एक घन्टा सांसदसँग प्रश्नोत्तर गरिने

samsad by shekhar1काठमाडौँ, चैत १५ गते । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले संसद्का सबै बैठकको पहिलो एक घन्टा सांसदसँग प्रश्नोत्तर गर्ने व्यवस्थामा सहमति गरेको छ । सबै बैठकको पहिलो एक घन्टा सांसदका प्रश्नमा विभागीय मन्त्रीले जवाफ दिने व्यवस्थामा सहमति भएको हो । मन्त्रीसँगको प्रश्नोत्तर सम्पन्न भएपछि मात्रै संसद् कार्यसूचीमा प्रवेश गर्नेछ । 

तर, सभामुखले कुनै विशेष कारणले अन्यथा आदेश दिएमा प्रश्नोत्तर कार्यक्रम हुने छैन । सरकारको नीति तथा कार्यक्रम, राष्ट्रपतिको सम्बोधन, प्रधानमन्त्रीको सम्बोधनलगायत विशेष समारोहका दिनमा भने प्रश्नोत्तर हुने छैन ।
नियमावली मस्यौदा समितिमा सभापति कृष्णभक्त पोखरेलले सबै बैठकअघि हरेक दिन मन्त्रीसँग प्रश्नोत्तर कार्यविधिमा सहमति भएको बताउनुभयो । ‘अब सभामुखले अन्यथा आदेश दिएको अवस्थामा बाहेक हरेक बैठकको पहिलो एक घन्टा मन्त्रीले सांसदका प्रश्नमा जवाफ दिनुपर्नेछ । यसरी जवाफ दिन मन्त्रीको दिन तोकिनेछ । ’
जवाफ दिन मन्त्रीको बार तोकिनेछ । तोकिएको दिनमा मन्त्रीले सांसदको प्रश्नमा जवाफ दिनुपर्नेछ । सांसदहरूले मन्त्रीलाई सोध्न चाहेका प्रश्नको विवरण पहिले नै सचिवालयमा दर्ता गर्नुपर्नेछ । सांसदका प्रश्नमा लिखित वा मौखिक जे जवाफ चाहेको हो सोही व्यहोरामा मन्त्रीले जवाफ दिनुपर्नेछ । मन्त्रीको जवाफमाथि सदनमा थप छलफल भने हुने छैन । सांसदहरूले दर्ता गरेका प्रश्नको रोलक्रमअनुसार जवाफको पालो सचिवालयले तय गर्नेछ । सांसदहरूले मन्त्रीलाई मन्त्रालयसँग सम्बन्धित नीतिगत विषयमा प्रश्न गर्न पाउनेछन् । अस्पष्ट, संसदीय मर्यादाविपरीत प्रश्न मन्त्रीलाई सोध्न गर्न पाइने छैन । न्यायिक तथा अर्धन्यायिक निकायमा विचाराधीन विषयलाई पनि प्रश्न बनाउन पाइने छैन । कुनै पनि संसदीय समितिसमक्ष विचाराधीन वा समितिले सभापतिसमक्ष पेस गरेको विषयमा पनि प्रश्न गर्न पाइने छैन ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना