कमलाखोच र विकासको मूलप्रवाहीकरण

 

दुर्गा दाहाल

सिन्धुली जिल्लाको दक्षिणपूर्वी भागमा अवस्थित रहेको कमलाखोच कृषि तथा प्राकृतिक स्रोतसाधनले भरिपूर्ण उपत्यका हो । भित्रि मधेशको भूगोल भित्रपर्ने यो क्षेत्र उत्तरतर्फ महाभारत पर्वतशृङ्खला र दक्षिणमा चुरेश्रेणीबीच रहेको फराकिलो फाँटको मध्यभाग हुँदै कमला नदी यात्रा तय गरेको कारण यो क्षेत्रलाई कमलाखमोच भनिएको हो । सिन्धुलीको कमलामाई मन्दिरदेखि पूर्वमा दुधौली बजारसम्म र दुधौली बजारदेखि दक्षिणमा धनसरीसम्म रहेको कमलाखोंचले सिन्धुली जिल्लाको ठूलै क्षेत्र समेटेको छ । उर्वर भूमिले शोभायमान कमलाखोंचको अधिकांश भू–भागमा कमलानदीको सिँचाइ सुविधा सम्भव छ ।
समथर, उर्वर र सिँचाइ सुविधा सम्भव रहनुका साथै पछिल्लो समयमा धरान चतरा हुँदै हेटौँडासम्म जोड्ने पूर्वपश्चिम राजमार्गको वैकल्पिक मार्ग निर्माणाधीन रहेकोले बसाइसराइको आकर्षक क्षेत्र रहँदै आएको छ । यहाँ व्यापार, व्यवसायको क्रममा तराईबाट तथा पहाडी क्षेत्रबाट सहज जीवनयापनका लागि बसाइ सरी आएका कारण विभिन्न जातजाति भाषाभाषीको समिश्रण छ । साथै आफ्नै भाषा, संस्कृति रहेको दनुवार जाति परापूर्वकालदेखि यस क्षेत्रमा स्थायी रूपमा बसोवास गर्दै आएकाले दनुवार जाति यस क्षेत्रको रैथाने जाति हुन् ।
यो क्षेत्र उर्वर भूमिले सुसज्जित हुँदाहुँदै पनि विकासको दृष्टिमा कछुवा गतिमा रहेको देखिन्छ । उत्तर र दक्षिणमा बाक्लो हरियो वन र सोको बीचमा कमला नदीको सिँचाइ सुविधा सम्भावना रहेको कमलाखोंच किन विकासको यात्रामा पछाडि रह्यो भनी खोजी गर्दा यसका विविध कारण पाउन सकिन्छ । कमला र तावा नदीको चेपुवामा परेको कारण यो क्षेत्र नजिकका स्थानीय शहरबजार, गाउँठाउँसँग सहज सम्पर्कको अभाव, सडक, पुललगायतका विकास सुविधाबाट वञ्चित, केन्द्रीयस्तरमा रहेको राजनीतिक अस्थिरताका कारण सही विकासका एजेन्डाले मूर्तरूप पाउन नसक्नु, युवापुस्ता सुनौलो भविष्यको खोजीमा परदेश पलायन हुनु, गुणात्मक शिक्षाको पँहुचमा सहजता नहुनु, दशवर्षसम्म चलेको द्वन्द्वको समयमा राज्यको उपस्थिति न्यून हुँदा विकासका क्रियाकलाप प्रत्यक्ष अप्रत्यक्षरूपमा सुस्त हुनु, यहाँको सम्भावित सामाजिक सांस्कृतिक पक्षको उचित प्रचारप्रसारको अभावमा आवश्यक लाभ उठाउन नसक्नु, कृषि क्षेत्रको आधुनिकीकरण, विविधीकरण र व्यवसायीकरण गर्न नसक्नु लगायतका कारण रहेका छन् ।
वर्तमान अवस्थामा राज्य पुनसंरचना भई एकात्मक राज्य व्यवस्थाबाट सङ्घात्मक शासन व्यवस्थाको कार्यान्वयन भइरहेको छ । फलतः स्थानीय तहदेखि सङ्घसम्मको आवधिक निर्वाचन सम्पन्न भइसकेको छ । जसले विगत लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरतालाई चिर्दै स्थिर राजनीतिक संरचनाको पूर्वाधार खडा गर्ने आशा गर्न सकिन्छ । राजनीतिक पूर्वाधारसँगै प्रशासनिक सङ्घीयताका लागि समेत द्रुतगतिमा काम भइरहेको छ । यसरी क्रमश समयानुक्रमसँगै सङ्घीयताको पूर्णकार्यान्वयनको अवस्थामा प्रवेश गर्ने क्रममा रहँदा कमलाखोंचको विकासले गति पाउने सम्बन्धमा आशावादी हुन सकिन्छ ।
समावेशी विकासविना लोकतन्त्र संस्थागत हुन सक्दैन । विकसित राज्यको तुलनामा नेपालमा विकासका लागि धेरै कार्य गर्न बाँकी रहेको देखिन्छ । समग्र मुलुकको गतिभन्दा बाहिर कमलाखोंच छैन । यहाँका जनतामा विकासको ठूलो आकांक्षा छ । जनताको आकांक्षाको तुलनामा विकास गर्नका लागि स्रोतसाधन पूर्ण छ भन्न सकिने अवस्था छैन । दुधौली, सिर्थौली र डकाहालगायतका क्षेत्रमा तीव्ररूपमा विस्तार भएको शहरीकरण व्यवस्थित हुन सकेको छैन ।
कमलाखोंचको उर्वर भूमि दिनदिनै कमला नदीको बाढीका कारण मरुभूमिमा परिणत हुनबाट बचाउनु, उपलब्ध प्राकृतिक स्रोतसाधनको व्यवस्थित र वैज्ञानिक ढङ्गबाट प्रयोग र परिचालन गर्नु, राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक रूपमा पछाडि परेका जातजातिलाई विकासको मूलधारमा संलग्न गराउनु अहिलेको आवश्यकता भएको छ ।
कमलाखोंचको विकासको गतिलाई सन्तोषजनक मान्न सकिन्न । किनकि यही किसिमको विकासको गतिले गुणात्मक विकासको लागि अझै कैयाँै पुस्ता कुर्नुपर्ने हुनसक्छ । यसर्थ विकासका धेरै क्षेत्रलाई प्राथमिकतापूर्वक अगाडि बढाइ मात्रात्मक र गुणात्मक दुवै विकास कमलाखोंचका लागि जरुरी छ । प्रथमत कमलाखोजको विकासका लागि कमला नदीलाई व्यवस्थित गर्नुपर्ने देखिन्छ । कमला नदी व्यवस्थित गरेमात्र सन्दुकमा लालपुर्जा भएर पनि सुकुम्बासीझैं जीवन निर्वाह गर्न बाध्य जनताले सन्तोषको स्वास फेर्न सक्नेछन् । जसले कमला नदीको बगरमा परिणत भएको जमिनलाई पुन उत्पादन भूमिका रूपमा प्रयोग गरी आफ्नो जीवनस्तरमा सुधार गर्न सक्नेछन् ।
निर्माणाधीन रहेको धरानचतरा हुँदै हेटौँडासम्मको पूर्वपश्चिम राजमार्गको वैकल्पिक मार्गको दायाँबाया क्रमशः बस्ती विस्तार हुँदै जाने निश्चितप्रायः छ । यसका लागि दुधौली नगरपालिकाले योजना बनाई व्यवस्थित बस्ती निर्माण गर्नेतर्फ आवश्यक ध्यान दिन जरुरी छ । यदि अव्यवस्थित बस्ती विस्तार भएमा राज्यले जनतालाई दिने सार्वजनिक सेवा वितरणमा कठिनाइ उत्पन्न भई जनताले स्थानीय तहदेखि सङ्घीय सरकारसमेतलाई दोषी ठहर गर्नुका साथै यस किसिमका बस्तीले भविष्यमा हुन सक्ने प्राकृतिक प्रकोप र जोखिमबाट सङ्कट भोग्नुपर्ने हुनसक्छ ।
दुधौली, सिर्थौली एवं डकाहालगायतका बजार क्षेत्रमा तीव्र रूपमा शहरीकरण भएको छ । यो क्रम अझै जारी हुने देखिन्छ । जसलाई व्यवस्थित शहरीकरणमा रूपान्तरण गर्न न्यूनतम मापदण्ड र आवश्यकीय पूर्वाधारको विकासमार्फत गुणस्तरीय बस्ती विकासमा ध्यान दिनुपर्ने देखिन्छ । यी क्षेत्रमा बजार विस्तारको आधारमा दीर्घकालीन सोचका साथ विकासका कार्य सम्पादन भएमा मात्र हाल गरिएका विकास योजना दिगो भई आउने पुस्ताले समेत सदुपयोग गर्न सक्नेछन् ।
दुधौली नगरपालिकाको कुल जनसङ्ख्यामध्ये २०.३९ प्रतिशत जनङ्ख्या रहेको दनुवार जाति अति सीमान्तकृत जातिका रूपमा रहेको छ । यद्यपि यो जाति कमलाखोंचको सभ्यताको प्रतीक हो । जसको कैयौँ पुस्ता यही माटोमा आवादी गर्दै यस क्षेत्रलाई मानवीय बसोवासको केन्द्र बनाउन सफल भएको पाइन्छ । दनुवार जातिको आफ्नै भाषा संस्कृति छ । यसर्थ दनुवार समुदायको भाषा एवं संस्कृतिको संरक्षण गर्नका साथै शिक्षाको सहज पहुँच पु¥याउन, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न स्थानीय सरकारले प्रदेश एवं सङ्घीय सरकारसँग समेत समन्वय र सहकार्य गर्नुपर्ने जरुरी देखिन्छ । दनुवार जातिको भाषा संस्कृतिको संरक्षणले कमलाखोंचको पर्यटकीय विकासमा समेत टेवा पुग्छ ।
सडक, विद्युत्, सञ्चारलगायतका पूर्वाधार तत्काल देखिने र जनताले अनुभूत गर्नसक्ने विकासका क्षेत्र भएता पनि शिक्षा एवं स्वास्थ्य दीर्घकालीन महìवका विकासका क्षेत्र हुन् । गुणस्तरीय शिक्षा एवं स्वास्थ्य प्रदान गर्न सकेमात्र सक्षम र योग्य जनशक्तिको विकास गर्न सकिन्छ । जसले वर्तमान र भविष्यमा कमलाखोंचको विकास आवश्यकतालाई सम्बोधन गर्न सक्छ । शिक्षाका लागि राज्यस्तरबाट समेत ठूलो लगानी हुँदाहँुदै पनि मध्यम वर्गीय एवं गरिब वर्गका अभिभावकले आफ्ना सन्तानको गुणस्तरीय शिक्षाका लागि देश विदेशमा रही पसिनाको कमाई खर्चिनु पर्ने बाध्यता छ ।
सुन्दर भविष्यको खोजीमा कमलाखोंचबाट बाहिरिएका युवापुस्तालाई आफ्नो गाउँ आफैँ बनाउन फिर्ता गर्ने उचित वातावरण निर्माण गर्न जरुरी छ । यहाँका युवापुस्ताले खाडी मुलुकको मरुभूमिमा वा देशका अन्य भागमा बगाउने पसिना कमलाखोंचमा बगाए यहाँको विकासले गति लिन्छ । जसका लागि कृषि क्षेत्रलाई आधुनिकीकरण, विविधीकरण र व्यवसायीकरणतर्फ उन्मुख गराउँदै उत्पादित कृषि सामग्रीको उचित बजार र भण्डारणको व्यवस्था मिलाउन स्थानीय सरकारले ध्यान दिन आवश्यक छ ।
कमलाखोंचको उत्तर एवं दक्षिण दुवैतर्फ रहेको वन सम्पदाको उचित सदुपयोग गरी यसक्षेत्रको वातावरणीय, आर्थिक एवं पूर्वाधार निर्माणमा सहयोग पुग्नेछ । वन क्षेत्र मानव जातिको मात्र नभई वन्यजन्तुको समेत अधिकारक्षेत्र हो । वनमा वन्यजन्तुले आफ्नो जीवन निर्वाह गर्न पाउनुपर्छ । संविधानतः सामुदायिक वन क्षेत्रको संरक्षण, नियन्त्रण, सदुपयोग गर्नु स्थानीय सरकारको दायित्व हो । यसर्थ व्यावहारिक कार्यविधि बनाई वन क्षेत्रको सापेक्ष संरक्षण गर्ने एवं उचित सदुपयोग हुने वातावरण सिर्जना गरी जनताको आयआर्जनमा सुधार गर्नसके यसले वनसम्पदाप्रति स्थानीय जनताको अपनत्वबोध भई दिगो परिचालन र संरक्षणमा सघाउ पुग्ने देखिन्छ ।
कमलाखोंचको भविष्य सुनौलो यात्रामा अगाडि बढाउन यो अनुकूल समय छ । यो क्षेत्रको विकासको नेतृत्व स्थानीय तहको निर्वाचनसँगै स्थानीय सरकारको दायित्वमा बढी परेको देखिन्छ । स्थानीय तहको सरकार जनता निकटको सरकार हो । यसले जनताको घरदैलोमा रहेर जनताको जन्मपूर्वदेखि मृत्युपछिसम्मको सेवा, सुविधा प्रत्यक्षअप्रत्यक्ष रूपमा प्रवाह गर्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना