रोजगारीको अवसर र सम्भावना

Krishnahari banskotaकृष्णहरि बास्कोटा

 

नेपालमा रोजगारीको अवसर नभएका कारण करिब ५० लाख युवा खाडी, मलेसिया र कोरियाजस्ता मुलुकको रोजगारीमा रहेको बुझिन्छ । यसैगरी भारतमा छोटो–छोटो अवधिको (सिजनल) कामको खोजीमा जाने र विकसित मुलुकमा पुगेका नेपाली (ब्रेनडे«न) को सङ्ख्या पनि उल्लेख्य रहेको अनुमान छ । यस अवस्थामा नेपालभित्रै रोजगारीको अवसर सिर्जना नगरी मुलुकले अपेक्षितरुपमा समृद्धिको लक्ष्य भेट्टाउन सक्तैन । हाल मुलुक सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहमा विभक्त भएको छ । बेरोजगारको तथ्याङ्क सङ्कलन गर्ने र तिनलाई रोजगारीको प्रबन्ध गर्ने प्रारम्भिक जिम्मेवारी स्थानीय तहको हो । यस स्थितिमा प्रत्येक नगरपालिका र गाउँपालिकाले निश्चित सङ्ख्यामा युवाको दस्ता तयार गरी आफ्नो स्थानीय तहमा सडक निर्माण र मर्मत गर्ने, खानेपानीको व्यवस्था गर्ने, स्कूलमा कक्षा कोठा थप गर्ने, स्वास्थ्य चौकी निर्माण गर्नेलगायतका भौतिक पूर्वाधार निर्माणको काम गर्नु पर्छ । यस्मा निश्चित सीप र योग्यता भएकालाई स्थायी रूपमा र अन्यलाई दैनिक ज्यालादारीमा काम लगाउने गरी रोष्टरमा नाम राख्नु पर्छ । समृद्ध गाउँ निर्माण गर्ने ध्येयका साथ पलाताले मासिक २४ हजार तलब दिएर युवाको दस्ता निर्माण गरेको समाचार पनि आएको थियो । यही ढङ्गले रोजगारीको सिर्जना गर्न स्थानीय तह अग्रसर हुनुपर्छ । यसबाट सबै स्थानीय तहले केही हदसम्म भए पनि आफ्ना मतदाताको अपेक्षा पूरा गर्न सफल हुनेछन् ।
वर्तमान संविधानअनुसार ठूला भौतिक पूर्वाधार अर्थात् राष्ट्रिय गौरवका आयोजना सङ्घीय सरकारको पहलमा निर्माण हुनेछ । प्रादेशिक सरकारले पनि प्राकृतिक स्रोत लगायतमा आपूmलाई केन्द्रित गर्नेछन् । स्थानीय तहबाट साना–ठूला पूर्वाधार निर्माणको काम हुनेछ । यस्तो पूर्वाधार निर्माणमा मोटरबाटो, सिँचाइका बाँध र नहर, विद्युत् उत्पादन र ट्रान्समिसन लाइन आदि पर्छन् । यसैगरी स्कूल भवन, अस्पताल, सामुदायिक भवन, कोसेली घर, हाट बजारका टहरालगायत पनि स्थानीय पूर्वाधारमा पर्छन् । साथै खेलकूद मैदान, वृद्धाश्रम, बालबालिकाको पार्क, धार्मिक, औद्योगिक र व्यापारिक स्थलको निर्माणलगायतका पूर्वाधार निर्माणमा सम्भव भएसम्म मेसिनको सट्टा मानिसको प्रयोग गर्ने नीतिले पनि रोजगारीको अवसर सिर्जना हुनेछ । यसर्थ सम्भाव्यता अध्ययन गर्दा र परियोजनाको विस्तृत प्रस्ताव तयार गर्दा विज्ञलाई मानिसबाट सम्पन्न हुने कामका लागि मेसिनको प्रयोग नगर्ने गरी कागजात निर्माण गर्न आदेश गर्नुपर्छ र सोहीअनुसार ठेक्का–पट्टा लाग्ने र रोजगारीको अवसर जुटाउनेतर्फ सबैको इमानदार प्रयास हुन जरुरी छ ।
नेपाल प्राकृतिक स्रोतमा धनी भए पनि हालसम्म यसबाट हामीले खासै लाभ लिन सकिरहेका छैनौँ । नेपालमा पेट्रोलियम पदार्थको सम्भाव्यता देखिएको छ । यसको कार्य थालनी गर्न सके मुलुक समृद्धितर्फ उन्मुख हुनुका साथै यसमा रोजगारीको अवस्था पनि सिर्जना हुने थियो । यही कुरा युरेनियममा पनि लागू हुन्छ, जसको नेपालमा सम्भावना देखिएको छ । नेपालका विभिन्न स्थानमा प्राकृतिक ग्यास देखिएको छ । मुलुकका विभिन्न भागमा ज्वालादेवी पूजिएका छन् । यथार्थमा ती प्राकतिक ग्यासको खानीका सङ्केत हुन् । काठमाडौँमा करिब ४० वर्षको घरायसी ऊर्जा खपतबापत पुग्ने प्राकृतिक ग्यास भएको प्रारम्भिक सर्वे भए पनि यसमा थप काम गर्न सकिएको छैन । नेपालमा फलाम खानी, तामा खानी र कोइलाखानीको पनि ठाउँठाउँमा सम्भावना देखिएको छ । यी सम्भावनामा प्रादेशिक सरकारले विशेष ध्यान केन्द्रित गर्ने अपेक्षा गर्न सकिन्छ । नेपालको दोलखा लगायतमा म्याग्नेसाइट छ । दाङलगायतका स्थान सिमेन्ट उद्योगका लागि प्रशस्त सम्भावना भएका स्थान हुन् । यसैगरी मार्बल र ग्रेनाइटको सम्भावना पनि जताततै देखिन्छ । जलस्रोतको नेपालमा अपार सम्भावना छ । यसरी प्राकृतिक स्रोतको नेपाल भण्डार नै भए पनि यस्को उत्खनन हुन सकिरहेको छैन । कम्तीमा एउटा प्रदेशले एउटा प्राकृतिक स्रोतमा व्यापक रूपमा खोजीको काम आरम्भ गर्ने हो भने पनि नेपालमा प्रशस्त रोजगारीको सम्भावना सिर्जना हुने थियो । यसैबाट नेपालको आर्थिक समृद्धि हासिल हुने थियो ।
नेपालमा दैनिक जीवनसँग सम्बन्धित कैयौँ सेवा व्यवसायमा दक्ष जनशक्तिको अभाव देखिएको छ । अझै पनि कैयौँ गाउँ, टोल र शहरमा कपाल काट्ने पसलसमेत आवश्यक सङ्ख्यामा खुल्न सकेका छैनन् । रेडियो, टिभी, घडी र मोबाइल मर्मत केन्द्रको पनि आवश्यकता महसुस भएको छ । राजमार्गलगायतका मोटर बाटोमा ठाउँठाउँमा सवारी साधन मर्मत गर्ने स्थानको अभाव छ । वर्तमान दिनमा घरघरमा धारा जडान भएका छन् । तर, यसरी धारा जडान गर्ने र यससँग सम्बन्धित काममा प्लम्बिङको सेवा दिने दक्ष जनशक्तिको अभाव खड्किइरहेको छ । यही कुरा विद्युत् सेवामा पनि लागू हुन्छ । नेपालमा अपेक्षित मात्रामा इलेक्ट्रिसियनको अभाव छ । सिकर्मी, डकर्मीलगायतको पेशालाई नियाल्दा यसमा पनि जनशक्तिको अभाव देखिन्छ । सामान्य तालिम लिएर राम्रो आम्दानी गर्न सकिने भए पनि यसतर्फ युवालाई ध्यानाकर्षण गराउन सकिएको छैन । चिकित्सा क्षेत्रमा कैयौँ दक्ष जनशक्तिको अभाव छ । एक्सरे मेसिन सञ्चालन गर्ने, प्रयोगशालामा काम गर्ने, इसिजी र एमआरआइको सेवा सञ्चालन गर्ने लगायतका विषयमा पोलीटेक्निकल स्कूल खोली दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ । यस्ता थुप्रै प्राविधिक सीप आवश्यक पर्ने क्षेत्रमा विदेशी जनशक्तिले उपलब्ध रोजगारीउपर कब्जा जमाइरहेका छन् । यसर्थ यी क्षेत्रमा मात्रै गहन ध्यान दिन सक्ने हो भने पनि वैदेशिक रोजगारीमा गएका युवालाई नेपालमै फर्काई रोजगारी दिन सकिने हुन्छ ।
नेपालमा रोजगारीको अवसर पहिचान गर्न केही नवीनतम् क्षेत्रमा विचरण गर्नुपर्छ । विश्व बजारमा गुणस्तरीय पत्थरका गहनाको माग छ । यसर्थ नेपालमा पाइने बहुमूल्य रङ्गी बिरङ्गी पत्थरलाई आधुनिक मेसिनद्वारा कटिङ गरी निकासी गर्ने कारोबारमा युवालाई संलग्न गराउन सकिन्छ । वर्तमान दिनमा मानिस निकै व्यस्त हुन थालेका छन् । यसर्थ चामल, दाल, गेडागुडीलगायतलाई सफा गर्ने, केलाउने, प्याकेजिङ गर्ने, हरियो तरकारी धोई पखाली गरी काटेर प्याकेजिङ गर्ने काम गर्न सकिन्छ । यसैगरी कैयौँ खाद्यान्न खानका लागि तयार गरी सोको प्याकेजिङद्वारा ‘फ्रोजन फुड’ बिक्री गर्न सकिन्छ । नेपाल कृषि प्रधान देश हो । यसर्थ कृषि उत्पादनलाई ग्रेडिङ, प्रोसेसिङ गर्ने र बढी मूल्य आउने बजारसम्म पु¥याउने काम गर्न सकिन्छ । यसैगरी हरियो तरकारी, माछा–मासु, फलफूल र दुग्धजन्य पदार्थको उत्पादन, बिक्री वितरण र बढी उत्पादन भएका बखत त्यसलाई उपयुक्त विधिद्वारा सुकाउने र भविष्यमा बिक्री गर्नेजस्ता नविनतम् सोचमा आधारित स्किमहरू निर्माण गरी युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ ।
विश्वमा प्रचलनमा रहेका कैयौँ व्यवसायमा अझै पनि नेपाल प्रवेश गर्न सकेको छैन । ‘नाइट मार्केट’ अर्थात् साँझको खाना खाएपछि घुम्ने बजारको विकास गर्न सकिन्छ । यसमा चिया–कफी बिक्री गर्ने, आईसक्रिम खान मिल्ने, सस्तो मूल्यका कपडा बिक्री गर्ने र उपहारका सामग्री बिक्री गर्ने प्रबन्ध गर्न सकिन्छ । यसमा विशेष ढङ्गले शान्ति सुरक्षाको प्रबन्ध गर्नुपर्ने, मदिरा निषेधित क्षेत्र घोषणा गर्नुपर्ने र कुनै पनि किसिमको गलत हर्कत हुन नपाउने गरी यस्ता रात्रि बजारको व्यवस्थाले मानिसले स्वस्थ मनोरञ्जन प्राप्त गर्नुका साथै कैयौँले नयाँ रोजगारीको अवसर पाउने हुन्छन् । यसै सन्दर्भमा ‘सेकेण्ड ह्याण्ड शप’ खोल्न सकिन्छ । ‘एक्सचेञ्ज शप’ का माध्यमद्वारा आफूलाई घरमा बढी भएको सामान ल्याएर आफूलाई चाहिएको सामान साटेर लैजान सकिन्छ । स्कूल र कलेजमा विद्यार्थीलाई विदेशमा झैं विभिन्न काम दिन सकिन्छ । विभिन्न मेला पर्वमा विद्यार्थीका उत्पादन बिक्री गर्ने वा उनीहरूद्वारा विभिन्न स्टलहरू सञ्चालन गराई उनीहरूलाई व्यावसायिक सीपका व्यावहारिक टिप्स दिन सकिन्छ । यसरी सिर्जनशीलताका साथ मुलुकभित्र रोजगारीको अवसर पहिल्याउनु समयको माग हो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना