक्षमा जम्मा ६० जना’ । अङ्कहरू सही हुँदाहुँदै पनि शीर्षकको ‘जम्मा’ शब्दले विपक्षीलाई होच्याएको भाव प्रकट गर्दछ । फागुन २९ मा एउटा अखबारको पृ. १ मा ‘न्यायाधीशबाटै÷ पराजुली पदमुक्त’ शीर्षकसहित समाचार छापिएको छ । के प्रधानन्यायाधीशलाई न्यायाधीशले पदमुक्त गरेकै हुन् त ?
यस्तै, फागुन २५ मा एउटा अखबारको पृ. १ मा छापिएको समाचारको शीर्षक हो ः ‘महरा सभामुख !’ यहाँ विस्मयादिबोधक चिह्न (!) प्रयोग गर्दा त्यसले दिनसक्ने सन्देशप्रति सम्पादक सचेत रहेको देखिएन । यो चिह्नलाई विस्मय, खुसी, अफसोस आदि मनका भाव जनाउन प्रयोग गरिन्छ । पेटबोलीमा ‘माओवादी केन्द्रले प्रतिनिधिसभा सभामुखमा वरिष्ठ नेता कृष्णबहादुर महरालाई अगाडि सार्ने तयारी गरेको’ उल्लिखित यो समाचारको शीर्षकमा विस्मयादिबोधक चिह्नको प्रयोग किन ? शीर्षक लेख्ने सम्पादकका लागि यो विस्मयको विषय थियो कि खुसीको वा अफसोसको ? महरा योग्य थिएनन् तर सभामुखका लागि छानिए भनेर विस्मय व्यक्त गरिएको हो ? अथवा, महराको योग्यता अनुसार जिम्मेवारी दिइएन भनेर अफसोस व्यक्त गरिएको हो ?
शब्द प्रयोगमा ख्याल गरिएन भने पत्रकार/ सम्पादकमाथि पूर्वाग्रही भएको आरोप पनि लाग्नसक्छ । माथिका तीनवटै शीर्षकलाई पूर्वाग्रही शीर्षकका रूपमा कसैले विश्लेषण गर्छ भन्ने अचम्म मान्नु पर्दैन ।
यी केही उदाहरण मात्र हुन् । हरफहरू जथाभावी टुक्याइनु, अत्यावश्यक शब्दमा कन्जुस्याइँ, सम्पादकीयकरण, ‘लेबल हेडलाइन’को प्रयोग आदि शीर्षकसँग सम्बन्धित समस्या हुन् । यस्ता समस्याबाट जोगिन पत्रकार तथा सञ्चार माध्यमहरूले आन्तरिक संयन्त्र विकास गर्न सक्छन् । तिनै अखबारहरूमा उत्कृष्ट शीर्षकहरू पनि छन् । जहाँसम्म प्रत्यक्ष कथनको सवाल छ, पत्रकारहरूले महाभारतको ‘अश्वत्थामा हतो, नरो वा कुंजरो वा’ प्रसङ्गलाई सम्झाएका छन् । भनिन्छ, द्रोणाचार्यले ‘अश्वत्थामा हतो’ त सुने तर ‘न्वाइज’का कारण ‘नरो वा कुंजरो वा’ सुन्न सकेनन्, जसको परिणाम उनको मृत्यु भयो । शीर्षकीकरणको परिणाम यस्तो नहोस् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना