अवस्था र सम्बन्धको पुनः परिभाषा

khim lalखिमलाल देवकोटा

नेपाल संक्रमणै संक्रमणको देश हो भन्ने उखान र तथ्य दुवै मिथ्या हुने भएका छन् । २००७ सालदेखि यताका सबै संसद् र सरकार दुवैले आफ्नो पूरा कार्यकाल व्यतित गर्न पाएनन् । या त तिनलाई विघटन गरिए या त समयावधि अगावै समाप्त पारियो । पञ्चायतकालको निर्दलीय पञ्चायतमा पनि एउटै व्यक्ति पूरा कार्यकाल प्रधानमन्त्री हुन पाएनन् । न त राष्ट्रिय पञ्चायतले नै पुरा कार्यकाल काम गर्न पायो । यस्तो विडम्बनापूर्ण इतिहासको विरासतमा नयाँ सरकार वनेको छ । जसलाई विघटन गर्ने निरंकुश राजतन्त्र पनि छैन । छिन छिनमा सरकार फेर्ने त्रिशंकु संसद् पनि छैन । न त तीनमहिने संगिनी सुई उखानले प्रख्यात अवधि तोकिएको सरकार नै छ । त्यो पनि अव यो रहेन । यस्तो विरलै मात्रै हुने गरेको अवसर यो सरकारलाई छ । आजसम्मका अवस्था र सम्बन्धलाई पुनः परिभाषित गर्ने गुरुत्तर दायित्व पनि यही सरकारलाई प्राप्त भएको छ । यसै विषयको सेरोफेरोमा चर्चा गर्ने प्रयास यो आलेखमा गरिएको छ ।
अवस्थाको पुनः परिभाषा गर्ने अवसर
नेपालको अर्ध सामन्ती र अर्धऔपनिवेशिक अवस्था कम्युनिस्ट पार्टी स्थापना गर्दाका वखत नै परिभाषित गरिएको थियो । यो अवस्था विगत ७० वर्षको उथल पुथलको अवधिमा अब बाँकी रहेन । कम्युनिस्ट पार्टीको स्थापना गर्दाका वखत कमरेड पुष्पलाल श्रेष्ठले नेपालको अवस्थाको चित्रण गर्दै अर्ध सामन्ती र अर्धऔपनिवेशिक मुलुकमा क्रान्तिको चरित्र नौलो जनवादी क्रान्तिको प्रकृतिको हुनेछ भनेका थिए । अर्ध सामन्ती र अर्ध औपनिवेशिक मुलुकमा नौलो जनवादी क्रान्तिको तरिका भनेको दीर्घकालिन जनयुद्धको हुने भनी छिमेकी मुलुक चीनमा सफलतापूर्वक सम्पन्न गरेका कारणले त्यसैको अनुसरण गर्न पर्छ भन्ने मान्यतालाई माओवादीले पछ्यायो । तर नेपालमा जनवादी क्रान्ति नेपालका कम्युनिस्टहरूले भनेकै जसरी वा चीनमा माओले गरेकै जसरी त भएन तर भिन्न ढंगले भए पनि राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भैसकेपछि नेपालमा जनवादी क्रान्ति सम्पन्न भएकै हो भन्ने ठम्याइरहेको छ । जनवादी क्रान्ति सम्पन्न भैसकेपछिको यात्रा समाजवादी क्रान्ति हो । समाजवादी यात्राका लागि अव नेपाली समाजको पुनः परिभाषा अनिवार्य थियो । यही अनिवार्य आवश्यकतालाई मध्यनजर राख्दै नेपालका मूलधारका कम्युनिस्ट पार्टीले नेपाली समाजको अवस्था पार्टी स्थापनाकालमा पुष्पलालले व्याख्या गरेजस्तो रहेन । राजनैतिक क्रान्तिका हिसावले उपरिसंरचनामा आएको परिवर्तन र यसकोे प्रभाव स्वरूप आधारमा भएको स्वाभाविक फेरवदल र विकासले नेपाल पुँजीवादी युगमा प्रवेश गर्यो । यो ठम्याई सहितको व्याख्या गर्ने नेपालका दुई ठूला कम्युनिस्ट पार्टीको संयुक्त गठबन्धनमा निर्वाचन लड्ने र जित्ने काम भएकोछ । वाम गठबन्धनको उक्त मान्यतासहितको घोषणापत्रलाई समर्थन गर्दै झण्डै दुईतिहाई मत पनि प्राप्त गरी वर्तमान सरकार गठन भएको छ । यस्तो अवस्थामा यो सरकारका सामुन्ने नेपाली राजनीतिमा जरा गाडेको पुरानो मान्यतामा परिवर्तन ल्याउने गरी परिभाषा गर्न जरुरी छ । अव नेपाल अर्ध औपनिवेशिक र अर्ध सामन्ती रहेन पुँजीवादमा प्रवेश गर्यो । पुँजीवादमा प्रवेश गरेको नेपाली राजनीतिका काँधमा समाजवादी यात्रा सम्पन्न गर्ने गुरुत्तर दायित्व छ । यो दायित्व पूरा गर्ने काम देशको अवस्थाको सही विश्लेषण गर्दै परम्परागत मान्यतालाई परित्याग गरी नयाँ मान्यताका आधारमा आफूलाई परिमार्जन गर्दै संविधानले परिकल्पना गरेको समाजवादी यात्राको अवस्थाको चरित्र चित्रण गर्दै सोही अवस्थाका आधारमा टेक्दै सिङ्गो मुलुकलाई डो¥याउने अभियानको नेतृत्व गर्न सक्नुपर्ने भएको छ ।
सम्बन्धको पुनः परिभाषा गर्ने अवसर
अवस्थाका आधारमा सम्बन्ध बन्ने गर्दछन् । सम्बन्धको चर्चा परिचर्चा र तिनले ल्याउने प्रभावका बारेमा पनि सरकार चनाखो हुन जरुरी छ । लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रहँदै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक घोषणा आजका मितिमा हामीसँग छ । राजनैतिक दलका बीचमा अरु कुरामा विमति भए पनि राज्यको चरित्र र अबको गन्तव्य र सो गन्तव्यमा पुग्ने तरिकाका बारेमा कमसेकम मूलधारका पार्टीमा विवाद छैन । संविधानले परिकल्पना गरेको यो लक्ष्य र सो प्राप्तिको तरिकासँगै आजसम्मका सम्बन्धमा पुनःपरिभाषा गर्दै आजको अवस्था अनुकूलको राज्य, नागरिक र राजनैतिक दलको सम्बन्धबारे पनि निक्र्योल गर्ने र तदनुकूल सिङ्गो मुलुकलाई डो¥याउने अभियानमा यो सरकारको अगुवाइ अपेक्षित छ । जनताले समाजवादी यात्राको जनादेश वर्तमान सरकार गठन गर्ने दल र तिनका प्रतिनिधिलाई दिई नै सकेका छन् । त्यसैले त्यसबारे अल्मल गरियो भने त्यो सरकारको आफ्नै कारण हुनेछ । यही अल्मलका कारण लक्ष्य हासिल भएन भने दोष दिने ठाउँ पनि बाँकी रहने छैन । समाजवाद निर्माणका लागि उत्पादनका साधन र उत्पादन शक्तिको सम्बन्धका बारेमा पुनःपरिभाषा नगर्ने हो भने जनवादी कार्यक्रमका लागि दिमागमा राखिएको पुरानै मान्यता हावी हुनेछ । तब परिणाम गोरु पछाडि गाडा अगाडिको अवस्थामा पुग्नेछ । त्यसैले समाजवादी अर्थतन्त्रमा उत्पादन शक्ति र उत्पादन सम्बन्धको नेपाली व्याख्याको खाँचो छ । निजी, सार्वजनिक र सहकारीसहितको तीनखम्बे नीतिको प्रभावकारी कार्यान्वयनको योजनाको खाँचो छ । आर्थिक समृद्धि जनताको चाहना मात्रै होइन, दलहरूको प्रतिबद्धता पनि हो । त्यसैका आधारमा भोट पाएको र सरकार वनाएको हुनाले जनता सो को चित्र र परिणाम दुवै देख्न र भोग्न आतुर छन् । यसका लागि पनि राज्य, निजी क्षेत्र, सहकारी क्षेत्रको सम्बन्धमा फेरवदल, सरकारको प्रभावकारी सहजकर्ताको भूमिका र संविधानले घोषणा गरेको लोककल्याणकारी चरित्रका आधारको वारेमा सरकारले कार्यक्रम निर्माण गर्न जरुरी छ । यो सबै काम पुराना मान्यता र सम्बन्धलाई यथावत राखेर सम्भव हुने छैन । ढिला नगरी पुराना सम्बन्धमा स्तरोन्नति र नयाँ आधारको बुझिने व्याख्या र सो व्याख्या वमोजिमको कार्य योजनामा देशलाई डोराउने दायित्व वर्तमान सरकारको काँधमा आइपरेको छ ।
अन्तरसम्बन्धको पुनः परिभाषा गर्ने अवसर
नेपाल हिजोको अवस्थामा रहेन । परिवर्तित परिस्थितिलाई व्याख्या गर्ने राज्यको दस्तावेज संविधान हाम्रा सामु छ । सो संविधानको सफल कार्यान्वयन गर्न नयाँ आधारको खोजी र सोको कार्यान्वयन आजको आवश्यकता हो । यसो गर्दा आज विद्यामान अवस्थाका बीचको अन्तरसम्बन्धका वारेमा पुनः परिभाषा जरुरी भएको हो । हिजो व्यवस्थाका विरुद्ध लड्ने कुरा नै प्रधान थियो । जसरी लडे पनि जे गरी लडे पनि लड्नु पहिलो प्राथमिकता थियो । लड्ने सम्बन्धमा अवलम्बन गरिएका उपाय जे जस्ता भए पनि क्षम्य र माफी पाउने स्तरका मानिन्थे । हिजोको राजनीतिमा मूल्यांकनका आधार भिन्न थिए । आज राजनीति नै वदलिएको छ । सम्बन्ध पनि बदलिएका छन् । बदलिएको सम्बन्धको स्पष्ट मार्गचित्र जनताका सामु प्रस्तुत गर्ने दायित्व पनि सरकारको नै हो । हिजो व्यवस्था बदल्न प्रयोग गरिएका हतियार आज देश र जनताको अवस्था बदल्न प्रयोग गर्न पर्ने भएको छ । व्यवस्था बदल्न प्रयोग भएका हतियार अवस्था बदल्न कामयावी हुँदैनन् । त्यसैले हिजो अत्यन्त प्रभावकारी मानिएका तरिका र सम्बन्ध आज त्यही स्तरमा प्रभावकारी हुँदैनन् भन्ने पहिलो स्वयं सिद्ध तथ्यमा एकरूप समझदारी कायम गर्दै राज्यका सबै संयन्त्रको परिचालन गर्न जरुरी छ । स्पष्टसंग भन्न पर्दा हिजो सत्ताका विरुद्धमा प्रयोग गरिएको पार्टी संयन्त्र, पार्टीका भातृ संगठन, सरकारी तथा गैरसरकारी क्षेत्रमा क्रियाशील टे«ड युनियन र गैरसरकारी संस्थाको भूमिका र सम्बन्धमा काफी अन्तर आएको
छ । अवस्थामा आएको परिवर्तनसंगै यी निकाय र संस्थासंगको सम्बन्ध पुनःपरिभाषित हुन सकेन र पुरानै तरिकाले यिनले चल्ने र यिनलाई चलाउने काम गरियो भने लक्ष प्राप्ति असम्भव प्रायः नै छ । त्यसैले यसतर्फ सरकारको गम्भीर ध्यान जान जरुरी छ ।
अन्तर्राष्ट्रिय सम्बन्धमा पुनःपरिभाषाको खाँचोः
देशभित्रको परिस्थिति ठीकठाक वनाएपछि देश वाहिरको परिस्थिति आफै ठीक हुन्छ भन्ने पनि मान्यता स्थापित भएको छ । तर सदियौंदेखि वनि आएका सम्बन्ध राताराता परिवर्तन हँुदैनन् । सो अपेक्षा गर्न पनि हुँदैन । अन्तर्राष्ट्रिय सम्बन्धमा पुनःपरिभाषाको आधार फेरि पनि नयाँ संविधान नै हो । नयाँ संविधानले स्थापित गरेको राजनैतिक प्रणाली र नयाँ संविधानले दिशा निर्देश गरेको राज्यको नीति र दायित्व परिपूर्ति गर्ने मात्रै नभएर नयाँ संविधानले परिलक्षित गरेका आर्थिक समृद्धि हासिल गर्नका लागि अन्तर्राष्ट्रिय संस्थाहरूको महìव र भूमिकाका वारेमा पनि कार्ययोजना वनाउने र सो दिशामा उनीहरूलाई हिडाउने दायित्व फेरि पनि सरकारको काँधमा छ । आर्थिक समृद्धिको कार्ययोजनामा बेरोजगारीको अन्त र देशभित्रै रोजगारीको सिर्जना प्राथमिक कार्यभार हुन् । यसका लागि विकास मैत्री अन्तर्राष्ट्रिय सम्बन्ध, लगानी मैत्री कूटनीति र बढ्दो वित्तीय पुँजीलाई औद्योगिक पुँजीमा वदल्ने प्रभावकारी कार्ययोजना अबका प्राथमिकताका विषय बन्न पर्दछ । यो प्राथमिकतामा अन्तर्राष्ट्रिय समुदायलाई सहमत गराउने र उनीहरूलाई तदनुकूल हिँडाउने दायित्व पनि सरकारको हो । यसका लागि पनि फेरिएको अन्तर्राष्ट्रिय सम्बन्धबारे पुनः परिभाषित गर्न जरुरी छ ।
अन्तमा
मुलुकको अवस्था, सम्बन्ध, अन्तरसम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्धमा पुनःपरिभाषा आजको आवश्यकता हो । यी विषयको पुनः परिभाषाको आधार नेपाली जनताको जनादेश र मतादेश दुवैका आधारमा जननिर्वाचित संविधानसभाले जारी गरेको संविधान नै हो । यो संविधानको मान्यताका आधारमा सबैभन्दा पहिला राज्य सञ्चालन गर्ने दलहरूको पुनःपरिभाषा गर्न र परिवर्तित अवस्था र आवश्यकताका आधारमा मुलुकलाई अगाडि हिँडाउने यो गुरुत्तर दायित्व वर्तमान सरकारका काँधमा आइपरेको छ । यो केवल संयोग मात्रै होइन, व्यवस्था परिवर्तनको आन्दोलन, अवस्था परिवर्तनमा फड्को मारेको यो घडीमा झण्डै दुइतिहाई जनमतको प्रतिनिधित्व गर्ने स्थिर सरकार हाम्रा सामुन्नेमा छ । उसले गरेका वाचा विश्वासमा बदल्ने यो अभियानमा देश र जनताको औपचारिक मतका हिसाबले साथ छ । सहयोग लिने वातावरण भने सरकार आफैँले सिर्जना गर्ने हो । यति गर्न सक्दा नेपालको अवस्थाको पुनःपरिभाषाको माध्यमबाट समृद्धिको यात्रा आरम्भ भएको सुखद अनुभूति देश र जनताले गर्न पाउने छन् । जनता प्रतीक्षारत छन् । सरकार तदारुकता देखाओस् साथ सहयोग प्राप्ति अवश्यंभावी नै छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना