समयनिष्ठा, कार्यशैली र समृद्धिको बाटो

डा. सदानन्द कँडेल

 

स्थानीय, प्रादेशिक तथा सङ्घीय निर्वाचनबाट चुनिएका जनप्रतिनिधि ‘समृद्ध नेपाल’, ‘समृद्ध प्रदेश’ र ‘समृद्ध नगरपालिका तथा गाउँपालिका नै अबको प्राथमिकता हो भन्ने कुरामा जोड दिइरहेका छन् । अचेल हरेक राजनीतिज्ञ र जनप्रतिनिधिको मुखैमा झुण्डिएको चर्चित शब्द हो –समृद्धि । राजनीतिक र संरचनागत परिवर्तनसँगै नयाँ गन्तव्य बनेको हो –समृद्धि । विश्वकै सुन्दर देश नेपालका स्वाभिमानी जनताको सपना हो – समृद्धि । अनि सबैले हिँड्न चाहेको नयाँ बाटो हो – समृद्धिको बाटो । समृद्धिको महान अभियानलाई नारा बनाएका विकास र समृद्धिकर्मीको उत्साह र अभिलाषा हेर्दा लाग्छ – अब समृद्धिको सपना बिपनाको आँगनमा ओर्लनेछ तर संरचना र परिस्थिति त फेरिएको छ, के सोही अनुरूप हाम्रो सोच, संस्कार, प्रवृत्ति र कार्यशैली पनि बदलिएको छ ? पुरानो घर भत्काउन मात्र हैन के हामी नयाँ घर बनाउन पनि साँच्चिकै सिपालु भएका छौँ त ? समृद्धिको यात्रामा पूर्वशर्तको रूपमा रहेका समयनिष्ठा, समय व्यवस्थापन र कार्यशैलीमा हामी पोख्त छौँ त ? यिनै प्रश्नहरू मनन गर्दै समृद्धिकर्मीले कसरी समयनिष्ठ हुने, समयको व्यवस्थापनलाई अझ बढी प्रभावकारी बनाउँदै कार्यशैलीमा कसरी सुधार गर्ने भन्नेमा ध्यान दिनुपर्ने खाँचो देखिएको छ ।
समयनिष्ठा र समय व्यवस्थापन
समयको महìवमा जोड दिँदै बेञ्जामिन फ्य्राँक्लिन भन्छन् – गुमाइएको समय फेरि कहिल्यै आउँदैन । जिम रोहनको विचारमा समय पैसाभन्दा बढी मूल्यवान छ किनकि बढी पैसा प्राप्त गर्न सकिन्छ तर बढी समय प्राप्त गर्न सकिन्न । चौबीस घण्टाभन्दा बढी समय लम्ब्याउन सकिन्न । यसको आशय हो कि मूल्यवान् समयलाई बुद्धिमानीपूर्वक सदुपयोग गर्नुपर्छ । तथापि हिजोका हाम्रा व्यवहारले गर्दा समय–पालन सम्बन्धमा हामी बदनाम हुन पुग्यौँ । कोही भनिएकै समयमा टुप्लुक्कै आइपुग्यो भने क्या ब्रिटिश टाइम भनेर तारिफ गर्ने तर कोही ढिला भएमा नेपाली टाइम त हो नि भनेर सहजै लिने प्रवृत्ति समाजमा विद्यमान छ । विदेशी आयोजकका कार्यक्रममा समयमै पुग्ने तर नेपाली आयोजक भएका ठाउँमा ढिलाई गर्न शङ्कोच नमान्ने परम्परा एउटा पुरानो रोगको रूपमा रहेको छ । समयनिष्ठामा भएको विचलनले हामीलाई पछाडि पारेको छ । एक शिक्षकले विद्यार्थीलाई समयमै कक्षाकोठामा उपस्थित हुन निर्देशन दिने तर आफू ढिला पुग्ने र ढिला पुगेकोमा माफी पनि नमाग्ने गरे भने त्यसको प्रभाव विद्यार्थीमा कस्तो पर्न जान्छ ? एउटा कार्यालयको हाकिमले सबै कर्मचारीलाई समयपालन गर्न निर्देशन दिने तर आफूले त्यसको पर्वाह नगरेमा के हुन्छ ? त्यस्तै समय व्यवस्थापनसम्बन्धी कार्यक्रमकै प्रमुख अतिथि नै ढिला भए भने त्यसको सन्देश कस्तो जान्छ ? पिटर ड्रकर भन्छन् – जबसम्म हामी समय व्यवस्थापन गर्न सक्दैनाँै, हामी अरू केही पनि व्यवस्थापन गर्न सक्दैनौँ । तर मुलुकमा ठूलो राजनीतिक परिवर्तन भइसक्दा पनि हामीले हरेक कार्यालय ठीक समयमा खुल्ने र सबै कर्मचारी समयमै उपस्थित हुने अवस्था सिर्जना गर्न सकेका छैनौँ । न त ठीक समयमा कार्यक्रम शुरु र समापन गर्ने बानी नै बसाल्न सकेका छौँ । प्रमुख अतिथिलाई घण्टौँ पर्खिएर मात्रै कार्यक्रम शुरु गर्ने चलन अझै छ । सबैभन्दा ठूलो पदको व्यक्तिले हजारौँको समय बर्बाद गर्दा पनि सामान्य रूपमा लिने प्रवृत्तिले सामन्ती संस्कारको प्रत्याभूति दिन्छ । गौतम बुद्धले भनेका छन् इमानदारिताले हरेक व्यक्तिको समय बचाउँछ । एकजना प्रमुख अतिथि समयप्रति इमानदार भए भने उनले हजारौँ सहभागीको समय बचाइदिन सक्छन् । प्रमुख अतिथि समयमा उपस्थित नभए पनि भनिएकै समयमा कार्यक्रम शुरु गर्ने र उनको आगमनपश्चात् बाँकी कार्यक्रम सम्पन्न गर्ने परम्परा बसाल्न सकिन्छ नि ! समयको सही सदुपयोग हरेक पेशा र क्षेत्रका मानिसका लागि अत्यावश्यक हुन्छ भन्ने किमार्थ भुल्न हुँदैन । अब नेपाली टाइम भनेर फिस्स हाँस्दै नेपालीको शिर झुकाउने परम्पराको अन्त्य गर्दै समयनिष्ठ (पङ्च्युअल) हुन नेपालीबाट सिक्न सकिन्छ भन्ने सन्देश दिनसक्ने गरी सबै प्रतिबद्ध हु्नुपर्दछ ।
हरेक कर्मचारीलाई समयनिष्ठ र समय व्यवस्थापनमा दक्ष बनाउन तत्कालीन रूपमा तालिम तथा अभिमुखीकरणको अवसर दिने र त्यसलाई व्यवहारमा कति लागू गरियो भनेर अनुगमन गर्ने परम्परा बसाल्दा राम्रो हुन्छ । दीर्घकालीन रूपमा हरेक नेपालीलाई समयनिष्ठ बनाउन प्रारम्भिक बाल विकास केन्द्र वा पूर्व प्राथमिक कक्षादेखि नै समयको महìव र समयनिष्ठालाई पाठ्यक्रममै समाबिष्ट गरी सोहीअनुसार व्यवहारमा उतार्ने अभ्यास गराउनु पर्छ ।
स्वागत, आसनग्रहण र सम्बोधन
आजकाल अतिथिको स्वागत, आसनग्रहण र सम्बोधन झन्झन् लामो हुँदै जान थालेको छ । पूर्वनिर्धारित कार्यक्रमभन्दा एक डेढ घण्टा ढिलो प्रमुख अतिथि आइपुग्ने, आठ–नौ जना वक्ता रहेको कार्यक्रममा झण्डै २०–२२ जनालाई आसन ग्रहण गराई खादा तथा माला लगाइदिने प्रचलन सामान्य बनेको छ । अझ उदेकलाग्दो पक्ष त के देखिन्छ भने अधिकांश वक्ताले सहभागी अतिथिको पूरा नाम, नयाँ पद, भूतपूर्व पद, पार्टीको तह खुल्ने परिचयसहितको सम्बोधन गरेको पाइन्छ । यसले वक्ताको विषयवस्तुतर्फ केन्द्रित हुनुपर्ने समय नोक्सान मात्र नगरी उही कुरा पटकपटक सुन्नुपर्दा सहभागीलाई दिक्क लाग्ने गर्छ । स्वागत ग्रहण गर्ने क्रममा शीर्ष नेताले गर्धन पुरिने गरी मालाको भारी बोकेर रोल मोडल बन्न खोजेपछि अन्य अनुयायीले पनि सोहीअनुसार गर्ने नै भए । अझ कतिपय नेता आफैँलाई स्वागत गरेर लगाइदिएको नौ केजीको माला, २० केजीको माला, ३० केजीको माला भन्ने लेखेर फेसबुकमा सचित्र बयान गर्न पनि लाज मान्दैनन् । शिक्षा विभाग विद्यार्थीलाई लाइनमा राखेर स्कुल भ्रमण गर्ने अधिकारी वा कुनै पनि पाहुनालाई माला तथा खादा लगाइदिने कार्य नगर्नू भनेर निर्देशन जारी गर्छ, तर जिल्ला शिक्षा अधिकारीहरू दर्जनौँ माला लगाएका फोटाहरू फेसबुकमा हालिरहेका हुन्छन् । त्यस्तै वरिष्ठदेखि कनिष्ठ नेतासम्मलाई विमानस्थलमा स्वागत गर्न माला र खादा लिएर जाने चलन लोकतन्त्रमा झन् बढेको आभाष हुँदैछ । स्वागत गर्नु र माला लगाउनु हाम्रो संस्कृति हो तर चाकडी देखिने गरी त्यसलाई भद्धा बनाउनु विकृति हो । धेरै किलोको माला लगाएकोमा गर्व गर्ने हैन, लज्जाबोध महशुस हुने संस्कृतिको विकास गर्नुपर्ने बेला आएको छ ।
समृद्धिको अभियानमा होमिएको बेला अब हामीले माला लगाउने समयमात्र बचत गर्ने हैन, फूल टिप्ने र माला उन्नेको समय पनि बचत गर्न सक्नुपर्छ । किनेको माला हो भने त्यो रकमको पनि सही सदुपयोग गर्नुपर्छ । अब शीर्ष नेताले नै हरेक स्वागतलाई सरल र सहज बनाएर देखाउनु पर्छ । सकेसम्म सभा, गोष्ठी, तालिम तथा बैठकलाई अनौपचारिक, छोटो र फलदायी बनाउनु पर्छ ।
विषयवस्तु केन्द्रित भाषण
एक समय ल क्याम्पस स्व.वि.यु.का सभापति बलराम समाल र अखिल छैठौँका अध्यक्ष लिलामणि पोखरेलको भाषण आम चर्चाको विषय बन्थ्यो । पद्मरत्न तुलाधर, जागृतप्रसाद भेटवाल र सोमनाथ प्यासीले तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य भएर पञ्चायती व्यवस्थाकै विरुद्धमा गरेका भाषणका क्यासेट निकै बिक्री हुन्थे । केवल एक मात्र तत्कालीन जिल्ला पञ्चायतका जनपक्षीय सभापति राजेन्द्रप्रसाद पाण्डेको भाषणको चर्चा कम थिएन । अत्यन्तै आकर्षक भाषण गर्न सिपालु वाग्लेले नेविसङ्घबाट एक्लै शङ्करदेव क्याम्पस स्ववियु सभापति जितेका थिए । छयालीस सालको परिवर्तनपछि भाषण कलामा चमत्कारिक व्यक्तित्वको रूपमा मदन भण्डारीको उदय भयो । उपयुक्त शब्द चयन र आरोह–अवरोहको बेजोड सन्तुलनसहितको धाराप्रवाहिक भाषणमा सायद भण्डारी जत्तिको उचाइमा आजसम्म कोही पुग्न सकेको छैन । २०६३ को जनआन्दोलनसँगै उदाएका प्रखर वक्ता हुन् – गगन थापा, जसको भाषणको क्रेज आजसम्म पनि उस्तै छ । त्यसो त केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र प्रदिप गिरी पनि दर्शक तथा स्रोताको मन जित्न सक्ने वक्ता हुन् । माथि भनिएका चर्चित भाषण अक्सर गरेर कसैको विरुद्ध लक्षित हुन्थे । पुरानो घर भत्काउने विषयवस्तुमा आधारित हुन्थे । पक्कै पनि चर्चित वक्ताका भाषणबाट शैलीगत पक्षमा केही सिक्न सकिने कुराहरू अवश्य छन् । तथापि समृद्धि अभियानको कथाले अब कुनै तानाशाहको विरुद्ध आगो ओकल्ने शैलीको भाषण माग गर्दैन । न त यसले वक्ताको विगतको योगदानको चर्चा नै खोज्छ । यसले त अब हरेक क्षेत्र र सवालमा वर्तमान अवस्थाको खोजमूलक पहिचान र विश्लेषण खोज्नेछ । त्यसको आधारमा निर्दिष्ट लक्ष्यको किटानी र लक्ष्यसम्म पुग्ने रणनीतिबारे प्रष्टताको माग गर्छ । साथै, रणनीतिअनुसार कसरी कार्यनीति बनाउने र त्यसलाई कार्यमा कसरी उतार्ने भन्ने शैली र सीपको अपेक्षा राख्छ । समृद्धि अभियानको नेतृत्व गर्ने जनप्रतिनिधिले अब भाषणलाई विषयवस्तु केन्द्रित, छोटो र मिठो बनाउनुपर्छ ।
समयसीमाप्रति प्रतिबद्धता
सङ्घीय, प्रान्तीय र स्थानीय सरकारमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेहरू, हरेक सरकारी, गैरसरकारी व्यक्तिले आफूलाई समृद्धिकर्मीको रूपमा परिवर्तन गर्न आवश्यक छ । नयाँ सोच र नयाँ शैलीमा काम गर्न दिल चित्त लगाउनुपर्छ । हरेक सेवाग्राहीलाई आदर र मित्रवत् व्यवहारसहित छरितो सेवा प्रदान गर्नुपर्छ । सबैले भोलि गर्ने आज गर, आज गर्ने गरिहालको भावनाअनुसार काम अगाडि बढाउनुपर्छ । उही काम तर फरक तरिकाले गर्ने सीप विकास गर्न तालिम आवश्यक हुन सक्छ । अब हरेक कार्यालयमा सबभन्दा राम्रो कार्यसम्पादन गर्ने व्यक्तिलाई वर्ष कर्मचारी पुरस्कारबाट सम्मान गर्ने प्रचलन बसाल्नु राम्रो हुन्छ । स्मरणीय छ, आधुनिक सिङ्गापुरका निर्माता लि क्वान यु ले पनि हरियाली, सफा सडक र मिजासिला कर्मचारीलाई अभियानकै रूपमा अगाडि बढाएका थिए ।
वि.सं. २०४६ पछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौँमा ल्याउने र सडकसमेत पखाल्ने सपना देखाएका थिए । २८ वर्ष बितिसक्दा पनि सो सपना विपनामा परिणत हुन सकेको छैन । काठमाडौँ–हेटौँडा सुरुङ्गमार्गको कुरा पनि सुनिएकै हो । अर्कातिर फास्ट ट्रयाकको कुरा पनि छँदैछ । काठमाडौँ बाहिर अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामबारे सुन्दै आएको धेरै भयो । आखिर किन हुन्छ यस्तो ढिलासुस्ती ? काम प्रारम्भ गरेर पनि समयसीमाप्रति प्रतिबद्ध हुन किन सक्दैनौँ हामी ? अब हरेक व्यक्तिले आफ्नो हैसियत र पदीय जिम्मेवारीअनुसार समयसीमाप्रति प्रतिबद्ध हुने संस्कृतिको विकास गर्नुपर्छ । नत्र वर्तमान सङ्घीय र प्रदेश सरकारका समृद्धिका सपना, विपनामा परिणत भएको हेर्न फेरि दशकौँसम्म कुर्नपर्ने हुन्छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना