चैते दशैँ र रामराज्यको परिकल्पना

kamala regmiकमला रेग्मी भट्टराई

 

हिन्दू धर्मावलम्बीले मनाउने चैते दशैँको आफ्नै विशेषता रहेको छ । असुरमाथि सत्यको विजय भएको खुशीयाली, असत्यलाई सत्यले पराजित गरेको अर्थमा चैते दशैँ मनाइँदै आइएको छ । बडादशैँमा भैmँ पूजा अर्चना गर्ने प्रचलन रहिआएको भए पनि घर, आफन्तकहाँ गएर पूर्णिमासम्म टीका आशीर्वाद थाप्ने चलन यसमा पाइँदैन । यसै अवसरमा आदिशक्ति देवीको पूजा अर्चना गर्ने, मन्त्र जप गर्ने, घरघरमा दुर्गासप्तसती लगाउने, कथा वाचन र श्रवणका पुण्य कार्यलाई सञ्चालन गर्ने गरिन्छ ।
सानो दशैँको उपनाम दिइएको यो चाडका विशेषतासँग राजनीति, ज्ञान र पारिवारिक सुख शान्तिका मर्म स्पष्ट छन् । विशेष गरेर अष्टमीका दिनमा शक्तिपीठमा देवीका पूजा अर्चना गर्ने प्रचलन रहिआएको छ भने यो पर्वसँग जोडिएका रामका कथामा पुरुषोत्तम राम र सीताको आदर्शता विशिष्ट छ । रामनवमीकै दिनमा असुरको चरित्र भएको शक्तिशाली रावणलाई बध गरी सीताको अस्मिता जोगाएको वर्णन रामायणमा गरिएको छ । १४ वर्ष वनवास बसी अयोध्या फर्केको दिनको खुसीयालीका रूपमा चैते दशैँ मनाइन्छ । यस पर्वलाई रामनवमी भनिएको भए पनि यस दिनमा भने अष्टमी तिथि नै पर्न गएको पाइन्छ ।
रामलाई आदर्श पुरुषका रूपबाट सम्मान गरिन्छ । राष्ट्रप्रतिको समर्पण भावका ज्वलन्त उदाहरण राम भक्तिका कोणबाट भक्तवत्सल हुनुहुन्छ । आजको अस्तव्यवस्त समाज अनि स्वार्थी राजनीतिमा रामको सच्चरित्रता, नेतृत्व शक्तिका तौर तरिकाबाट असल मार्गनिर्देश प्राप्त गर्न सकिन्छ । रामराज्यको परिकल्पनाभन्दा ठूलो निःस्वार्थता कार्ल माक्सको साम्यवादमा छैन । हामीले कुशल रानीतिज्ञ भनी मान्दै आएका पाश्चात्य सम्प्रदायका व्यक्तिसँग जति तुलना गरेर बोल्छौँ त्यति नै राम, कृष्ण, युधिष्ठिरका राज्य सञ्चालन गर्ने तरिकालाई धार्मिक पुराणमा सीमित तुल्याएका छौँ । यो गलत र सङ्कीर्ण सोचाइको परिणाम भोग्दा परोपकार, मानवता, सहयोगका साथै वास्तविक सुख प्राप्तिको ज्ञान बिर्सेका छौँ ।
रावणको बधपश्चात् लक्ष्मणले ‘यो लङ्का त यति सुन्दर रहेछ । यो राज्यलाई त हामीले नै जितेका हौँ । विभिषणलाई पनि दाजु मारेर राज्य ग¥यो भन्ने आरोप लाग्ला भन्ने डर छ । बरु अयोध्यावासी सबैलाई यतै लङ्कातिरै ल्याएर राज्य गरौँ न दाजु’ भन्दा रामले भन्नुभएको,‘अपि स्वर्णमयि लङ्का न मे लक्ष्मण रोचते । जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी । ’ वाणीमा कत्रो आदर्शता छ ।
हामीले आफ्नै संस्कृतिले सिकाएका शताब्दीयौँ आदर्शताभन्दा द्वन्द्व र चुक्ली खेल्ने पद्धतिलाई प्राथमिकता त दिँदै छैनौँ । अचम्मको कुरा यहाँ त भोट दिएर जिताएका व्यक्ति चेलीबेटी बेचबिखनका काण्डमा समातिएका छन् । हुन त रामले जनताको हितका लागि गर्भिणी सीतालाई जङ्गलमा छोड्न लक्ष्मणलाई आदेश दिइनु, त्यहाँ सीताले कैयौँ कष्ट भोग्नुपरेका घटना पनि छन् तर ती सबैका पछाडि श्रापकाको भूमिका थियो ।
वर्तमान विखण्डित र असङ्गत समाजलाई नियाल्दा पारिवारिक सद्भाव नराम्रोसँग बिग्रेका कारण बालबच्चालाई बिचल्ली पारिएको तीता घटना भेटिन्छन् । तर सीतारामको प्रेम कथालाई नियाल्दा सीताको वियोगमा छट्पटाउनुभएका राम र रामको सान्निध्यता गुमाउनुभएकी सीताको आदर्शतासँग प्रगाढ प्रेम सम्बन्ध रहेको स्पष्टै छ । एक्ली सीताले धम्की र डरको मारमा रावणसँग नयाँ सम्बन्ध गाँस्ने प्रलोभनलाई स्वीकार नगर्नु, उसको अत्याचारको विरोध गरिरहनु नारीशक्ति र त्यागको दृष्टान्त हो । वनवासमै रामले अर्को विवाह गर्नुभएन ।
अयोध्या फर्किसकेको घटनालाई हेर्दा रामले कलङ्कबाट बच्न, जनताको आवाजलाई सम्बोधन गर्न सीताको परित्यागपश्चात् पनि विवाह गर्नसक्नुहुन्थ्यो होला तर त्यसो भएको छैन । वनवासको क्रममा जङ्गलमा भौँतारिरहेका लक्ष्मणले पनि शुपर्णखाको विवाहप्रस्तावलाई अस्वीकार गर्दा आफ्नो ज्यान बचाउनका लागि मात्र नाक, कान काटिएर युद्धको बिज रोपिन पुग्यो । त्यहाँ आसुरी प्रवृत्तिको अन्त्य गर्नुपर्ने रामजन्मको सार छँदैछ । यसरी हेर्दा नारीलाई सम्मान गर्दै गर्दा दुवैतर्पmको त्यागबाट इज्जत, सुशासन र जनमुखी सेवाको सम्बोधनमा अलिकति पनि प्रभाव पर्न नदिनुसँग आजका मानिसले शिक्षा लिन सक्नुपर्छ ।
रामले आफ्नी प्राणप्यारी सीतालाई त्याग्न विवश बन्नुपरेको कारुणिक घटनासँग आदर्शताका लागि अर्पण गरेको त्यागको परकाष्ठा छ । १४ वर्ष वनको पीडा, त्यत्रो रावणसँगको युद्धपश्चात् पनि आनन्दले बस्ने वातावरणमा ‘रावणले लगेकी सीतालाई रामले स्वीकार गरेको’ भन्ने आरोपकै कारण तहल्का मच्चाइदियो । एक हिसाबले त जनमानसको आवाज सोभैm सुन्नै परेको पीडा अर्कोतर्पm रामको नाममा कलङ्क लाग्ला भन्ने डर जोडियो । विश्लेषणमा यसलाई नकारात्मकता, असंवेदनशीलतासँग जोड्नै सकिँदैन किनकि राम गर्भिणी सीतालाई चाहेर, मनमा दया नभएर जङ्गलमा छोड्न विवश बन्नुभएको होइन । उहाँले सीता त्यागपश्चात् अर्की नारीलाई बिहे पनि त गर्नुभएन । यसरी हेर्दा रामको आदर्शताभित्र नारीप्रति सम्मान छ ।
रामको नेतृत्व शैली र आजसम्मका नेतृत्व शैलीलाई हेर्दा कर्म या व्यवहार र बोलीमा भिन्नता छ । शोषण र सेवामा पृथकता छ । त्यतिखेर पनि विकासका बाधक थिए तर शक्तिलाई दायरामा राखेर उपयोग गरिन्थ्यो । नेतृत्व गर्नेलाई धेरै कडा कानुन थियो भन्न सकिन्छ । आज शक्ति नै हिंसाको आधार बनेको देखिन्छ । पहिले देशले नागरिकको व्यक्तिगत स्तरोन्नति र आत्मिक आनन्दलाई ध्यान दिन्थ्यो । ईश्वरीय शक्तिको सम्मान र असुरको अवसान हुन्थ्यो । संवेदनहीनताका पराकाष्ठामा आज न्याय पाउन कति गाह्रो छ । यस्ता पक्षलाई भौतिक सम्पन्नतासँग मात्र जोडेर पन्छिने नीति अपूरो लाग्छ । आज मानिसले मानिसलाई सखाप पार्ने कत्रा कत्रा यन्त्र बनाएको छ तर एकले अर्काको घाउमा मलम लगाउने संस्कृति बिर्सेर वृद्ध बाबाआमालाई वृद्धाश्रममा मिल्काउनेको भिडले टन्टा साफ गर्न चाहेको स्पष्टै देखिन्छ । यहाँ रामराज्यको आदर्शताको भाषण केवल भन्ने र सुन्नेमै गएर अड्किरहला भन्ने पनि लाग्छ । तब त मुखमा राम राम बगलीमा छुरा भन्ने उखान सिर्जित भयो होला ।
चैते दशैँको रौनकले नेपाली नेतृत्वलाई मौलिक राजनीतिका आधारलाई केलाउने ज्ञान भरोस् । विकृति होलान् तर सुधार गर्दै अवश्य समय सापेक्षित तुल्याउन सकिन्छ । जनतालाई न्याय गर्ने नाममा स्वार्थको लालसा बोकेर दौडिएका नेतृत्वले आध्यात्मिक शिक्षा लिनु आवश्यक छ । यो पर्वले आजका नेतृत्वमा रामराज्यको आदर्शता र देशप्रतिको त्यागलाई सम्बोधन गर्न सिकाओस् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना